20101219

माओवादी विधायक तथा कथित नेता शालिकराम जमरकट्टेलले 'ठामका ठाम सिध्याउने' धम्की दिए पछी एक बरिस्ठ पत्रकारको याचना

'स्वतन्त्रतापूर्वक बाँच्न र लेख्न देऊ' 
- गोपाल बुढाथोकी - प्रधान सम्पादक, साँघु साप्ताहिक, काठमाडौं  

जुन दिनदेखि मैले पत्रकारिताको जीवन प्रारंभ गरें, त्यसै दिनदेखि मेरो जीवनमा संघर्षका दिन प्रारंभ भए। जीवनका हराभरा साँढे तीन दशकका दिनहरु यस्तैमा गुजि्रए। मैले मेरो जीवनलाई यही क्षेत्रमा समपर्ण गरें। यसो गर्दा मैले यसमा दुःख धेरै खेपे र सुखानुभूति पनि थोरै गरें। त्यसैले मैले मेरो यो जीवनलाई पत्रकारिताको पर्यायको रुपमा लिइरहेको छु। मैले जे सही ठानें, लेखें। जे गलत लाग्यो त्यसका विरुद्ध लेखे र लेख्दै आएको छु। निरंकुश पंचायती व्यवस्थाको समयमा पत्रकारिता सुरु गर्दा, सन्तुलन र संघर्षको सन्तुलन मिलाउन कति गाह्रो थियो, त्यतिबेलाको जीवन बाँच्नेहरुलाई राम्रोसँग थाहा छ। प्रजातन्त्रको पक्षमा कलम चलाउँदा मैले पटक(पटक त्यो समयमा पनि जेल र प्रहरीको कष्टडी भोगें। त्यसो गर्दा मलाई कहिल्यै पीडाको अनुभूति हुँदैनथ्यो। पंचायत ढल्दा म खुसी भएँ। बहुदलीय प्रजातन्त्र स्थापना भएपछि मैले असल शासनका....
लागि सकारात्मक कुरालाई जोड दिएँ र नकारात्मक कुरालाई पनि छोडिनँ। त्यसोगर्दा मैले शत्रु र मित्र दुबै कमाएँ। तर धेरै मित्र नै कमाएँ जस्तो लाग्छ। जसले मलाई पत्रकारिता क्षेत्रको सबैभन्दा शीर्षस्थान मध्ये एक स्थानमा पुर्या यो। जसले गर्दा मैले सम्पादन गर्ने पत्रिका लामो समयदेखि 'क' वर्गमा रहँदै आएको छ। यहीबीचमा असल शासन र भ्रष्टाचार विरुद्धको अभियानमा सन्देशमूलक सामग्री सम्प्रेषण गरे वापत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद पुरस्कार र सधन्यवाद प्रशंसापत्र प्रदान गर्यो। यी मेरा लागि सुखानुभूति हुन्। एउटा अभाव र गरिबीबाट बाँच्न र देशका लागि केही गर्नका निम्ति बालककालमै शहर पसेको गरिब टुहुरो केटो काठमाण्डौंमा आफन्तजन नहुँदा कति कठोर र पीडादायी जीवन बाँच्न बाध्य भयो होला भन्ने कुरा अधिकांशलाई थाहा छ। म यी आफ्ना विगतका कुरा र गनथन् धेरै कोट्याउन चाहन्न। मैले जहिले पनि समाज रुपान्तरणका निम्ति भनेर लाग्नेहरुका पक्षमा कलम चलाउँदा बहुदलीय प्रजातन्त्र रहेकै भनिएको समयमा समेत मध्यराति सेनाको अपहरणमा परेर कठोर यात्रा गुजार्नुपर्योी। यसबारेमा मैले पाठकहरुसँग संवाद गरिसकेको छु। संकटकालको समयमा मैले तत्कालीन शाही नेपाली सेनाको कठोर यातना गुजारेको कुरा यस पत्रिकाका पाठक र आन्दोलनमा सहभागी धेरैलाई थाहा पनि छ। कुनै पार्टीको विचारलाई समर्थन गरिरहँदा मैले त्यसभित्रका अपराध र विकृतिसँग कहिल्यै सम्झौता गरिनँ। त्यसैले म विचारमा कुनै पार्टीसँग निकट भएपनि त्यसका कतिपय नेतृत्वहरु संधै 'साँघु' को भण्डाफोर शैलीको विपक्षमा रहने गरेका छन्। मैले कहिल्यै पनि कसैप्रति आग्रह पूर्वाग्रह साँधिन र साँध्नु पनि नपरोस्। कहिलेकाहीँ सूचना गलत भएका कारण समाचार झूटा भए होलान्। हामी जस्ता सीमित स्रोत साधनबाट चलाइएका पत्रिकाहरु, सूचनाको स्रोतहरु जाँच्नसक्ने अवस्थामा विरलै हुन्छौं। तैपनि मैले पत्रिकाका शब्द शब्द हेरेर सम्पादन गर्ने, समाचार लेख्ने रिपोर्टरहरुसंँग अन्तर्क्रिया र कुराकानी गरेर बुझेर मात्र छाप्ने गरेको छु। त्यसो गर्दा पनि बेलाबेलामा त्रुटि, कमजोरी हुन जान्छन्। कमजोरी भएमा त्यसलाई न्याय गर्ने निकाय प्रेस काउन्सिल र अदालत छन्। पत्रिकाबाटै खण्डन गर्ने पक्रिया र विधिहरु पनि छन्। तर एमाओवादी विधायक शालिकराम जम्कट्टेलले सहयोगी 'जनआस्था' पत्रिका मार्फत् २०६७ मंसिर २२ गते मलाई 'ठामका ठाम सिध्याउने' धम्की दिए। त्यो समाचार सत्य र असत्य के हो? मैले अनुसन्धान गरिरहेकै बेला शालिकराम जम्कट्टेलको फोन आयो। 'जनआस्था' मा आफूले बोलेका ती कतिपय कुरा सही हुन् भनी मलाई बताए र उनले थपे('पार्टीमा आफ्नो, वर्षमान पुनः अन्नत, प्रभाकर र दिनानाथ शर्माका बारेमा साँघुले बारम्बार आलोचना गर्ने गरेको भन्दै आक्रोश पोखे। वास्तवमा मेरो यी चारैजना नेताप्रति कुनै व्यक्तिगत रिसइवी केही छैन। उनीहरुको बारेमा साँघु साप्ताहिकले सकारात्मक पक्षमा लेखेकै बढी छ भन्ने कुरा यसका सबै फाइलहरु पल्टाउँदा थाहा हुन्छ। बरु शालिकजी र दिनानाथजीहरु नै बढी पूर्वाग्राही भएको मैले ठानेको छु। शालिकरामजीकी श्रीमती लक्ष्मी श्रेष्ठ भारतको गोवाको एक क्यासिनोमा काम गरेको कुरा साँघुले नाम उल्लेख नगरी अप्रत्यक्ष रुपमा समाचार लेख्यो। शालिकजी धेरै रिसाएको विषय त्यही हो भन्ने कुरा उनको भाषाबाट प्रस्ट बुझ्न सकिन्छ। एउटा सार्वजनिक जीवन बिताएका नेताहरु र तिनका परिवारको जीवनका बारेमा प्रश्नहरु उठाउँदा त्यति उत्तेजित हुनुपर्ने म ठान्दिनँ। उनीहरुको जीवन पारदर्शी हुनुपर्छ भन्ने आम जनताको माग र चाहना हुन्छ। अझ आफूलाई क्रान्तिकारी भन्नेहरुको जीवन त झन् आदर्शमय नै हुनुपर्छ। नेपालको पच्चीसौं करोड कर(राजश्व छल्ने क्यासिनोहरुका मालिक राकेश वाद्वा जस्ता भ्रष्ट मान्छेहरुसँग एउटा क्रान्तिकारी मजदुर नेताको सम्बन्ध के हो भनेर कुनै पनि नागरिक र पत्रकारहरुलाई चासो रहने, प्रश्न उठाउने अधिकार हुनुपर्छ। जुन कुरा निरंकुश पञ्चायतीकालदेखि नै हामीले कुनै न कुनै रुपमा भोग्दै र व्यहोर्दै आएका छौं। यतिबेला निरंकुश पञ्चायतकाल र संकटकालका शासकहरुको मनोवृत्ति भन्दा पनि डरलाग्दो चेतावनी मलाई आयो। जुन दिनदेखि विकृतिका विरुद्ध र परिवर्तनका पक्षमा कलम चलाउने हिम्मत गरेँ, जीवन जोखिममा पर्न सक्छ भनेर नै म यो यात्रामा लागेको हो। त्यसैले मृत्युदेखि मलाई त्यति डर छैन। मलाई बरु बढी पीडा थपेको छ, एउटा क्रान्तिकारी मजदुर नेता र जनताको संविधान बनाउने सभासद्बाट हामीजस्ता श्रमजीवी पत्रकारहरुलाई ज्यानको धम्की दिनु कति जायज हो ? भन्ने कुराले। शालिकराम जम्कट्टेलले उठाएका मुद्दाहरु र उनीहरुले हिँडेको बाटोमा अप्रत्यक्ष ढंगले हामी पनि त सहभागी नै छौं। उत्तेजनाबाट भन्दा संयमता र धैर्यताका साथ छलफल गरेर हामी क कसका कहाँ कहाँ कमजोरी छन् सच्याएर राष्ट्रहितको पक्षमा काम गर्न र अघि बढ्न सकिन्छ। शालिकराम जस्ता युवानेताहरुले संयमता र आदर्शको जीवन गुजार्नुस्, हाम्रो यही शुमकामना! उनीहरुले आदर्शको जीवन जीउन सके भने हामी खुसी नै हुनेछौं। म उनीहरुका नेताहरु दिनानाथ शर्मा लगायतको प्रतिस्पर्धी होइन। सायद भविष्यमा हुन पनि आउँदिन। मेरो क्षेत्र यही पत्रकारिता हो। मलाई निर्वाध रुपमा लेख्न र बोल्ने वातावरण बनाइदेऊ। यसै सन्दर्भमा मलाई पत्रकार महासंघको नेतृत्वपंक्तिमा रहेर २०५९, २०६० र २०६१ मा प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनमा लाग्दाको एउटा नारा अहिले पनि सान्दर्भिक लाग्यो 'पत्रकारलाई स्वतन्त्रतापूर्वक बाँच्न र लेख्न देऊ' बस्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक