20120229

नेपालका सबैभन्दा ठूलो समस्या प्रचण्ड भए !

- गोपाल बुढाथोकी
देश फेरि अनिश्चित यात्रातिर मोडिएको छ। अर्थात्, गन्तव्यहीन यात्रामा मुलुक फँसेको छ। अराजकता ब्याप्त छ। जातिवाद, क्षेत्रीयतावाद हावी छ। हरेक पार्टी चिराचिरा छन्। सबैतिर अविश्वास छ। नेतृत्वविहीन अवस्थामा पार्टी र मुलुक छ। अब के होला? सबैतिर यही प्रश्न र प्रतिप्रश्न छ।  जनताले समाधान गर्ने भनेर विश्वास लिएका नेताहरू नै आफैं समस्या बनेपछिको थिति जो छ। जति ठूलो नेता छ त्यति नै ठूलो समस्या छ। नेपालका सबैभन्दा ठूलो समस्या प्रचण्ड भए। अन्यको कुरा छाडौं, प्रचण्डपथ भनेर मानिएको उनकै पार्टीमै उनी विकृतिका नमूना बनेका छन्। पार्टीलाई उनले प्राइभेट लिमिटेडमा बदलेका छन्। आर्थिक अपारदर्शिता, पार्टी सिस्टम तोडेर आफ्ना भक्तहरूलाई समेत अकुत आर्थिक लगानी, आर्थिक कमाइका लागि जस्तासुकैसंग र जोसंग पनि हात पसार्ने र खोस्ने प्रवृत्ति (माओवादीका लडाकूहरूसंग समेत जबर्जस्ती पैसा असुल गर्न लगाएको),  आफ्नो र परिवारको उच्च वर्गीय जीवनशैली, पार्टी वाहिर मात्र हैन पार्टीभित्रै एक
अर्कालाई उछाल्ने र पछार्ने, लडाउने दुर्गुण क्रियाकलापका कारण एमाओवादी अध्यक्ष प्रचण्ड नाङ्गिएका छन्। उनले पार्टीलाई 'प्रा.लि.' मा बदलेपछि र उनको जीवनशैली उच्च वर्गको जस्तो देखेपछि यतिवेला उनकै पार्टीमा काम गरेका वाइसीएल लगायतहरूले ज्याला लिनका लागि आन्दोलन गरिरहेका छन्। अर्थात् आआफ्नो सेयर मागिरहेका छन्। कहीँ नभएको जात्रा हाडीगाउँ माओवादी बनेको छ। हिजो प्रचण्डपथ जिन्दावाद भनेर मर्न र मार्न तयार कार्यकर्ताहरू अहिले प्रचण्डविरुद्ध आन्दोलन गर्ने अवस्था आउनुले माओवादीमा विस्तारै प्रचण्डको सान्दर्भिकता सकिदै गएको अनुभूति हुन्छ। 
 २०६९ जेठ १५ गतेसम्म शान्ति र संविधान स्थापित भयो भने बाबुराम भट्टराई र त्यसो भएन र आन्दोलन उठाउनुपर्ने भयो भने वैद्य–वादल नै अगाडि आउने सम्भावना छ। दुवैतिर खेलेर आफू मुख्य बनिरहने प्रचण्ड खेल संविधानसभाको समाप्तिसंगै समाप्त हुनेछ। त्यसपछि माओवादी एकीकृत रहने छैन। आफैंले आफैलाई राष्ट्रपतिभन्दा अहिले पनि आफू कम नभएको र राष्ट्रपति बन्ने प्रचार गर्दै आएका प्रचण्ड फेरि भित्ते राष्ट्रपतिमात्र हुनेछन्। पहिला त प्रम त बनेका थिए, अब त त्यो पनि सम्भावना देखिदैंन। उनको पछाडि लागेर लाभ लिएका केही नेता तथा कार्यकर्ताहरू वाहेक यो देशको नेतृत्व प्रचण्डलाई दिनुपर्छ भनेर राजनीतिक रुपमा पुष्टि गर्ने आधार खोई? एउटा प्रसंगमा निर्माण भएको प्रचण्ड व्यक्तित्व अर्काे सन्दर्भ आउँदा स्खलित हुँदै गएको छ। हिजोको प्रचण्ड गर्जन, सिंह गर्जन थियो भने अहिले स्यालहुइयाँमा बदलिएको छ। ब्वाँसोको खेलजस्तो भएको छ।    
नेपाली कांग्रेसका सुशील कोइराला प्रचण्डभन्दा त्यागी र इमान्दार त छन्। तर परिस्थितिलाई आफ्नो बशमा लिन चुकिरहेका छन्। उनले पार्टीलाई संस्थागत गर्न सकेका छैनन्। उनी धेरै नलागे पनि अन्तर्राष्ट्रिय शक्ति, हिजोका संरचनाका कारण नेपाली कांग्रेसका लागि परिस्थिति अनुकूल छ। एमाओवादीको असफलताको लाभ सबैभन्दा बढी यसैले प्राप्त गर्ने देखिन्छ। 
एमालेका अध्यक्ष झलनाथ खनाल अरु दुई प्रमुख नेताको तुलनामा यतिबेला गतिशील देखिएका छन्। टुक्राटुक्राजस्तो भएको पार्टीलाई समन्वय गरेर सुदृढ र संस्थागत गर्न खनाल केही सफल भएका छन्। तैपनि राष्ट्रलाई नेतृत्व गर्ने वातावरण भने खनालले निर्माण गर्न सकेका छैनन्। मौलिक दृष्टिकोण दिन सकेका छैनन्। महंगी, अभाव, भ्रष्टाचार, प्रधान–मन्त्रीहरूको राष्ट्रियताका विरुद्धको अभिव्यक्ति र व्यवहारका विरुद्ध आन्दोलन सिर्जना गर्न सकेका छैनन्। यसैले यिनी पनि राष्ट्रको समाधान बन्न सकेका छैनन्। 
यस्तोबेला मुलुक दुर्घटनाको जोखिममा परेको छ। यसलाई जोगाउन सामूहिक प्रयत्न आवश्यक छ। शान्ति, संविधान र राष्ट्रियताको विषयलाई मूल एजेण्डा बनाएर सबैतिरबाट पहल बढाउन ढिलो भइसकेको छ। यी एजेण्डालाई मुख्य मुद्दा बनाएर सहकार्य गर्ने वातावरण बनाउन भट्टराई सरकारले राजीनामा दिएर भएपनि पहल बढाउनुपर्‍यो। यो बेलामा महानगरप्रमुखहरूले गर्ने काममा प्रधानमन्त्री बढी अल्झेर समस्या जो परेको छ। शान्ति र संविधान स्थापित भएपछि काठमाडौं शहर निर्माण गर्न प्रधानमन्त्रीभन्दा अझ बढी गर्नसक्ने केशव स्थापितलाई जिम्मा दिए भइहाल्यो। कि कसो ?

1 comment:

  1. We all Nepalese are unfortunate get such leaders.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक