- उमेश चौहान
।। बुलेट १।।
सुशील’दा अविवाहित त पक्कै हुन्, तर भर्जिन हुन् कि होइनन् किटेर भन्न सकिँदैन । किनकि उनी किसुनजीजस्ता खुलस्त नेता होइनन् । ‘पार्टनर’ एमालेलाई ‘भर्जिनिटी’को प्रमाणपत्रसहित आउन आमन्त्रण गरेर सुशील’दाले रमाइलो तरंग ल्याएका छन् । एमाले अध्यक्ष झलनाथ खनाललाई फोन गरेर उनले भने, ‘म आफू पनि फ्रेस हुँ, मन्त्रिपरिषद् पनि फ्रेस बनाउन चाहन्छु । त्यसैले कृपया एमालेबाट सकेसम्म भर्जिन मान्छे पठाइदिनुहोला ।’ उपप्रधामन्त्री तथा गृहमन्त्रीका लागि प्रस्तावित एमाले नेता वामदेव गौतम भर्जिन होइनन् भनेर उनीसँगको सहकार्य अस्वीकार गर्ने सुशील’दाले मन्त्रिपरिषद्को पहिलो सहकर्मीको रूपमा डा. रामशरण महतलाई रोजेका छन् । ०५२ देखि ०६४ को बीचमा करिब आठ वर्ष मन्त्री भएका महतको ‘भर्जिनिटी’मा कुनै दक्खल भएन । अनि ०५३ मा सात महिना र ०६५ मा ९ महिना गृहमन्त्री हुँदा गौतमको भर्जिनिटीचाँहि ध्वस्तै भयो ? होइन हो † यी गुरु सुशील’दा हुन् कि डा. भोला रिजाल ?
।। बुलेट २।।
सुशील कोइरालालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावका समर्थक एमाले संसदीय दलका नेता केपी ओलीले संसद्मा भन्दै थिए– सुशीलजी कृपया खोला तरेपछि लौरो नबिर्सिनुहोला । एमालेको समर्थनमा
प्रधानमन्त्री भएर कोइराला संसद्बाट बाहिर आउँदा–नआउँदै टेलिभिजन च्यानलहरूले न्युज ‘ब्रेक’ गरे– ‘एमालेलाई गृह मन्त्रालय दिन कांग्रेसद्वारा अस्वीकार ।’ लगत्तै मंगलबार बिहान पत्रपत्रिकाले एमाले नेतालाई ‘कोट’ गरे– ‘प्रधानमन्त्री हुनासाथ कांग्रेसले धोका दियो ।’ सुशील कोइरालाले खोलो तर्नासाथ लौरो फाले भनेर एमालेका सबै तह र तप्काका नेताले भनिरहेका छन् । तर, यथार्थ के हो भने सुशीलले प्रधानमन्त्रीको चुनावभन्दा केही घन्टाअघि नै एमाले अध्यक्ष झलनाथ खनाललाई फोनमा र संसदीय दलका नेता केपी ओलीलाई संसद्भवनमै भेटेरै प्रस्ट भनेका थिए– एमालेलाई गृह मन्त्रालय दिन गाह्रो भो, त्यसमा पनि वामदेव गौतमलाई त मैले कुनै हालतमा ‘एडजस्ट’ गर्न सक्दिनँ । प्रधानमन्त्रीको चुनावअघि नै एमालेका शीर्षस्थ दुई नेतासँग संवाद गरेर सुशील’दाले सर्त मान्न सक्दिनँ भन्नुको सन्देश थियो, ‘तपाईंहरूलाई आपत्ति हुन्छ भने मलाई अहिले भोट नदिन पनि सक्नुहुन्छ, तर पछि मलाई धोकेबाज नभन्नुहोला ।’ तर, स्पष्ट सन्देशपछि पनि एमालेले सुशील’दालाई भोट दियो, उनको जयकारमा संसद्का टेबुल ठोक्यो र धोकेबाज भन्दै बाहिर निस्कियो । भो कुरा नगरौँ, अझै के–के भन्ने हो ।।। बुलेट ३।।
प्रधानमन्त्री चुन्न संसद्को बैठक सोमबार दिउँसो ११ बजे बोलाइएको थियो, सबै सभासद् उपस्थित भएपछि पनि बैठक ४५ मिनेट ढिलो सुरु भयो । कारण, त्यही भवनको एउटा कोठामा प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइराला र उनका समर्थक एमाले नेता केपी ओली पेचिलो वार्तामा थिए । उम्मेदवार र समर्थक वार्तामा भएकाले संसद् बैठक ढिलो भइरहेको थियो । एमाले अध्यक्ष झलनाथ खनाल बिहानै र केपी ओली पनि चुनावअघि नै स्पष्ट भइसकेका थिए– ‘कांग्रेसले गृह मन्त्रालय नदिने भो ।’ तर अनौठो, गृहमन्त्रीका दाबेदार वामदेव गौतमलाई चुनावपछि र साँझसम्म पनि थाहा रहेनछ । त्यसैले त साँझ उनका सहयोगी रूपनारायण श्रेष्ठ मन्त्रीनिवास पुल्चोक पुगेर गौतमका लागि निवास बुक गराउँदै थिए । गौतमजस्ता ठूला नेता नै सूचनाको हकबाट वञ्चित हुनु अर्को दुर्भाग्य हो ।
।। बुलेट ४।।
मन्त्रिपरिषद् विस्तारको ‘डेडलक’ फुकाउन दुईवटा विकल्प आएका छन् । पहिलो– गौतमको सट्टा विष्णु पौडेल अथवा अरू कसैको नेतृत्वमा एमाले सरकारमा आए कांग्रेसलाई आपत्ति छैन । उल्लेख्य विषय के छ भने एमालेले राष्ट्रपति चुनावलाई ‘बटमलाइन’ बनाउँदै त्यो सर्त पूरा नभएसम्म सरकारमा सहभागी नहुने निर्णय नै गरेको थियो । तर, एमाले सरकारमा नगए संसदीय दलको चुनावमा निर्णायक भूमिका खेलेका वामदेवलाई के भूमिका दिने ? तनाव ओलीलाई थियो । त्यसैले वामदेवलाई जिम्मेवारी दिन र जिम्मेवार बनाइराख्न ओलीकै पहलमा एमालेले राष्ट्रपति चुनावको अडानमा लचिलो भएर कांग्रेससँग सातबुँदे सहमति गरेको हो । अब सरकारमा एमालेको नेतृत्व गर्ने जिम्मेवारी पौडेललाई दिए कांग्रेस–एमालेको गठबन्धन टिक्न सक्छ, तर ओली र गौतमको गठबन्धनको जिम्मा कसले लिने ? अब दोस्रो विकल्प– वामदेवलाई नै सरकारमा पठाउने हो भने गृहमन्त्रीबाहेकको भूमिका दिन पनि कांग्रेस तयार छ । फेरि पनि प्रश्न उठ्छ– कांग्रेससँग विवाद गर्दा एक वर्षभित्र संविधान बनाउने एजेन्डामा अवरोध आउँछ भनेर एमालेले राष्ट्रपतिको अडान छाड्यो भने गृह मन्त्रालय कुन ठूलो कुरा भयो ? तर, गृहमन्त्री छोटो समयलाई भए पनि वामदेवले छाप लामो पारेका छन् । उनी मन्त्री भए गृहभन्दा अरू के हुने ? अर्थमन्त्री भएर वामदेवले बजेट पढ्ने ? परराष्ट्रमन्त्री भएर भारत भ्रमणमा जाने ? किसान महासंघका नेता भएकाले कृषि मन्त्रालय दिए ठीकै हो, तर अरू विकल्प त पटक्कै सुहाएन ।
।। बुलेट ५।।
गृहमन्त्रीको विवाद कांग्रेस र एमालेको सोझो विवाद हो भनेर पत्याउने कोही छैनन् । यो कांग्रेस–कांग्रेस र एमाले–एमालेबीचको विवाद हो । देशमा कांग्रेस सभापति प्रधानमन्त्री भएका छन्, तर कांग्रेसकै वरिष्ठ नेता देउवाले आफ्नो खिन्नता लुकाउन सकेका छैनन् । कांग्रेस संसदीय दलको चुनावमा मतदान हुँदै गायब भएका देउवा सुशीललाई प्रधानमन्त्री बनाउने कुनै पनि वार्तामा सहभागी भएका छैनन् । आफ्नै कोटरीमा रमाउने भनेर चिनिएका सुशीलले समेत देउवाको घरमा भात खान गएर भने, ‘लौ न तपाईंले मलाई सहयोग गर्नोस् ।’ जवाफमा देउवाले भने, ‘भ्याएसम्म गरौँला ।’ कांग्रेस सत्तामा फर्किएको छ, आफ्नै सभापति प्रधानमन्त्री बन्ने अवस्था आएको छ, त्यसमा योगदान गर्न पनि वरिष्ठ नेता देउवाले भ्याउनुपर्छ ? अरू खास धन्दा के छ र यिनको ? देउवालाई जस्तै घाउ एमालेका झलनाथ खनाल र माधव नेपाललाई पनि लागेको छ । वामदेवलाई गृहमन्त्री बन्न अवरोध गरेर कांग्रेसले उनीहरूको घाउमा मलम लगाइदिएको छ ।
।। बुलेट ६।।
आफ्नै अध्यक्षलाई भारी मतले पराजित गर्दै संसदीय दलको नेता निर्वाचित भएपछि केपी ओलीको व्यक्तित्व अचानक अकासियो । एक जिम्मेवार पार्टीको जिम्मेवार नेताका रूपमा उनको बसाइ–उठाइ, बोलाइ–हिँडाइ गम्भीर देखिन थाल्यो । आफैँसँग पराजित भएका खनालकै घरमा गएर आदर गर्नेदेखि कांग्रेससँग सम्मानजनक वार्ताको प्रक्रिया अघि बढाउने काम उनले गरे । ओलीलाई मात्र महत्त्व दिएर कांग्रेसका नेताहरू उनको अघिपछि गरेपछि एमाले अध्यक्ष खनाल आइतबार सहमतिपत्रमा हस्ताक्षर नगरी घर गएका थिए । सिंहदरबारमा भएको मस्यौदा विष्णु पौडेलले डल्लु पुर्याएपछि मात्र खनालले हस्ताक्षर गरे । यसरी, ओलीको व्यक्तित्व साँच्चै निर्विकल्प राष्ट्रिय नेताका रूपमा उदाउँदै थियो । तर, यो देशको राजनीतिमा नै यस्तो खोट छ, उदाउन खोज्ने कसैलाई माफ गर्दैन । केपीजस्तो नेताले मिहिनेत गरेर बनाएको समझदारी एकैरातमा भताभुंग भयो, एमाले न सरकारमा गयो न सडकमा भयो । प्रतिगमन आधा सच्चिएजस्तै भयो ।
।। बुलेट ७।।
कांग्रेस र एमालेबीच सहमति भएको छ– एक वर्षभित्र संविधान जारी गर्ने र नयाँ राष्ट्रपतिको चुनाव गर्ने । हातमा करिब–करिब दुईतिहाइ भएका दलले चाहे एक वर्षभित्र संविधान जारी गर्न असम्भव छैन । संघीयताविनाको संविधान बन्यो भने राष्ट्रपति संसद्ले चुन्ने व्यवस्था होला, कुरै खत्तम । तर, संघीयतासहितको संविधान बन्यो भने स्थिति जटिल छ । संघीयतासहितको संविधान बन्छ कि बन्दैन भन्ने प्रश्नमा एमाले नेता ओलीले संसद्मै भनेका छन्, ‘हामी संघीयतामा गइसक्यौँ, त्रिशूली अब भैरवकुण्डतिर फर्कंदैन ।’ त्रिशूली भैरवकुण्डतिर होइन त्रिवेणीतिर जाने हो भने राष्ट्रपतिको चुनाव प्रान्तीय संसद्का सदस्यहरूसहितको ‘इलेक्टोरल कलेज’ले गर्ने हो । त्यस्ता प्रान्तहरू बन्न कम्तीमा अझै पाँच वर्ष लाग्छ । त्यो अवस्थामा डा. रामवरण यादव ६ वर्ष होइन, कम्तीमा १२ वर्षका लागि राष्ट्रपति हुनेछन् । ‘किस्मत’मा लेखेर ल्याएपछि कस्को के लाग्छ ?
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक