20100302

देउताले नि मान्छेले नि, छलेको नेपाल हुँ म

 - राजेन्द्र थापा
  बिना ऊर्जा, बिना पुर्जा, चलेको नेपाल हुँ म,
  आफ्नै चुल्होको आगोले, जलेको नेपाल हुँ म,
  युद्ध थामेको यो काँधलाई, शान्ति भारी भयो,
  आफ्नै मुटुको बोझले,  ढलेको नेपाल हुँ म,
  छातीभरि छ ढुकुटी,  हातमा छ माग्ने भाँडो,
  देउताले नि मान्छेले नि,  छलेको नेपाल हुँ म.....  

यो गजलमा मैले आजको नेपालको तस्बिर खिचेको छु। यो पूरा अब्जेक्ट देेखाउने गरी चौडा लेन्सले खिचेको नेपालको तस्बिर भएकाले चाहने हो भने यौटायौटा पाटोलाई फोकस गरी ब्लो अप अर्थात् सूक्ष्म विन्दुको बृहत् तस्बिर बनाउन तपाईं स्वयं सक्नु हुन्छ।  टिभीमा अन्तर्वार्ता नदिने गत २० वर्षदेखिको....
अनुरोध अस्वीकृतिको अडानका वावजुद दोश्रोपटक गत हप्ता भिजे प्रकाश सुवेदीको जालमा फसेर म कान्तिपुर टिभीको ग्ल्यामर गफ कार्यक्रममा गीतकार भाइ एसपी कोइरालासंगै सहभागी हुन पुगेको थिएँ। प्रकाश सुवेदीले ऊर्जासचिव एसपीलाई लोड सेडिङ सचिव भनी छेड हान्दै यदि १८ घण्टा लोडसेडिङ भयो भने देशमा के हुन्छ भनी सोधेका बेला मैले यही गजलको पहिलो शेर सुनाएको थिएँ।

  यहाँ २४ घण्टै लोडसेडिङ भए पनि देश चल्छ, किनभने ऊर्जाका लागि पुर्जै छैन। पुर्जा अर्थात कुनै यन्त्रबाट चल्ने भए पो ऊर्जा चाहिन्छ। धेरै प्रशंसकहरुबाट तत्सम्बन्धमा सहमति पाइएकाले आज यसै विषयलाई मैले टिपेको हुँ।

  वयल गाडामा पुर्जा  हुँदैन, त्यसैले ऊर्जाविनै त्यो चल्छ। गाडाभन्दा केही बढी पुर्जा साइकलमा भए पनि ऊर्जा चाहिन्न। त्यसैले त्यो पनि मस्तले चल्छ। मोटरसाइकलमा केही बढी पुर्जा, मोटरमा अझै बढी पुर्जा त्यसैले केही मात्र बढी ऊर्जा चाहिन्छ र त्यसैले थोरै मरमतमा यो नि अड्की अड्की भए नि लामै चल्छ। हवाईजहाजमा झन बढी, जेटमा झनै बढी पुर्जा र बढी ऊर्जा। बढी पुर्जा हुनासाथ, बढी ऊर्जा र गति बढी, उपलब्धि बढी र पुर्जा बिग्रनासाथ थला अर्थात् चल्न बन्द।

  आज संसार आइटीको पुर्जा का कारण वेगले अघि बढिरहेकोले उर्जाको अभाव भएमा धरासायी हुन पुग्छ। तर हामीले चलाई रहेको गाडामा यो लोडसेडिङले कुनै प्रभाव पारेको छैन किनभने गाडामा पुर्जा हुन्न र गाडालाई ऊर्जा चाहिन्न। चलायमान हुनुपर्योा भने बयल बाँध्यो, गाडा चलायो, चुनावमा जनत्ाालाई बाँधेर नेताहरुको स्वर्गयात्रा गर्दै गराउँदै। संसार जेट गतिमा वेगमान छ, ऊर्जाले चलाउँछ, ऊर्जाले नयाँ ऊर्जाको उत्पति गर्छ, उर्जाबाट ऊर्जा रिसाइकल, पुर्जाबाट पुर्जा रिसाइकल, अनि देश रिसाइकल, जनता रिसाइकल, समाज रिसाइकल।

  नेताहरु विचार, वाद, सिद्धान्तका फोस्रे गफ दिन्छन्, चेतनाको आगो बाल्दैछौँ भन्छन्। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको चक्कर खुवाएं भन्छन्, आम जनत्ाा भने भोको पेटको आगोले भत्भती पोलेर कहाली रोइरहेछ।

  ल सम्झौं त, १२ वर्षको युद्ध यही गरिब नेपालीले काँधमा बोकका हैनन् र? यही देशले रगतको खोला थामेको हैन र? बल्ल बल्ल भेटाएको शान्ति किन हामीलाई भारी भो? देश लठावज्र छ। फलानो नेताले फलानो थोक भन्यो भन्ने बाहेक के हामीले अरु केही सुनिरहेका छौं। तर के देश भनेको त्यै नेताले यो भन्यो र ऊ भन्यो हो त? गरिवीको मार खप्न नसकी च्युरीको बोटमा आमाबाबु र छोरी झुण्डिनुमा यही शान्ति बोक्न नसक्नु नै हैन र? शान्तिले जन्ताको पेटको चुल्हो जल्नु पर्थ्यो, तर आज त जातीयताको घृणाग्नि पो जलाइंदैछ। नेपालीहरु राज्य र प्रदेश हैन, गाँस वास कपास शान्ति सुरक्षा  मागिरहेका छन् तर नेता बुझ्दैनन्, आफ्नै मातमा मात्तिरहेका छन्।

  के छैन यो देशमा? देशलाई माया गर्ने नेताबाहेक सब छ यो देशमा। प्राकृतिक सम्पदाका हकमा पृथ्वीको उत्तरी धुर्वदेखि दक्षिण धु्रवसम्मका सबथोक छन्, जल, जमिन, जन के छैन यहां? कला संस्कृति सभ्यता भूगोल इतिहास के छैन यहाँ? तर देश भोको छ, नांगो छ, विक्षिप्त छ। एक अति सुन्दरी सर्वोत्तम पोसाक, श्रृंगार र गरगहनामा झलझलझल गर्दै उभिंदा यदि हातमा माग्नेको भाँडो हालिदिएमा कस्तो देखिएला? नेपाल पनि आज त्यस्तै रुप लिएर विश्वसामू उभिएको छ। यो देशलाई सबैले छले, राजाको नाममा, नेताको नाममा, पंचायत, वहुदल, प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्र या अन्य कुनै पनि नाममा यदि केही भएको छ भने, छलमात्र भएको छ।

  जनयुद्धमा के भएनन्? देशभरले जुठो बारेन? आफ्ना छातीका टुक्राहरु अझै बेपत्ता छन्। आजसम्म खबर नपाइएकाले अवश्य मरिसकेका छन्, त्यो पनि उनलाई थाहा छ। हिजो मारिने, यातना पाउने, घाइते, लुटिने, बलात्कृत, अपांगहरुको मनमा के आगो बलेको छैन होला? के बदलाको जोस नउठेको होला? के छातीमा तेजाब नउम्लेको होला? कारकहरु सबै आज सत्तामा छन्, मर्नेहरुका परिवार आज झनझन तल भास्सिंदै छन् तर पनि भैगो भैगो, जे भो जे भो, माफी, अब आयन्दा नहोस्, देशले सास फेरोस्, शान्तिको आगमन होेस् भनेर सहेका छन्, माफी दिएका छन्। तर खै आज शान्ति नै बलात्कृत छन्, हुँदाहुँदा कमल थापाले बन्द भनेर डकार्दा पनि बन्द, जन्त्ाा त्रसित, यस्को अर्थ जन्ता ठान्छन् यहां सरकार छैन, कमल थापाको डकारमा पनि कपास झुम्रो कोच्न नसक्ने सरकार खाली चिन्तामा मग्न छ, खै ढाल्ने पो हो कि, खै अर्को भ्रमण गर्न पो नपाइने पो हो कि? कमलले बन्द गर्योन त गर्योआ, म क्यारुम् त भन्दै छ सायद सरकार यो शान्तिको भारले थिचिएर पिचिक्क छ, भरे ढाल्छ कि भोलि ढाल्छको त्रासले त्रसित। अरे ढाले ढाल् म यो गाडी हाँकी छाड्छु भनेर यो सरकार जुरुक्क उठ्ने त्यो दिनको प्रतीक्षामा जनता अझै नेटोतर्फ हेर्दैछन्, झिनोमसिनो त्यान्द्रे आशा लिएर।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक