- पुरुषोत्तम दाहाल
नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नेपालको नक्सा जारी गरेको छ र निशानछापमा समेत सच्याउन संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गरेको छ । विगत डेढ दशकदेखि नेपालको भूमिमा निर्माण गरेको राजमार्गको उद्घाटन भारतीय पक्षले गर्नु पहिले नै गत कार्तिकमा सो भूमिलाई भारतमा समावेश गरी नक्सा जारी गरेको थियो । भारतको यस्तो हेपाहा प्रवृत्तिविरुद्ध नेपालमा जनमत सिर्जना
भयो । भारत र चीन दुवैले लिपुलेक हुँदै व्यावसायिक राजमार्ग खोल्ने सहमति गरेका थिए । जसको भूमि हो, उसैलाई कुनै सूचना, सम्पर्क र सहभागी नगराई दुई ठूला छिमेकी देश चीन र भारतले गरेको त्यो सहमतिकै कारण अहिले भारतीयहरूले नेपाली भूमिमा बनेको मार्गको उद्घाटन र नक्सा जारी गर्ने साहस गरेका हुन् भन्ने देखिन्छ । चारदशक अघिसम्म लिम्पियाधुरासम्मको जमीन नेपालको नक्सामा थियो तर पछि कुन कारण वा कसको गल्तीले त्यो नक्सा प्रकाशित हुन छाड्यो । अहिले ढिलै भए पनि वर्तमान सरकारले आफ्नो भूमि समेटेर नक्सा जारी गर्नुलाई सबै देशभक्त नेपालीहरूले प्रशंसा गरेको छन् र सरकारको समर्थन गरेका छन् । नक्सा पुनर्मुद्रण गरी जारी हुनुमात्र समाधान होइन भन्ने हेक्का नराखी जस लिने होड तीव्र छ । नेकपामा यो होड चर्को छ । लिपुलेक प्रकरणमा कोरोना छाँयामा परेको छ,
सगरमाथामाथि चिनियाँ संचारमाध्यमहरूका हल्ला र सिंहदरवारको मुटुमा चिनिया नागरिकले सुरक्षाकर्मीमाथि गरेको सामूहिक हातपात ओझेलमा परेको छ । भारत र चीनसँगै रहेका अन्य सीमा प्रश्नहरू लुकेका छन् । लिपुलेकलाई भारत र चीनले द्विपक्षीय मार्ग बनाउन गरेको सहमतिलाई थाहा नपाएजस्तो गरी चीन पन्छिदै भन्न लागेको छ : यो विषय नेपाल र भारतका बीचको भएको हुनाले वार्ताद्वारा सहमतिमा खोज्नु पर्दछ । नेपाललाई वेवास्ता गरी सम्झौता गर्ने र भारतलाई हौस्याउने तर नेपालले प्रश्न उठाएपटि आफू साखुल्ले हुने चीनको रणनीति बुझिनसक्नुको छ । कम्युनिष्ट पार्टीलाई एक गराउन, नेताहरूको आपसी झगडा मिलाउन सक्रिय हुने चीनले नेपाली जनताले आफ्नो भूअखण्डता, सार्वभौमिक स्वतन्त्रताको प्रश्न उठाइरहदा किन पन्छिन खोजिरहेको छ ? उल्टै भारतीय सञ्चारमाध्यम र जिम्मेदारहरू भने चिनिया उक्साहटमा नेपालले भारतसंग निहूँ खोजिरहेको भ्रम छर्न व्यस्त छन् । भारतीय सञ्चारमाध्यमहरूका तुच्छ प्रस्तुतिलाई नेपालले सभ्य तरीकाले उत्तर दिनु पर्दछ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतीय पत्रकारको प्रश्नको जवाफमा : संसदमा आफू प्रतिपक्षको कुर्सीमा वसे पनि राष्ट्रियताका विषयमा प्रधानमन्त्रीसँगै छु भन्नु र भारतीय सिने जगतमा चर्चित नेपाली कलाकार मनीषा कोइरालाले आफूले कला र श्रममात्र बेचेको भनी दिएको जवाफ नै पर्याप्त छ । प्रधानमन्त्री ओलीले संसदमा अत्यन्त असंसदीयशैली र भाषामा भारतको कोरोना कडा र चीनको कोरोना नरम, अनि सत्यमेव जयते हो कि सिंहमेव जयते भनी गर्नुभएको प्रश्न भने लज्जाजनक छ ।
यतिखेर जारी नेपालको नक्सा, यसैकारण नेकपामा प्रधानमन्त्री ओलीको देवत्वकरण, राष्ट्रवादको भयावह उन्माद, भारतीय संचारमाध्यमहरूको अराजक र उच्छृंखल प्रस्तुति, भारतीय सरकारको हेपाहा चरित्रले नेपालको राजनीतिमा दश रेक्टर स्केलको कम्पन भइरहेको छ । राष्ट्र, राष्ट्रियता, नेपालको भूवास्तविकता, अन्तर्राष्ट्रिय व्यवस्था अनि देशभक्तिको विषयमा सायद यतिखेर डा. बाबुराम भट्टराईका शब्दमा ट्रोलसेना र अरिंगाल सेनाको बिग्बिगी चलिरहेको छ । प्रधानमन्त्री ओलीलाई सर्वश्रेष्ठ महापुरुष, युगपुरुष, ऐतिहासिक पुरुष, साहसिक पुरुष, महान् राष्ट्रवादी नेताजस्ता अनेक मानपदवी विभूषणहरू प्रदान भइरहेका छन् । यी विभूषणको भारी बोक्न उहाँ कति सफल हुनुहुने छ, अहिल्यै नै केही भनिरहनु पर्दैन । तर प्रधानमन्त्रीका कामलाई कुनै दैविक, ऐतिहासिक होइन र अराजकताबाट समस्याको निकास हुँदैन भन्नेहरूमाथि यतिखेर सामाजिक सञ्जालमा समेत अनेक धम्की, चुनौती, हेर्ने र तह लाउनेजस्ता आपराधिक आसयका शब्दावली भरिपूर्ण हुँदैछन् । अनेक भारतीय शासकहरूका तस्वीरसँग असहमत विचार प्रकट गर्नेहरूका तस्वीरहरू जोडेर र भारतीय दलाल भएको प्रमाणपत्र वितरण गर्ने ट्रोल सेना र अरिंगाल सेनाको दिनचर्या जस्तै छ । नेपालमा राष्ट्रवादको प्रमाणपत्र कुनै समयमा राणाहरूले प्रदान गर्थे, कुनै समयमा राजावादीहरूले वितरण गर्थे । लोकतन्त्रको आन्दोलनमा लागेकाहरू सबैलाई अराष्ट्रिय तत्व, (संक्षेपमा ‘अत’) राष्ट्रघाती र विदेशी दलाल, भारतीय दलालका अनेक अलंकारहरू दिने काम निरन्तर छ । विपी कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाददेखि गिरिजाप्रसादसम्म,
महेन्द्रनारायण निधिदेखि शेख इदृशसम्म, मंगलादेवीदेखि शैलजा–नोनासम्म अनेक नेता, कार्यकर्ताहरू ‘अत’को माला लगाउन विवश थिए । जसले नेपालको एकीकरण ग¥यो ऊ अहिले साम्राज्यवादी र जसले लोकतन्त्रकालागि संघर्ष ग¥यो उ अराष्ट्रिय तत्व, कस्तो मूल्यांकन छ हाम्रो ¤ विपी कोइरालाले त नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेबापत आठ वर्ष जेल, आठ वर्ष निर्वासन र आठ वर्ष अराजक आक्रमण खेप्नु परेको थियो । नयाँ मुलुक फिर्ता गर्न चतुर रणनीति तय गर्ने जंगबहादुर त अब इतिहासबाट बिर्सने अवस्थामा छन् । तर नक्सालाई पुनर्मुद्रण गर्ने निर्णय गर्ने वर्तमान प्रधानमन्त्रीलाई देवता सिद्ध गर्ने र यो काम स्वाभाविक मान्नेहरूलाई विदेशी दलाल प्रमाणित गर्ने भरमग्दुर प्रयास भएको छ । योभन्दा दुर्भाग्य अरु केही हुनसक्देैन । आजको आवश्यकता हो भारतले कव्जा गरेको भूमिलाई कुन रुपमा नेपालको भोगचलनमा ल्याउने, भारत र चीनले मिचिरहेका भूमिहरूलाई र गरिरहेका दावीहरूलाई कसरी गलत सिद्ध गर्ने, र राष्ट्रिय एकताकासाथ देशको स्वतन्त्र सार्वभौेमसत्ता, अखण्डता र एकतालाई सुरक्षित कसरी गर्ने भन्ने नै हो । एकले अर्कालाई प्रमाणपत्र दिदै हिड्नुले देशलाई कुनै लाभ हुँदैन । उल्टो क्षतिमात्र हुनेछ । अहिले प्रमुख प्रतिपक्ष, सबै विचारका राजनीतिक दलहरू र सम्पूर्ण राष्ट्र एकताबद्ध भएको छ । यसैकारण सरकारले शालीन र जिम्मेदार भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । कूटनीतिमा इमोसन चल्देैन । अहिलेका नीति निर्णयकर्ताहरूले विपी कोइरालाको आत्मवृत्तान्त र जयराज आचार्यले सम्पादन गर्नुभएको प्रा. यदुनाथ खनालको जीवनी अध्ययन गरुन् भन्ने मेरो आग्रह छ ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने तथ्यहरूलाई इतिहासवेत्ता, भूगोलवेत्ताहरूले स्थापित प्रमाणका आधारमा निरन्तर वहसमा ल्याइरहेका थिए । दुई वर्षको युद्धपश्चात् सन् १९१६ को सुगौली सन्धिमा अंग्रेजहरूले भारतमा मिलान गरेको भूमिलाई समेत नेपालको हो भनी साहित्यकार फणिन्द्र नेपालहरूले निकै वर्ष भयो अभियान चलाएको । अंग्रेजहरूले सिंगो भारतलाई विभाजन गर्दासमेत नेपालको भूमि फिर्ता गरेनन् र तत्कालीन नेपालका शासकहरूले पनि कुनै दावी गरेको सुनिएन । सुगौली सन्धि भारत सरकारसँग नभएको हुनाले अंग्रेजहरू पलायन भएको अवस्थामा त्यो सन्धिको वैधता सकिनुपर्ने थियो तर सशक्त आवाज उठाउन नसक्दा नेपाल खुम्चिएको खुम्चिएकै भयो । अहिले प्रकाशित नक्सामा रहेको भूमि भने नेपालकै थियो । अर्थात् नेपालले नयाँ नक्सा जारी गरेको होइन, पुरानै नक्सालाई पुनर्मुद्रण मात्र गरेको हो । केही असावधानीवस वा उपेक्षाका कारण करिब चालीस वर्षसम्म यसबारे ध्यान पुगेन अथवा शासकीय स्वार्थका कारण आँट भएन । त्यो अलग विषय हो । तर यसलाई नितान्त नयाँ भनेर कुनै पनि हालतमा स्वीकार गर्न सकिदेैन । अनावश्यक रुपमा देवत्वकरण नगरौं ।
नेपालले अहिलेको अवस्थामा के गर्नु पर्ने होला ? सबैका फरक मत होलान् र हुनुपर्दछ । फरक मतहरूको संश्लेषण गरी आउने निष्कर्षनै परिणाममुखी हुनेछ । भारतीय सञ्चारमाध्यमहरूका उत्तेजक प्रचारको लहैलहैमा लागेर हामी पनि असंयमित र अराजक हुनुपर्छ भन्ने मान्यता गलत छ । यसैकारण प्रधानमन्त्री ओलीले संसदमा बोल्दै गर्दा जुन भाषा प्रयोग गर्नुभयो, त्यो अमर्यादित थियो । यहाँनेर केही प्रश्न र सम्भावनाहरू छन्, तिनलाई उठानमात्र गर्दै आज यो लेख अन्त्य गर्छु ।
नेकपाभित्रको रडाको, कोरोनाको आतंकका बीचमा प्रधानमन्त्री अकस्मात् नक्सा पुनर्मुद्रणमा किन सक्रिय हुनुभयो होला ? डेढ दशकदेखि निर्माण भइरहेको लिपुलेकको बाटोबारे तीन वर्ष प्रधानमन्त्री भइसक्दा पनि आफूले थाहा नपाएको बताउने प्रधानमन्त्री भारतीय पक्षले नक्सा जारी गरेको लामो समय मौन र अहिले भारतका रक्षामन्त्रीले लिपुलेक मार्ग उद्घाटन गरेसँगै अकस्मात् कसरी र किन व्यूँझनु भयो होला ? मलाई लाग्छ : उहाँले नेकपाभित्रका सबै विरोधी नेताहरूको मुख बन्द गर्नुभयो । अब विरोध गरेर उहाँलाई हटाउन खोजेमा भारतीय दलाल घोषित हुने खतराको सामना नेताहरूले गर्नुपर्ने हुन्छ । यस्तो खतरा मोल्न कोही पनि तयार हुँदैनन् । अर्थात् ओलीजीको गुम्नै लागेको पदीय दायित्व खतरामुक्त भयो । राष्ट्रवादको नाराका सामु कोरोनाको पीडा नागरिकले कम अनुभव गर्न लागे र सरकारी अव्यवस्था र भ्रष्टाचारका सबै कथाहरू छायाँमा पुगे । अब केही समय नेपालीहरूले सरकारतिर औलो उठाउनुको अर्थ राष्ट्रवादी अडानविरुद्ध उभिनु हुन्छ । त्यस्तो आँट गर्ने कोही हुँदैन । कोरोना संक्रमणमा अति अव्यवस्था र पीडा थपिए पनि मौन रहन नागरिक बाध्य हुन्छन् । अथवा आगामी साउन मसान्तमा ओलीका अढाइ वर्ष पूरा हुन्छन् र सहमति अनुसार उहाँले पुष्पकमल दाहाललाई सत्ता बुझाउँदा नक्सा जारीको साहसिक राष्ट्रिय कृत्यसमेत जिम्मा दिनु हुनेछ र जमीन फिर्ता भए पनि नभए पनि उहाँंको राष्ट्रिय कीर्ति स्थापित हुनेछ । जमीनबाट भारतीयलाई हटाउन नसके अपकीर्तिको भागीदार सत्तामा पुग्ने अरु नेता हुने र फिर्ता भए त्यसको आरम्भ जस आफैमा रहने ओलीको सोच प्रशंसनीय छ । अझ आउने निर्वाचनमा समेत यसको लाभ ओली पक्षलाई नै मिल्ने हुनसक्छ । अर्थात् चीत पनि पट पनि प्रधानमन्त्री ओलीकै पक्षमा हुनेछ ।
वास्तवमा आजका दिनमा प्रधानमन्त्री के.पी.ओलीको तुलनामा कुनै पनि अरु नेता चतुर छैनन् । उहाँ रुग्ण अवस्थामा पनि यति बोल्ड, निर्णायक, चतुर देखिनु आफैमा आश्चर्य हो । तर उहाँले व्यक्त गर्नु भएका गैरकूटनीतिक भाषा, आवेश र उत्तेजनाको मौसमी ट्युनिक अनुसारको राष्ट्रवादीशैलीले कतै विनाशको कठोर राजमार्ग त बनाउने होइन ? यो जिज्ञासालाई कसैले अराष्ट्रिय भन्ने हो कि ? तैपनि गर्न मन लागिरहेको छ ।
************************************
काइँल्दाई, नापी नक्सा र हाम्रो घर !
- रामप्रसाद खनाल
असाध्यै बाठा,
पल्लाघरे दाइ !
हाम्रो पाखो पखेरो
कब्जा गर्छन्
खेती गर्छन्
निकास खोल्छन्
तर हाम्रो काइँल्दाई,
कापीमा पेन्सिलले नक्सा कोर्छन्
हो यो कुना देखी यहाँ सम्म,
यो चुच्चो देखी त्यो चुच्चो सम्म
हाम्रै त हो नि भन्छन्
हामीलाई देखाउँछन्
बुझ्यौ केटा हो भन्दै,
हामी आफ्नै भाइ भतिजाहरू ललकार्दै,
पल्लाघरेले भनेर हुन्छ ??
कसले भन्छ हाम्रो होइन भनेर ??
हामी सँग घरमा डुक्रिन्छन् !
काइँल्दाई,
जब बोल्न थाल्छन्
घर नै थर्किन्छ भूकम्पका बेला जस्तो !
छेउ पाटा सब गन्छन्
सब हाम्रै हो भन्छन्
मालपोतको तिरो देखाउँछन्
लालपुर्जाको फोटोकपी देखाउँछन्
तर
सबै प्रमाण भर्दा पनि
सर्जिमिन गर्दा पनि
देख्ने जान्ने बुझ्नेले
यो पाखो पखेरो तिम्रै हो पनि भन्छन्
जब काइँल्दाई
पल्लाघरे दाइका नजिक पर्छन्
बोले मरिजाम !
मुखै फोर्न सक्दैनन्
नापी नक्सा, लालपुर्जाको पोको,
अहँ,
खोल्नै सक्दैनन् !
उल्टै,
खुट्टा समाउँछन्
माई बाप सबै तिमी त हौ भन्छन्
अझ हाम्रा आँखा छलेर
अँधेरी रातमा
काइँल्दाई,
पल्लाघरे दाइकोमा जान्छन्
दाईका खुट्टा मालिस गर्छन्
पैताला देखी तालु सम्म तेल घस्छन्
खोइ कस्तो मालिस गर्छन् गर्छन् रे
शरणमा पनि पर्छन् रे
यस्तै छ हजुर हाम्रा घरको हाल !
बा, अचानक झाँक्री लागेर बेहोस भए
आमा सबै देख्दा देख्दै
विरक्त लागेर होला,
छिन छिनमा मुर्छा पर्छिन्
लौन बर्बाद भयो, बँचाओ मात्र भन्छिन् !
ठुलो दाइ नामर्दै निस्कियो
माइलो दाइ केही गर्ला की भन्दा भन्दै,
घर व्यवहार सम्हाल्न नसकेर बिच्कियो
साइँलो दाइ उस्तै जोइटिंग्रे
काइँल्दाई निकै फुर्ती गर्थ्यो
लौ न त चलाऊ भनेर,
सबैले घर व्यवहार उनलाई सुम्पियो
काइँल्दाई हाम्रा अगाडि हान्ने साँढे जस्ता
खोइ हुन पनि कस्ता कस्ता !
अरू केही निहुँ नपाए
एका एक झोकिन्छन्
कसले भन्यो गैँडालाई राइनो ??
भन्न थाल्छन् !
घर भित्रै आगो बाल्छन्
छानोमा बारुलोको गोलो देखे
घर नै पोल्न थाल्छन्
आफ्नै घरमा आगो लगाएर
एक पटक होइन,
पटक पटक,
खरानीको खेलो गरेका काइँल्दाई
यिनको चर्तिकला के भन्नु र !
भो कुरै नगरौँ भो !
यिनले मर्नु पर्ला भन्ने बिर्सिए
आफ्नाहरू सबै बिर्सिए
बा को आर्जन र इज्जत सबै बिर्सिए
पल्लाघरे दाइ र तल्ला घरे दाइसँग घिर्सिए
तल्ला घरे दाई ठिकै जस्तो लाग्थ्यो पहिले
हातपात गर्दै घुचट्दछ अहिले
यता काइँल्दाई,
आजकाल एउटा अर्को छट्टुसँग
मीत लगाएका छन् !
जोडीएर हिंडेझै गर्छन्
तर,
थाहा छैन कुन दिन खाडलमा पर्छन्
सबैलाई नचाउने पल्लाघरे दाइ
कहिले खेतको साँधी सार्छन्
कहिले हाम्रै पाखा पखेरा बार्छन्
रातारात आफ्नो तिर पार्र्छन्
हाम्रा साँध सारिँदै गएका छन्
एक पछि अर्को गर्दै बारिँदै गएका छन्
हाम्रो साँध छुट्ट्याउने खोलो पनि
उनकै तिर पारिँदै गएका छन्
हाम्रो काइँल्दाई
पेन्सिलले नक्सा कोर्छन्
हामीलाई देखाउँर्छन् !
हामी पानी मरुवा हरू,
काइँल्दाईकै पेन्सिलवाला नक्सा हेर्छौँ,
दङ्ग पर्छौँ,
उमङ्ग मनाउँछौँ !
यसरी नै चल्दै छ हाम्रो घर
कुन दिन बदलिने हो हाम्रो आफ्नै थर
घरकै उल्लु भएपछि कसको पर्नु भर
घर पाखो गएपछी नक्साको के भर ??
सम्झँदा मनमा लाग्छ डर
कतै भइने त होइन घरबाट बेघर ??!!
- भर्जिनिया, मे १७, २०२०
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक