20130830

आँखाबाट आसुँ झार्दै पढ्नु परेको एउटा निरिह बाबुको पत्र स्वर्गबासी प्यारो छोरालाई ! सक्नुहुन्छ भने तपाईंले पनि एक पटक पढ्ने कोशीश गर्नुहोला !

"हजारौं देशका छोराको लाशमा राजनीति गरेका डा. बाबुरामले छोराको मुल्य  र बाबुको आत्मा किन चिन्दैनन भनेको त उनी छोराविहिन भएर होला !"
प्रिय छोरा,
माफ गर, हामीले ज्यानको बाजी लगाएर तिम्रो हत्यारालाई कठाघरामा ल्याउन हरदम प्रयत्न ग¥यौं । हाम्रो दुइमुठी सास रहुन्जेलसम्म तिम्री आमा र मैले न्यायको लागि भिख मागी रह्यौं तर यो दुनियाँले हाम्रो पुकार सुनेन, तिम्रो चित्कार सुनेन र सुनेन तिम्रो दाईको बिलौना । बाबु कृष्ण तिमी जन्मिएको ठाउँ साथै हामी जन्मिएकै ठाउँबाटै पृथ्वी नारायण शाहले देशको एकिकरण गरे । ऊ बेला न्याय नपाए गोर्खा जानु भन्ने उक्ति थियो, हामी न्याय मूर्तिको नाउँले कहलिएको जिल्लामा जन्मेको तिमी, तिम्रो विभत्स हत्या ती पापीले गरे । र मैले न्यायको लागि, न्यायकै कुर्चिमा वसेका न्यायमूतिसामु न्याय माग्न गएँ । तिम्रा अपराधीहरु खुलेआम डुल्दा मलाई पागलखानामा जाकिदिए न्याय मुर्तिले । महान विद्वान कहलिएका हाम्रै जिल्लाका डा. बाबुरामले हाम्रो पुकार सुनेनन् एकमनले लाग्छ, हजारौं देशका छोराको लाशमा राजनीतिक गरेका उनले छोराको मुल्य  र
बाबुको आत्मा किन चिन्दैनन भनेको त उनी छोराविहिन भएर होला ! किन वुझ्थे हाम्रा कुरा ।

छोरो कृष्ण यो बुढेसकालमा तिमीहरुले हाम्रो भार पीडा साथ दिदैं काँध थाप्नेछौं भन्ने सपना बुनेको थिएँ । जेठोले राम्रो जागीर खाला, वुहारी ल्याउला । मैले नाती नातीनी खेलाउँदै आगनमा घुमौंला । तिम्री आमा घरको भित्र र वाहिर चुरा बजाउँदै चिया टकारेको, नाती नातीनीलाई मैले हातमा समातेर अक्षर चिनाउन खोज्ने मेरा सपना थिए । अँ, छोरो तिमीले राम्रोसँग पढौंला तिम्रो पढाइलाई दाइले पनि सहयोग गर्ला । र राम्रो जागीरे भएपछि तिम्रो लागि केटी हेर्न मैले गोर्खा वजारकै ओरालोमा एक जोर लबेदा, अस्कोट, दौरा सुरुवाल सिलाएर केटीको परिवार हेर्न जाने सोच बनाएको थिएँ । मलाई कम्ती रहर थिएन सम्धी सम्धेलो गर्न । बिहाको दिन घरभरी जन्तीलाई आफ्नै घरमा तिम्री आमाले हुर्काएकी वाख्रो काट्ने रहर थियो ।

तिम्री आमाले मसिनाको चामको पिठो कुटेर रोटी पकाएर गाउँभरीका दिदीवहिनी आमा छोरीहरुलाई आफ्नै हातले वाड्न चाहन्थी होली, सारीको फर्कोलाई कम्मरमा उनेर तिम्री आमालाई नचाउँदा हुन तिम्रो विवाहमा । बैंशमा बहुत नाच्न सिपालु थिइ तिम्री आमा त्यो विवाहको रतौंलीमा कस्तरी नाच्दी होली? यो सपना सपनानै भो, धिक्कार छ मेरो जुनी । एकातिर तिम्री आमाको प्राण घुट घुट भइरहेको छ । मैले हेर्न सक्दिन म अर्केतिर फर्केछु । मानव सुन्य चेतनाको ठाउँमा हाम्रो पुकार सुन्ने कोही भइदिएनन् ।

तिमी जन्मदा, मैले निधारमा चुप्प गरे, त्यही निधारमा स्वाँठहरुले तिमीलाई हाने । मैले ताते ताते भनेर औला दिएर पृथ्वीमा तिमीलाई हिड्न सिकाएँ, त्यही औंलामा स्वाठहरुले काटे । तिम्री आमाले ९ महिनासम्म पेटमा राखेर संसार चिनाउन वाहिर निकालीन संसार चिन्न नपाई तिम्रो हजारौं सपनामाथी वलत्कार गरे स्वाँठहरुले । तिमीले चुसेका आमा दुधको ऋणलाई चुक्ता गर्न नदिएर स्वाठहरुले आमा छोराको ममतालाई हत्या गरे । तिम्रो हत्याको चित्कार र मृत्यु बाबा बाबा भनेर चिच्याएको याचना मैले कल्पनै गर्न सक्दिन बाबु । तिमी सहारा विहिन भएर चिच्यायौं । म सहारा विहिन भएर लडेको छु । यत्रो साढे २ करोड मानिस छन् यो देशमा हाम्रो याचना सुन्ने केही मानवअधिकार र केही स्वच्छ पत्रकारवाहेक अरु कोही छैन । विवेक हुँदो हो त तिम्रो हत्या गर्ने हत्याराहरु यसरी घुमेर हिड्दा खै कसले समात्ने खै कसले न्याय दिने? 

तर तिम्रो मृत्युबाट अवश्य ती कायरहरु ढल्नेछन् । सत्य कहिल्यै डग्दैन हामी गएपनि यो चन्द्रगुप्त जस्ता साहसी न्यायपालक शासक र चाणक्य जस्ता महान व्यक्तिहरुको उदय  हुनेछ र  धनानन्दजस्तालाई मार्नेछन् । न्याय पाइनेछ । मृत्यु पछिको न्याय मैले   नदेखेनी तिम्री आमाले आफ्नै आँखाले देख्न चाहेकी
थिई । अस्तिसम्म बाबुको हत्यारालाई कारवाही नहुँदासम्म म खान्न भनेको सुनेँको थिएँ अहिले उसको होसै छैन, बोल्न छाडी, सास मात्रै वाँकी छ । मलाई पनि चिन्न छाडी म उता फर्कन छाडे । बाबु मलाई माफ गर ।
तिम्रो बुबा
नन्द प्रसाद अधिकारी
Source- महेन्द्र पौडेलको ब्लगबाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक