समयचेत एक महत्वपूर्ण विषय भएको छ साहित्यक सृजनामा । त्यसमा पनि कविताको शक्ति भन्नु मुख्यत कविले बाँचेको समय चित्रण, समय चेतनाको अभिव्यक्ति हो भनी धेरै लेखक समीक्षकले भन्ने गरेका छन् । हामीले बाँच्दै गरेको समय भन्नु देशमा भएको अनेकन राजनैतिक
सामाजिक परिवर्तनले उजागर गरेको एक विशिष्ट चेतना केन्द्रित समय हो जहाँ लामो समयदेखि सिमानामा बिलाइरहेका जाति समुदाय र विषयहरुको आवाज मुखरित भएका छन् । कवि सुनिता खनाल दावी गर्छिन्– ‘कविताको जिम्मेवारी आफ्नै छ । मैले बाँचिरहेको समयलाई सम्बोधन गर्नु मेरो कवितीय जिम्मेवारी ठानेकी छु ।’
कवि सुनिताको पहिलो कवितासंग्रह ‘ओ नायक !’को उनको भनाईमा यी हरफ भेटिन्छ । कविता पढ्दै जाँदा उनले दावी गरे जस्तै उनका कविताहरु समय सचेत लाग्छन् । विभेदका अनगिन्ती पर्खालहरु ढलिसकेर पनि अझै ठडिरहेकै छन् हामीभित्रै कतिपयक विभेदपूर्ण सोचाइका पर्खालहरु । संसयपूर्ण छ वातावरण । जतिखेर पनि देखिन सक्छ हिंसाका नविन रुप हाम्रै वरपर । लोभ र मोहमा आकाशिदै छ मान्छेको मन । मान्छेभित्रका अनेकन कुरुपता र समाजमा भएका कुप्रथाले निम्त्याएका कयौँ विद्रुप घटनाको साक्षी यही समय हो । विभेदका अनेकन रङ्मा रङ्गिएको छ हाम्रो समय । र त कवि प्रश्न तेर्सिउछिन् विभेदका बिरुद्ध ।
एउटै पृथ्वीमा
यो दुईटा पृथ्वी बनाउने को हुन् ?
बुद्ध
मलाई तिम्रो नाममा शङ्का छ ।
(दुइटा पृथ्वी)
एउटै पृथ्वीमा
यो दुईटा पृथ्वी बनाउने को हुन् ?
बुद्ध
मलाई तिम्रो नाममा शङ्का छ ।
(दुइटा पृथ्वी)
एकै ठाउँका बासिन्दा भएर पनि किन होला उच, निच, धनि गरीब, तल र माथिका कुरा, मालिक र दासका कुरा, वर र परका कुरा ? के यी सारा असमानताका लहरहरु मन बहकाउन काफि छैनन् ? प्रश्न र शंकाको छाल एकै पटक तरंगित हुन्छ कवि खनालको मनमा र उद्वेलित पारिदिन्छिन् पाठकको मन पनि ।
कवि सुनिता खनाल, जसले भर्खरै बजारमा ल्याएको पहिलो कवितासंग्रह ‘ओ नायक !’ले उठाएको विषय र प्रस्तुतीले पाठक समिक्षकलाई एकछिन् अड्न बाध्य पार्न सक्छ । कविता यसै पनि हतारमा पढ्न सकिने बिधा हैन जसरी हतार र लहडले कविता लेखिन्न । कविता पढ्न पेसेन्स चाहिन्छ । कविको भाव, काव्यिकतासँग आफूलाई मिसाउन र मेसो पाउन उठाएको विषय एकछिन् त सोच्नै पर्छ पाठकले । सुनिताका कविताहरुमा समसामयिकताको प्रचुरता भेटिन्छ । विसंगत र वितृष्णाले भरिएको संसयपूर्ण समयदेखि, विदेशिने युवाको परिवारको पीडा, हिंसाले भरिएको समय, अनेकन कुप्रथाले थिलोथिलो भएको समाज पीडा, साथै अस्त्विकेद्रित अभिव्यक्तिहरुसम्म पनि यस संग्रहमा समेटिएका छन् ।
२०७४ साल फेरि पनि उपन्यासमय वर्ष रह्यो । धेरै कविहरु उपन्यासकर्मतिर लागे । उपन्यास मोहले भरिभराउ बजार र लेखकहरुको मनलाई भीडमा कतै छाडेर कवि सुनिताले चुनौति लिइन् समयसँग यही समयको कथा बोकेको संग्रह सृजना गरेर ।
वैदेशिक रोजगारिले भित्र्याएको पैसाले मख्ख परेको लामो समय भैसक्यो नेपाली समाज । तर पैसासँगै भित्रिने पीडाको लेखाजोखा कहाँ गर्छ र राज्यले ? पर्छ जुन परिवारलाई उसैले बेहोर्ने न हो बाकसमा देश भित्रिनेहरुको पीडा । या लामो समयसँग विदेशमा हराउन बाध्यहरुको परिवारको मन दुखाई । एक्लोपन र अनिश्चितताले गाँज्दाको समय अरु कसले बुझ्छ र सिवाय उनीहरु नै । सुनिता उठाउँछिन् यस्तै चिसो समय ती परिवारको ।
धेरै वर्षपछि उसको साटो खबर आइपुगेथ्यो
छुट्टि मिल्यो रे मरुभुमिको कारखानाबाट
मलाई लागेको थियो
अब छुट्टी हुने छ यो थाप्लोबाट ऋण
... ... ... ...
हट्नेछ आङबाट चिसो घाम
र उदाउनेछ तेजिलो सूर्य
तर
बस खबर आयो मान्छे आएन ।
(चिसो घाम )
छुट्टि मिल्यो रे मरुभुमिको कारखानाबाट
मलाई लागेको थियो
अब छुट्टी हुने छ यो थाप्लोबाट ऋण
... ... ... ...
हट्नेछ आङबाट चिसो घाम
र उदाउनेछ तेजिलो सूर्य
तर
बस खबर आयो मान्छे आएन ।
(चिसो घाम )
समसामयिकताको तीखो चेतना बोकेको पहिलो सेक्सन तरवारको पर्खालका बलशाली कविताहरु छिचोलिसकेपछिका ‘ओ नायक !’ र मेलोडि ब्लुजका कविताहरु भने अलि निम्छरा लाग्छन् । यस मानेमा सबै सेक्सनका कविताहरु विषयका हिसावले ब्यालेन्स्ड छैनन् । यी सेक्सनका कविताहरु बढी अमूर्त अनुभूति केन्द्रित छन् जसले लेखकको लोकेशन बोल्दैनन् । बिम्ब दोहोरिनु कमजोरी लाग्छ यी कविताहरुको । लेखकको बुद्ध, फूल र काँडा मोह अजीव छ । उनले बुद्धलाई चार पटक दोहोर्याएकी छन् भने लगभग हरफ नै पनि दोहोरिएको छ ।
बहिनीको जाँघभित्र
कसले घुसारेका हुन्
चित्कारको हतियार ?
(केही नाङ्गा प्रश्नहरु)
बहिनीको वस्त्रभित्र किन
किन हात घुसारिरहेको छ बहुराष्ट््िरय कम्पनी ?
(ऐनाको देश)
कसले घुसारेका हुन्
चित्कारको हतियार ?
(केही नाङ्गा प्रश्नहरु)
बहिनीको वस्त्रभित्र किन
किन हात घुसारिरहेको छ बहुराष्ट््िरय कम्पनी ?
(ऐनाको देश)
यसरी दोहोरिएको बिम्ब र हरफहरुका कारण पाठकलाई अलि खल्लो लाग्न सक्छ यी कविताहरु । बीचको दुई सेक्सनको अल्मल्याई र गुनगुन पछि फेरि अन्तिम सेक्सन फलामका पर्दाहरु भित्र फेरि दमदार कविताहरु समेटिएका छन् । यस भित्रको घर ढलेपछि १ र २ कविताहरु निकै चिन्तनशील छन् । घर ढुङ्गा, माटो, पर्खाल र छाना मात्र नभई अनेकन नदेखिने आस्थाहरुको, सम्बन्धहरुको समग्र रुप हो । घर आफैमा एक अस्तित्व हो जो समग्र परिवारलाई जोडेर राख्ने एक आस्था । जब घर ढल्छ तब एकैचोटि धेरै थोक पुरिन्छ त्यस भग्नावशेषमा । कविले उठाएको कुरा बहुत मर्मस्पर्शी लाग्छ ।
घर ढलेपछि
सब ढल्यो ।
घर ढलेपछि नै
चिनेको हुँ रगतको नाता
थाहा पाएको हुँ आफन्तको रङ्
गाढा हुन्छ कि पातलो, बलियो हुन्छ कि कमजोर
कस्तो हुन्छ पराईको मन ।
(घर ढलेपछि २)
सब ढल्यो ।
घर ढलेपछि नै
चिनेको हुँ रगतको नाता
थाहा पाएको हुँ आफन्तको रङ्
गाढा हुन्छ कि पातलो, बलियो हुन्छ कि कमजोर
कस्तो हुन्छ पराईको मन ।
(घर ढलेपछि २)
‘ओ नायक !’ कवि सुनिता खनालको आशातित शुरुवात् हो कविता कर्मको । सामयिकता टिप्नु र समयका अनेकन रुपरङ्हरुलाई उजागर गर्नु लेखकको शक्ति हो भने भावुक अनुभूतिको अभिव्यक्तिले केही कविताहरुमा भरेको अमूर्तता र दोहोरिएका विम्बहरु उनका कविताका सीमा ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक