20180720

सरकार ! डाक्टर गोबिन्द केसीका माग मेरा पनि हुन है !


Image may contain: 1 person, sky, closeup and outdoor
– सन्तोष चिमरिया 
सरकार ! डाक्टर गोबिन्द केसीका   माग मेरा पनि हुन है । मलाई भोक लागिरहन्छ । खाईरहनु पर्छ । म अन्सन बस्न सक्दिन । तर म भोकै बसेको छैन भन्दैमा, ती गोबिन्द केसीका मात्रै माग हुन भनेर सरकारले नबुझ्नु । कम्तिमा स्वास्थ शिक्षा र नागरिक स्वास्थलाई नाफामुखी बजारतन्त्रबाट अलग गरौं भन्ने उनको माग मेरो स्वार्थ अनुकुल छ । मेरो भन्नाले बहुसंख्यक जनको प्राथमिक स्वास्थ स्वार्थसंग प्रत्यक्ष जोडिएको छ , त्यसैले गोबिन्द केसीका माग मेरा पनि हुन । सरकार ! म पहुच नभएको, पैसा नभएको, मन्त्री परिषदको निर्णयबाट आर्थिक सहायता लिन सक्ने हैसियत नभएको भुइँ मान्छे हु । म न आफू बिरामी हुँदा थाइल्यान्ड जान सक्छु । न जोई बिरामी हुँदा सिंगापुर लान सक्छु । म यतै बिरामी हुने, सके यतै उपचार गर्ने, नसके डोको बिसाउन तयार हुने भुइँ मान्छे हु । तर डोको बिसाउन र छोराछोरी टुहुरा बनाउन कस्लाई मन हुन्छ र ? अझ त्यसमाथि तपाईंले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिनु भएको छ ।
त्यसैले सरकार ! हामीलाई पनि बाँचि बर्ती रहेर यो मुलुकमा आएको समृद्धि हेर्ने ठूलो धोको छ । एक समारोह बिच प्रधानमन्त्रले रिबिन काटेर हाईस्पिड रेलको उद्घाटन गरेको दिन ताली पड्काउन खुब मन लाग्या छ । भुपरिबेष्ठित देशको नागरिक न परियो । एकबारको जुनीमा राष्ट्रिय ध्वजाबाहक पानी जहाज चड्ने ज्यादै तिर्सना
छ सरकार ।
त्यसैले मेरो स्वास्थ धेरै महत्त्वपूर्ण छ सरकार ! म बाँच्नै पर्ने छ । बाँकी कुराको व्यवस्था आफै सके गरौंला , नसके बेहोरुला । तर मलाई पैसाको अभाबले मर्न मन छैन सरकार । कृपया गोबिन्द केसीलाई सुन्दिनुस । ती बिचरा मेरै बोली बोलिरहेका छ्न । तिनले मेरै स्वार्थको प्रतिनिधित्व गर्छन।
*****************
सम्माननीय प्रधानमन्त्रीज्यू, राजधानीमा बिहान जुरुक्क उठेपछि शौच गर्ने पानी नागरिकलाई उपलब्ध छैन । यता सहर पानीमा चुर्लुम्म डुबेको छ । तर धाराबाट हावामात्रै आउँछ । समस्याको कदेखि ज्ञसम्म यही हो । हाम्रा अप्ठ्यारा यहींबाट सुरु हुन्छन् । समाधान पनि यिनै सानातिनाझैं देखिने तर विकराल र अत्यावश्यक कुराबाट सुरु हुनुपर्छ ।
ठिक छ, रेल चढौं ल । रकेट उडाउँला । पानीजहाज ल्याउँला । तर विकास टुसाउँदै झाङ्गिनुपर्छ । टुप्पोबाट विकास पलाइहाल्यो भने पनि त्यो दिगो हुँदैन । विकास धरातलीय हुनुपर्छ, जमिनमा खुट्टा टेकेको । हाम्रा प्राथमिक र अनिवार्य आवश्यकताबाट सुरु भएर बढ्नुपर्छ । नत्र बुलेट ट्रेनमा चढेर हात धुने पानी उपलब्ध भएन भने झन् नमज्जा हुन्छ । त्यसैले पानीको प्राथमिक आवश्यकतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु । सहरी मतदाता बिहानको नित्यकर्म सकेर बाहिर निस्किने बित्तिकै चरम अव्यवस्थापनको सिकार हुन्छ । पहिलो पाइलामै ऊ श्वास फेर्न पाउने न्यूनतम अधिकारबाट बञ्चित हुन्छ । आधा धुलो सहितको अक्सिजनले फोक्सो भर्दै ऊ रोजीरोटीको खोजीमा हिँड्छ । अब ऊ हिँड्ने सडक, उसले यात्रा गर्ने सार्वजनिक यातायात, उसले उपचार गर्ने अस्पताल, ऊ जाने सरकारी कार्यालय, उसले खाने खाजादेखि उसले पिउने पानीसम्म कहीं कतै त्यस्तो ठाउँ छैन, जहाँ उसको हुर्मत नलिइयोस् । उसमाथि खेलवाड नगरियोस् । उसको स्वस्थ भएर आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार नलुटियोस् । कमरेड, म र हामी सबै तपाईंका सपनाहरूको कदर गर्छु र गर्छौं ।
प्रधानमन्त्रीज्यू, हामी जाने हो, नवीकरणीय ऊर्जाको क्षेत्रमा । सम्भव छ, हावाबाट बिजुली । सम्भव छ, पाइप लाइनमार्फत ग्यासको आपूर्ति । तर सार्वजनिक यातायात र राजधानीका सडकमा यस्तो भीड छ कि मतदाताको जीवन जिउने ऊर्जा त्यसले सत्यानाश गरिसकेको हुन्छ । प्रधानमन्त्रीलाई जमिनी समस्याबारे बताएको हँु । यिनीहरू यस्ता समस्या हुन्, जुन हेर्दा साना छन्, उडुसजस्ता । तर यिनले नागरिकको रगत चुसेर खोस्टो बनाउन लागिसके । यो उकुस–मुकुस धेरै दिन सहन सकिँदैन । विकास भाषणमा होइन, तलैबाट थालनी गरौं । सानातिना कुराबाट गरौं ।
– सन्तोष चिमरिया
गोंगबु, काठमाडौं

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक