Breaking News....
गोली प्रहारबाट बुटवलको संगमपथमा दम्पती हत्या भएको छ। भण्डारी गल्ला स्टोरका मालिक रमेश भण्डारी तथा उनकी श्रीमती आशाको गोली हानी हत्या भएको हो। कालो पल्सर चढी आएका मधेसी मूलका दुई तथा पैदल आएका अर्का एकले गोली चलाएको प्रहरीले जनाएको छ। गोली लाग्नासाथ आशाको घटनास्थलमै मृत्यु भएको थियो। उनको कोखा र छातिमा गोली लागेको छ। रमेशको घाटीमा दुई गोली लागेका छन्। उनलाई...._______________यस भित्र अरु पनि ... __________
"माधवकुमार नेपाल भन्ने मानिस पनि नेपालका प्रधानमन्त्री भएका रहेछन"
"दरबारबिनाका राजाको सम्मान" Click Read more »
लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। गोली प्रहार गरी व्यवसायीको हत्या भएपछि बुटवलका उद्योगी व्यवसायी लुम्बिनी अञ्चल अस्पतालमा भेला भएका छन्। इलाका प्रहरी कार्यालय बुटवलका डीएस्पी दानबहादुर कार्कीले बुटवलका नाकामा चेक जाँच बढाएर अपराधीको खोजी भइरहेको बताए।"माधवकुमार नेपाल भन्ने मानिस पनि नेपालका प्रधानमन्त्री भएका रहेछन"
- देवप्रकाश त्रिपाठीअमेरिकी राष्ट्रपतिका रूपमा अब्राहम लिङ्कन या जर्ज वासिङ्गटन र वारेन जी हार्डिङको हैसियत बराबरी हो, तर उनीहरू बराबरी स्मरणीय छैनन् र नामको उचाइ पनि एकनास छैन । राष्ट्रपति भएकै कारण इतिहास स्मरणीय हुने भइदिएको भए हार्डिङको नाम पनि लिङ्कन बराबर चर्चित र चालू हुनुपर्ने थियो । संयुक्त राज्य अमेरिकामा हालसम्म चवालीसजना राष्ट्रपति भइसकेका छन्, तर तीमध्ये जर्ज वासिङ्गटन, लिङ्कन, रुजवेल्ट, ह्यारी ट्रुमन, वुडरो विल्सन, जोन एफ केनेडी र रोनाल्ड रेगनसहितका केही राष्ट्रपतिहरू मात्र स्मरणीय बन्न सकेका छन्, किन ? नेपालमा हालसम्म तेत्तीस व्यक्ति प्रधानमन्त्री भए, तर जङ्गबहादुर राणा, भीमसेन थापा, देवशमशेर, चन्द्रशमशेर, वीरशमशेर र बीपी कोइरालाको नाम मात्र सर्वदा चर्चा र स्मरणीय किन बनेको हो ? छिमेकी मित्रराष्ट्र चाइनामा सन् १९४९ यता अनेक व्यक्तिहरूले चाइनाको नेतृत्व सम्हाल्ने मौका पाएका थिए । तर, हामी माओ त्से तुङ र देङ सियाओ पिङबाहेक अन्यलाई स्मरण गरिरहन आवश्यक ठान्दैनौँ । माओ र देङसरहको औपचारिक जिम्मेवारी सङ छिङदिङ र सङ विउले पनि प्राप्त गरेका थिए भन्ने कुराको जानकारी पाउन हामीले चिनियाँ इतिहासकै पाना पल्टाउनुपर्ने हुन्छ । तर देङ र माओको नाम इतिहास नपढेकाहरूसम्म पनि पुगिरहेको छ र यी दुवै नाम चीनमा इतिहास स्मरणीय बन्न पुगेका छन्, किन ? थाइल्यान्डको सत्ता सम्हाल्ने अवसर पाएका दर्जनौं नाममध्ये थाक्सिन सिनवात्रा नै सर्वाधिक लोकप्रिय किन भए ? महा भ्रष्टाचारको आरोप लागेर बिदेसिएको अवस्थामा पनि थाई जनता किन उनको खोजी गर्दै छन् ? नब्बेको दशकको आखिरी र त्यसपछिको समयमा थाइल्यान्डले भोग्नुपरेको महाआर्थिक सङ्कटबाट देशलाई मुक्त गर्न सिनवात्राले बीसौं शताब्दीको अन्तिम पाँच वर्षमा निर्वाह गरेको भूमिकाले उनलाई इतिहासमा असामान्य व्यक्तिको परिचय उपलब्ध गराएको छ । ब्रिटेनको प्रथम प्रधानमन्त्री रबर्ट वालपोलको नाम पत्ता लगाउन इतिहास पल्टाइनुपर्छ तर विस्टन चर्चिलको नाम आजको विश्वले पनि सम्मानका साथ लिने गर्छ । सिङ्गापुरमा लि क्वान यु मात्र प्रधानमन्त्री बनेका त होइनन् तर उनी मात्र इतिहास स्मरणीय भएका छन् ।
मानिसको पहिचान उसको आफ्नै भूमिकाले निर्धारण गर्ने गर्छ । पद प्राप्ति या धनप्राप्तिले मात्र मानिसलाई स्मरणीय बनाउन सक्दैन । व्यक्तिले प्राप्त गरेको पदीय दायित्वले तत्कालिक वर्तमानमा उसको आफ्नै परिवेशमा कस्तो योगदान पुर्याएको थियो भन्ने कुराको आधारमा व्यक्तिको मूल्याङ्कन हुने गर्छ । समाज या देशलाई परेको समस्या या आइपरेको सङ्कट मोचनमा दृढतापूर्वक भूमिका निर्वाह गर्ने राजनीतिक या सामाजिक व्यक्तित्वलाई चिरकालसम्म मानिसले भुल्न सक्दैनन् । बगिरहेपछि समुद्रमा पुगिन्छ भनेझैं राजनीतिमा निरन्तर क्रियाशील रहेपछि जोकसैलाई पनि उच्च पदप्राप्तिको अवसर आउन सक्छ । तर्सथ राजनीतिमा पद प्राप्ति एउटा बेग्लै पक्ष हो भने पद प्राप्त भएपछि व्यक्तिले भूमिका निर्वाह गर्ने पाटाको मूल्याङ्कन बेग्लै रूपमा हुने गर्छ । कसैले कुनै पद कसरी प्राप्त गर्यो, कुन तहको मान्छे कहाँ पुग्यो भन्ने जस्ता प्रश्नको जवाफमा रोचक कथा या जीवनगाथा उनिएका हुन्छन् । तर, उच्च जिम्मेवारी प्राप्त गरेपछि कुनै पनि राजनीतिक व्यक्तिको वास्तविक उचाइ -क्षमता) मापन सुरु हुन्छ, भूमिकाले मानिसलाई उत्तीर्ण या अनुत्तीर्ण कुनै पनि परिणाममा पुर्याउन सक्दछ ।
गरिबी, पछौटेपन, अशिक्षा या कुशिक्षा नेपालका स्थायी समस्या हुन् । यी समस्याबाट मुक्ति दिलाउने नाममा अनेक आकार-प्रकारका व्यक्ति मन्त्री, प्रधानमन्त्री र उच्चाकारका त्यस्तै अन्य विभिन्न जिम्मेवारीमा पुगे । राजनीति निरन्तर चलिरहेको छ, मानिसहरू सत्तामा पुग्ने र ओर्लनेक्रम पनि जारी छ, तर देश जहाँको त्यहीँ या अझै तल ओर्लिएको छ । पछिल्लो डेढ दशकमा नेपाली राजनीति हिंसाग्रस्त बनेको छ, युवापुस्ताको आस्था र विश्वास हिंसाप्रति बढेको या बढाइएको छ । सभ्य, शालीन, शिष्ट र मर्यादित तवरमा कुनै पनि हालतमा गन्तव्य प्राप्त गर्न नसकिने सन्देश राजनीतिक क्षेत्रबाट प्रवाहित भएपछि मानिस व्यक्तिगत जीवनमा समेत सुख या खुसी प्राप्तिको साधन बल या हिंसात्मक क्रियाकलापलाई बनाउन अभिप्रेरित छन् । समस्या समाधानको साधन बन्नुपर्ने राजनीति नै समस्याको मूल स्रोत बनेपछि देशको गरिबी, पछौटेपन, अशिक्षा या कुशिक्षाका विरुद्धको युद्ध अवरुद्ध भएको छ । मानवजीवनको तुच्छ अर्थात् न्यूनतम आवश्यकता शान्ति सुरक्षा प्राप्तिका लागि सबै नेपाली एकत्रित हुनुपर्ने अवस्था सिर्जना भएको छ । आफ्नो करिब अर्ढाई सय वर्ष लामो इतिहासमा नेपाल हाम्रो आफ्नै कारणले सम्भवत: सबैभन्दा ठूलो सङ्कटमा फसेको छ । अन्य कारणले समस्या पैदा भए राजनीतिक तहबाट समाधानको प्रयास गर्नुपर्ने हुन्छ भने नेपालको वर्तमान सङ्कट त झन् राजनीतिक कारणले नै सिर्जना भएको हुँदा त्यसको निदान राजनीतिभन्दा बाहिरबाट खोज्न सकिने आशा गर्न सकिन्न । नेपाल यसरी सङ्कटको चपेटामा परिरहेका बेला नेकपा एमालेका नेता माधवकुमार नेपाल देशको प्रधानमन्त्री बन्न आइपुग्नुभएको वर्ष दिन बितेको छ । माधव नेपाल भ्रष्ट छैनन्, उनी स्वच्छ छविका नेताहरूको कोटिमा पर्छन्, तर उनकै कार्यकालको वर्ष दिनमा नेपाल दक्षिण एसियाको प्रथम भ्रष्ट राष्ट्रमा दर्ज हुन पुगेको छ ।
माओवादीले माग अघि सार्ने र दलहरूले त्यसमा सहमति जनाएर पूरा गरिदिने प्रकारको राजनीति तीन वर्ष निरन्तर चल्यो । सम्पूर्ण सत्ता आफ्नो हातमा नभएसम्म माओवादीको माग्ने प्रक्रिया र सङ्घर्ष नटुङ्गिने भएपछि गत वर्ष ऊ आफैं सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो । माधव नेपाल नेतृत्वमा प्रजातान्त्रिक गठबन्धनको सरकार बनेपछि देशको राजनीतिले कोल्टे फेर्ने अपेक्षा गरियो । प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरूले सहमति या समर्थन जनाउन सक्ने हदसम्म माओवादीका मागमा सहमति जनाएका हुन्, अब माओवादीका थप राजनीतिक माग पूरा गर्न दलहरूले सहमति जनाउनु भनेको आफैंलाई मेट्नु र देशबाट प्रजातान्त्रिक मूल्य एवम् मान्यता विस्थापित गर्नु मात्र हो भन्ने स्पष्ट भइसकेको छ । माओवादीका एजेण्डामा दलहरूको सहमति हुने अध्याय समाप्त भएपछि गत वर्षदेखि दलहरूको एजेण्डामा माओवादीको समर्थन हुनुपर्ने अध्याय सुरु भएको हो । र, यही अध्यायको थालनीसँगै राजनीतिक दल तथा माओवादीबीच द्वन्द्वको सुरुवात पनि भएको हो । प्रधानमन्त्री माधव नेपालले बितेको वर्ष दिनभरि माओवादीसँग सहमति बनाएर अघि बढ्ने कसरत गर्नुभयो । तर, माधव नेपालको सहमति प्रयासलाई माओवादीले ख्याल-ख्याल ठाने र प्रयासहरूको खिल्ली उठाए, अझै उडाउँदै छन् । माओवादीहरू आफ्नो अधिनायकवादी शासनसत्ता स्थापना गर्न चाहन्छन् भन्ने कुराको राम्रो जानकारी माधव नेपाललाई छ । तै पनि उनले वर्षदिनभरि केवल सहमतिको मन्त्र जपिरहे । माओवादीहरू सहमतिमा नआउने निश्चित हुँदै गएपछि प्रधानमन्त्रीका रूपमा माधव नेपालले कुनै प्रभावकारी कदम चाल्ने आशा गरिएका बेला राजीनामा दिएर भाग्ने कुरा पो सार्वजनिक भइरहेको छ । यतिबेला नेपाली राजनीतिको बजार माधव नेपालको राजीनामाको चर्चाले व्याप्त छ । माओवादीलाई नागरिक पार्टीमा रूपान्तरित गर्नुपर्ने, दिगो शान्ति स्थापना र नयाँ संविधान निर्माणको निम्ति नयाँ बाटो पहिल्याउनुपर्ने, करिब डेढ दशकदेखि अवरुद्ध विकास निर्माणका प्रक्रियालाई सुचारु तुल्याइनुपर्ने र अराजक, अस्तव्यस्त एवम् अनुशासनहीन बन्दै गएको सामाजिक परिस्थितिलाई व्यवस्थित गर्नुपर्ने यस घडीमा माधव नेपालले राजीनामाको कुरा गर्दा उनी महान् भएका छैनन्, बरु डरपोक, कातर, अक्षम र नालायक प्रमाणित हुने स्थिति पो बन्दै छ । इतिहासले माधव नेपाललाई एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो, तर उनी ह्यारी टु्रमन र विस्टन चर्चिलझैं चुनौतीको सामना गर्दै देशलाई सही दिशामा लैजान उत्सुक र इच्छुक देखिएनन् । अतिवाद, अराजकता र उच्छृङ्खलताको चरम धापमा जकडिएको देशलाई यसबाट उन्मुक्ति दिने हिम्मत नगरेर माधव नेपालले आफैं पदबाट उन्मुक्ति खोजेको महसुस देशवासीलाई हुन थालेको छ । त्यसकारण कतै माधव नेपाललाई प्रधानमन्त्री पदको भारी उनको तौल र उचाइभन्दा धेरै ठूलो पो भएको हो कि भन्न पनि थालिएको छ । हुन त देशलाई वर्तमान समस्याबाट मुक्ति माधव नेपालले नै दिनुपर्छ भन्ने होइन, मानिस आफ्नो क्षमताअनुसारको काम र गच्छेअनुसारको सेवा दिन स्वतन्त्र हुन्छन् । माधव नेपालले प्रधानमन्त्री भइदिएर देशलाई ठूलो गुन लगाएको ठानेका हुन् भने त्यस्तो सन्दर्भमा प्रधानमन्त्रीका रूपमा उनीसँग अपेक्षा राख्नु स्वाभाविक हो । तर इतिहासले उनलाई सुम्पेको जिम्मेवारी पूरा गर्दा उनैलाई इतिहास स्मरणीय बनाउँछ र देशले पनि नयाँ दिशा र बाटो पाउन सक्छ भन्ने मात्र हो । राजनीतिमा कहिलेकहीँ पद त्याग गर्दा पनि त्यागकर्ताको उचाइ बढ्न सक्छ, तर यो समयमा पदत्याग गर्दा माधव नेपालको उचाइ बढ्ने आशा गर्न सकिन्न । बरु माओवादीले भन्ने गरेझैं माधव नेपाल ‘नालायक’ नै पुष्टि हुनेछन् । माधव नेपाल प्रधानमन्त्री भएकै दिनदेखि माओवादीले उनलाई प्रधानमन्त्री पदका लागि अयोग्य र अनुपयुक्त व्यक्तिका रूपमा चर्चा गर्दै आइरहेको छ । जिम्मेवारीबाट भाग्ने उनको चाहनाले उनीप्रतिको माओवादीको निष्कर्ष सही भएको पुष्टि गर्न खोज्दै छ । गृहयुद्धको सामना नगरेर भागेका भए अब्राहम लिङ्कनलाई सायद हामीले स्मरण गरिरहनुपर्ने थिएन । जीर्ण भइसकेको चीनको अर्थतन्त्रलाई अकल्पनीय ढङ्गले सुधारको दिशामा लैजान साहस नगरेर देङ सियाओ पिङ आफू मात्र जोगिएर भाग्ने निष्कर्षमा पुगेका भए आज न देङ आधुनिक चाइनाको रचनाकारमा रूपमा चिनिन्थे न चीनले अहिले प्राप्त गरेको समृद्धि नै हासिल गर्न सक्दथ्यो । राजनीतिक नेतृत्वको पहिचान देशको सङ्कटमा उसले निर्वाह गर्ने भूमिकाले निर्धारण गर्छ भने ‘माधव नेपालको राजीनामा दिएर भाग्ने’ भूमिकाले उनलाई ‘कायर’ या ‘नालायक’बाहेक अर्को कुनै परिचय प्राप्त हुने आधारहरू देखिँदैनन् । उनी प्रधानमन्त्री बन्ने रहर मेट्नका लागि मात्र प्रधानमन्त्री बनेका रहेछन् भन्ने कुराको पुष्टि मात्र उनी आफैंले गर्नेछन् ।
माओवादी समस्यालाई जहाँको त्यहीँ राखेर, क्यान्टोनमेन्टका लडाकु र हतियारलाई यथावत् राख्दै शान्ति स्थापना प्रक्रियालाई अलपत्र छाडेर, देशमा उत्पन्न अराजकता र बीभत्स ढङ्गले भत्किँदै गएका सामाजिक सद्भावलाई पुनर्स्थापित गर्न नखोजेर पद त्याग गरेमा माधव नेपाल नेपालको इतिहासको अर्का रंगनाथ पौडेल या रणोदीप सिंह प्रमाणित हुनेछन् । नेपालका प्रधानमन्त्रीहरूको सूचीमा नौ अक्षरको एउटा नाम ‘माधवकुमार नेपाल’ थप्नेबाहेक अर्को कुनै योगदान पुर्याएको अर्थ इतिहासले लगाउनेछैन । राजनीतिमा एकथरी मानिस केही खास काम गरेर देखाउनका लागि जिम्मेवारी लिन्छन् अनि एकथरीचाहिँ पदका मालिक भएको देखाउनका लागि मात्र पदमा पुग्ने गर्छन् । यही अवस्थामा माधव नेपालले पदत्याग गर्दा उनी उल्लिखित दोस्रो कोटिका व्यक्तिका रूपमा गणना हुनेछन् । वर्तमानकाले भन्नेछन्, ‘जे होस्, माधव नेपाल पनि प्रधानमन्त्रीचाहिँ भए है’ अनि भविष्यकाले ठान्नेछन्, ‘ए † माधवकुमार नेपाल भन्ने मानिस पनि नेपालका प्रधानमन्त्री भएका रहेछन् ।’ उनको नाम यत्तिमै सीमित हुनेछ । यदि यसरी सीमित नहुने हो भने माधव नेपालले असीमित भूमिका निर्वाह गर्न बाँकी रहेको देखिन्छ । सङ्क्रमणकालको यो दुर्बल समय पारेर प्रधानमन्त्री बन्न झन्डै दर्जन व्यक्ति लामबद्ध छन् । यस्तै मौकाको फाइदा उठाएर प्रधानमन्त्री बन्ने रहर मात्र पूरा गरेको होइन भने माधव नेपालले आफ्नो योग्यता प्रमाणित गर्न अब ढिलाइ गर्न हुने छैन ।
दरबारबिनाका राजाको सम्मान
-बबिता बस्नेत
हिजो जस्तै लाग्छ, दुई वर्षअघि राजाले दरबार छोड्दा नारायणहिटीअगाडिको सडकमा केही झुन्ड मानिस अनेक प्रकारका नारा लगाउँदै ओरालो लागेको मृगलाई खेदिरहेकाझैं देखिन्थे । केही टेलिभिजन च्यानलहरू भीडसँग ‘भक्स पप’ लिन व्यस्त थिए । दुई सय चालीस वर्षको इतिहास मेटिँदा तिनीहरूको प्रतिक्रिया थियो- अबको नेपाल समृद्ध हुनेछ, सामन्ती संस्काररहित हुनेछ, जनताको हुनेछ, नेपाली जनता बल्ल सार्वभौम भए, अब सबै जनताको भयो, आदि आदि । राजपरिवार हात हल्लाउँदै चुपचाप बाटो लागे, त्यसपछिको केही समयसम्मको नेपालको राजनीति राजपरिवारका सदस्यप्रतिको गालीगलौजमै बित्यो । त्यतिबेलाको माहौल यस्तो थियो मानौँ यो मुलुकमा अहिलेसम्म जे भएन त्यो राजसंस्थाकै कारणले भएन र अब जे हुन्छ त्यो सबै राम्रो मात्रै हुन्छ । राजाको बहिर्गमनमा राजसंस्थाको मायाले चित्त दुखाउने र आँसु बगाउनेहरू नभएका होइनन् तर तिनले आँसु बाहिर देखाउन सकेनन्, आफू प्रतिगामी भइने डरले बाहिर निस्किएनन्, कोठामा ढोका लगाएर टेलिभिजन हेर्दै चुकचुकाउनुको खासै अर्थ थिएन । त्यस्तो एउटा ठूलो जमात थियो जो यो मुलुकलाई एकताको सूत्रमा बाँधिराख्न राजतन्त्र आवश्यक छ भन्ने मान्यता राख्थ्यो, व्यक्तिपिच्छेका प्रवृत्तिहरू फरक हुन सक्छन् तर राजसंस्था भनेको छुट्टै कुरा हो भन्ने सोच राख्नेहरूले पनि केही बोल्ने र गर्ने अवस्था थिएन । राजा ज्ञानेन्द्र र उहाँको परिवारले नारायणहिटी छोड्दै गर्दा कसैले सोचेको पनि थिएन कि दुई वर्ष नबित्दै भूतपूर्व भइसकेका तिनै राजाको यही मुलुकमा जयजयकारका लागि उभिएको भीड नियन्त्रण गर्न सुरक्षाकर्मी र सर्वसाधारणलाई हम्मेहम्मे पर्नेछ । नसोचेको त्यही कुरा अहिले भइरहेको छ । पूर्वराजाप्रति नेपाली जनताले गरेको सम्मानले के दर्शाइरहेको हो भनेर बुझ्नै नसकिनेगरी सर्वसाधारण असाधारण सबैलाई आश्चार्यचकित बनाइदिएको छ ।यो प्रचण्ड गर्मीमा पूर्वराजा किन तराईको भ्रमणमा निस्किनुभयो र तराईवासीले त्यति ठूलो श्रद्धा किन व्यक्त गरे – उहाँलाई गरिएको जयजयकार हिन्दू धर्मसँगको आस्था, राजसंस्थाप्रतिको मोह या राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णा के हो – उहाँको भ्रमणमा मानिसको भीड र व्यक्त विचारहरूले यस्ता अनेक प्रश्न गर्ने ठाउँ छोडिदिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता मात्र नभएर सर्वसाधारणहरूका निम्ति समेत असुरक्षित मानिँदै आएको तराईमा बिनासुरक्षा हिँड्दा उहाँलाई कुनै असुरक्षाको अनुभूति भएन । के तराई अब सुरक्षित भएको हो – तराईवासीले भने, ‘राजाको सुरक्षा दिन सुरक्षाकर्मी चाहिँदैन, हामी जनता नै काफी छौँ ।’ हिन्दू मन्दिरहरूको दर्शन गर्न त्यहाँ पुग्नुभएका पूर्वराजालाई हिन्दूले मात्र होइन मस्लिमहरूले पनि त्यत्तिकै स्वागत गरे, हात जोडेर नमस्कार मात्र गरेनन् उहाँलाई भेट्न र देख्न पाएर अनुग्रहित भएकोसमेत बताए । पूर्वराजाको हातमा कुनै शक्ति छैन भन्ने कुराको जानकारी हुँदाहुँदै पनि काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादीलगायतका दलहरूलाई भोट हाल्ने सर्वसाधारणले उहाँसामु बिन्ती बिसाए, गुनासाहरू जम्मा गरेर लेखिएको पत्र हातैमा थमाए । स्वभावैले धेरै मानिस शक्तिका पुजारी हुन्छन्, तर तराईवासीले त अचम्मै गरे । शक्तिविहीन राजालाई शक्तिमा भएको बेला जस्तै गरी स्वागत-सत्कार गर्दै भेट्न पाएकोमा खुसी व्यक्त गरे । दरबार नै छोडिसकेका राजाको वरिपरि जम्मा भएको भीड कुनै करबलले जम्मा गरिएको थिएन । उहाँको कुनै दल या समूह छैन त्यसैले पार्टीहरूका झैं कार्यकर्ता या सदस्य हुने कुरै भएन । जो आए मनले मानेर आए या केहीचाहिँ नजिकबाट अनुहार हेर्नकै लागि पनि आएका हुन सक्छन् । तर, जे भए पनि पूर्वराजाले प्राप्त गर्नुभएको यो सम्मानले राजसंस्थाको लोकप्रियता बढिनै सक्यो भन्ने अर्थ लागिनसके पनि राजा र राजसंस्थाप्रति जनता गम्भीर ढङ्गले सकारात्मक देखिएकोचाहिँ भन्न सकिन्छ । सामान्यतया मौसमका हिसाबले भन्ने हो भने यो मधेस घुम्ने समय होइन । अहिले त पहाडी या हिमाली क्षेत्रमा घुमघाम गर्ने बेला हो तर उहाँ किन तराई नै जानुभयो – यो पनि जिज्ञासाकै विषय हो शायद । मन्दिर दर्शनकै निम्ति जाने भए पहाड र हिमाली क्षेत्रमा पनि धेरै नाम चलेका मन्दिर छन्, तर राजाको रोजाइ यो मध्यगर्मीमा किन मधेस नै पर्यो या मधेसकै जनताले किन राजालाई निम्त्याए – शायद हिन्दू धर्मावलम्बीहरूको संरक्षक राजा मात्रै हुन सक्छन् भन्ने मान्यताले यसमा काम गरेको छ । जहाँसम्म मुस्लिमहरूको कुरा छ, हिन्दू भए पनि नेपालका राजाप्रति मुस्लिम समुदायको अनास्था कहिल्यै पनि थिएन ।
वास्तवमा नेपालको राजपरिवारले जनताको चाहना र भावना बुझ्नै पाएको थिएन न त जनताले नजिकबाट उनीहरूलाई भेट्न र आफ्ना कुराहरू राख्न पाएका थिए । विगतमा राजाहरू पाँच विकास क्षेत्र भ्रमणका नाममा जिल्ला-जिल्ला त पुगे तर राज्यले महिनौँ लगाएर पहिला नै तयार गरिदिएको तामझामबीच सर्वसाधारणको कुनै पहुँच नै पुगेन । त्यतिबेला राजपरिवारले या सर्वसाधारणले चाहेर एक-अर्कालाई भेट्न पाएका होइनन्, राजाहरूले जसलाई भेटे ती उनीहरूका आसेपासेले सिफारिस गरेका कारणले भेटे, तिनले जे कुरा राखे उनीहरूले त्यही पत्याए । राजाहरूको भ्रमणका बेला जम्मा हुने मानिसलाई ‘सुकिला मुकिला’ भएर आउन उर्दी नै जारी गरिन्थ्यो, जनताले भोगिरहेको वास्तविकतालाई नेपालको राजपरिवारले जस्ताको तस्तै आत्मसात् गर्नै पाएन । यता त्यतिबेला राजाहरूले लगाउने पोसाक पनि त्यस्तै हुन्थ्यो, किन हो थाहा छैन तर जिल्ला भ्रमणमा जाँदा राजाहरू -राजा वीरेन्द्र र ज्ञानेन्द्रलाई देखियो) प्राय: सैनिक पोसाकमा हुन्थे । पोसाककै कारण पनि जनतालाई राजाभन्दा पनि सेनाका प्रमुखलाई भेटेझैं हुनु स्वाभाविकै थियो । सर्वसाधारण र सेनाको पोसाक लगाएको मान्छेबीचको दूरी जहिले पनि लामै हुन्छ र त्यही दूरी त्यतिबेला राजपरिवारका सवालमा पनि रह्यो । तर, अहिले नेपाली जनताले शक्तिमा नभए पनि शायद आफूले चाहेजस्तो साधारण भेषमा हिँड्ने सर्वसाधारण ‘राजा’ पाए जो आफूजस्तै बिनातामझाम सार्वजनिक यातायातमा -सार्वजनिक एयरलाइन्स) चढेर आफ्नो गाउँ आइपुग्छ, जोसँग निर्धक्क आफ्ना दु:खसुख बाँड्न पाइन्छ । केही नगरोस् सही तर जसको आफ्नै पृष्ठभूमि छ, जो पदका लागि विदेशी गुहार्दैन, बरु आफैं पद-प्रतिष्ठा छोडेर सदियौंको इतिहासलाई नयाँ मोड दिँदै चुपचाप बस्न राजी हुन्छ । तराईका जनताले मात्रै होइन हिमाल र पहाडका जनताले खोजेको पनि यस्तै राजसंस्था थियो जो धेरै कुराको संरक्षक बनोस्, तर राजनीतिक रूपले आफैं सक्रिय नबनोस् । राजनीति सधैं विवादास्पद हुने हुँदा राजनीतिभन्दा माथि विवादरहित संरक्षकको खाँचो नेपाली जनतालाई शायद हिजो थियो, आज पनि छ र भोलि पनि रहनेछ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक