शनिबार बिहान राजधानीको माइतीघर मण्डलामा दुर्घटनाग्रस्त कार जुन घटना प्रहरीले सार्वजनिक गर्न चाहेको छैन। तस्बिर सौजन्य: आर्थिक दैनिक
काठमाडौं-गृह प्रशासनले माइतीघरमण्डलामा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ । प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ । प्रहरीको उच्च नेतृत्वले दुर्घटनामा पीडित कोही नभएको र 'व्यक्तिगत' भन्दै सूचना गोप्य राखेको हो । प्रहरीका उच्च अधिकारीले घटनाबारे खुलेर कुरा गर्न र आधिकारिक जानकारी दिनसमेत मानिरहेका छैनन् । घटनास्थलनजिकै नेपाली सेनाको मुख्यालय र महानगरीय प्रहरीका सिसी क्यामेराले समेत अनुगमन गरिरहेको हुन्छ ।
घटनासम्बन्धी सिसी क्यामेरा रेकर्ड माग्दासमेत प्रहरीका जिम्मेवार अधिकारीले त्यतिबेला अँध्यारो हुने भएकाले केही पनि नदेखिएको दाबी गरे । तर, घटनास्थल सोलार बत्तीले उज्यालो छ । काठमाडौंका विभिन्न स्थानमा शनिबार बिहान साढे तीन बजेदेखि अनियन्त्रित गतिमा हुइँकिएको गाडी माइतीघर मण्डलामा पुगेर दुर्घटना भएको थियो । अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिँदै मण्डला घुमेर थापाथलीतिरै मोड्न खोज्दा दुर्घटना भई उत्तानो परेको प्रत्यक्षदर्शीले देखेका थिए । प्रहरी स्रोतका अनुसार सडकमा उत्तानो अवस्थामा रहेको गाडी ट्राफिक प्रहरीले र्याकरको सहायताले उठाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा लगेको थियो । तर शनिबार गाडी सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखाले जानकारी दियो । घटनास्थल पनि प्रहरीले तत्कालै सफा गरेको थियो ।
त्यो गाडी मर्मतका लागि लगिएको फेला परेको छ । उक्त गाडी मर्मतकेन्द्रमा स्टेयरिडमा एअरब्याग निस्केको, कच्याककुचुक भएको र सिसा फुटेको अवस्थामा फेला परेको छ । गाडीमा सवार व्यक्तिहरूको अवस्था 'सामान्य' रहेको महाशाखाको दाबी छ । यसबारे प्रहरीका कुनै पनि अधिकारीले औपचारिक प्रतिक्रिया दिन इन्कार गरे ।
चालकले नियन्त्रण गुमाएको अवस्थामा हुइँकिएको गाडीका कारण थापाथलीचोक, नर्भिक अस्पताल र माइतीघरमा रहेका बटुवा र चियापसले समेत त्रसित भएका थिए ।
दुर्घटनामा गाडीले माइतीघरबाट थापाथली मोडमा रहेको त्रिकोणको पिल्लर भत्किएको छ भने सोलार बत्तीको पोल बांगिएको छ । दुर्घटनामा सार्वजनिक सम्पत्ति तोडफोड भए पनि त्यसको हर्जना सम्बन्धित व्यक्तिबाट गराउनुपर्ने आवश्यकतासमेत प्रहरीले महसुस गरेको छैन ।
प्रहरीस्रोतका अनुसार दुर्घटनामा परेको बा१२च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार कान्तिपुर मिडिया ग्रुपको नाममा छ । दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला रहे पनि महिलाको परिचय प्रहरीले गोप्य राखेको छ । अझ प्रहरी अधिकारीले गाडीमा रहेका तीन जना पुरुष सकुशल रहेको दाबी गरेको छ ।
स्रोतका अनुसार गाडीमा रहेका युवतीको अवस्थाबारे प्रहरीका उच्च अधिकारी र परिवारबाहेक सबैबाट गोप्य राखिएको छ ।
प्रहरीले चालक रहेका व्यक्तिको थर आफूहरुलाई थाहा भएको अन्यका विषयमा चासो नलिएको भन्दै नाम गोप्य राख्न अनुरोध गरिरहेको छ । घाइतेलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पताल लगिएको भए पनि त्यहाँ पनि अर्कै व्यक्तिका नाममा भर्ना गरिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयको दैनिक घटना विवरण र ट्राफिक महाशाखामा समेत दुर्घटनाको कुनै रेकर्ड छैन । सवारी दुर्घटनापछि चालकले मादक पदार्थ सेवन गरे वा नगरेको जाँचसमेत नगरी व्यक्तिगत दुर्घटना भन्दै गुपचुप राख्ने प्रयास भइरहेको छ ।
प्रहरीले सडकमा भएको दुर्घटनालाई कसरी व्यक्तिगत भनेर लुकाउन मिल्छ ? अहिले यो प्रश्न उठे पनि खुलारुपमा कोही पनि बोल्न सकेका छैनन् । रात्रिकालीन अवस्थामा 'हिट एन्ड रन' (गाडीले ठोकेर भाग्ने घटना) हुन्छन् ।
भारतमै सलमान खानले हालै यस्तै मुद्दाको सामना गर्नुपरेको थियो । कुनै व्यक्तिलाई यो गाडीले हानेर घाइते बनाएको वा मृत्यु भएको भए प्रहरीकै मद्दतले लुकाइने रहेछ भन्ने पनि अहिले सार्वजनिक चर्चामा छ । अगस्ट २००९ मा वीर अस्पताल अगाडि राति १२:३० बजे यसैगरी भएको एउटा दुर्घटनामा सडक किनारामा भएका हिँडिरहेका ६ जना व्यक्तिको ज्यान गएको थियो । उक्त घटनामा चालक विप्लवमान सिंह नामक युवालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो । उनी जेल सजायसमेत भोगेर मुक्त भइसकेका छन् ।
- नागरिक
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक