सन्तानले डाँडाकाँडा ढाक्ने भएरै होला मन्त्रीजीको पार्टीको नाम पनि नेपाल परिवार दल !!! केन्द्रिय समिती घरमै बन्ला जस्तो छ, भबिस्य उज्ज्वल छ मन्त्री जि को नेपालमा लौ जा !
‘दुई सन्तान ईश्वरको वरदान’ भन्दै सरकार परिवार नियोजनको प्रचारमा बर्सेनि ठूलो रकम खर्च गर्छ । तर, वर्तमान सरकारका एक मन्त्री यस्ता भेटिए जो परिवार नियोजनमा पटक्कै विश्वास गर्दैनन् र एकपछि अर्को सन्तान जन्माइरहेका छन् । यी हुन् गरिबी निवारण तथा सहकारीमन्त्री एकनाथ ढकाल । ०५४ सालमा फिलिपिनो महिलासित बिहे गरेका मन्त्री ढकालका लगातार पाँच छोरी भए । उनकी श्रीमती ब्लेसी गाडन अहिले फेरि गर्भवती छिन् । छैठौँ सन्तानको प्रतीक्षामा रहेका ढकालले आजसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरेको र भविष्यमा पनि नगर्ने
बताए ।‘यो (परिवार नियोजन) अप्राकृतिक कुरा हो,’ उनले सौर्य प्रतिनिधिसित शुक्रबार भने, ‘मेरा बर्सेनिजस्तै सन्तान जन्मिरहेका छन् । (सन्तानोत्पादन) रोक्ने कुनै सोचाइ छैन ।’ उनले परिवार नियोजनका कुनै पनि साधनमा आºनो विश्वास नरहेको भन्दै यसलाई नअपनाउन अरूलाई पनि सुझाब दिए । मन्त्री ढकालले भने, ‘हामीले अप्राकृतिक साधन प्रयोग गरेर सृष्टिलाई चुनौती दिने अभियानमा लाग्नु राम्रो होइन ।’
अप्राकृतिक कुराको प्रयोगले मानव समाजलाई रोगी बनाउने उनको तर्क छ । ‘सन्तान कम जन्माउन खोज्ने हो भने सेल्फ कन्ट्रोल गर्न सक्छौँ,’ उनले सुझाए । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका मन्त्री ढकालले भने, ‘सबै कुरामा प्राकृतिक सिद्धान्त अपनाउनुपर्छ, यसलाई प्राकृतिक रूपमै सञ्चालन हुन दिनुपर्छ ।’
परिवार नियोजनका साधनलाई खेतबारीमा प्रयोग गरिने रासायनिक मलसँग तुलना गरे मन्त्री ढकालले । ‘अहिले रासायनिक मलको प्रयोगले गर्दा हाम्रा जमिन जब्बर भएका छन्,’ उनले भने, ‘यही स्थिति रहने हो भने अबको सय वर्षपछि यो भूमिबाट कस्तो उब्जनी होला हामीले कहिल्यै कल्पना गरेका छाँै ?’
‘बजारमा परिवार नियोजनका स्थायी र अस्थायी साधन छ्याप्छ्याप्ति पाइन्छन्,’ मन्त्री ढकाल थप्छन्, ‘ती साधन म पनि प्रयोग गर्न सक्थेँ, तर आजसम्म कहिल्यै गरिनँ ।’
ढकाल युनिभर्सल पिस फेडेरेसन (युपिएफ) नामक अन्तर्राष्ट्रिय धार्मिक संस्थाको नेपाली अगुवा हुन् । सामाजिक संस्थाको खोल ओढेर युपिएफले विवादास्पद कोरियाली धर्मगुरु सन् म्योङ मुनका आध्यात्मिक सिद्धान्तलाई नेपालमा प्रवद्र्धन गर्दै आएको छ । आफूलाई जिसस क्राइस्टको अवतार दाबी गर्ने मुनकै सिद्धान्तलाई पछ्याएर परिवार नियोजनका साधन बहिष्कार गर्दै आएका छन् ढकाल र उनको संस्थाका मानिसले । तर, उनी यो तथ्य खुलाउन चाहँदैनन् ।
ढकालपत्नी गाडनले पहिलो सन्तानका रूपमा सन् २००१ मा छोरी जन्माएकी थिइन् । पहिलो सन्तान जन्मिएको एक वर्षपछि नै सन् २००२ मा उनले दोस्री छोरी जन्मिइन् । सन् २००४ मा तेस्रो, २००८ मा चौथो र २०११ मा पाचौँ सन्तान जन्माएकी गाडन दुई महिनापछि अर्को पाउने तयारीमा छिन् । संस्थाको सिद्धान्तअनुसार अन्तर–राष्ट्रिय विवाह गरेको ढकाल दम्पतीले छोरीहरूको नाम पनि ‘समावेशी’ किसिमले जुराएको छ । पहिलो छोरीको नाम हो, इस्थर इन ढकाल । त्यसैगरी, दोस्रोदेखि पाँचौँसम्म क्रमश: काही गाडन ढकाल, सिम हा ढकाल, एकता ढकाल र ऐश्वर्य ढकाल नामकरण गरिएको छ । फिलिपिनो नागरिकसँग विवाह गरेको, गुरु कोरियन भएको र आफू नेपाली भएकाले नाम पनि मिश्रित रूपमा राखेको मन्त्री ढकालले बताए । उनले भने, ‘मेरो परिवारमा फिलिपिन्स, कोरिया र नेपालीको समिश्रण हुनेगरी दुईवटाको अंग्रेजी एउटाको कोरियन र दुईवटा छोरीको नाम नेपालीमा राखिएको छ । छैटौँ सन्तानको नामचाहिँ सोचिसकेको छैन ।’
आºनो छैटौँ सन्तान छोरा हुने हो कि छोरी भन्ने कुतूहल छ उनलाई । तर, गर्भमा रहेको बच्चाको लिंग परीक्षण गर्ने प्रविधि अपनाउन चाहँदैनन् । ‘मैले अघि नै भनिहालेँ, म कुनै पनि कृत्रिम वस्तुको प्रयोग गर्दिनँ,’ उनले भने । आफू छोराको पर्खाइमा भएको कुरा उनले नकारे ।
‘कतिपयले यो आशंका पनि गर्ने गरेका छन् तर यो असत्य हो,’ उनले भने । छैटौँ सन्तान छोरा या छोरी जे भए पनि अझै केही सन्तान जन्मन सक्ने उनले बताए । ‘म अझै ४० वर्ष पुगेको छैन, श्रीमती मभन्दा चार वर्ष कान्छी छिन्, मानिसहरू ४५/५० वर्षसम्म मज्जाले सन्तान जन्माउन सक्छन्,’ उनले प्रस्ट्याए, ‘हामी दुवै अझै युवा नै छौँ, पछि बुढेसकालमा अर्कै सोचाइ आएछ भने केही भन्न सकिँदैन ।’
छोरा र छोरी जे भए पनि आफूलाई कुनै फरक नपर्ने बताए पनि मन्त्री ढकालले परिवार सञ्चालनका लागि वंशज भने आवश्यक रहेकामा जोड दिए । ‘वंश मानवलाई निरन्तरता दिनका लागि सृष्टिकर्ताले निर्माण गरेको माध्यम हो, वंशज भएन भने मानवताको कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘म बुबाको प्रतिरूप भएजस्तै मेरो प्रतिरूपका रूपमा मेरा सन्तान हुनुपर्छ ।’ छोरा आवश्यक रहेको घुमाउरो आशय व्यक्त गर्दै उनले भने, ‘यदि त्यसो भएन भने मेरो वंश नै सखाप भइहाल्छ नि ?’
त्यसो त ढकालका बाबु पनि सन्तानका धनी थिए । परिवारमा नवौँ सन्तानका रूपमा गोर्खाको बोलाङमा १९ असार ०३१ मा जन्मिएको जानकारी गराउँदै मन्त्री ढकालले भने, ‘म आठजना दिदीहरूपछि जन्मिएको हुँ । त्यतिबेला पनि परिवार नियोजनका साधन निस्किएका थिए होलान् । मेरो बुबाले पनि कुनै साधन प्रयोग नगरेकै कारण धेरै सन्तान जन्मिए ।’ उनले आफूमुनि एउटा भाइ पनि भएको जानकारी गराए ।
सेक्सलाई परिभाषित गर्दै ढकालले यो मानवलाई आनन्दको अनुभूति दिने उपल्लो माध्यम भएको बताए । ‘यसको सही रूपमा प्रयोग हुनुपर्छ र त्यसबाट वंशको अपेक्षा पनि गरिनुपर्छ ।’
‘हरेक कुरा प्राकृतिक तवरबाटै सञ्चालन हुन दिनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ म,’ उनले पुन: जोड दिए, ‘कृत्रिम तथा अप्राकृतिक कुराको बढ्दो प्रयोगले मानव समाज ध्वस्त बनिरहेको छ ।’
आफूले अपनाइरहेको क्रिस्टियानिटीलाई ढकालले परिमार्जित हिन्दू धर्मको संज्ञा दिए । उनले भने, ‘म धर्मलाई परिमार्जित गर्दै लैजानुपर्छ भन्ने मान्यता राख्छु र आफूलाई हिन्दू युनिफिकेसका रूपमा लिन्छु । म हिन्दू धर्म मान्छु तर परिमार्जित हिन्दू धर्म ।’ -रामहरि पाण्डे , Sourya
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक