20200320

कोरोना भाइरस र हाम्रो भान्छा

चीनको उहानबाट फैलिएको कोरोना भाइरस अहिले चीनमा शान्त हुँदै छ भने युरोप, अमेरिकातिर यसको संक्रमण बढ्दो छ। र, नेपाललगायत दक्षिण एसियाली मुलुक हालसम्म सुरक्षित छन्। चीनको छिमेकी मुलुक भएर पनि यो भाइरसले नेपाललाई छुन नसक्नु र नेपालीको प्रतिरक्षा शक्ति देखेर संसारकै मानिस आश्चर्यचकित भएको अवस्थामा अनुमान गर्न सकिन्छ– यसका कारणमध्ये एउटा हो– हाम्रो भान्छा। घिउ, तेल, बेसार, ज्वानो, मेथी, हरियो खुर्सानीलगायत गरम मसला प्रयोग गर्ने हाम्रो खानपान शैली, पाक शैली र सेवन शैली अति नै वैज्ञानिक छ भन्नुपर्छ। घिउ वा तेलमा मेथी र बेसार फुराएर तरकारीलगायत परिकार बनाउने तरिका, दूधमा बेसार मिसाएर सेवन गर्ने संस्कार, अनि तातो पानीमा कागती र मह मिसाएर पिउने प्रचलन आफैंमा रोग निरोधात्मक उपाय हुन्।

कोरोना फैलिँदै जाँदा आज खानपानमा जुन उपाय अपनाउन सचेत गराइएको छ, ती त हाम्रा परम्परागत संस्कार र प्रचलन हुन्। त्यस्तै हाम्रो भूमि, वातावरणीय दृष्टिले अनुकुल छ, विश्वमै। भौतिक विकास, अस्पताल र औषधिको यथेष्ट सुविधा, सजगताका लागि विविध उपाय उपलब्ध नभईकन पनि हामी सुरक्षित रूपमा रहनु सक्नु हाम्रो खानपान शैली प्रमुख रहेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन। हाम्रो आयुर्वेदको ज्ञान र प्रयोग, योग, ध्यान र नमस्कारलगायत अभिवादनका संस्कार कति वैज्ञानिक छन् र यिनलाई आधुनिक आडम्बरले छायामा पार्न नसकुन् भनेर सचेत हुनुपर्ने समय आएको छ।

घिउ वा तेलमा मेथी र बेसार फुराएर तरकारीलगायत परिकार बनाउने तरिका, दूधमा बेसार मिसाएर सेवन गर्ने संस्कार, अनि तातो पानीमा कागती र मह मिसाएर पिउने प्रचलन आफैंमा रोग निरोधात्मक उपाय हुन्।
कोरोनालगायत भाइरससँग मात्रै होइन, हाम्रै संस्कारलाई जीवित राख्न सचेत बन्नुपर्ने अवसर पनि मान्न सकिन्छ, यो समयलाई। किनकि विश्वमा जसरी यो भाइरस फैलिरहेको छ, त्यसरी नेपालमा फैलियो भने हामीसँग बिरामी राख्ने क्वारेन्टाइन व्यवस्था हुन नसक्ने अवस्था छ, अरू सुविधाको कल्पना कसरी गर्ने ? भिडभाड र भोजभतेर कमै गर्ने, हात साबुन–पानीले बारम्बार धुने, सकेसम्म खोक्दा, हाच्छ्युँ गर्दा व्यक्तिबाट टाढा रहनेलगायत अभ्यास त सधैं अपनाउन जरूरी छ नै, खानपानमा  ध्यान दिन सके रुघाखोकी र ज्वरोले पनि हत्तपत्त समाउन सक्दैन।
नार्मन विसेन्ट पालले भन्नुभएको छ– ‘कतिपय मानिस यसकारण रोगी भइरहेका छैनन् कि जो गलत चिज खान्छन्। उनीहरू यसकारण रोगी छन् कि जसलाई गलत चिजले खाइरहेको छ।’ मानिसको सजगताप्रति इंगित गर्नुभएको छ, उहाँले। अहिले चीनमा फैलिरहेको कोरोना भाइरसप्रति जति हामी सजग छौं, त्यो भाइरस कतै खानपानबाटै फैलिएको त होइन भनेर सोच्न भने भ्याइएको छैन। चीनमा बढीभन्दा बढी पशुपन्छीको मासु र त्यो पनि काँचो खाने प्रचलन देखिन्छ। अहिले इटालीलगायत मुलुकमा जसरी यो भाइरस फैलिएको छ, त्यहाँ पनि खानपान शैलीकै कारण मानिसमा प्रतिरक्षात्मक शक्ति कमजोर हुँदै गएको आशंका गर्न सकिन्छ।
जुनसुकै राष्ट्रका मानिस भए पनि शारीरिक बनोट, प्राकृतिक गुण र पाचन–शक्तिका हिसाबले मांसाहार उचित छैन। त्यसमा पनि जुनसुकै पशुपन्छीको मासु खाने गरिएका कारण यो भाइरस फैलिएको त होइन भन्ने आशंका गर्ने प्रशस्त आधार भेटिएका छन्। तुलनात्मक रूपमा नेपालीको खानपान शैली यति अराजक छैन। भोजन– कति, कस्तो, कतिपटक र किन लिने, त्यो सन्तुलन मिलाउने कला जानिएन भने शरीरलाई अन्याय हुन जान्छ। आयुर्वेद भन्छ– ‘आहार शुद्धौ सत्व शुद्धि।’ मानव जीवनमा शुद्ध आहार सेवनको महŒवपूर्ण भूमिका छ। शुद्ध आहारबिना उत्तम, निरोगी र स्वस्थ रहने कल्पना नगर्दा हुन्छ।
भोजनबाटै शरीर, मन र प्रज्ञा उत्पन्न हुन्छ र स्थुल रूपमा मल र रगत बन्छन्। त्यसैले शुद्ध आहार आवश्यक मानिन्छ। नीति–शास्त्रमा उल्लेख छ– ‘जसरी दीपले अन्धकार हटाउँछ, त्यसैगरी शुद्ध आहारले सबै नकारात्मक भाव र विचार मेटाउँछ।’ त्यति मात्र कहाँ हो र, आमाबुबाले जस्तो आहार सेवन गर्छन्, नवजात शिशुले त्यस्तै स्वभाव लिएर जन्मेका हुन्छन्, भनिएको छ। शुद्ध, सफा र सन्तुलित भोजनको परिणाम नै सद्विवेक र अनुशासन हो। जसमा सद्विवेक र अनुशासन कायम रहन्छ, उसमा सदाचारको गुण हुन्छ र जीवनमा सुख, शान्ति र प्रेम प्राप्त हुन्छ। शरीर कुनै भण्डारण–गृह होइन कि हामी भएका सबै चिज खाएर पेटमा भण्डारण गरौं। आयुर्वेद थप  भन्छ– ‘सन्तुलित भोजनबिना औषधिको कामै छैन भने सन्तुलित भोजन भए औषधि आवश्यकै पर्दैन।’
प्रकृतिले खान हुने गरी उपलब्ध गराएका सबै खाना हाम्रा लागि उपयुक्त छन्। तर व्यक्तिपिच्छे शरीरको प्रकृति फरक हुने हुँदा पनि आफ्नो शरीरको प्रकृति हेरी भोजन लिनुपर्छ। हामीले ग्रहण गर्ने भोजनले शरीर स्वस्थ राखोस् र ऊर्जा÷शक्ति प्रदान गरोस्। आवश्यकताभन्दा बढी वा कम भोजन पनि सम्यक् हुँदैन। भोजन तामसी, राजसी र सात्विक गरी तीन प्रकारका हुन्छन्। तर शरीरलाई ऊर्जा दिने भोजन भने सात्विक नै हो। 
उमेर बढ्दै जाँदा पनि हाम्रो खानपानको व्यवहार परिवर्तन हुँदैन भने हामीले के सिकेका छौं ? जुन खाना हामी २० वर्षको उमेरमा खान्थ्यौं, त्यो त्यति नै मात्रामा ४० वर्षको उमेरमा, अनि ६५ पुग्दा पनि त्यही प्रकृतिको खाना खान्छौं भने हाम्रो पाचन–शक्तिले काम गर्ला त ? अवश्य गर्दैन। परिणामस्वरूप हामी बिरामी हुन्छौं, शारीरिक एवं मानसिक समस्याले सताउन थाल्छन्। उमेर वृद्धिसँगै पाचन क्षमता घट्दै जान्छ र गरिष्ठ भोजन पचाउन कठिन हुन्छ भन्ने जान्नु त सामान्य ज्ञान हो। तर हामी हेलचक्र्याइँ गर्छौं। हामीले १० ग्रामको जिब्रोको स्वादका लागि ६० किलोग्रामको शरीरलाई बेफाइदा हुने भोजन ग्रहण गरिरहेका त छैनौं ? अनुसन्धानअनुसार अचेल कम भोजनले भन्दा अति भोजनका कारण रोग निम्त्याउनेको संख्या बढिरहेको छ।
हाम्रो भौगोलिक अवस्था र बनोटका आधारमा प्रकृतिले नै जाडो र गर्मी गरी मौसमलाई ६ ऋतुमा विभाजन गरिदिएको छ र ती फरक–फरक मौसममा फरक–फरक प्रकृतिका तरकारी, फलफूल र अन्न उत्पादन हुन्छन्। तिनै मौसमअनुसारका उत्पादन प्रयोग गर्नु प्राकृतिक भोजन ग्रहण गर्नु हो। मौसमअनुसार काँचा/हरिया सागसब्जी, गेडागुडी सबै, शरीरका लागि हितकर हुन्छन्।
हिजोआज मात्रा अड्कलेर भोजन गर्ने, क्यालोरी, भिटामिन, क्याल्सियम आदि लेखाजोखा गर्ने र गुणस्तरीय ठहरिएका वस्तु मात्र प्रयोग गर्ने अभ्यास बढेको छ। यो धेरै राम्रो हो। तर विज्ञान, खानाको मात्रा र क्यालोरी नबुझ्नेले पनि कस्तो भोजन उपयुक्त छ भनेर बुझ्न मात्र ३ गुण थाहा पाए पुग्छ ः भोजन त्यस्तो होस्– १) जसले स्फूर्ति प्रदान गरोस्, २) उत्तेजना पैदा नगरोस् र ३) मादकतामा नलगोस्। यति ३ कुरा मात्र ख्याल गर्न सके सम्यक् र स्वास्थ्यवद्र्धक भोजन के हो, बुझ्न सकिन्छ र विभिन्न भाइरस र रोगबाट बच्न सकिन्छ।


गाँउसेवा परिवार द्वारा स्याङ्जामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना 
- डा. नम्रता पाण्डे (उपाध्यक्ष: गाँउसेवा परिवार स्याङ्जा) 
स्याङ्जा जिल्लाको कालीगण्डकी गाँउपालिका -१ चण्डीभन्ज्याङमा यहि चैत्र १ गतेका दिन एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  गाँउसेवा परिवार वीरघा स्याङ्जाको आयोजना तथा वीपी स्मृति अस्पताल बसुन्धरा काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । जसमा ४ सय २६ जना बिरामीले लिए लाभ लिएका छन् I शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, मुटु, युरोलोजी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, मुख तथा दन्त स्वास्थ्य, आँखा, छाला, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवाहरु दिईएको थियो । त्यसैगरी, शिविरमा भिडियो एक्सरे सेवा, सुगर तथा पिसाव जाँचको व्यवस्था समेत गरिएको थियो ।शिविरका लागि १९ जना चिकित्सक र नर्स, प्यारामेडिक्स तथा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका २१ जना गरि जम्मा ४० जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो । परिक्षण गर्न आएकाहरुलाई आवश्यकता अनुसार निशुल्क औषधि वितरण समेत गरिएको थियो । परीक्षणका क्रममा गाँउमा मधुमेह, उच्च रक्तचाप साथै पाठेघर खसेका विरामीहरुको संख्या धेरै नै देखिएको थियो । यस्तै मुख तथा दन्त स्वास्थ्य सम्वन्धी समस्या भएका, छालारोग सम्वन्धी समस्या भएका विरामीको सख्या समेत धेरै  थियो ।
यो शिविरले गाँउमा सेवा त भयो नै, कतिपय व्यक्तिमा रोग र त्यसविरुद्ध सचेतना जागरुक समेत गराएको छ I सोहि कार्यक्रमको अवसर पारेर गाँउसेवा परिवार वीरघाले आफ्नो पहलमा भारतीय दुतावासबाट प्राप्त एम्बुलेन्स वीरघा स्वास्थ्य चौकीलाई हस्तान्तरण समेत गरेको छ । गाँउपालिका अध्यक्ष खिमबहादुर थापा, वीरघा स्वास्थ्य चौकीका अध्यक्ष चक्रपाणी पाण्डे र स्वास्थ्यचौकी प्रमुख एकबहादुर थापालाई गाउँसेवा परिवारले साँचो हस्तान्तरण गरेको थियो ।
आज भन्दा करिव ३८ वर्ष अघि स्याङ्गजा बीरघाबाट काठमाडौँ कर्मथलो बनाउन बाध्य बीरघाका दाजुभाइ एवम् दिदीबहिनीहरूले हप्ता, महिना दिनमा एकैठाउँ भेला भएर चिया पिउने, भलाकुसारी गर्ने र आफ्नो जन्मस्थानको यादमा रमाउने अनि जन्मस्थानको समाजसेवामा केहि भएपनि योगदान गर्ने भन्ने उद्धेश्यले १-१ रुपियाँ अर्थ संकलन गरेर स्थापित भएको यो संस्थाले आजको दिनसम्म धेरै सामाजिक सेवा प्रदान गर्न सफल भएको कुरा संस्थाकी उपाध्यक्ष डा. नम्रता पाण्डेले बताउनुभयो I स्याङ्गजाका विभिन्न विद्यालयमा गरिव तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृति प्रदान गर्ने देखि लिएर निशुल्क स्वास्थ्य शिविर, बाटोघाटो निर्माण, खानेपानी लगायतका विधामा वर्षेनी यथासक्य सहयोग गर्दै आइरहेको छ गाउँसेवा परिवारले ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक