- भवसागर घिमिरे
रुपन्देहीको मझगाउँस्थित एक इँटाभट्टामा एउटी बालिकालाई बलि दिइएको आशंका गरिएको छ। मझगाउँकै ८ वर्षे दलित बालिका मनिषा हरिजनलाई त्यहि गाउँमा बन्दै गरेको इँट्टाभट्टाका मालिकले बलि दिएको आशंका गरिएको हो। बली दिइएको शंका गरिएको इँटा भट्टा, इँटाभट्टाको चुल्होनिर फालिएको नरिवलको खपटा र इँटामा रगतजस्तै देखिएको टाटा मनिषालाई गाउँमा झाँक्री काम गर्ने नेवास पालको निर्देशनमा बलि दिइएको शंका गाउँलेले गरेका छन्। मानव बलि दिएमा उद्योग नाफामा जाने अन्धविश्वास छ। मनिषाको शव गएको मंसिर १९ गते बिहान घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि ३ सय मिटर उत्तरतिर भेटिएको थियो। स्थानीय एक बालकले सौच गर्न जाँदा लास देखेपछि मनिषाका बाबु राजुलाई खबर गरेका थिए। लास रगतले लत्पत्तिएको र कुलोछेउ झाडीमा फेला परेको स्थानीय जागरण एफएमका सञ्चारकर्मी दिनेश हरिजनले बताए। 'भट्टाको दुई चुह्लोवरपर रगत लत्पत्तिएको, फूल, नरिबलको खपटा, अगरबत्ती भेटिएको थियो,' लास फेला परेको भोलिपल्टै घटनास्थल पुगेका सञ्चारकर्मी दिनेशले भने, 'पर्सिपल्ट राष्ट्रिय मानव अधिकार .....आयोग, महिला मानवअधिकार रक्षक सञ्जाल सहितका अधिकारकर्मी त्यहाँ पुगेर अवलोकन गरेका थिए।'
मनिषाको परिवारका अनुसार उनी १८ गते साँझ घर नआएपछि उनका बाबु राजु र केही गाउँले मिलेर खोजी गरेका थिए। कामदारबाट केही खाजा पाउने आसमा मनिषा इँट्टाभट्टामा जाने गर्थिन्।
यता, इँट्टाभट्टामा भेटिएको रगत मनिषाको हो/होइन भनेर डिएनए परीक्षणका लागि राजधानी ल्याइएको रुपन्देहीका प्रजिअ नगेन्द्र झा बताउँछन्। 'प्रयोगशालाबाट नतिजा आएपछि मात्र यो कुराको टुंगो लाग्नेछ,' प्रजिअ झाले टेलिफोनमा भने, 'अदालतले निर्क्यौल नगरेसम्म बलि हो भन्न सकिँदैन।'तर काठमाडौंस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका सहायक वैज्ञानिक अधिकृत निराजन थापाले भने बिहीबार साँझसम्म यस्तो कुनै केस नआएको बताए। रुपन्देहीका प्रहरी उपरिक्षक छविलाल बन्जाडेले भने डिएनएका लागि नभई मान्छेको रगत हो कि हैन भनेर सामान्य परीक्षण गर्न राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगन्ज पठाइएको जानकारी दिए। मृत फेला परेकी बालिका मनिषा हरिजनको हत्यामा संलग्न आरोपित स्थानीय वीरेन्द्र जैसवाल र नेवास पाललाई माघ दोस्रो साता जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ। जैसवालसँगै पक्राउ परेका इन्द्रबहादुर चमार, सुकइ यादवलाई जनही ८ र १० हजार रुपैयाँ जरिवाना तिराएर तारेखमा रिहा गरिएको छ। शंकास्पद ठानिएका अन्य दुई जना सोधपुछपछि छुटेका छन्।
सञ्चारकर्मी दिनेशले भने, 'मनिषा मारिएको अवस्थामा भेटिएपछि गाउँलेहरू प्रहरी कार्यालय घेर्न पुगेका थिए।' सत्यतथ्य बुझेर मात्र केस दर्ता गरिने भन्दै प्रहरीले सुरुमा दर्ता गराउन नमानेको दिनेश बताउँछन्। 'स्थानीय प्रहरीले नमानेपछि जिल्ला प्रशासनमा आएर दबाब दियौं,' घटनास्थल अवलोकन गरी फर्केकी रुपन्देहीकी अधिकारकर्मी किरण पन्थीले भनिन्, 'अनि मात्र मुद्दा दर्ता गराउने आश्वासन प्रजिअले दिएका थिए।'
घटनाबारे समाचार प्रसारण, प्रकाशन गरेको भन्दै आरोपीका तर्फबाट स्थानीय सञ्चार माध्यमका पत्रकारलाई धम्की आउने गरेको एक सञ्चारकर्मीले बताए। प्रारम्भिक प्रकृति हेर्दा बालिकालाई बलि दिइएको हुन सक्ने स्थानीय प्रहरी नरहरि अधिकारीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ।
एसियन ह्युमन राइट्स कमिसनले पनि घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य बुझ्नका लागि प्रेस वक्तव्य जारी गरिसकेको छ। आरोपीका परिवारले भने उच्च रकमको प्रलोभन दिएर मनिषाको परिवारलाई मुद्दा फिर्ता लिन दबाब दिएको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले बताए।-नागरिक
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक