20100810

दूतावासका कर्मचारी र राजदूत राकेश सुदले मोवाईलबाट पटक पटक फोन गरेर अपहरण गर्ने तथा ज्यानमार्ने धम्की दिने गरेको माओवादी आरोप

"यस्तै रहने हो भने सरकार बन्न सक्दैन"
 एकीकृत माओवादीका सभासद तथा केन्द्रीय सदस्य रामकुमार शर्मालाई भारतीय दूतावासका कर्मचारीबाट ज्यानमार्ने धम्की आएको भनी माओवादीले आरोप लगाएको सम्बन्धमा संसदीय समितिले छानविन गरेर दोषी पाईएमा सम्बन्धीत कर्मचारीलाई देश निकाला गर्न सरकारलाई निर्देशन दिएको छ। संसदीय समितिले दुई देशवीचको सम्बन्धलाई सुमधुर बनाई राख्न पनि सम्बन्धीत निकायलाई सुझाव दिएको छ। संसद...
अर्न्तगतको अर्न्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा सभासदहरुले भारतीय दूतावासका कर्मचारीले आफ्नो पदिय मर्यादा भुलेर आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गरेपछि सम्बन्धीत दोषी छानविन गरेर दोषी पाईए देश निकाला गर्न निर्देशन दिएको  समितिका सभापति पदमलाल बिश्वकर्माले जानकारी दिएका छन्। बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सभासद शर्मालाई भारतीय दूतावासबाट आएको धम्किका सम्बन्धमा सरकार गम्भिर रहेको जानकारी गराउदै त्यस बिषयमा छानविन भईरहेको जानकारी गराएका छन्। उनले भारतीय राजदूतावासका कर्मचारीको धम्की र श्यामसरण नेपाल आएका बिषयमा परराष्ट्रमन्त्रालयले सम्बन्धीत निकायमा मौखिक जवाफ माग गरिएको बताए। त्यसै गरेर उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्रीका विशेष दूत श्याम सरण नेपाल आएका सम्बन्धमा गोलमटोल जवाफ दिंदै शरणलाई सबै दलका नेताले भेट गरेकाले त्यसलाई अन्यथा लिन नहुने बताए। उनले श्याम शरण नेपाल आएका सम्बन्धमा परराष्ट्रमन्त्रालयलाई थाहा नभएको संसदीय समितिलाई जानकारी गराए। बैठकमा सभासद तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दुई देशवीचको सम्बन्धलाई बिगार्ने गरेर भारतीय दूतावासका कर्मचारीले कुटनीतिक मर्यादा नाघेर बोल्नु लाजमार्दो र दुःख रहेको बताएका छन्। एकीकृत माओवादीका सभासद नारायणकाजी श्रेष्ठले भारतले नेपाललाई अझै पनि सन् १९५०को सन्धिको आँखाले हेपाहा प्रवृत्तिबाट हेर्ने गरेको भन्दै ब्यवहारमा परिवर्तन ल्याउन सुझाव दिए। सभासद सुनिलवाबु पन्त, रामसहाय यादव, चन्द्रीकाकुमार यादव, सरेश आलेमगर, सन्तबहादुर नेपाली, राधा ज्ञवाली, मोहम्मद सिद्धिकी, लक्कि शेर्पा, रामप्रित पाश्वान लगायतले भारतीय राजदूत या अन्य मुलुकका कर्मचारी, व्यक्ति लगायतलाई राजनीतिक दलका नेता वा सरकारी उच्च ओहदाका व्यक्तिलाई भेट गर्न पहुँच दिने परम्पराको अन्त्य गर्न माग गरे। उनीहरुले विरामीका बाहानामा भारत गएर आन्तरिक मामिलामा हस्तक्षेप गर्ने परम्परा आफै भित्राएको भन्दै परराष्ट्रमन्त्रालय मार्फत कुटनीतिक भेट गर्नुपर्ने सुझाव दिएका छन्।  उता भारतीय दूतावासले भने माओवादी सभासद शर्मालाई कुनैपनि प्रकारको धम्की नदिएको भन्दै आफ्नो वचाव गर्दै आएको छ। प्रधानमन्त्रीको निर्वाचनका क्रममा भारतीय दूतावासका दास भन्ने एक जना कर्मचारी र राजदूत राकेश सुद लगायतकाले मोवाईलबाट पटक पटक फोन गरेर अपहरण गर्ने तथा ज्यानमार्ने धम्की दिने गरेको आरोप शर्माले लगाउदै आएका छन्। समितिले सभासद शर्मालाई धम्काएका सम्बन्धमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई बैठकमा बोलाएर स्पष्टिकरण लिएको हो। 

यस्तै रहने हो भने सरकार बन्न सक्दैन

- प्रकाशचन्द्र लोहनी – सहअध्यक्ष, जनशक्ति पार्टी /

० संसदमा सहमतिको कुरा चल्दाचल्दै हामी बहुमतमा आयौ, यो अवस्थामा एमालेले बहुमतमा जान्न भनेर संसदमाअवरोध पुर्‍याएको छ। यसलाई राजनीतिमा कसरी हेर्ने?
– एमालेले गर्न नहुने कुरा गरेको छ। संसदमाभोट दिन्न भन्ने अधिकार त छ। तर एउटा जिम्मेवार दलले आफू प्रधानमन्त्री हुन नपाएर भोट दिन्न र कसैलाई पनि प्रधानमन्त्री बन्न दिँदैनौं भन्ने दृष्टिकोण ठीक होइन। 
० एमालेको निर्णयले राजनीतिक गति अवरुद्ध भएन र?
– यदि एमालेको वास्तविक नीति त्यही हो र मतको संरचना यस्तै रहने हो भने सरकार बन्न सक्दैन। सरकार बन्न नदिने एमालेको नीति ठीक होला जस्तो लाग्दैन। एमालेबाट प्रधानमन्त्री हुन दुई तिहाइ मत ल्याउनुपर्छ भनेर झलनाथजीलाई भनियो, त्यो ठीक कि बेठीकभन्दा पनि एमालेको आन्तरिक कलहले त्यो भएको हो। यद्यपि, बहुमत प्राप्त भइसकेपछि प्रधानमन्त्री हुन पाउनुपर्ने हो। त्यो शर्त किन राखियो थाहा भएन। त्यो सर्त नभएको भए झन्डै दुई तिहाइले झलनाथजी प्रधानमन्त्री हुने अवस्थामा थियो। त्यो आन्तरिक कुरा हो। एमालेको आन्तरिक विवादले अहिलेको संसद्ले सरकार नै बनाउन सक्दैन भन्ने तहसम्म पुर्‍याउनु ठीक होइन। 
० एमालेको दुई तिहाइ बहुमत पुर्‍याउनुपर्छ भन्ने अडानलाई कसरी व्याख्या गर्नुहुन्छ?
– यो दुई तिहाइ नभैकन सरकारमा जान्न भन्ने कुरा बाहिर देखाए पनि आन्तरिक द्वन्द्वका कारण नमिलेको हो। म मेरो भूमिका खेल्दिनँ भनेर संसदमाबसेको पार्टीले भन्ने हो भने सरकार बन्दैन। अर्को दुईवटा पार्टीले हामी चुनावमा भाग लिँदैनौं भन्यो भने के हुन्छ। सरकार बन्दैन। संसद् असफल हुन्छ। संसद् असफल भयो भने संविधानसभा र संसद्को अर्काे चुनावमा जानुपर्‍यो किनभने संसद्को पहिलो कर्तव्य भनेको सरकार बनाउनु हो। सरकार दिनको लागि अरू देशहरूमा या त बहुमतको सरकार हुन्छ। या पार्टीले बहुमत ल्याउन सकेन भने सबैभन्दा ठूलो दलले सरकार बनाउन पाउछ र उसले तोकिएको समयभित्र आफ्नो विश्वासको मत लिनुपर्छ। पहिलेको परम्परा यही हो। तर अहिलेको अवस्था भिन्न छ। अहिलेकै पार्टीहरूले यो व्यवस्था गर्नुभएको हो। अहिलेकै पार्टीले यो पद्धति ल्याउनुभएको हो। आफैं पद्धति पनि ल्याएर आउने अनि मैले प्रधानमन्त्री पाइन त्यसैले त्यो पद्धतिमानै भाग लन्न भन्नु त केटाकेटीपनबाहेक केही नहोला। 
० यसलाई अपरिपक्व,  परिपक्व वा गैरराजनीति के भन्ने त?
– उहाँहरूको आन्तरिक झगडाको प्रतिविम्ब संविधान र सरकार बनाउने काममा अवरोध पुग्ने गरी छताछुल्ल हुनु राम्रो होइन। 
० एमाले बहुमतको सरकार चलाइरहेको पार्टी अहिले दुई तिहाइको अडानमा छ, एक वर्षदेखि सहमतिको सरकार भन्दै हिँडेको माओवादी अहिले बहुमतमा भाग लिँदैछ। यो अवस्थालाई कसरी लिनुहुन्छ?
– यो बहुमत, सर्वसम्मत, दुई तिहाइ भन्ने जति पनि नाराहरू आए यो कुनै प्रतिबद्धता होइन। यो जसरी पनि आफू सरकारमा आउने प्रपञ्चमात्रै हो। जसरी भनि भएको सरकारलाई गिराएर आफू सत्तामा आउने खेलमात्रै हो। हिजो प्रच48डजीले माधव नेपालको सरकारले राजीनामा दिए दुई घन्टामा हामी मिलाउछौं भन्नुभएको होइन। उहाँहरूको अर्काे प्रतिबद्धता सहमतिको सरकार नभै संविधान बन्दैन भन्ने पनि थियो। दुवै कुरालाई माओवादीले छोडिदियो। सहमति नभए बहुमत पनि ठीक छ भनेपछि उहाँहरूले लगाएको जे–जति नारा थियो आफू सत्तामा आउने नारामात्रै थियो। राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हडताल, यो सबै आफू सत्तामा आउने शब्दजाल थियो। सत्ता पाउन जे पनि बोल्न तयार हुनुहुन्छ भन्ने कुरा पुष्टि गर्नुभएको छ उहाँहरूले। 
० माओवादीले यो भन्दा अगाडी दुई तिहाइभन्दा बढी मत ल्याएको थियो, अहिले आएर प्रच48डजीले आफ्नोभन्दा अरू मत जोड्न नसकेको देखियो। यसबाट माओवादीको कस्तो मूल्यांकन भएको देख्नुहुन्छ?
– माओवादीलाई अरू दलहरूले विश्वास गर्न छोडे, यथार्थता त्यही हो। माओवादीलेे पहिलोपटक सरकार बनाउँदा दुई तिहाइ मत ल्यायो। त्यो ठूलो कुरा हो। त्यो मत र विश्वासलाई जगेर्ना गरेर राख्ने उहाँहरूको नेतृत्वमा क्षमता देखिएन। उहाँहरूको शासनकालमा सबैलाई उपयोगितावाद नीति देखियो। म यसलाई कार्यनीतिक अवसरवाद भन्छु। कार्यनीतिक अवसरवाद र उपयोगितावादको कारणले गर्दा  माओवादीले भनेको कुरा नगर्ने कुरा चाहिँ गर्ने खालको व्यवहार देखियो। जसलाई जे भनेर ठीक हुन्छ त्यही भन्दिने, त्यो भनेको कुरा गर्ने प्रतिबद्धतालाई बिर्सने खालको राजनीतिक संस्कार प्रदर्शनका कारण अरू दलहरूमा शंका बढ्यो। २ सय ३६ सिट ओगटेको माओवादीले ५०/६० मत आफ्नो पक्षमा लिन नसक्नु भनेको योभन्दा ठूलो राजनीतिक असफलता अरू के हुन सक्छ? यो माओवादी नेतृत्वको समष्टिगत असफलता हो। माओवादीले आफूलाई प्राप्त भएको विश्वासको जगेर्ना गर्न सकेन। 
० उम्मेदवारी दर्ता गरिदा माओवादीले सबैभन्दा ठूलो दल भएकाले प्रस्ताव फिर्ता गर्न पाउँदैन भन्यो, एमालेले दुई तिहाइ नपुगेकाले भाग लिनु हुँदैन भन्यो , संसदीय व्यवस्थामा यस्ता सर्तहरूलाई कसरी सम्बोधन गर्ने?
– फिर्ता गर्न पाउनुहुन्छ, हँुदैन भन्ने कुरा औपचारिक होइन। संसदमादर्ता भएको कुरा होइन। उहाँहरू भित्र के कुरा भएका थिए। हामीले थाहा पायौं त्यो भिन्दै कुरा हो। तर, संसदमारजिस्टार नभएको कुरा भएकाले उहाँहरू भित्र के–के भन्नुहुन्छ त्यो आफ्नै कुरा हो। झलनाथजीले मैले दुई तिहाइ ल्याउन नसकेकाले फिर्ता लिएको भन्नुभएको छ। पार्टीले भनेर फिर्ता लिएको भन्नुभएको छैन। उहाँले पार्टीको संरक्षण सिद्धान्तको आवरणमा राख्नुभएको छ। यथार्थ त सबैले बुझेकै छन् नि। 
० माओवादीले सहमतीय नभैकन सरकारमा जान्न भनेर पनि आज बहुमतीय प्रणालीमा भाग लिँदैछ, माओवादी संसदीय प्रणालीमा गएको हो त?
– राजनीतिक हिसाबले भन्ने हो भने यो पनि माओवादीको फोहोरी खेल हो। हिजोसम्म सहमति भन्ने माओवादी आज बहुमतीयमै जान तयार भयो नि त। यसबाट के प्रष्ट भयो भने जसरी भए पनि प्रधानमन्त्री हुने सत्ता जसरी भए पनि चाहियो, त्यो सत्ता लिनको लागि सहमति भनेर हुन्छ भने सहमति, जे नारा दिएर सत्ता हुन्छ त्यही भन्न तयार छन् भन्ने देखाउँछ। जनतालाई जे भने पनि केही समयमा आफ्ना कुरा विर्सन्छन् र फेरि 'ब्रेनवास' गर्न सकिन्छ भन्ने उहाँहरूको धारणा छ। 
० माओवादीको वर्तमान भूमिकाले शान्तिप्रक्रियालाई कता पुर्‍याउँछ होला?
– नौ महिनासम्म संविधान बनाउने काम अगाडि बढेको हो। तर, चाँडै नै सेना समायोजनका नाममा माओवादी शक्तिखोरको टेपको धारणा अनुरूप क्याप्चर गर्नेपट्टि अगाडि बढ्यो। सत्ताको नेतृत्व नगरेर सत्ता कब्जातिर गयो। त्यसले गर्दा बिग्रेको हो। माओवादी अहिले पनि सत्ताको नेतृत्व गर्छाै, प्रजातान्त्रिक लोकतान्त्रिक संविधान बनाउछौं भन्ने मनस्थितिमा काम गर्ने हो भने अरूको विश्वास अझै पनि जित्न सकिन्छ होइन जसरी पनि सत्ताको नेतृत्वको नाममा सत्ताकब्जा गर्ने र एकदलीय शासन कायम गर्ने मनस्थितिमा जबसम्म रहन्छ, तबसम्म माओवादीलाई विश्वास गर्न गाह्रो छ। संविधान बन्न पनि गाह्रो छ। 
० अहिलेसम्मका व्यवहारहरूले के देखाउँछ?
– अहिलेसम्म संघर्ष गरेर आएको मनस्थिति छेउछेउमा परिवर्तन भएको जस्तो लाग्छ। तर, गाँठी कुरामा परिवर्तन भएजस्तो लाग्दैन। शैली, प्रस्तुत र छेउछाउमा कहिलेकाहीँ परिवर्तन भएजस्तो देखिन्छ। माओवादीको यो राम्रो पक्ष हो। तर एकदलीय अधिनायकवादको मूल्यमान्यताबाट उहाँहरू हट्नुभएको छैन। 
० माओवादीको सरकार बन्यो भने के हुन्छ ?
– माओवादीको सरकार बन्यो भने वैचारिक संघर्ष नै छन् नेपालमा। बहुलवाद र एकदलीय अधिनायकवादको बीचमा संघर्ष नै हुन्छ। अहिलेको विश्व एकदलीय अधिनायकवादको पक्षमा छैन। अहिलेको विश्व बहुलवादमै छ। यो दुईवटाको बीचमा पनि नयाँ प्रजातान्त्रिक धार छ। माओवादीमा पनि त्यो धार छ। यदि बहुलवाद र एकदलीय अधिनायकवादको परिभाषा दुवै प्रजातान्त्रिक पक्ष मिलेर गर्‍यौं भने हामी नयाँ संविधान दिन सक्छौं। माओवादीले आफ्नैमात्र गर्नतिर लाग्यो भने समस्या समाधान हुँदैन। 
० शान्तिप्रक्रियाको सिंगो पक्ष मानिने माओवादीलाई समर्थन गर्ने हाम्रा सर्तहरू के हुन सक्छन्?
– माओवादीलाई समर्थन गर्न उनीहरूको पहिलो कब्जाको सिद्धान्तलाई नै छोड्नुपर्‍यो, सत्ताको नेतृत्व गर्नुहुन्छ भने आपत्ति छैन। एकपटक समर्थन पनि गरेका हौं। भोट दिएका हौं। नेतृत्व गर्नुहोला भनेर, तर शैली सत्ता कब्जा गर्ने देखियो। त्यो बीसौं शताब्दीको एकाधिकारवाद माओवादी शैली होइन भन्ने विश्वास दिलाउनुपर्‍यो। कतिपय कुरामा उठाएका सामाजिक मुद्दाहरूमा हाम्रो समर्थन छ। समानता, विकृति, शोषण अन्त्यको आवाजलाई हामी सम्मान गर्छौ। तर, पहाडको टुप्पामा पुगेर पनि कुन बाटोमा जाने भन्ने तय हुनु पर्‍यो नि। त्यो बाटोको बारेमा हामीलाई सुनिश्चितता चाहियो। अरू कुरा के रामहरि श्रेष्ठलाई मारेर पुलिसले खोजेको मान्छेलाई आफ्नो सम्पर्कमा राखेर आफूसंगै छ, छैन भन्नु, हत्यारा, लुटेरालाई पार्टीले संरक्षण दिने हो भने कसरी उहाँहरूसित काम गर्न सुरक्षाको अनुभूति गर्ने। कसरी प्रजातान्त्रिक मूल्यमान्यता र कानुनी शासनलाई स्वीकार्छ भनेर विश्वास गर्ने। अहिले त माओवादीलाई ठीक ठाउँमा कानुन लाग्ने र माओवादीलाई बेठीक हुने ठाउँमा कानुन काम लाग्दैन। यो संस्कार छोड्नुपर्‍यो। 
० दुई वर्षअघि माओवादीलाई मत दिएर दुई वर्ष पछि मत उल्ट्याउनुपर्ने कारण यही हो?
– यही नै हो। निश्चित रूपमा यही हो। म त आग्रह पूर्वाग्रह राख्दिनँ। माओवादीको राष्ट्रियताप्रति प्रतिबद्धता छ भन्ने कुरामा पनि मलाई विश्वास छ। यत्रो संघर्ष गरेको पार्टीले देशप्रति माया गर्दैन भन्ने होइन। यद्यपि समय–समयमा उहाँहरूको अभिव्यक्तिहरूले मौका परेको बेला विदेशीलाई समर्पण गरेका छन्। चित्त नबुझ्ने बित्तिकै गाली गर्ने राष्ट्रियतालाई पनि उपयोगितावादमा परिणत गरेको हामीले देखेका छौं। चिन्ता लाग्ने कुरा त्यही हो। नौमहिने शासनकालमा राज्यशक्तिलाई पार्टीको एउटा हाँगाको रूपमा, राज्यका निकायलाई पार्टीको संगठनका रूपमा लैजाने परम्परागत सामन्तवादी शासनशैलीको संरचनालाई कायम गर्ने प्रयास स्वीकार गर्न सकिँदैन। त्यही कारण हाम्रो मत उल्टिएको हो। 
० माओवादीले दुई वर्षको कालमा कमाएको समर्थन पनि गुमाउँदै अधिनायकवादमा गयो भन्न खोज्नुभएको हो?
– माओवादी पद्धतिअनुसार चल्न आएको नभै आफ्नो पद्धति लाद्न आएको देखियो। -ABC

जन सम्पर्क तयारी समिति, भर्जिनिया

साथीहरु,
भर्जिनिया राज्यमा बसोबासो गर्ने नेपाली कांग्रेसमा आस्थावान समस्त साथिभाईहरु माझ यो सुचना प्रसारित गर्न पाउँदा हामीलाई अत्याधिक खुशी लागेको छ कि नेपाली जन सम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टर गठन गर्ने उदेश्यले यहि अगस्त २१ तारिख २०१० शनिबारका दिन जन सम्पर्क समिति भर्जिनियाको पहिलो अधिबेशन निम्न स्थान र समयमा हुन लागिरहेको छ। यसका साथै अगस्त महिनाकै १४ तारिख २०१० शनिबारका दिन तल उल्लेखित थमस जेफरसन लाइब्रेरीमा दिनको २ बजे देखि ५ बजे सम्म “अधिबेशन पूर्व भेला” को समेत आयोजना गरिएको सहर्ष जानकारी गराउदछौं। ”अधिबेशन पूर्व भेला” मा इच्छुक साथीहरुलाई शुल्कसहित सदस्यता वितरण गरिनुका साथै भर्जिनियामा जन सम्पर्क समिति, अमेरिकाको केन्द्रीय अधिबेशन गर्ने प्रस्ताव केन्द्रिय तयारी समितिमा पठाउने नपठाउने सम्बन्धमा समेत सल्लाह गरिने भएको छ। तसर्थ उक्त दुवै अवसरमा उपस्थितिका लागि भर्जिनिया राज्यमा बसोबास गर्ने नेपाली कांग्रेसमा आस्थावान समस्त साथीहरुलाई आह्वान गर्दछौं।


Venue:
Thomas Jefferson Library
7415 Arlington Boulevard
Falls Church, VA 22042-7409


Date/Time:
Saturday, August 14, 2010 (2:00 PM to 5:00 PM) and
Saturday, August 21, 2010 (10:00 AM to 5:00 PM)


जन सम्पर्क तयारी समिति, भर्जिनिया
संयोजक :कृष्ण शर्मा, फोन :- ७०३-३००-१४२१
सदस्य :पवन खनाल, फोन :- ५७१-२३२-९४३१
सदस्य :सागर कंडेल, फोन :- ५७१-३०९-८८९७
सदस्य :दधिराम ढुंगाना, फोन :- ५७१-४३८-५४९९ 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक