- राजन कार्की
नेपालमा न बत्ती बल्छ, न पिउने पानी पाइन्छ ? न औषधिमूलो छ, न न्याय ? अस्पतालसमेत बन्द गरेर डाक्टरहरु हड्तालमा उत्रने देश हो नेपाल। अन्याय र अन्धकार, अपराधी र अराजकता नेपालको दीर्घरोग हो। के यही हो त नयाँ नेपालको झल्का ? सुल्टो सुनिने र उल्टोमात्र देखिने मुलुक बन्यो नेपाल।
लोकतन्त्रमा त उज्यालो हुनुपर्ने हो, लोकको आवाजको सुनवाई हुनुपर्ने हो। नेपाल लोकतन्त्रमा त प्रवेश गर्यो। तर, लोकमतको गरिमाको भाउ रहेन। लोक सत्तामा उक्लने भर्याङ्मात्र साबित भए। १७८९ मा फ्रान्स राज्यक्रान्ति भएपछि निरङ्कुश राजतन्त्र ढालियो तर परिवर्तन गरिखाने बर्गका लागि आएन। परिवर्तन...
पुनः सामन्त बर्गको तलुवामा पुग्यो, तल्लो तप्काका जनता, मजदुर, किसान बर्ग अभागी सावित भए। त्यतिबेला गरिखाने बर्गका नेता थिए– मारा। उनले भने– क्रान्ति गरिखाने बर्गले सफल पार्छन्, क्रान्ति सफल भएपछि निर्लज्ज धनाध्यहरु जनतालाई भीड भन्ने गर्छन्। ठीक त्यही स्थिति नेपालमा फेरि दोहोरिन थालेको छ। स्वतन्त्रता र समानताजस्ता नारा उच्चबर्गले उपभोग गर्न थालेका छन् भने गरिखाने बर्ग सडकबाट सडकमा पछारिन पुगेको छ।
यतिखेर शान्ति र संविधान निर्माणको क्रम तीब्र हुनुपर्थ्यो। नागरिक समाजले धर्ना दिएर दबाब दियो, कसैले सुनेनन्। संविधानसभा र जनमुखी राजनीतिको आमा भनेर चिनिने एनेकपा माओवादी संविधानसभा असफलताको कगारमा पुग्दासमेत औचित्य साबित गर्न सफल भइरहेको छैन। चुनाव हारेका व्यक्तिले माओवादीलाई प्रतिस्थापन गर्यो, ०४७ सालका संविधान निर्माता जनमुखी संविधान निर्माण गर्ने अध्यक्ष बने, परिवर्तनको ज्वालामुखी हाँक बनेर अगाडि आउन सकेन। जनआन्दोलनको तापक्रम क्रमसः सेलाउँदै गएको छ, जनशक्तिलाई जगाउने कसले? जनता जनतालाई दुःख दिनु र निश्चित बर्गले मोज गर्नु, हिजोको राजनीति यही थियोे, कुनै परिवर्तन आएन। राजनीति हिजो विदेशी मर्सिनरीका रुपमा थियो, त्यही जरामा लोकतन्त्रले पनि जग हाल्यो। संविधानसभाजस्तो लोकशक्ति त्यही रुखको हाँगो साबित भयो। इराकमा बुशले सद्दाम हुसेन पैदा गरे र उसलाई अधिनायकबादी बनाए। अन्तमा सद्दामलाई झुण्ड्याएर मार्नमा पनि अमेरिका नै अघिसर्यो। विश्वज्ञाता धेरैको आरोप छ– बीन लादेन अमेरिकाकै मानसपुत्र हुन्, उसका सेनाबेनालाई हतियार उपलव्ध गराउने पनि अमेरिकन नै हुन्। नौ एघारको आतंककारी हमलापछि, बीन लादेनलाई देख्यो कि गोली ठोक्न अमेरिकाले बन्दूक उठाएको दश वर्ष भइसक्यो। समाचारअनुसार बीन लादेनको सैनिक शक्ति घटेको छैन, बीनलादेनका नाममा रगत बगिरहेकै छ। यो कटु यथार्थभित्र व्यापार पनि अन्तर्निहित छ। शायद अन्तर्राष्ट्रिय कूटनीतिभित्रको मुनाफाखोरी राजनीति भनेको यही हो।
नेपाल त्यो कूटनीतिभित्रको राजनीतिको एक तत्व बनिसकेको छ। तिब्बत अन्तर्राष्ट्रिय चासो हो, नेपाल संसारको त्यो छानो उधार्ने आँगन बनेको छ। चीन आर्थिक शक्ति बनिसक्यो, चीनले आफ्ना दायाँबायाँ पाकिस्तान र उत्तरकोरियालाई आणबिक शक्ति बन्न मद्दत गरेपछि अमेरिकाले भारतसँग आणबिक सन्धि गरेको छ। यसबाहेक नेपालको चुरे पर्वतमा रहेको युरेनियमको भण्डार, अन्य क्षेत्रमा रहेका पेट्रोल, तामाजस्ता खनिजको उत्खनन् पनि उनीहरुको चाखका विषय बनेका छन्। तिनै शक्तिका पछाडि देखिने मानवाधिकारका नाममा खुलेका संस्था नेपालको सूचना बेच्ने काममा लागेका छन् र अधिकांश शीर्ष प्रशासक र नेता एनजीओ, आईएनजीओ चलाएर दिनरात डलर कमाइरहेका छन्। पैसा छरेर सूचना र स्वार्थ फल्ने उर्बरा भूमि बनेकाले नेपालमा सद्दामका अनुहारका काला र खतरनाक छायाँहरु देखिन थालेका छन्। कूटनीतिज्ञ र दूतावासहरुले राजनीति गर्न थालेपछि राष्ट्रको पकड कमजोर हुनु स्वभाविक हो। नेपालमा हत्या–हिंसा बढ्नुको मुख्य कारण राजनीतिक र राज्यसञ्जालमा बस्नेहरुको ब्यापारिक मनोदशा हो। यस दृष्टिबाट हेर्ने हो भने लोकतन्त्रका नायकहरु जारभन्दा कम देखिदैनन्। यिनीहरुले व्यक्तिगत सबलता र सफलतालाई लोकतान्त्रिक चातुर्य ठानेका छन्, यथार्थमा यिनीहरुले देशलाई धोखा दिइरहेका छन्। शान्तिभूमि नेपाल कुस्त कमाउ बजार बनेको छ। बैदेशिक शक्तिहरुको चलखेल र आन्तरिक शक्तिहरुको भ्रष्टाचार र गैरजिम्मेवारीले गर्दा चौबीस घण्टामा दुई तिहाई समय लोडसेडिङ् हुने गरेको छ। नदीको धनी भएर के गर्ने, पानी बगिरहेछ, भिल्लका देशमा मिल्कन्छ मणि भनेको यही हो। नयाँ नेपालको सूर्य अस्ताएर नेपाल ओढार युगमा प्रवेश गर्यो। यो ओढारमा कति रात बिताउनु पर्ने हो भन्न सकिन्न। अर्को सूर्य कहिले उदाउँछ, त्यसको पनि एकिन छैन। नेताहरुको अकर्मण्यता र अन्धोपनले कुनै कालखण्डमा नभएको यो अन्धकार युग सुरु भएको हो। आधुनिक नेपाल, कम्युटर युग, सञ्चारमा क्रान्ति, च्यानल टीभी, केबल जमाना, 'इनर्जी फर दी इन्जिन' को घट्दो अवस्था। नयाँ नेपाल यस्तो आदिमकाल, आदि सभ्यता, प्राचीनभन्दा पनि प्राचीनकालको अन्धकारमा बस्नुपर्ने, बाँच्नुपर्ने बाध्यताके हो? सम्पन्नताका परिचायकका रुपमा कङ्क्रिटका जङ्गलजस्तै महलहरु बनेका छन्, तर उज्यालो छैन।
अँध्यारो नेपालमा जनताका छायाँ हिड्ने भए, हिंसा र अपराध बढ्ने भए। सुरक्षा हराउने \u000aभयो। बाहुबलको शासन चल्ने भयो। सरकारको ढुंगे शैली र सोच देखेर बुध्दिजीवीहरु भन्न थालेका छन्: यो अन्धकारको कारकतत्वलाई जनताले खोजी गर्नुपर्ने भयो। ९० सालको भूकम्पले टुँडिखेल फाट्यो। तलको माटो माथि र माथिको माटो तल पुग्यो। धरहरा ठनक्कै भाँचियो। यस्तैगरी जनक्रान्ति नभएसम्म नेपालको यो अन्धकारमय आदिमकाल सुध्रनेवाला छैन। कमिशन खाने, भ्रष्टाचार गर्ने, त्यसको पनि सीमा होला। देशलाई अन्धकार पार्नेगरी भ्रष्टाचार गर्नु भनेको योभन्दा ठूलो लोकतान्त्रिक अत्याचार अरु हुनसक्ला र ? उज्यालो जीवन हो। लोडसेडिङ्, जहाँ बत्ती छैन, त्यहाँ उद्योगधन्दा, कलकारखाना केही पनि चल्दैन। विद्युतशक्ति नभएपछि मानिसको जीवनमात्र होइन, राज्यको जीवनसमेत अस्तव्यस्त हुनेगर्छ। यो अस्तव्यस्तता मुक्त गर्न के गर्ने भन्ने सम्बन्धमा राजनीतिक बहस हुनसकेन। अगाडि बढ्न प्रतिवद्ध नेपालका नेताहरु अरु कति पछि हट्ने? लोकराज बरालले भनेझैं लोकतन्त्रलाई कहिलेसम्म भाँडभैलो, चक्काजाम बनाउने? लोकतन्त्रमा देखिएका सम्पूर्णताका चुचुराहरु धस्सिएको अवस्था हो, यो ओढार युग। कम्तिमा त्राण पाउन कालो बादलमा चाँदीको घेरा त देखिनुपर्छ, त्यो पनि देखिन सकेन। ब्राजिलपछि सबैभन्दा बढी जलस्रोतको धनी देशको राजनीतिक क्षेत्र यो बिपत्तिबाट उम्कने उपाय सुझाउन तत्पर छैन। नयाँ नेपालको लोकतान्त्रिक नेतृत्व यस्तो सालिक नेतृत्व बन्ला भनेर कसैले सोचेका थिएनन्। यो नेतृत्व आम जनताका लागि महगो साबित भएको छ। लोकतन्त्र आएर के भो? जब लोक ओढारको जीवन बाँच्नु पर्छ भने, कल्पबृक्ष भनेको व्यवस्था कन्टकारीको झाङ् बन्छ भने।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक