20140924

देश विखण्डनको मुद्दा उठ्दा सांसदहरू मुखमा पानी भरेर बसेका छन्, मानौँ राउतमाथि कारबाहीको माग राख्दा उनीहरूको ज्यान र ‘जागिर’ दुवै धरापमा पर्नेछ !

- देब प्रकाश त्रिपाठी 
अध्यात्मवादमा विश्वास गर्ने एकथरी मानिसका दृष्टिमा यो जगत् मिथ्या हो, भ्रम हो । जगत्लाई मिथ्याको रूपमा बुझ्दा देशलाई मात्र सत्य अर्थात् वास्तविक मान्न सकिँदैन । जीवन–जगत् भ्रम–मिथ्या जे भए पनि भ्रमभित्रको वास्तविकता हामी हौँ जसले जगत् देखिरहेको छ, अनुभूत गरिरहेको छ र आफू हुनुको अस्तित्वबोध अनेक प्रकारले गरिरहेको छ । जगत्लाई भ्रम देख्नेहरूको दृष्टि सही नै हो भने पनि यही भ्रमभित्रको वास्तविकतालाई इन्कार गर्न सकिँदैन । जगत् छ– त्यसैले हामीले देखिरहेका छौँ, हामी छौँ त्यसैले अनुभूत गरिरहेका छौँ । संसार छ, जगत् छ, देश र हामी छौँ । अर्का एकथरी मानिस छन् जो आफूलाई साम्यवादी (कम्युनिस्ट) दाबी गर्छन् र उनीहरू जगत् मिथ्या त भन्दैनन् तर देश अर्थात् राज्यसत्तालाई स्वीकार गर्दैनन् र संसारबाट राज्य अर्थात् देशहरूको अस्तित्व उन्मूलन गर्नुपर्छ भन्ने दार्शनिक मान्यता राख्छन् । राज्यहरूको अस्तित्व उन्मूलन गर्न अरूहरूले अस्वीकार गर्ने हुनाले मात्र आफू (कम्युनिस्ट) हरूले राज्यसत्तामा एकलौटी अधिकार राख्नुपर्ने (कु) तर्क
उनीहरूबाट प्रस्तुत हुँदै आएको छ ।
मानव सभ्यताको विकासक्रममा एउटा देश बन्दै गर्दा त्यहाँका बसोबासीहरूले अनेकौँ उतारचढावहरूको सामना गर्नुपरेको तथ्य इतिहासमा पढ्न पाइन्छ । राज्य अर्थात् देश आफ्नो हित, स्वाभिमान, प्रतिष्ठा र पहिचानसँग अन्तरसम्बन्धित भएकोले मानिसहरूबीच यदि सर्वाधिक ठूला हिंसात्मक युद्ध भएका छन् भने राज्यकै निहुँमा या नाममा भएका छन् । राज्य स्थापित गर्ने, राज्य सञ्चालन गर्ने र राज्य विस्तार गर्ने क्रममा उत्पन्न तनाव–विवाद र सङ्घर्षका कारण संसारमा सर्वाधिक मानिस मारिएका छन् । इस्लाम धर्मावलम्बीहरूले धर्मका नाममा पनि हिंसा र युद्ध रचना गरेका छन्– यो बेग्लै सत्य हो । राज्यसत्ताका नाममा कम्युनिस्टले र धर्मसत्ताका नाममा मुसलमानहरूले रचेका युद्ध र त्यसक्रममा भएको मानवीय क्षतिको विश्लेषण गर्दा ‘साँच्चि संसारमा कम्युनिस्ट र मुसलमानहरू नभइदिएका भए यो पृथ्वी कति शान्त हुँदो हो’ भनी प्रश्न उठाउने इच्छा जागृत हुनसक्छ । कम्तीमा १९औँ शताब्दीयताका हिंसात्मक घटना र तिनका पात्र तथा कारणहरूको अन्वेषण गर्दा मानिसमा इस्लाम धर्म र कम्युनिस्ट ‘दर्शन’प्रति यसरी प्रश्न उठ्नुलाई अस्वाभाविक मान्नुपर्ने देखिँदैन ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको कौशलपूर्ण प्रयासमा स्थापना भएको आधुनिक नेपालले प्रारम्भकालदेखि एकात्मक अभ्यास गर्दै आएको र करिब साढे दुई शताब्दीको यस अभ्यासले हामी जुनसुकै जाति, भाषा, धर्म र क्षेत्रका भए पनि ‘सबै नेपाली हौँ’ भन्ने अकाट्य अनुभूति गराएको पनि हो । समानताका ठेकेदारझैँ प्रस्तुत हुने र संसारमा मानिसको कुनै जात हुँदैन भन्ने कम्युनिस्टहरूले जातको मुद्दा उठाइदिए, जातीय पहिचानसहितको राज्य निर्माण हुनुपर्ने नारा लगाए र देशको अस्तित्वलाई जगैदेखि हल्लाइदिए । क्षेत्रीयतावादीहरू इतिहासका पानामा यदाकदा झुल्किने गरेको पाइए पनि जातिवादले यस मुलुकमा कुनै स्थान पाउन सकेको थिएन । कम्युनिस्टहरूले जातीय राज्यको अवधारणा सार्वजनिक गरेपछि पूर्वमा एकथरीले नेपालबाट अलग्गिन चाहेको सङ्केतहरू दिइरहेका छन् । यसैबीच तराईको (कोसीपश्चिम र बारापूर्व) केही भूभागलाई समेटेर अलग मुलुक निर्माण गर्ने सपना कुनै सीके राउत नामक व्यक्तिले देखे । आफू ‘जिन्ना’ बन्ने सपना देखेका उनले झन्डा र राष्ट्रिय गीत निर्धारण गरे । सेना, प्रहरी, प्रशासन र कूटनीतिक नियोगहरू गठनको परिकल्पना गर्दै तराईका बेरोजगार युवालाई भेला गरेर देश विखण्डनका लागि भड्कावपूर्ण भाषण दिन थाले । अमेरिका बसाइ र पीएचडीको प्रमाणपत्रलाई आफूप्रति आकर्षित गर्ने एप्रोन बनाएका सीकेको देशविरुद्धका गतिविधिबारे सुरक्षा निकायले जानकारी पाए पनि सम्भवतः उसले एक्सन लिनुभन्दा निगरानी राख्नुलाई उचित ठान्यो र तीन वर्षभित्र देशविरुद्ध मान्छे भड्काउने क्रमले तीव्रता लिएको पाएपछि नेपाल प्रहरीले ती राउतलाई देशद्रोहको प्रमाणसहित गिरफ्तार ग-यो । देशको सार्वभौमिक स्वतन्त्रता र अखण्डता जोगाउनु देशवासी हरेकको न्यूनतम कर्तव्य हुनुपर्छ र हुन्छ पनि, यस्तो कर्तव्य पालना गर्न मन्त्री÷प्रधानमन्त्री भइरहनुपर्दैन र बर्दीधारी बन्नुपर्छ भन्ने पनि होइन । नेपालको हरेक संविधान र पछिल्लोपटक अस्तित्वमा राखिएको अन्तरिम संविधानले समेत देश विखण्डनलाई अपराध मानेको छ । यस संविधानको भाग ३, मौलिक हक खण्डअन्तर्गत नेपालको सार्वभौमसत्ता, अखण्डता र जातीय सद्भावमा प्रतिकूल असर पार्ने गतिविधिलाई प्रतिबन्ध लगाउन सकिने स्पष्ट गरेको छ । ०६३ को अन्तरिम संविधानले समेत देशको सार्वभौमिक स्वतन्त्रता र राष्ट्रिय अखण्डताको पक्षमा वकालत गरेको सन्दर्भ आफैँमा रोचक भए पनि यो छ र संविधानविपरीतका क्रियाकलापलाई निरुत्साहित गर्नु कानुनी रक्षकको भूमिकामा रहेको नेपाल प्रहरीको सामान्य कर्तव्य हो । देशद्रोही क्रियाकलापमा संलग्न कसैलाई गिरफ्तार गर्नु या दण्डको भागी बनाउनु सामान्य कर्म भए पनि यस परिस्थितिमा कुनै राउतलाई गिरफ्तार गर्नुलाई प्रहरीको साहसिक काम मानिएको छ । यस महान् कार्यका लागि पूर्वाञ्चल प्रहरी प्रमुख नवराज सिलवाल र महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई दिल खोलेर बधाई र धन्यवाद दिनुपर्ने हुन्छ । कम्तीमा नेपाललाई माया गर्ने र नेपाली भएकोमा गौरव महसुस गर्ने हरेकले प्रहरी कारबाहीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । तर, शङ्कास्पद क्रियाकलापमा संलग्न हुँदै आएका पद्मरत्न तुलाधर र दमननाथ ढुङ्गानालगायत केही रहस्यमयी व्यक्ति तथा राजनीतिक समूहको नेतृत्वदायी भूमिकामा रहेका कतिपयले राउतको गिरफ्तारीलाई जायज मानेनन् । राउतको गिरफ्तारीलाई नाजायज ठान्नु भनेको देश टुक्र्याउने कार्य वा कुरालाई जायज मान्नु हो । आफ्नो अस्तित्व प्रमाणित गर्न सदैव चिन्तित देखिएका पद्मरत्नहरूसँगै तराईकेन्द्रित केही राजनीतिक समूहका अगुवाले समेत राउत गिरफ्तारीको विरोध गरे । महन्थ ठाकुरहरू आफ्नो देशभक्तिमाथि शङ्का गरियो भन्दै सधैँ चिन्ता जाहेर गर्ने गर्दथे । देशभक्तिमा शङ्का गरियो भनेर चिन्ता गर्नेहरूका लागि राउत प्रकरण एउटा सुवर्ण अवसर बनेर आएको हो । पहाडतिरका खाँटी देशभक्त र तराईका नेताहरूको देशभक्तिमा खोट देख्नेहरूलाई चुनौती दिँदै बाबुराम भट्टराईदेखि पद्मरत्न र दमननाथसमेतले राउतको क्रियाकलापका पक्षमा वक्तव्य दिएका बेला तराईका नेताहरूले देश विखण्डनको सोचलाई निन्दा गर्दै राउतको गिरफ्तारीलाई स्वागत गरेका भए देशभक्तिमा शङ्का गर्नेहरूलाई धेरै ठूलो जवाफ हुन सक्थ्यो, गरेनन् । ‘छेउ पाए घचेट्ने र कुना पाए अँचट्ने’ व्यवहार तराईकेन्द्रित केही राजनीतिक समूहका अगुवाहरूले फेरि पनि प्रस्तुत गरे । तराईका जनता आर्थिक र सामाजिक एवम् सांस्कृतिक समस्याबाट प्रताडित भए पनि तिनको धार्मिक आस्था र देशभक्ति वास्तवमै प्रशंसनीय छ । क्षेत्रीयस्तरमा खुलेका केही राजनीतिक समूहका अगुवाहरूले तिनलाई दिग्भ्रमित तुल्याउँदै आएका छन् । र, राउत प्रकरणमा प्रस्तुत व्यवहारले उनीहरूको देशभक्तिमा शङ्का गर्नेहरूलाई थप बल मिलेको छ ।
छिमेकी मित्रराष्ट्र भारतमा नयाँ शक्तिको उदयपश्चात् क्षेत्रीय राजनीतिमा रमाइरहेका केही मधेसी नेताहरू विचलित भएको तिनका आफ्नै व्यवहारले पुष्टि गरिरहेछ । संविधानसभाको दोस्रो निर्वाचनले साम्प्रदायिक ‘राजनीति’ गर्नेहरूलाई निरुत्साहित गरेपछि विक्षिप्तझैँ भएका उनीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिका कारण थप विचलित भएका हुन् । आफैँमा महान् राष्ट्रवादी नेता मोदीले अर्को मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता एवम् अखण्डताको सम्मान गर्न जानेका छन् । उनले आफ्नो यस सोचलाई व्यवहारतः सिद्ध गरिसकेका पनि छन् । मोदीले हिमाल, पहाड र तराईको एकतामा जोड दिएर नेपाली राष्ट्रियताप्रति अभूतपूर्व स्नेह देखाएका हुन् । यस घटनाले आहत केही मधेसकेन्द्रित अगुवाहरू किंकर्तव्यविमुढ हुनुपरेको यस समयमा अलग्गै देश निर्माण गर्ने सपना कसैले देख्नुलाई महान् अवसरका रूपमा प्रयोग गर्न खोजिएको छ । राउतको अभियान तिनका लागि ‘डुबतेको तिनका सहारा’झँै भएको छ । देशभक्ति प्रदर्शन गर्ने अवसरलाई उनीहरूले आफ्नो राजनीतिक हैसियत पुनस्र्थापना गर्ने मौकाको रूपमा प्रयोग गर्न चाहेका छन् ।
मध्यतराईकेन्द्रित केही राजनीतिकर्मीले राउत प्रकरणमा जुन प्रकारको ‘रूप’ प्रस्तुत गरे त्योभन्दा पनि लज्जापूर्ण व्यवहार संविधानसभा सदस्यको रूपमा रहेका सांसदहरूले दर्शाए । गम्भीर आपराधिक क्रियाकलापमा संलग्न रहेका कारण प्रहरीको ‘मोस्टवान्टेड’मा परेको कुनै दिनेश नामक चरी प्रहरीसँगको मुठभेडमा मारियो, सांसदहरूले संसद्मा आँधी–बेहरी ल्याए । चरी मारियो त्यसैले अब पृथ्वी घुम्दैन र अब धर्तीमा दिन र रात हुने क्रमको अन्त्य भयो भन्ने प्रकारले विरोध र व्यवधान पैदा गरे सांसदहरूले । संसद्मा यस किसिमको व्यवधान प्रिय नेता मदन भण्डारीको निधनमा पैदा गरिएको थियो, दुई दशकपछि चरी मर्दा पनि झन्डै त्यही स्तरको आक्रोश सांसदहरूले प्रकट गरे । सांसदहरूको विरोध, व्यवधान र आक्रोशको मात्रा देखेपछि सरकारद्वारा ठूलै अपराध भएछ भन्ने भान जनसाधारणमा परेको थियो । चरीको मृत्यु नेपाली इतिहासको दुःखद् अविष्मरणीय घटना भन्ने सन्देश दिएका थिए सांसदहरूले । तर, देश विखण्डनजस्तो आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति सप्रमाण पक्राउ पर्नुलाई चाहिँ उनीहरूले सायद सामान्य रूपमा लिए, त्यसैले शब्द खर्च गर्नुपर्ने आवश्यकता महसुस गरेनन् । कतिपय पात्रहरूले देश टुक्र्याउने अभियानलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर रिहाइको माग गरे, केहीले राउतको अभियानप्रति सहमति जनाउँदै गिरफ्तारीको विरोध गरे । प्रहरीले संविधान र कानुनबमोजिम आवश्यक प्रक्रिया सुरु गर्दा कानुन र संविधानको मुख्य स्रोत मानिने संसद्का सदस्यहरूले न सार्वभौमिक अखण्डता र राष्ट्रिय एकताका पक्षमा केही बोले न कानुन, संविधान र राष्ट्रको पक्षमा नेपाल प्रहरीले चालेको कदमको सराहना गरे, न देशद्रोहीमाथि गरिनुपर्ने कानुनी कारबाहीकै बारेमा चासो राखे । देश विखण्डनको मुद्दा उठ्दा सांसदहरू मुखमा पानी भरेर बसेका छन्, मानौँ राउतमाथि कारबाहीको माग राख्दा उनीहरूको ज्यान र ‘जागिर’ दुवै धरापमा पर्नेछ । आफूभन्दा महत्वपूर्ण देशलाई ठान्न राजनीतिकर्मीहरूले छोडेका छन्, देशका लागि आफू नभई आफ्ना लागि देश भएको ठान्ने प्रवृत्ति नेपाली राजनीतिकर्मीहरूमा घनीभूत देखिन्छ । देश विखण्डनका निम्ति सङ्गठित प्रयास हुँदा मौन रहेका सांसदहरू देशद्रोहीको गिरफ्तारीमा पनि मौन छन् । कुनै डन चरीले जति महत्व पनि देशले नपाएपछि सांसदहरूले आफूहरू देशबाट धेरै टाढिएको व्यवहारसिद्ध प्रमाण दिएका छन् । कम्युनिस्ट पार्टी र तिनका नेताहरू देश विखण्डनको नाराले भन्दा विखण्डनकारीको गिरफ्तारीले आहत भएका छन् । मधेसकेन्द्रित राजनीतिकर्मीहरूले देश छोडेर कुनै राउतको चिन्ता गर्दा उनीहरू आफैँ थप ‘एक्स्पोज’ भइरहेका छन् । यस्तो व्यवहारले देशलाई त क्षति पु-याउने नै छ, उनीहरू स्वयम्् पनि लाभान्वित हुने छैनन् भन्ने सत्य बुझ्न आवश्यक छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक