-देवप्रकाश त्रिपाठी
ब्रह्माजी महान् कि शङ्करजी भन्ने प्रश्नमा विचरण गर्न थालियो भने मानिसका अनेक तर्क, वितर्क र धारणा हुन सक्छन् । विध्वंशक महान् हुन् या सृष्टिकर्ता भन्ने प्रश्नको छिनोफानो भयो भने ब्रह्माजी या शङ्करमध्ये को ठूला हुन् भनी उत्पन्न बहस एवम् विवादको निरूपण हुने विश्वास गर्न सकिन्छ । सनातनीहरू सृष्टिकर्ता ब्रह्माजीको पूजा गर्दैनन्, पूजा संहारकर्ता भगवान् शङ्करको गर्छन् । यसबाट मानिसहरू मृत्युको भयबाट सबभन्दा प्रभावित र प्रेरित हुन्छन् भन्ने सङ्केत मिल्दछ । आफूलाई जसले सृष्टि गर्यो त्यसप्रति अनुगृहित रहिरहनुभन्दा ‘खतरा कतापट्टबिाट छ’ त्यससँग रक्षित हुने उपायको खोजी गर्नु मानवीय प्रवृत्ति हो भन्ने बुझिन्छ । तर, एउटा विवेकपूर्ण मानिस यतिसम्म कृतघ्न रहनु कदापि जायज हुन सक्दैन । सृष्टिकर्ता र संहारकर्ताबीचको भिन्नता रात र दिनजत्तिकै हुन्छ, हामी दिनमा आँखा चिम्लेर अँध्यारो हेर्ने....
रातमा उज्यालोको कामना गर्दै सूर्यको उपासना गर्ने मूर्ख मनुवाको भूमिका निर्वाह गर्दैछौँ । नेपाल निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति गरिएको उपेक्षा र सत्ता-सङ्घर्षका विद्रोही अगुवा प्रचण्डलाई यो देशले दिएको सम्मानले पनि हाम्रो विवेकमाथि गम्भीर ढङ्गले प्रश्न उठाएको छ, हाम्रो कृतघ्नताको खुलासा गरेको छ । प्रचण्डको अगुवाइमा यो देशमा एउटा हिंसात्मक युद्ध भयो, युद्धका कारण पन्ध्र हजारभन्दा बढी नेपालीको इहलीला समाप्त भयो, बनिबनाउ सामाजिक मर्यादा, अनुशासन र कानुनी शासन भङ्ग भयो, धर्म र परम्परामा धक्का लाग्यो, सामाजिक एवम् जातीय सद्भाव तथा राष्ट्रिय एकता सङ्कटमा पर्यो, अब सार्वभौमिकता र राष्ट्रिय अखण्डतासमेत धरापमा परेको छ । तर, हामी नेपाली भन्दै छौँ-महान् प्रचण्ड जिन्दावाद । जनवादी क्रान्ति जिन्दावाद । जनगणतन्त्र- ल्याउँछौं, ल्याउँछौं । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले देशको एकीकरण अभियानको अगुवाइ गरे, आधुनिक र एकीकृत नेपालको जग बसाए । खण्डित मुलुकलाई एउटै धागोमा उन्ने-बुन्ने अभियान चलाउँदा-चलाउँदै युद्धमैदानमा नै उनी दिवंगत भए । नेपाल निर्माणका क्रममा यसको रक्षा र विकास कसरी गर्न सकिन्छ भनी मार्गनिर्देशनसमेत उनले गरेका थिए । पृथ्वीनारायण शाहको अगुवाइमा चलेको राष्ट्र एकीकरण अभियानमा एक हजार मानिस मारिएको तथ्याङ्क भेटिँदैन । त्यसक्रममा कहीँ कतैको र कसैको धर्म, परम्परा, सामाजिक एवम् जातीय र क्षेत्रीय सद्भावपूर्ण संरचना खलबलिएन । तर, प्रचण्डको नेतृत्वमा भएको सत्ता-सङ्घर्षमा पन्ध्र हजारभन्दा बढी मारिए, त्यत्तिकै सङ्ख्यामा मानिस घाइते भए, लाखौँ मानिस विस्थापित भए । यसबापत प्रचण्डजी एक-डेढ करोडको पाजेरो गाडी चढ्ने भए, प्रतिमहिना लाखौँ खर्च गरी आफ्नो सुरक्षा गर्नसक्ने हैसियतमा पुगे, मरिचमान र नगेन्द्रप्रसाद रिजालहरूले समेत प्राप्त गरेको प्रधानमन्त्री पद पनि पाए, तर देशले के पायो, जनताले के पाए ? यी बेग्लै प्रश्न हुन् ।
प्रचण्ड र उहाँहरूलाई सान, मान र सत्ता प्राप्ति हुँदा राष्ट्रनिर्माताको सालिक ढालिन आवश्यक थिएन । ०६३ सालमा तात्कालिक श्री ५ ज्ञानेन्द्रबाट लोकतन्त्र बहाल भएको घोषणा हुनेबित्तिकै पृथ्वीनारायणको ऐतिहासिक सालिक ढालिँदा देशभक्त नेपाली त्यतिबेला महाचकित परेका हुन् । लोकतन्त्र स्थापित हुँदा राष्ट्रनिर्माता विस्थापित हुनुपर्छ भन्ने ठानिएको थिएन, ठान्नुपर्ने कारण पनि थिएन । पाँच वर्षको ‘लोकतान्त्रिक अभ्यास’ले बल्ल आभास दिलाउँदै छ- किन ढालिएको रहेछ पृथ्वीनारायण शाहको सालिक भन्ने कुरा । नेपोलियन बोनापार्ट र विस्मार्कजस्ता मानिसहरू अहिले पनि आफ्ना देशमा पुजित छन् । करिब दुई सय राज्यमा विभाजित जर्मनीलाई एकीकरण गर्न पे|mडरिक विलियम र विस्मार्कको ठूलो योगदान रहेको तथ्य जर्मनी र विश्वकै इतिहासले भुलेको छैन । विस्मार्क प्रजातन्त्रविरोधी र तानाशाह थिए । इटलीमा मुक्तिदाता भनेर चिनिने नेपोलियन बोनापार्ट पनि एक तानाशाह नै थिए । तर, देशको एकीकरण र राष्ट्रवादी आन्दोलनमा तिनले पुर्याएको योगदानप्रति सम्बन्धित मुलुकहरू नतमस्तक छन् । चंगेज खाँजस्ता व्यक्तिलाई पनि मंगोलियाले राष्ट्रिय विभूतिको दर्जा दिएको छ । देशलाई खण्डित हुनबाट जोगाउन सकेका कारण अब्राहम लिङ्कन अविष्मरणीय भएका छन् । तर, यो नेपालमा चाहिँ देशको निर्माता सर्वाधिक अपहेलित, अपमानित र तिरस्कृत तुल्याइएका छन् । पृथ्वीनारायण शाहले देश नबनाइदिएको भए अहिले नेपालको स्वतन्त्र सार्वभौमिकता, सत्ता र सरकार हुन सम्भव थिएन । हामी नेपालको पहिचान पनि सायद असम्भव थियो । देशनिर्माता उपेक्षित भइरहँदा तुच्छ सत्ताका लागि लड्नेहरूचाहिँ यतिबेला महान् कहलिएका छन् । पोखराको पृथ्वीचोकमा अवस्थित पृथ्वीनारायण शाहको सालिक ढालेर त्यहाँ यतिबेला लखन थापालाई भीमकाय स्वरूपमा ठड्याइएको छ । किंबदन्तीअनुसार लखन थापाले जंगबहादुर राणालाई हटाएर आफूलाई देवीले ‘राजा’ बनाएको सपना देखे, त्यही सपना साकार तुल्याउने उद्देश्यले लखन जंगबहादुरसँग लड्न काठमाडौं पुगेका थिए । बत्तीमा पुतली होमिएझैं होमिए र खरानी भए । जंगबहादुरको सट्टा आफू शासक बन्न चाहनेचाहिँ स्तुत्य, जसले यो देश स्थापना गरे तीचाहिँ तुच्छ -† संसारमा कहीँ कतै नभेटिने र नभेटिएको दृष्टान्त हामी नेपाली प्रस्तुत गर्दै छौं । लखन थापादेखि प्रचण्डसम्मका मानिसहरूले सत्ताप्राप्तिका निम्ति आफूहरूलाई केन्दि्रत गरेका हुन् । सत्ताका निम्ति लड्नु र देश निर्माण गरिनुका बीच तुलना मात्र गर्नु भनेको पनि राष्ट्रनिर्माण कार्यलाई होच्याउनु हो । तर, हामी देश बनाउनुभन्दा सत्ता प्राप्त गर्न सक्नुलाई महान् कार्य भएको मान्यता स्थापित गर्न खोज्दै छौँ ।
पृथ्वीनारायण शाह राजाका रूपमा त महान् थिए नै, उनी एउटा मानिसका रूपमा पनि असाधारण थिए । कुनै व्यक्ति राजा हुँदैमा ज्ञान, बुद्धि, विवेक र साहस स्वत: पलाउने होइन, पृथ्वीनारायण आफैंमा एक विलक्षण प्रतिभा थिए जसको क्षमता राष्ट्रनिर्माणमा राम्ररी उपयोग हुन सक्यो । सप्ताह लगाएर, भाकल गरेर या लाखबत्ती बालेर चवन्न एकाइमा विभाजित देशलाई एकीकरण गर्न सम्भव थिएन । पृथ्वीनारायणले हतियार उठाएकै हुन्, तर त्यो हतियार तुच्छ सत्ताका लागि उठेको थिएन र विरोधीजतिलाई सफाया गर्ने निकृष्ट अभियान पनि त्यो थिएन । पृथ्वीनारायणले देशविरोधी प्रमाणित भएकाबाहेक कसैलाई कहिल्यै कुनै प्रकारको दुःख या सजाय दिएनन् । अन्य जाति, भाषाभाषी र संस्कृति नष्ट गर्ने विचार पनि उनले गरेनन् । बरु नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएको उद्घोष गरेर सबैको सम्मानित जीवनको सुनिश्चितताको प्रत्याभूति उनले दिलाएका थिए । पृथ्वीनारायण आफू गोरखाका राजा थिए र गोर्खालीकै साथ र सहयोगमा उनले देश एकीकरण अभियान सुरु गरेका थिए । गोर्खा देशको विस्तार गर्ने मात्र उद्देश्य पृथ्वीनारायण शाहको थियो भने काठमाडौंमा विजाय हासिल गरेपछि उनले देशको नाम नै गोर्खा राख्न सक्थे । तर, पृथ्वीनारायणले विजयीको नामबाट नराखी पराजिततर्फबाट देशको नाम ‘नेपाल’ राखिदिए । देशको नाम नै नेपाल राखिएपछि काठमाडौं उपत्यकावासीले अपमानित महसुस गर्नुपरेन, बरु सम्मानित बोध गरे । काठमाडौं उपत्यकाको संस्कृति, परम्परा र धर्ममाथि पृथ्वीनारायणले कहिल्यै नकारात्मक दृष्टि राखेनन्, बरु प्रवर्द्धनमा सहयोग पुर्याए । हिन्दू देवता गणेश भोग -बलि) लिँदैनन् भन्ने कुराको राम्रो जानकारी पृथ्वीनारायणलाई थियो, तर काठमाडौंमा गणेश मन्दिरमा समेत बलि चढाउने परम्परा रहेछ, उनले त्यसमा रोक लगाएनन्, जनताको भावनाको कदर गर्दै निरन्तरता दिए । पृथ्वीनारायणका अति प्रिय पात्र थिए विराज बखेती, उनी बखेतीलाई नै काजी -प्रधानमन्त्री) बनाउन चाहन्थे । तर, जनधारणा बुझदा कालु पाण्डेको पक्षमा जनमत देखिएपछि कालुलाई नै उनले काजी चयन गरे । यस प्रकरणले पनि पृथ्वीनारायण शाह जनताप्रति अत्यन्त संवेदनशील रहेको पुष्टि गर्दछ ।
भारत र चीनजस्ता दुई ठूला मुलुकहरूबीचमा आफ्नो अस्तित्व मात्र जोगाएर बस्न सक्नु पनि नेपालका निम्ति एउटा ठूलो चुनौती हो । वर्तमानमा राजनीतिकर्मीहरूका असन्तुलित व्यवहारले कहिले भारत त कहिले चाइना रिसाउने स्थिति बनिरहेको छ । पृथ्वीनारायणले हाम्रो परराष्ट्र नीतिप्रति संवेदनशील हुनुपर्ने सङ्केत गर्दै भन्नुभएको थियो, ‘मैले साना दुःखले आर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया । नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’
यस्ता अनगिन्ती दृष्टान्तीय घटना छन् जसले पृथ्वीनारायण शाह नेपाली इतिहासको गौरव र असाधारण एवम् अद्वितीय व्यक्तित्व भन्ने कुराको प्रमाणित गर्दछ । त्यस्ता व्यक्तित्व जसको दिल र दिमागमा देश र जनताबाहेक केही थिएन, जसले सम्पूर्ण जीवन देश निर्माणमा मात्र र्समर्पण गरे र संसारमा हाम्रो आफ्नो बेग्लै परिचय स्थापित गराइदिए, त्यस्ता व्यक्तिको प्रशंसा हज्जार जिब्रा भएका शेषनागले पनि गर्न सक्दैनन् । तर, यहाँ पृथ्वीनारायणलाई गाली गर्नेहरू पृथ्वीनारायणलाई गाली गरेकै कारण पृथ्वीनारायणभन्दा आफू महान् भएको आत्मरतिमा बाँच्दै छन् । देवतालाई गाली गर्दैमा कुनै मानिस देवता बन्न सक्दैनन् । र्स्वर्गमा पनि कुनै समय दानवहरूद्वारा इन्द्रको सत्ता खोसिँदा देवताहरू अपहेलित, उपेक्षित हुन्थे भन्ने शास्त्रहरूमा पढ्न पाइन्छ । ठीक त्यसैगरी अहिले नेपाल दानवप्रवृत्तिमय भएको महसुस हामी सबैले गरिरहेका छौँ । त्यसैले देश बनाउनेचाहिँ अपमानित, जाबो सत्ता र पद प्राप्तिका लागि लड्ने-मार्नेहरूचाहिँ महान् भनिएका छन्, भएका छन् । विवेकको पुनर्वहाली भएका दिन यस कालखण्डका हामीले हाम्रो कर्मका निम्ति अवश्य लज्जाबोध गर्नुपर्नेछ । त्यसपछि फेरि पनि सत्तापिपासुहरू दानव र पृथ्वीनारायणहरू महान् भूमिकाका महामानवका रूपमा पुन: स्थापित हुने विश्वास अवश्य गर्न सकिन्छ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २८९औँ जन्मजयन्तीको यस अवसरमा उहाँप्रति श्रद्धा अर्पण गर्नु नेपाली भएकोमा गौरव गर्ने सबैको कर्तव्य हो, महामानवप्रति म पनि हारि्दक आभार प्रकट गर्दै श्रद्धासुमन अर्पण गर्दछु, जय नेपाल ।
20110113
.....तर हामी नेपाली भन्दैछौँ-महान् प्रचण्ड जिन्दावाद । जनवादी क्रान्ति जिन्दावाद । जनगणतन्त्र- ल्याउँछौं, ल्याउँछौं !
1 comment:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
namaskar , lekh ramro cha , Ithihaas ko barema thaaha paune manis aiile nepalma dherai kam chan jasto lagcha ,, Ithihaas jannu pani hamro jindagi ko yek mahato-purna upalabdhi ho ,
ReplyDelete