हामीलाई पनि मन पर्यो यो लेख ! यस्तैछ मित्र अमेरिकामा पनि !
चन्द्रमामा पुगेपनि नसुध्रने नेपाली
-यात्री/नेदरल्याण्डस्-रेलको लामो यात्रामा पट्यार लाग्ने हुँदा प्रायःजसो सबैका हातमा पुस्तक वा पत्रिका हुने गर्छ। हुन त रेल र बसमा मात्र नभई पश्चिमाहरु उभिँदा बस्दा वा खाँदा जे गर्दा पनि आफूसँग पुस्तक साथैमा लिन्छन्। पुस्तक पढ्ने उनीहरुको आदत साँच्चै नै तारिफयोग्य छ। सायद शिक्षित समाजको ज्वलन्त उदाहरण पनि यही नै होला। एक दिन एक शहरबाट अर्को शहरका यात्राका क्रममा मेरो अघिल्तिर एक यात्री बसिरहेको थियो। म यहाँ निःशुल्क पाइने दैनिक पत्रिकाको हेडलाइन हेर्दै थिएँ। त्यसैबीच एकजना साथीको फोन आयो। मैले उसलाई नमस्कार गर्दै आफ्नो वार्ता अगाडि बढाएँ। कुराकानी लामै भयो फोन गर्ने साथीसँग। अघिल्तिर बसिरहेको अपरिचित यात्री पटक-पटक मेरो अनुहारमा हेर्ने गर्थ्यो। मलाई समेत अप्ठेरो लागिसकेको थियो तर पनि उताबाट साथीले फोन राख्ने कुरै निकालेन र म आफैले भनिदिएँ- म तिमीलाई पछि फोन गरौँला है।
मैले पुनः आफ्ना नजरहरु पत्रिकातिर नै लगाएँ। एक्कासी उसले मलाई सोध्यो। ह्वार कोम...
ए फानदान (तिमी कहाँबाट आएको)। मैले सहज जवाफ दिएँ- ईक कोम आइत नेपाल (म नेपालबाट आएको)। मैले यति भन्ने बित्तिकै उसले एकदमै उत्साही भएर नेपालको बारेमा धेरै कुरा मेरो सामु राखिहाल्यो। यात्रा लामै भएकोले पनि उसले नेपालको बारेमा धेरैभन्दा धेरै प्रश्नहरु सोध्न भ्याइहाल्यो। ऊ आफू स्वयं पनि तीन पटक भन्दा बढी नेपाल गएको तर नेपालको राजदरबार हत्याकाण्डमा कर्फ्युको सामना गरेदेखि नेपाल जाने हिम्मत नगरेको पनि बतायो। उसले मलाई नै प्रश्न गरिरहन्थ्यो साँच्चै त्यत्रो परिवारहरु एकैथलोमा कसले र कसरी मार्यो होला हगि। मसँग पनि त्यसको जवाफ थिएन। विश्व घुम्ने र धेरै अध्ययन गर्नेहरुका सामू आफ्नो अल्पज्ञानले जे पायो त्यही भन्न पनि मिलेन। उसले नेपालको राजनीतिक विषयलाई उठाएर पनि प्रश्न गरिरहेको थियो। अनि अर्को कुरा गर्वसाथ उसले भन्यो- त्यस्तो प्रकृतिले भरिपूर्ण देशको महत्वलाई नेपालीहरुले बुझ्न सकेनन्।
कुरामा धेरै राजनीति मिसाएर गरे पनि ऊ नेपालको इतिहासप्रति निकै चाख देखाउने खालको रहेछ। साँच्चै नजिकको तिर्थ हेला भने जस्तो आफू स्वयं नेपालबाट आएपनि नेपालको बारेमा थाहा नहुनु आफैमा लज्जास्पद कुरो रहेछ।
मैलेभन्दा नेपालको बारेमा धेरै कुरा बताउने भएकोले म चाहीँ सुनेर टाउको मात्रै हल्लाउँथे। उसको कुरा अनुसार नेदरल्याण्डमा रहेका नेपालीहरुको बारेमा समेत धेरै अध्ययन गरेको रहेछ। नेपालको राजनीतिक समस्या किन नमिलेको होला भनेर सोधेको प्रश्नको उत्तर दिनुभन्दा मैले नेपालीहरुले नेपाल छोडेरपनि विदेशमा आएर गरेको राजनीति सम्झिएँ।
हुन पनि आज विश्व कहाँबाट कहाँ पुगिसक्यो तर हामी नेपाली जहाँ पुगे पनि अरुको नकारात्मक कुरा नक्कल गर्न खप्पिस र अरुको सकारात्मक कुरा सुन्न नचाहने हाम्रो परम्परा कहिले पनि नजाने भयो। विदेशमा राजनीति गरेर नेपालमा सांसद हुने सपना देख्ने नेपालीहरुमा व्यक्तिपिच्छे अध्यक्ष हुने नेपाली परम्परा बन्दै आएको छ। हुँदाहुँदा अध्यक्ष भन्ने पद पनि एकदमै सस्तो र अमर्यादित हुँदै आएको कुरा सबैलाई थाहा हुँदाहुँदै पनि यो होडबाजी कहिले नजाने भयो। सकेसम्म नेपालको राजनीतिक पार्टीलाई जोडेर र नभएमा कुनै एक निश्चित जातिलाई जोडेर बाहुन समाज, क्षेत्री समाज, गुरुङ समाज, थारु समाज आदि नामका संस्थाहरु खोलेर भएपनि अध्यक्ष हुने प्रचलन निकै नै लज्जास्पद देखिएको छ। त्यतिले पनि नपुगेर कुनै गाउँ वा शहरका नाममा समेत समाज खोलेर जस्तो कि पर्वत समाज, बाग्लुङ समाज आदि नामका संस्थाहरुमा पनि अध्यक्ष बन्ने होडबाजी बढ्दो छ। तर अध्यक्ष हुन खोज्नेहरुको योग्यता हेर्ने हो भने अध्यक्षको पद नदिई अदक्ष पद दिँदा पनि फरक नपर्ने देखिन्छ।
यहाँ बस्ने सबैले यो देशको नियम कानूनको बारेमा जान्दै आएका पनि हुन्। कुनै पनि कामको लागि नगरपालिकामा जानुपरोस् वा कर कार्यालय जानुपरोस् त्यहाँ कहिले पनि न जात सोधिन्छ न गोत्र नै। यहाँ कसैको स्तर सोधिन्न। सोधिन्छ त परिचयको लागि थर मात्र। यस्तो परिवेशमा बसेर पनि नेपालीहरुको साँघुरिएको दिमाग र मन देख्दा अत्यन्तै दुःख लाग्छ। प्रवासमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्ने नाममा खोलिएका संस्थाहरुमा कुनै लाटो देशको गाँडो तन्नेरीको पछि लागेर अध्यक्ष खान खोज्नेको यहाँ कति पनि कमि छैन। त्योभन्दा पनि हास्यास्पद कुरा त के भने जसजसलाई संस्थाको पदाधिकारी बनाइयो, उनीहरुलाई न त संस्थाको बारेमा कुनै जानकारी छ, न त आफ्नो काम कर्तव्य र अधिकार नै। कुनै निश्चित व्यक्तिको हातको रिमोट कन्ट्रोलबाट बनेका पदमात्रका अयोग्य अध्यक्षहरुको पनि कुनै कमी छैन। अध्यक्ष हुनका लागि यति अस्वस्थ प्रतिस्पर्धा भईरहेको छ मानौँ कि कोही अहिले नै नेपालको प्रधानमन्त्रीमा छनौट गरिनेछ।
हालै प्राप्त खबर अनुसार यहाँ नेपाली जनसम्पर्क समितिको निर्वाचन कार्यका लागि अति मिल्ने साथीहरुमा धेरै नै ठूलो प्रतिस्पर्धा भयो। देशको बिग्रेको राजनीतिक अवस्थाले परदेशिन पुगेका नेपालीहरुमा पनि यसरी प्रतिस्पर्धा हुनु कुन्नि के गर्नेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तै भएको छ।
विगतमा हामीले देखेको तितो अनुभव अझैसम्म ताजै छ। गैर आवासीय नेपाली संघ -एनआरएन को निर्वाचनमा देखिएको नेपाली गुटबन्दी र राजनीतिक चलखेल सबैले देखेका पनि हुन्। पैसाको बलले एनआरएन जस्तो सामाजिक संस्थामा पनि यसरी नेपालीहरुमा बेमेल भएको देख्दा र सुन्दा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले त्यति बेला पनि भन्नुभएको थियो पैसा र समूहगत स्वार्थमा लाग्नेले कहिल्यै पनि सामाजिक काम गर्न सक्दैनन्। उहाँको भनाईलाई म अझै सम्झन्छु। यहाँ नेपाली मेलमिलापका लागि एकजुट हुनुपर्ने ठाउँमा पैसाको घमण्ड र समूह बनाउँदै एकले अर्काको कुरा काट्दै हिँडेर नेपालीहरुलाई सहयोग गर्न सक्छु भनेर भोटको लागि नेपालका नेताहरुले जस्तै झोली फैलाउँदै हिड्ने महानुभावहरुको कुनै पनि कमि छैन। यसरी विदेशमा बसेर पनि उनीहरुले दिन-प्रतिदिन उनीहरुले गरेका प्रगतिका कुराहरुलाई चाँही नेपालमा लागू गर्नुको सट्टा नेपालमा गन्हाएको राजनीतिलाई यता आएर पनि त्यसको गन्ध फैलाएकोले सोझासिधालाई बस्न कठिन होला जस्तो भएको छ।
समग्रमा प्रायः सबै नेपालीहरुको हालत झण्डै झण्डै उस्तै छ। तर पनि उनीहरुको देखाएको फूर्ति भने पत्याइनसक्नुको छ। यूरोपको व्यस्त र विकसित जीवन देखेर पनि परिवर्तन नहुने नेपालीहरु देख्दा लाग्छ यदि चन्द्रमामा गएपनि नेपाली आदत छुट्ने छैन।
यी त नेदरल्यान्ड्सका सामान्य कुराहरु मात्र भए। नेपालीहरुले अन्य देशमा चाहिँ कस्तो कस्तो कृयाकलापहरु भए गरेका छन्- यसो बाँड्न पाए अझै रमाइलो हुने थियो।- Source -Mysansar
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक