20101223

'पारसलाई गिरफ्तार गर' भनेर आदेश दिनसक्ने माधव नेपालले 'रुवेलमाथि छानबिन गर' भन्न किन सक्दैनन ?

- युवराज घिमिरे 

पारस–रुवेल चौधरी प्रकरणले नेपालको वर्तमान राजनीतिमा अनेक प्रश्नचिन्ह खडा गरेको र बहसको स्वस्थ वातावरण पैदा गर्ने संभावना बढाएको छ। राजसंस्था गुमेपछि कोइराला राज, माधव नेपाल राज र हरेक दलहरुमा साना मसिना राजाहरुको जन्म मुलुकले भोगे.....

__________________Breaking News........_____________________
 सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीले गरेको भनिएका बिभिन्न गैरकानुनी धन्दाहरुको छानविन गरी कारवाहीको लागि परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट.......

देखेकै कुरा हो। यी सवै राजाहरु कानुन र संविधानभन्दा माथि छन्, र सत्ताको मुसे दौडमा कसको कति उपयोगिता छ त्यो अनुसार उनीहरुको भाउ घटबढ हुने गरेको तथ्य कसैले नबुझेको कुरा हैन। बहालवाला मन्त्रीले सर्वोच्च अदालतको आदेश च्यात्ने सार्वजनिक धम्की दिंदा मौन भएर बस्ने प्रधानमन्त्रीजीले मुलुकमा संविधानको रक्षा गर्ला? या उसले संविधानअनुसार शासन गर्ला? यी प्रश्नहरु न प्रधानमन्त्रीको दल नेकपा (एमाले) ले गरेको छ, न कांग्रेस या अन्य कुनै दलले। माओवादीले त यो प्रश्न उठाउने कुरै भएन। सर्वोच्च अदालतको हैसियत र मर्यादा स्वीकार नगर्ने या त्यसको बचाउमा आउन नसक्ने दलहरुले संविधान बनाई नै हाले भने पनि त्यो संविधानको स्वीकार्यता के होला? नेपाली जनताले अब २०६८ जेठ १४ गते संविधान आउने कुरामा कत्ति पनि आशा नराखे हुन्छ। त्यसको अर्को अर्थ हो राष्ट्रियता र नेपाली स्वाधिनता अनि स्वाभिमानमा विश्वास राख्ने अहिलेकै दलहरुमा आवद्ध व्यक्तिहरु लगायत स्वतन्त्र, बौद्धिक चिन्तन अँगालेका अनि बृहत् नागरिक समाजका सदस्यहरुले अबदेखि नै ठूलो तयारीका साथ अगाडि आउनुपर्ने बेला आइसकेको छ। अहिले मौलाएको भ्रष्टाचार, सत्ताको बाँडफाँड र भ्रष्टाचारकै पर्याय बनेका '३ ठूला' राजनीतिक दल तथा मेधश मोर्चाबारे बहस चलाउँदै उनीहरुसँग विगत चार–पाँच वर्षको हिसाव किताव लिनुपर्ने बेला आइसकेको छ। जवाफदेहिताबाट कोही मुक्त छैन। विधायिका संसदले कार्यकारीलाई आफूप्रति उत्तरदायित्व स्थापित गर्न नसकेको वर्तमान अवस्थामा अब जनताले उनीहरुसँग जवाफ लिनु आवश्यक छ।

पूर्वका सत्ताहरुलाई गाली दिएकै भरमा वर्तमान नेतृत्व र सत्ता र राजनीतिक व्यवस्थामा एकाधिकार जमाएका दलहरुले कुनै किसिमको उन्मुक्ति पाउनु भनेको 'नयाँ नेपालमा' दण्डहीनताको संस्कृतिलाई संस्थागत गर्नु र कानुनभन्दा माथिको एउटा वर्गको अस्तित्वलाई कानुनी हैसियत प्रदान गर्नु हो।

रुवेल चौधरीका क्रियाकलाप र गतिविधिहरुबारे माधव नेपाल मौन रहनुको पछाडिको रहस्य के त? तजविजी रुपमा कथित अपराधको छानबिन गर्ने अधिकार आफूमा राख्न चाहन्छन् उनी।

'पारसलाई गिरफ्तार गर' भनेर आदेश दिनसक्ने माधव नेपालले 'रुवेलमाथि छानबिन गर' भन्न किन सक्दैनन? मुलुकका छवि र करोडौं रुपिया ध्वस्त भएको डार्फर काण्डको फाइल किन संसदका अध्यक्ष र प्रधानमन्त्रीको तहमै गोप्य राखिएको छ? अबको आन्दोलन र त्यसको नेतृत्वले द्वैध चरित्र र मान्यता राख्नुहुँदैन। त्यसो भएमा मुलुकमा राष्ट्रियता, स्वतन्त्रता, नेपाली  स्वाभिमान र प्रजातन्त्र सुरक्षित रहन सक्छन्। तर त्यो आन्दोलन नेपालीहरुले नेपालीद्वारा र नेपालका लागि गरिएको हुनुपर्छ।



उपप्रधान मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीले गरेको भनिएका बिभिन्न गैरकानुनी धन्दाहरुको छानविन गरी कारवाहीको लागि परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट


उपप्रधान मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीले गरेको भनिएका बिभिन्न गैरकानुनी धन्दाहरुको छानविन गरी कारवाहीको लागि परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
सिन्धुपाल्चोकका दइन्द्र बहादुर ठकुरीले बिहीबार दर्ता गरेको रिटमा प्रधानमन्त्रीको कार्यालय, उपप्रधान मन्त्री सुजाता कोइराला, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको कार्यालय र बंगलादेशी नागरिक रुवेल चौधरीलाई विपक्षी बनाइएको छ ।
रिटमा विभिन्न पत्रपत्रिकामा आएका विवरणहरुलाई प्रमाणको रुपमा पेश गर्दै चौधरी नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनमा गरेको खरिद घोटलाको प्रमुख व्यक्ति रहेको, नेपाली टेलीकमको कल वाइपास (भीओआइपी) गर्ने कार्यमा संलग्न रहेको, शुक्ष्म मेमोरियल ट्रष्टमा अबैधानिक रुपमा काम गरेकोलगायतका आरोपहरु लगाईएको छ ।
यि कार्यहरुबाट उन्मुक्तिको लागि सासु कोइरालाको प्रभावलाई दुरुपयोग गरेको तथा सुडान काण्डको छानविन नगराउन प्रधानमन्त्री नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दवाव दिएको समेत उल्लेख गरिएको छ ।
यसरी प्रभावशाली व्यक्तिहरुको आडमा आफ्नो अबैध धन्दा चलाएको भन्दै रिट निवेदनमा उनको बारेमा अनुसन्धान गरी कारवाही अघि बढाउनका लागि परमादेशको माग गरिएको छ ।
रुवेल चौधरी गत महिना पूर्व युवराज पारस शाहसंग चितवनको टाइगरटप्समा झगडा गरेपछि चर्चामा आएका थिए । झगडाकै क्रममा  गोली चलाएपछि पारसलाई प्रहरीले तीन दिन हिरासतमा राखेर केही सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो । उनी चितवन जिल्ला प्रशासन कार्यालयबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
त्यही प्रकरणपछि मिडियाले रुवेलका बारेमा खोजविन गरी समाचारहरु प्रकाशन गर्दै आएको छ । उनी विभिन्न अबैध धन्दामा संलग्न भएको विवरणहरु कान्तपुर दैनिक लगायतले प्रकाशित गरेको थियो । 



महाराजा अस्ताए: नवराजाहरूको उदय !
-डा. प्रवीण सूर्य
सामन्तहरूको माध्यमबाट शासन व्यवस्था चलाउने सिद्धान्त वा दृष्टिकोणलाई सामन्तवाद भनिन्छ। राज्यको भूभाग ठूल्ठूला भारदार, सामन्त, जमिन्दार, सरदार र धनीहरूको अधिकार क्षेत्रमा रहने र त्यसको बदलामा उनीहरूले राजालाई आर्थिक सहायता वा कर दिनुपर्ने व्यवस्थालाई सामन्ती शासन व्यवस्थाको मूलभूत चरित्रको रुपमा लिइन्छ। अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै गएको अहिलेको युगमा कृषि भूमि माथिको नियन्त्रणले मात्रै अर्थतन्त्रलाई पूर्ण रुपले नियन्त्रणमा राख्न नसकिरहेको कुरा स्पष्ट छ।
त्यसैले नेपालमा पनि सामन्तवादको पूँजीवादमा रुपान्तरण भइरहेको देखिन्छ, तापनि सामन्तवादको रुपान्तरणको क्रममा सामन्तवादका कतिपय आधारभूत विशेषताहरूलाई पूँजीवादले पनि आत्मसात गरेको देखिन्छ। अनि सामन्तको परिभाषा र चरित्रमा पनि परिवर्तन भएको देखिन्छ। त्यसैले सामाजिक हैसियत उचो भएको कारणले शासन व्यवस्थाको सञ्चालन गर्न सक्ने वा शासन व्यवस्थामा प्रभाव पार्न सक्ने अवस्थामामा पुगेका मानिसहरूलाई समेत सामन्त शब्दले पुकार्ने परम्पराको विकास हुँदै आएको छ। यसरी सर्वसाधारण मानिसहरू र गरिवहरूलाई सताउने ठूलाठालुलाई जनाउनको निम्ति समेत 'सामन्त' शब्दको प्रयोग हुन थालेको फलस्वरुप समन्तवादको चरित्रमा परिवर्तन आएर नव सामन्तवादको उदय र विकास भएको मान्नुपर्छ। शासन व्यवस्थाको चरित्रमा परिवर्तन आइरहेको यो समयमा नेपालको राजनीतिक प्रणालीमा समेत परिवर्तन आएको छ र राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गरेको घोषणा मुलुकको संसद र सरकारले गरेका छन्। तर राजतन्त्रात्मक व्यवस्थाका सवैजसो व्यवहार, शैली र चरित्रलाई नयाँ राजनीतिक व्यवस्थाले पनि निरन्तर अंगिकार गर्दै आएको छ। मुलुकमा पहिले राजा–रानी र युवराज थिए भने अहिले राष्ट्रपति र उपराष्ट्रपति छन्। पहिलेको राष्ट्रिय पञ्चायतको ठाउँमा अहिले व्यवस्थापिका संसद छ र पहिलेका पञ्च कार्यकर्ताको ठाउँ अहिले राजनीतिक दलका कर्याकर्ताले लिएका छन्। पहिले राजा–रानी र युवराजहरू जे जस्तो सुरक्षा घेरामा रहन्थे अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरू पनि त्यस्तै सुरक्षा घेरामा रहन थालेका छन्। पहिले राजा राजदरवारबाट निस्किदा जे जसरी सडकमा सर्वसाधारण मानिसहरूलाई हिड्नबाट रोक लगाइन्थ्यो, अहिले राष्ट्रपति वाहिर निस्किदा पनि सडक सुनसान बनाउन थालिएको छ। पहिले राजा रिझाउने काम गरेपछि सेनाका जर्नेलहरूको कर्तव्य पूरा भएको मानिन्थ्यो भने अहिले प्रधानसेनापति लगायतका जर्नेलहरूले राष्ट्रपतिलाई रिझाएपछि कर्तव्य पूरा भएको मानिने परम्पराको विकास गर्ने प्रक्रिया शुरु भएको र परम्पराको विकास हुदै गरेको देखिन्छ। पहिले राजपरिवारका सदस्यलाई अपराध गर्दा पनि प्रहरी प्रशासनले छुदैनथ्यो, अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र ठूला दलका नेताहरू खासगरी सत्तारुढ दलका नेताहरूका परिवारका सदस्यलाई समेत कानुन नलाग्ने अवस्था देखिएको छ। र अपराध गरेर उन्मुक्ति पाउने मानिसहरूको संख्या पहिले भन्दा धेरै बढी हुन पुगेको देखिन्छ।
पहिले राजपरिवारका सदस्यले सर्वसाधारण मानिसहरूलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्थे र उनीहरूलाई 'तँ', 'तिमी' समेत भनेर सम्बोधन गर्थे भने अहिले प्रधानमन्त्री, मन्त्री र प्रभावशाली राजनीतिक दलका प्रभावशाली नेताहरूले सर्वसाधारण मानिसहरूलाई उसैगरी दोस्रो दर्जाको नागरिकको रुपमा हेर्छन् र जनसाधारणले नमस्कार गर्दा मुन्टो बटार्ने र उनीहरूको मुखतिर हेर्न समेत आवश्यक ठान्दैनन्। पहिले सानोतिनो बजेट भएका र घुस खान नपाइने कार्यालयमा काम गर्ने भनेर चिनिएका कर्मचारीहरूले पनि आकर्षक जीवन जिउन सक्ने किसिमको तलव सुविधा पाउथे भने अहिले अर्थ मन्त्रालय र घुस खान र भ्रष्टाचार गर्न पाइने भनेर चिनिएका कार्यालयका कर्मचारीको अवस्था पहिलेका सामन्तहरूको जस्तै भएको छ र अरु कर्मचारीको अवस्था दोस्रो दर्जाको जस्तो भएर कर्मचारीतन्त्रभित्र समेत नवसामन्तहरूको जन्म भएको छ।
पहिलेका सामन्तको जस्तो प्रभाव जमाउन र चरित्र देखाउन चाहने अहिलेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र प्रभावशाली राजनीतिक दलका प्रभावशाली नेताहरू पनि नव सामन्तको रुपमा उदाएका र देखिएका छन्। यसरी नेपालको राजनीतिक प्रणाली र अर्थतन्त्रले नवसामन्तादको रुपमा विकास गरेको कुरा स्पष्ट रुपले अनुभव गर्न सकिने अवस्था अहिले नेपालमा सिर्जना भएको देखिन्छ। सर्वसाधारण मानिसहरूले मन लागेको कुरा बोल्दा पनि अरुको हप्की खानुपर्ने र कोपभाजन बन्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ। सार्वजनिक सेवा र वस्तुहरू ठूलावडाहरूले पैसा नतिरीकन पाउने र सर्वसाधारण मानिसहरूले चर्को मूल्य तिरेर पनि नपाउने अवस्था अहिले बनिरहेको छ।
सर्वसाधारण मानिसहरूको जीवन पहिले जस्तै अहिले पनि कष्टप्रद छ र पहिले जस्तै ठूलावडाहरूको जीवनभन्दा धेरै नराम्रो अवस्थामा छ। पहिले राजाले र युवराजले जे जसो गर्थे अहिले राष्ट्रपति र प्रधानमन्त्री र तिनका परिवारले उसै–उसै गर्छन्। त्यसैले अहिले राजनीतिक प्रणालीको नाम गणतन्त्र भएको भए पनि राजतन्त्र रहेको अवस्थामा जनताको अवस्था जस्तो थियो अहिले गणतन्त्र स्थापना भएपछिको समयमा पनि जनताको अवस्था उस्तै छ र पहिले राजतन्त्र भएको अवस्थामा राजा युवराज र राजदरवारका अरु सदस्य समेतका ठूलावडाको अवस्था र व्यवहार जस्तो थियो अहिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रपति र प्रभावशाली राजनीतिक दलका प्रभावशाली नेताहरूको अवस्था र व्यवहार पनि उस्तै छ। यसैले नेपालमा पहिले राजतन्त्रमा रहेका सवै विशेषता बोकेको गणतन्त्र नामको अवस्थाको स्थापना भएको छ र पहिलेका राजा, युवराज र राजदरवारका सदस्यको ठाउ अहिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र प्रभावलशाी दलका प्रभावशाली नेताहरू र उनीहरूका परिवारका सदस्यले लिएका छन्। यसरी नेपालमा पहिलेका सामन्तहरूको संख्या भन्दा धेरै ठूलो संख्यामा पहिलेका सामन्तको जस्तो शक्ति र व्यवहार भएका नवसामन्तको जन्म र विकास भएको भन्ने कुरा अहिले रुवेल चौधरी प्रकरणले प्रमाणित समेत गरेको छ।
अनेक किसिमका गैरकानुनी काममा संलग्न भएको आरोप लागेका रुवेल चौधरीसंग कुराकानी गर्न प्रहरी प्रशासकहरू उपप्रधानमन्त्रीको दरवारमा पुगेका पहिले राजतन्त्र भएको बेलामा युवराज र राजकुमारहरूलाई झै अहिले रुवेल चौधरीलाई नमस्कार गरेर फर्केको कुरा सार्वजनिक भएको छ। उपप्रधानमन्त्री र उनका ज्वाँइ समेतका उनका परिवारका सदस्यले जे अपराध गरे पनि हुन्छ भन्ने कुरा प्रमाणित भएको छ। यसरी रुवेल चौधरीलाई कानुभन्दा माथि राख्ने कुरामा सहमति जनाएर माधव नेपाल र भीम रावल नयाँ निरञ्जन थापा बन्न पुगेका छन्। मरिचमान सिंहका पालामा हेमबहादुर मल्ल र डीवी लामालाई कारवाही भएको देखेका नेपालीहरूले अहिले टेलिफोन कल वाइपास गर्ने र डाफर काण्डमा ठूलो भ्रष्टाचार गर्ने जस्ता हेमबहादुर मल्लसमेतले भन्दा गम्भीर अपराध गरेका रुवेल चौधरीप्रति भक्तिभाव प्रकट गरेर माधव नेपालले अहिले मरिचमान सिंहले जति पनि गर्न नसकेको र नचाहेको स्पष्ट रुपले देखेका छन्। यसरी नेपालीहरूले अहिले नेपालमा गणतन्त्रको नामबाट नवराजतन्त्रको जन्म र विकास भएको र वास्तविक लोकतन्त्रको स्थापना गर्नको निम्ति अर्को आन्दोलन अवश्यंभावी भएको अनुभव गर्न थालेका छन्।
यसरी नेपालमा गणतन्त्रको नामबाट नवराजतन्त्रको जन्म भएको छ र जनता वढीभन्दा बढी अधिकार सम्पन्न भइरहेको यो युगमा नेपालीहरू नव सामन्तवाद र नवराजतन्त्रवादको जाँतोमा पिसिएर छट्पटाइरहेका छन्। पारस शाह–रुवेल चौधरी प्रकरणले पनि राजतन्त्र समाप्त भएपछि पनि पारस शाह महासामन्तको स्थानमा स्थिर रहेका छन् भन्ने कुरा र रुवेल चौधरीसंग प्रहरीले सुजाता निवासमा गएर सोधपुछ गर्दा उपस्थित भएर हस्तक्षेप गर्ने कृष्ण सिटौला र सुजाता कोइरालाहरू अहिले नवसामन्तको रुपमा स्थापित भएका छन् भन्ने कुरा समेत प्रमाणित भएको छ। यसबाट कृष्ण सिटौला आदिको मिलेमतो र संलग्नतामा डाफर काण्ड रचिएको रहेछ भन्ने शंका गर्नका निम्ति समेत आधार तयार भएको मान्न सकिन्छ।

नेपालमा कोही जन्मिएन राजनेता
–डा.गोविन्दवहादुर थापा
नेपालीहरूको दिल दिमाग २१ औं शताब्दिको पहिलो दशक बित्न लाग्दासम्म पनि राजनीतिक विवादमा नै अल्भि्करहेको छ। राजनीतिबाट बिमुख भई नागरिकहरू आफू र आफ्नो परिवारको र राज्य मुलुकको विकासमा केन्द्रित हुन सके मुलुक चौतर्फी रुपमा अगाडि बढ्न समय लाग्ने थिएन। तर प्रमुख दलहरू अरु माथि आफ्नो दृष्टिकोण लाद्न खोज्ने र छिमेकीहरू प्रमुख दलहरू र सरकारलाई आफ्नो प्रभावमा राखिरहन जोड गर्न क्रम नटुटेकाले नेपाल राजनीतिक गोलचक्करमा फसिरहेको छ। नेपालको यो राजनीतिक दुष्चक्र यिनै (कु)पात्रहरूको तर्फबाट टुट्ने संभावना क्षीण हुदै गएकाले यो दुष्चक्र तोड्न संयुक्त राष्ट्र संघ, युरोपियन युनियन आदि जस्ता बहुराष्ट्रिय निकायहरूलाई गुहार्नु पर्ने हो कि जस्तो लाग्न थालेको छ।

जनताको बलिदान खेराफाल्दै......?

नेताहरू इमानदार, जनताका समस्याप्रति संवेदनशील, राष्ट्रहितमा समर्पित, लोभ, लालच र ब्यक्तिगत सुख सुविधा भन्दा माथि, सिद्धान्तनिष्ठ, त्याग र वलिदानका प्रतिमूर्ति, दूरदृष्टि भएका र सादा जीवन जिउने आदर्शवादी होउन। जसको तस्बिर शयनकक्षमा राख्न न लागोस् र जस्का आचार विचार र जीवनशैली अनुशरण गर्न युवापुस्तामा प्रतिस्पर्धा होस् भन्ने आशा, विश्वास र चाहना थियो। किनभने अन्यत्र जस्तै नेपालका नेताहरूले पनि निरंकुशतन्त्रको विरुद्ध दशकौं लामो र यातनामय जेल, नेल, भूमिगत जीवन र निश्वासन आदि सबै किसिमका संघर्ष बलिदान र त्याग गरेकाले यिनीहरू पनि अन्यत्रका जस्तै आदर्शवादी हुनु पर्दछ र हुने छन् भन्ने बिश्वास थियो। तर नेपालका सीमित अपवादलाई छोडेर बहुसंख्यक शीर्षनेताहरू त्यस्ता निस्केनन्। अनुशरण गर्नुपर्ने गुण र विशेषता भएका, शयन कक्षमा तस्बिर राख्न मन लाग्ने खालका कोही निस्केनन्। निस्केका एकाध पनि लामो समयसम्म रहेनन्। संक्रमणकाल लम्बिनु र राजनीतिक अन्योल लामो समयसम्म ब्याप्त भई रहेकाले नेताहरूको आत्म विश्वास कमजोर हुदै गई उनीहरू सनातनी चालु र सामान्य बन्दै गएका छन्। बाह्य शक्तिको अत्यधिक हस्तक्षेपले पनि नेपालको राजनीति दलहरूको पकडभन्दा बाहिर गएको अनुभव हुदैछ। फलस्वरुप यत्रो ऐतिहासिक परिवर्तन अहिले बेवारिस जस्तो भएको छ। यसरी नेतृत्व निर्माणको दृष्टिले नेपालको विगतको लामो राजनीतिक संघर्ष, आन्दोलन र बलिदान खेर जाने संभावना बढेर गई रहेको छ।

कांग्रेसको रट....!

नेपालमा लामो समयदेखि गम्भीर राजनीतिक गतिरोध चलिरहेको छ र त्यसलाई निकास दिन राजनीतिक दलहरू हालसम्म असफल देखिएका छन्। यतिमात्र होइन अब त दलहरू निकासका लागि पहल गर्नसमेत सुस्त देखिएका छन्। यसको प्रमुख कारण, मेरो विचारमा, दलहरूमा रचनात्मकता ...वा कल्पनाशीलताको सख्त अभाव रहनु हो। यो गतिरोध चिर्ने उपायहरूको खोजी गर्ने कार्यमा एमाले र एमाओवादीहरूमा जुन अग्रसरता देखिएको छ कांग्रेसमा त्यो शून्य बराबर देखिएको छ। एमाओवादीहरूले यो गतिरोधलाई निकास दिन विभिन्न विकल्पहरू दिए। एमालेले त्यसमाथि कुनै पूर्वाग्रह नराखी छलफल चलायो। तर कांग्रेस न आफ्नो तर्फबाट कुनै विकल्प दिन्छ न अरुका कुरा गुण दोषका आधारमा सुन्छ। ऊ त्यही एउटै कुराको रट लगाई रहेको छ। र, अरु दलले उसको कुरा मान्नु पर्दछ भन्ने आग्रह राख्दछ। यो सहकार्यको संस्कृति हुदै होईन। जबकि मुलुक यी दलहरू बीचको सहकार्यबिना एक ईञ्च पनि अगाडि बढ्न सक्दैन। त्यसैले यो गतिरोध तोड्न कांग्रेसले पनि केही रचनात्मकता, केही लचकता र केही पहलकदमी देखाउनै पर्दछ। उसको निर्जीवता र यान्त्रिकताबाट मुलुकले निकास पाउदैन।(फेसबुकबाट टिपन–टापन) - saanghu 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक