सप्तरी र गोरखाको लडाइँ : रुद्र चुडाल
यस भन्दा ठिक २० बर्ष
अघि गोरखाले गोरखामै जन्मेका बाबुराम भट्टराई
मार्फत सिंहदरबारमा ४० बुँदे माग राखेर माओवादी आन्दोलन को घोषणा गरेको थियो | गोरखाले
नेपाल एकीकरण गरेको हुनाले नेपालीलाई हक अधिकार सम्पन्न पनि गोरखाले नै बनाउन सक्छ
भन्ने गोरखाको दावी थियो | अझ उसको कडा दावी के थियो भने गोरखाका राजा पृथ्वीनारायण
शाहले हतियारको
बलले विभिन्न जात जातिको दमन गरे, कीर्तिपुरे नेवारहरुको नाक काटे,
२५० बर्ष देखि ठकुरी र पहाडिया बाहुन क्षेत्रीले मात्र देशको शोषण गरे | त्यसकारण तिनलाई
हतियारको माध्यमबाटै युद्द लडेर ठिक पार्नु पर्छ | त्यो काम गर्नको लागि गोरखामा बाबुराम
भट्टराईलाई जन्म दिएको छु | जाति, जनजाति, मधेशी, दलित र उत्पीडित वर्ग सबैले बाबुराम
भट्टराईलाई सहयोग गर | तिमीहरुले आफ्नो राज्य पाउने छौ | गोरखाले भन्यो |
कास्कीको सामान्य र गरिब
परिवारमा जन्मेका छबिलाल दाहाल गोरखाको आरुघाटमा बिज्ञान शिक्षक बनेका थिए | उनको पाइलट
बन्ने सपना थियो | तर उनी त्यहाँ पढ़ाउदा पढाउदै गोर्खाली भावनाले ओतप्रोत भए | त्यसपछि
शिक्षक पेशालाई तिलान्जली दिएर उनी कम्युनिस्ट पार्टीको पूर्ण सदस्य भए | गोरखामै उनले
पहिलो गुरिल्ला तालिम पनि लिए | त्यसबेला सम्म उनी छबिलालबाट पुष्पकमल दाहाल भैसकेका
थिए | कमरेड पुष्पकमल दाहाल र बाबुराम भट्टराईको बलियो जोडी बन्यो | पुष्पकमल दाहाललाई भट्टराईले गोरखा बाहिर जन्मेको भए पनि
आफ्नो नेता बनाए र दाहाल प्रचण्ड बने | गोरखामै बैंक लुटेर यिनीहरुले हिंसात्मक आन्दोलन
सुरु गरे र भूमिगत भए | यिनीहरु नेपाली भाषी धेरै भएको भारतको सिलिगुडीमा लुक्न गए
| त्यहींबाट यिनीहरुले नेपालमा हिंसात्मक आन्दोलनको नेतृत्व गरे |
यसरी भारतमा लुकेर गोरखाले
सुरु गरेको हिंसात्मक आन्दोलनमा सप्तरी पनि आकर्षित भयो | पिछडिएका जाति, मधेशी र उत्पीडित
बर्गलाई उद्दार गर्ने, स्वायत्त गणराज्य उपलब्ध गराउने क्रान्ति भनिएकोले सप्तरी आकर्षित
भएको थियो | सप्तरीको छिमेकी जिल्ला सिराहाका जयकृष्ण गोइत र सप्तरीमै जन्मेका उपेन्द्र
यादव माओवादीमा लागे | उपेन्द्र यादव भारतमा पक्राउ परे | सप्तरीकै गणतन्त्रवादी नेता
रामराजाप्रसाद सिंहले भारतीय अधिकारीहरुलाई भनसुन गरि उनलाई जेलमुक्त गरे | अब भने
सप्तरी पुत्र यादवलाई माओवादी प्रति संका भयो | भारतको पश्चिम बङ्गाल राज्य सभाका पुर्व
सदस्य बद्रि नारायणका छोरा तथा अखिल भारत नेपाली बिद्यार्थी संगठनका सभापती नारायणबिक्रम
प्रधानसँग प्रचण्डकी कान्छी छोरीको बिवाह हुनु, तर त्यो संगठनचाहिँ नेपाली माओवादीको
भगिनी संगठन भनिनु, अखिल भारत नेपाली बिद्यार्थी संगठनलाई भारत सरकारले आतंककारी घोषणा
गर्नु, तर नेपाली माओवादीलाई चाहिं आतंककारी नभन्नु, मधेशबाट रोजगारीको लागि भारत पसेका
मानिसचाहिँ अखिल भारत नेपाली संगठनमा नअटाउने तर पश्चिम बंगालका नेपाली भाषी भारतीय
नागरिकहरु त्यसमा अटाउने देखेपछि गोरखालाई सप्तरीले विश्वास गरेन |
सप्तरीले मन मनै गुन्यो
| यदि सप्तरीको माटोमा जन्मेको कुनै गुप्ता, यादव, श्रीवास्ताव , मण्डल थरको मानिसले
माओवादी आन्दोलनको नेतृत्व गर्यो भने भारतमा यो सुविधा पाउँछ कि पाउन्न | पश्चिम बंगालमा
गोर्खाल्याण्ड चाहने गोरखा युवा युवतीहरु र भारतीय गोरखा फौजमा काम गरेका मानिसका सन्तानहरु र रोजगारीको खोजीमा नेपालबाट भारत पसेका
पहाडी मूलका युवायुवतीको एउटै संगठन अखिल भारत बिद्यार्थी संगठन भएको र गोरखाका बाबुराम
भट्टराईले भारतमा पढ्दा सो संगठनको निर्माण गरेको थाहा पाएपछि सप्तरीले सोच्यो त्यो
नेपालको परिवर्तनकारी शक्ति हो वा के हो ? | सप्तरीलाई गोरखा प्रति संका भयो | त्यसकारण
उपेन्द्र यादव र जयकृष्ण गोइतले माओवादी परित्याग गरे |
सप्तरीले बेवास्ता गरे
पनि मधेशका अरु जिल्लाबाट भएपनि लडाकुहरु लिने काम भयो | तर तिनीहरुको पनि मनोविज्ञान
सप्तरीकाहरुको जस्तै देखियो | त्यति मात्र होइन गोरखाको पक्षमा सम्पूर्ण पहाडी जिल्लाहरु
एकजुट भएजस्तै सप्तरीको पक्षमा पनि तराइ मधेशका सबै जिल्ला एकजुट भए | अब भने गोरखा
प्रेमी दाहाल र भट्टराई झस्किए | उनीहरुले सप्तरीलाई जित्ने र नियन्त्रणमा लिने नया
जुक्ति निकाले | १२ बुँदे सम्झौता हुँदै बिस्तृत शान्ति सम्झौता भयो | अन्तरिम संविधान
बन्यो | सप्तरीले अन्तरिम संविधान हेर्यो तर त्यसमा संघियता देखेन | सप्तरीको नेतृत्वमा
मधेश आन्दोलन भयो र अन्ततः अन्तरिम संविधानमा संघियता लेखियो |
तर अब अहिले “मलाई संविधान
बनाउन दिएनन आन्दोलनमा सहयोग गर्न पर्यो, म सप्तरीको अधिकारको लागि मर्न तयार छु” भन्दै प्रचण्ड सप्तरी पुगे | आँखा भरि आँसु पारेर
सप्तरीले जिल्ल परेर प्रचण्डको मुख हेरिन् |
सप्तरीले भक्कानिदै भनिन् “ मैले गोरखाको लागि के गर्न बाँकी छ र अब के गर्न
सक्छु ? संविधान बनाउ मिलेर देश बनाउ भनेर अघिल्लो संविधान सभामा मैले जयप्रकाश गुप्तालाई
पठाएँ | तिमीले उनलाई भ्रष्टाचारको आरोप लगाएर जेल पठायौ | तर आफुचाहीं अनिश्चतकालिन
आमहड्ताल गर्ने, रेखा थापासँग गीत गाएर नाच्ने गरयौ, मालिकसँगै वार्ता गर्छु भन्दै
दिल्लीतिर औला देखाई देखाई भाषण गरेर उफ्रेउ अनि कहाँबाट संविधान बन्छ ? त्यसकारण सबैतिर
तिमीहरुले हार्ने लक्षण देखियो | तिमीहरुको इज्जतको लागि मैले सप्तरीमै जन्माएको अयोधिप्रसाद
यादव दिएँ | उनले निर्वाचन आयुक्त भएर गोरखामा
तिनवटै सिटमा मतपेटिका कब्जा गरेर माओवादीलाई जिताए | तिमी आफैलाई पनि यहाँ सिरहा ल्याएर
जिताएकै हो | दोस्रो संविधानभामा एक बर्ष भित्र संविधान बनाउने भनेउ तर सकेनौ | संविधान
नबनाएर तिमीहरुको बिजोक स्थिति भएपछि तिमीहरुको अस्तित्वको लागि संसद भवनमा कुर्शी
उचालेर पछार्दै आक्रोस देखाउने उमेश कुमार यादवलाई पनि मैलेनै जन्म दिएको हो | देश
गणतन्त्र नभएर पो पछाडी परेको हो कि भनेर रामराजाप्रसाद सिंहलाई जन्म दिएँ | संघियता
नभएर पो होकी भनेर गजेन्द्रनारायणलाई जन्म दिएँ | आखिर अन्तरिम संविधानमा संघियता थप्न
सप्तरीकै नेतृत्वमा ५३ जना सहिद भए | अब म के गर्न सक्छु ? गोरखाको समर्थनमा सारा,
संसार ठुला मेडिया, भारत, अमेरिका लगायत सबै अन्तराष्ट्रिय जगत समर्थनमा लाग्दा पनि
किन संविधान बनाउन सकेनौ | किन मकहाँ आयौ
? सधै मलाई तिरष्कार गर्ने अनि सहयोगचाहिं तिमीलाई मैले नै गर्नु पर्ने ?
प्रचण्ड रुँदै कराउन थाले “होइन सप्तरी माता त्यसो नभन्नुस | हामीले
त्यत्रो दसबर्षे जनयुद्द त्याग तपस्या बलिदान गरेर ल्याएको उपलब्धि सबै गुम्ने भयो
| संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान बनाउने भन्ने हाम्रो एजेन्डा कांग्रेश
एमालेले चोरे | संविधानसभा अपहरण गरेर लगे |”
सप्तरीले भनिन् “ तिम्रो
के थियो र चोरी भयो अपहरण भयो भन्छौ | संविधानसभा कांग्रेशको २००७ सालदेखिको एजेन्डा
हो | संघीयताका गजेन्द्रनारायण र गणतन्त्रका जन्मदाता रामराजा हुन् | त्यसकारण संघीयगणतन्त्र
सप्तरीको एजेन्डा हो | कसरि तिमी गोरखाको एजेन्डा भन्छौ ? बरु गोरखाले सप्तरीको सबै कुरा चोर्यो | यो देश
सप्तरी र काठमाण्डौले सहमति गरेर बनायो | तर गोरखा आफुले लडेर बनाएको भन्छ | जुन बेला गोरखाले सप्तरी (चौदण्डी) जित्यो
भनेर इतिहास लेखिएको छ, त्यो बेला गोरखाको जनसंख्या ११ हजार घर धुरी थियो | जब कि सप्तरीको
जनसंख्या ९ लाख थियो | अब भन प्रचण्ड ११ हजारले जित्छ कि ९ लाखले ? जंगबहादुरका जिज्युबाजे
सरदार रामकृष्ण कुँवर र सरदार अभिमानसिंह बस्नेतले सप्तरी लगायत पुर्बी नेपाल जिते
भनिएको छ | जितेका भए त यिनको राजनीतिक पदोन्नती हुनु पर्ने होइन र ? त्यत्रो पुर्बी
नेपाल मधेश जितेको मान्छे भएको भए जंगबहादुर बाबु घरज्वाइँ भएर गोरखामा थापाको घरमा
बस्नु पर्थ्यो होला ? काठमाण्डौमा आफ्नै महलमा भारदार भएर बस्थे होलानी | बरु सप्तरी
कै राजाका खस स्वरुपसिंह कार्की नेपालको दिवान ( प्रधानमन्त्री ?)भएको देखिन्छ | यिनै
सप्तरी पुत्र स्वरुपसिंह कार्कीले नुवाकोट दरबारमा पृथ्विनारायण शाहका छोरा बहादुर
शाह र भाइ दलजित शाहलाई थुनेको देखिन्छ | पृथ्वीनारायण शाहका अरु भाइहरु पनि लखेटिएका
छन् | (श्री ५ प्रतापसिंह शाह – बाबुराम आचार्य पृष्ठ ६० ) अनि तिनलाई छुटाउन राजगुरु
गजराज मिश्र बनारसबाट किन आए ? अरु कुनै गोरखाली शक्तिले नै छुटाउन सक्नु पर्ने होइन
र ? सिन्धुलीको लडाइंमा किनलकको अंग्रेजी फौजलाई सिन्धुली र उदयपुरका लडाकु मगरले पराजित
गरेका थिए | त्योबेला सिन्धुली र उदयपुर सप्तरीको
भूभाग थियो | त्यसबेला नेपाली फौजको नेतृत्व गर्ने मध्येका एकजना बिरभद्र उपाध्याय
सप्तरीका खजान्ची थिए | जब कि गोरखाका खसहरुले काठमाण्डौसँग मिलेको आरोपमा जयन्त रानालाई
छाला काढी हत्या गरेका थिए | त्यसकारण मगरहरुले गोरखालाई सहयोग गर्ने वातावरण पनि देखिंदैन
| खस र मगर जाति बाहेक अरुले त्योबेला लडाईं गर्दैन थिए | अनि गोर्खाली फौजले अंग्रेजलाई
जितेको भनेर इतिहास लेख्ने ? सुगौली सन्धिमा हस्ताक्षर गर्ने दुइजना बाहुनहरु चन्द्रसेखर
उपाध्याय मकवानपूरे सेनराजाका सल्लहाकारका छोरा थिए भने गजराज मिश्र बनारसका थिए |
यदि गोरखाली लडाकुले जितेर नेपाल एकीकरण गरेको भए अंग्रेजहरुले सुगौली सन्धिमा गोर्खाली
लडाकुकै हस्ताक्षर माग्थे होला नि त | किन मागेनन् ? अनि हस्ताक्षर गरिसकेपछि ती बाहुनहरू
किन अंग्रेज कै मुलुक भारतमा बसे ? तिनले नेपालमा बस्ने ठाउँ किन पाएनन् | कसले गरयो
त्यत्रो राष्ट्रघात ? गोरखाका भीमसेन थापाले होइन ?
प्रचण्ड फेरी भासिएको
स्वरमा रुँदै भन्न थाले “ हो सप्तरी माता हो | यो सतिले सरापेको देश हो | यहाँ राम्रो
गर्छु भन्नेलाई कहिल्यै राम्रो नहुने रहेछ | निश्चित रुपमा बिगतमा गोरखाबाट केहि ऐतिहासिक
त्रुटी कमीकमजोरी भए होलान् | तर म प्रष्ट शब्दमा भन्न चाहन्छु ? अब फेरी त्यस्तो गल्ति
दोहोरिन्न ? जयप्रकाश गुप्तालाई सम्झाइदिनु पर्यो | उपलब्धि सबै गुम्ने खतरा भयो |
एकपटक अन्तिम लडाईं लड्नुपर्ने भयो |
सप्तरीले भनिन् “ जयप्रकाशलाई
लड भन्न म सक्दिन | किन भने तिमीले मधेशमा माओवादी बनाएर हिंशा फैलाउन तालिम दिएका लडाकुहरुलाई उनले बर्षौंदेखि
ठुलो मिहिनेत गरेर फकाएर हतियारको राजनीति गर्न हुन्न भनेर महात्मा गान्धीको पाठ सिकाएका
छन् | यो बुद्ध भूमि हो भन्दै उनले कसैको घरमा गएर, भेटेर, फोन गरेर, सम्झाएर अनेक
गरेर तिमीले भड्काएका युवाहरुबाट बलियो अनुसाशित संगठन बनाएका छन् | त्यसकारण तिनलाई
फेरी भड्काएर तिमीले भनेको जस्तो रगतको खोलो बगाउन म अनुमति दिन सक्दिन | गोरखामा जन्मेका
भीमसेन थापा, जंगबहादुर र बाबुरामहरुले रगतको खोलो बगाउदा देश र जनतालाई कति घाटा भयो
| भीमसेनले स्थापित गरेको खसवाद ( गोर्खाली
राष्ट्रवाद )ले देश कसरि बिदेशीका लागि लडाकु ( लाहुरे ) उत्पादन गर्ने थलो बन्यो
| अहिले तिमीहरुले मच्चाएको हिंशाले मलेसिया र खाडीका कामदार उत्पादन गर्ने थलो बनेको
छ | उनले कार्यकर्तालाई सबै बुझाएका छन् | तिमीहरुलाई पनि क्याम्बोडियाको पोलपोट नबन
भनेर उनले नाकमा औलाले ठेलेकै हो | गोरखामा नन्दप्रसाद अधिकारीले न्याय पाउँ भनेर भोक
हड्ताल गरे | गुप्ताले उनलाई न्याय देउ भने | तर तिमीहरुले न्याय दिन सकेनौ | उनलाई
न्यायदिनु पर्छ भनेर गोरखामा कसैले खबरदारी गरेनन् र उनी न्याय नपाएरै मरे | तर सप्तरीका
सिके राउतले न्याय पाइन भनेर भोक हड्ताल बस्दा यहाँका जनता एकजुट भएर खबरदारी गरे र
उनलाई बचाए, मर्न दिएनन | किनभने राजविराजमा
पुरानो कानुन क्याम्पस छ | यहाँ नियम कानुनको पढाइ हुन्छ र सप्तरीका जनता नियमकानुन
बुझछन | त्यसकारण सप्तरीलाई सहभागी गरयो भने मात्र राम्रो संविधान बन्न सक्छ भन्ने
पनि बुझ | बिचरा नन्दप्रसादले मागेको न्याय के हो भन्ने नै बुझेनन् गोरखालीले |
अब आज सारासंसारले सहयोग
गर्दा पनि तिमी संविधान बनाउन नसकेर सप्तरीको सरणमा आयौ | त्यसकारण बुझ यो देश गोरखाले
लडेर होइन सप्तरी र काठमाडौँ उपत्यकाले सहमतिले बनाएको देश हो | त्योबेला सप्तरीमा
धनाढ्य धनाढ्य व्यापारीहरु बस्थे र सप्तरीलाई अमीरपुर पनि भनिन्थ्यो | सप्तकोशीमा जल
यातायातको माध्यमबाट कलकत्ता सम्मको ब्यापार हुन्थ्यो | काठमाडौँमा पनि त्यस्तै धनाढ्य
व्यापारीहरु बस्थे | तिनले नै भारदारी चलाउथे | तिनले नै राजा बदल्न सक्थे | बहादुर
लडाकुहरु किन्न सक्थे | काठमाडौँमा मैथिल बाहुनहरु राजाका सल्लहाकार हुन्थे | सम्भवत:
पृथ्विनारायण शाह नेवारी सिकेका, मधेशी भाषा पनि जान्ने, मधेश ससुराली भएका र उपत्यकासँग
मितेरी साइनो भएका हुनाले उनलाई राजा बनाउन सप्तरी र काठमाडौँ वीच सहमति भएको हुनु
पर्छ | किनभने नेपालको राजा बन्नलाई बहुभाषी हुनु जरुरि थियो | जस्तो प्रताप मल्ल १५
भाषाका ज्ञाता थिए | नत्र त्यो बेला पनि सप्तरीमा प्रसस्त राजपुत थिए | सप्तरीकै राजपुतलाई
पनि राजा बनाउन सकिन्थ्यो | त्यस्तो परिस्थितिमा
गोरखा ले जितेको भनेर झुटो इतिहास लेख्ने ? नेपालको इतिहासमा यत्रो पूर्वका तामांग,
राइ, लिम्बू, मधेशी कसैको नाम भेटिन्न | गोरखामा पाइने थर र जातको मात्र इतिहास लेख्ने
? त्यस्तो पनि इतिहास हुन्छ ? जात जाति भाषा भाषी को गौरव , संस्कृति इतिहासको बिद्यालयमा
पढाइ हुनु पर्छ कि पर्दैन? गोरखाले आफ्नो मात्र इतिहास लेख्यो र आफ्नो मात्र कुरा गर्यो
भनेर मैले नै जन्माएको डा. सिके राउतले चित्त दुखाएका छन् | उनले अलग्गै मधेशको इतिहास
लेखेका छन् | उनी स्वशासनले हुन्न स्वराज नै चाहिन्छ भन्दै हिंडेका छन् | देशको अवस्था
गम्भीर छ | त्यसकारण गोरखाले आफ्नो सबै अहंकार र घमण्ड त्याग्ने बेला आएको छ |
राजा प्रतापसिंह शाहले
“म रोगी भएँ भाइ बहादुर शाहलाई बोलाउछु” भनेपछि
सप्तरीपुत्र स्वरुपसिंह कार्की नेपाल दरबार त्यागेर सप्तरी फर्केका थिए ( श्री ५ प्रतापसिंह
शाह – बाबुराम आचार्य पृष्ठ १२३ ) | किनभने गोरखाका खस पक्षधर बहादुर शाहलाई उनले एकपटक
थुनेका थिए र त्यस्ता मानिससँग काम गर्न उनी सक्दैन थिए | तर पछि देशले स्वरुपसिंहलाई
बोलायो र उनी पुनः काठमाण्डौ फर्केका देखिन्छन |
गोरखाका खसहरुले षड्यन्त्र गरि कास्कीमा बि.स. १८४३ मा उनको हत्या गरेका थिए
| ( अब यस्तो कहिल्यै नहोस- बाबुराम आचार्य पृष्ठ १० ) संजोगले हो वा दैवी शक्तिले
हो तिमी पनि कास्कीमै जन्मेका मानिस हौ | त्यसकारण सहमति गरेर बिगतमा गोरखा र सप्तरी वीच देखिएका असहमति मेटाउने जिम्मा तिम्रो
काँधमा आएको छ | तिमी संविधानसभामा जाउ र भन “म तिमीहरुसँग होइन सप्तरीसँग सहमति गर्छु
|”
सप्तरी बोलेको बोल्यै
गरि रहिन् | सप्तकोशीमा पानी तिब्र गतिमा बगिरहेको थियो | प्रचण्ड भने गोरखामा आफु
शिक्षक भए यताका दिनहरुका राजनीतिक घटना क्रममा डुबेका देखिन्थे |
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक