गृहमन्त्री भीम रावलले शान्ति सुरक्षा कायम राख्न दुवै प्रहरी संगठन असफल भएको बताउनुभएको छ। सरकारले लागू गरेको विशेष सुरक्षा योजनालाई लक्षित बिन्दुमा पुर्याउन नसके प्रहरी अधिकृतहरूले कारबाही भोग्नुपर्ने चेतावनी पनि गृहमन्त्रीले दिनुभएको छ। बुधबार नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल र सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा छुट्टा-छुट्टै आयोजित छलफल कार्यक्रममा सहभागी गृहमन्त्री रावलले राजधानीको संवेदनशील क्षेत्र मानिएको लाजिम्पाटमा स्पेसटाइम नेर्टवर्कका अध्यक्ष जमिम शाहको हत्या हुँदा प्रहरी टोली समयमा नै परिचालन हुन नसकेको कारण अपराधी भाग्न सफल भएकाले प्रहरीको अनुसन्धान सुधार गर्नसमेत निर्देशन दिनुभएको थियो। उहाँले जमिम शाह हत्याकाण्डमा प्रहरीको समेत संलग्नता रहेको समाचार आउनु दुःखद भएको बताउँदै प्रहरीको आचरणमा सुधार आउन नसकेकाले त्यर्सतर्फ प्रहरी नेतृत्वलाई गम्भीरतापूर्वक ध्यानदिन निर्देशन गर्नुभएको बताइएको छ। उहाँले विशेष सुरक्षा योजना लागू भएपछि राजधानीलगायतका देशका प्रमुख शहरहरूमा अपेक्षाकृत रूपमा सफल भए पनि यस्ताखाले अपराध नियन्त्रण गर्न प्रहरी अझै चनाखो हुन निर्देशन दिनुभएको उक्त कार्यक्रममा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए।
माओवादी अध्यक्ष कमरेडले छलाङ हानिदिनुभो भैँसीपूजा गरेर, बाँचि रहियो भने अझै के-के देख्न पाइने हो प्रभु !
'भ्यालेन्टाइन डे' को पूर्वसन्ध्यामा कमरेड पुष्पकमल दाहाल प्रचण्डले भैँसीपूजा गर्नुभयो- सुनसरीको चतरामा । (अन्नपूर्ण पोष्ट, १ फागुन, प्रथम पृष्ठ) यद्यपि भ्यालेन्टाइन र भैँसीको कुनै साइनो छैन र सन्दर्भ त्यो थिएन पनि । अढैया शनिदशाको 'उपचार' का क्रममा सुनसरीको एउटा भैँसीले भाग्यमानी हुन पायो, द्वन्द्वात्मक भौतिकवादी कमरेडका हातबाट पुजिएर । हामी अध्यात्ममा विश्वास गर्नेहरू लक्ष्मीपूजाका
दिन गाईलाई माता मानेर पूजा गर्छौं, माओवादी अध्यक्ष कमरेडले छलाङ हानिदिनुभो भैँसीपूजा गरेर । बाँचिरहियो भने अझै के-के देख्न पाइने हो प्रभु ! संविधानमा व्यवस्था गरिएको मौलिक हकले ज्योतिषीकहाँ जान हात-चिना हेराउन, जप लगाउन, ग्रह-शान्ति गराउन कमरेड दाहाललाई छेकबार लगाएको छैन । त्यसैले उहाँले भैँसी, राँगो या बँदेल जे पुजे पनि स्वतन्त्र देशको स्वतन्त्र नागरिकको स्वतन्त्रताको कुरा थियो, समाचार बनाइरहनुपर्ने विषय नै थिएन । तैपनि कमरेडको भैँसीपूजन समाचारका रूपमा छापियो, किनकि प्रश्न सामान्य संवैधानिक अधिकार र अध्यात्मसँग मात्र सम्बन्धित थिएन, कमरेडले बोकी...
आउनुभएको राजनीतिक-सांस्कृतिक चेत, दर्शन र धरातलको प्रश्नले यहाँनिर ठाउँ पाउँछ । 'द्वन्द्वात्मक भौतिकवाद र भैँसीपूजन' शीर्षकमा खगेन्द्र संग्रौलाको लेख गड्गडाएर आउन बाँकी नै छ । पंक्तिकारले त यसो भूमिका मात्रै कोरिराखेको हो ।
समाचारअनुसार, सुनसरीको चतरास्थित स्वास्थ्य साधना शिविरको ग्रहउपचार स्थलमा माघ मसान्तका दिन उपलब्ध हुनुहुन्थ्यो माओवादी अध्यक्ष दाहाल । उहाँलाई मन्त्रचिकित्सक (ज्योतिषी) मधुसूदन रिजाललगायतका केही ज्योतिषीले ग्रहशान्ति गराएछन् । (तस्बिर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ) ज्योतिषीहरूका अनुसार भदौ २० यता दाहाललाई अढैया शनिदशाले गाँजेको छ । 'शनि कुण्डलीमा विद्या-बुद्धि स्थानमा उच्च भएको हुनाले निराशचाहिँ बनाइनहाल्ने, तर काममा पूर्ण सफलता नदिने योग रहेको' बताएका छन् ज्योतिषीहरूले । यस्तो शनिदशालाई 'ठीक पार्न' भैँसीको पूजा गरिसकेपछि अध्यक्ष दाहाल पक्कै प्रसन्न भएको हुनुपर्छ, सफलताको वैतरणी तर्न नवीन सांस्कृतिक रूपान्तरणको मार्ग प्रविष्ट गरेकोमा । माओ त्सेतुङको उसवेलाको सांंस्कृतिक क्रान्तिलाई भन्दा यो वेलाका माओवादी अध्यक्षको यो नयाँ सांंस्कृतिक हर्कतलाई समर्थन गर्छ पंक्तिकार । रूढि होला, तर गम्भीर गडबडी समाजमा पैदा गरिहाल्दैन 'ग्रहशान्ति' तर्फको कदमले । शनिलाई 'सफाया' गर्न भैँसीको आराधना गरिसकेका माओवादी अध्यक्षको माओको सांस्कृतिक क्रान्तिलाई हेर्ने दृष्टिकोण माग गर्ने जिम्मा खगेन्द्र संग्रौलाज्यूलाई छाडेर 'मान्छेका कथा' को मध्यान्तरमा प्रवेश गर्छ अब पंक्तिकार ।
०११ साल मंसिर २६ गते शनिबार बेलुकी सात बजे मिथुन राशि लिएर जन्मिएका छविलाल उर्फ पुष्पकमल दाहाल उर्फ कमरेड प्रचण्डलाई गाँजेको भनिएको शनिदशाको 'रे' र 'रिफ्ल्याक्सन' हाम्रो संविधान निर्माणको यात्रामा पनि परेको हो ? तत्कालीन प्रमुख प्रतिपक्ष कांग्रेसलाई प्रमुख शत्रु ठहर्याउने र तत्कालीन सत्ता-सहयात्री दलहरूसँगको मित्रता पनि टिकाइरहन नसक्ने प्रवृत्ति के शनिकै गर्भबाट जन्मिएको हो ? सेनापति छाडौँ, जम्माजम्मी पशुपतिको पुजारीसम्म हटाउन नसकेको कमजोर प्रधानमन्त्री के शनिकै कृपा हो ? भनेपछि सरकार ढल्नुमा स्वदेशी या विदेशी प्रभु होइनन्, आफैँभित्रको शनिप्रभुको हात देखियो । 'अब मालिक भारतसँग मात्र वार्ता गर्ने' भनेर कुर्लिसक्दा साँझ सोझै माधव नेपालसँग 'चियर्स' मा कुदाउने तत्त्व पनि शनि नै पुष्टि भयो । 'बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिइरहेको छ' भनेर त्यही शनिप्रसादले नै जिब्रो लट्पट्याइदिएको हुनुपर्छ । नागरिक सर्वोच्चताको आन्दोलन भन्यो, नागरिक आउने होइनन् सडकमा । त्यही शनिराजले रोकेको हुनुपर्छ । सरकार ढाल्ने भनेर लाख कराउँदा पनि कमरेड दाहालको देबे्रतिर शनि भएपछि बाँकी ग्रह माधव नेपालको दाहिना । त्यसैले यो सब पत्ता लागेपछि संकटमोचनका लागि सिँगारियो भैँसी । किनकि शनिदेवलाई वाइसिएल लगाएर तह लगाउन नसकिने । भँैसीमाता प्रसन्न भइन् भने नेपाली राजनीतिको नक्सा बदलिने कुरामा ढुक्क भएको हुनुपर्छ, माओवादी अध्यक्ष दाहाल ।
उस युगमा रोमनसम्राट् कलिगलाले आप\mनो पि्रय घोडालाई मन्त्री नै बनाएका थिए रे ! जर्ज अर्बेलको 'एनिमल र्फम' मा पशुहरूले नेतृत्व कब्जा गरे । आजको तिथिमा आइपुग्दा देउतै भएर पुजियो भैँसी । तैपनि 'भैँसीपूजक नेता' भनेर हामी दाहाल कमरेडको अध्यात्मतर्फको यात्रालाई निरुत्साहित गर्न सक्दैनौँ । पालुङको एक कार्यक्रममा 'भैँसी चराउनेले रुक्मांगदलाई बहाली गरे' भनेर शिष्टतालाई उहाँले चीरहरण जो गर्नुभएको थियो, त्यो गल्ती औँल्याउँदै गल्तीलाई पछ्याउन सक्दैनौँ हामी । भैँसी चराउनु न पाप हो, न भैँसीका पाउमा अक्षता चढाउनु पुण्य, बड्का दलका बडे नेतालाई यो पढाउने धृष्टता म गर्दिनँ, यो जिम्मा पनि खगेन्द्र संग्रौलालाई नै ।
भैँसीपूजाको परिणाम जे होला, छँदै छ । तर, नेपाली समाजको नेतृत्व गरिरहेका सबैथरी राजनीतिकर्मीभित्र करुणा, प्रेम र धार्मिक भावको उत्पत्ति भइदिँदा हाम्रो समाज शान्त र सुसंस्कृत बन्नलाई व्यापक सघाउ पुग्ने निश्चित छ । पुजारीको टुपी काटिहिँड्ने, बाहुनका जनै चुँडालिहिँड्ने कुनै वेला हाम्रै समाजमा देखिएका यस्ता प्रवृत्तिलाई 'धर्म अफिम हो भने तिमी नखाऊ, तर अरूको धार्मिक आस्थामा हस्तक्षेप नगर' मात्रै भन्न सकिन्थ्यो । तर, समय कसरी बद्लिएछ भने पण्डित नारायण पोखरेलको जीवन सफाया गर्ने गोत्रका मित्रहरूले उनैका सुपुत्र दीनबन्धुका मुखारविन्दबाट पुराणको श्रवण गरे । तिजमा रातो सारी लगाएर छमछमी नाच्नुभो हिसिला यमी, मनकामनाको दर्शनमा जानुभयो डा. बाबुराम । दसैँमा कैयौँले टीका-जमरा लगाएर आफूभित्रको 'जिन' लाई सुरुङबाहिर आउन दिए । सुरुङ निषेधित छ- बद्लिएको समयमा । व्यक्ति-व्यक्तिलाई खुला स्वतन्त्रता छ देउता मान्न या 'पार्सल गरेर स्वर्ग पठाइसकिएको' ठान्न । त्यसैले राजनीतिक दर्शनको केस्रा केलाएर माओवादी पार्टीको पोलिटब्युरोमा 'अढैया शनिको मन्त्र जप पनि गर्नुभएछ नि कमरेड' भनेर अध्यक्ष कमरेडलाई नसोधिएला भन्ने अपेक्षा म गर्छु । किनकि कर्मकाण्डप्रति उहाँमा जन्मिएको जाँगर उहाँको नितान्त व्यक्तिगत मामिला हो भनेर कमरेड किरणहरूले बुझिदनुको अर्को विकल्प छँदै छैन ।
यद्यपि, माओवादी पार्टीको उपल्लो तहका कमरेडहरूले अब उप्रान्त अध्यक्षको नवीन सांस्कृतिक हर्कतहरूप्रति गम्भीर चासो र सतर्कता राख्ने कुरा भने नाजायज पक्कै हुनेछैन । किनकि सबै कमरेड जानकार हुनुहुन्छ- हिंसा छाडेपछि चन्दन, रुद्राक्षको माला र गेरु वस्त्रमा बेरिन अढाई दशक लागेको थियो, कमरेड मोहनचन्द्र अधिकारीलाई । तर, पुष्पकमल दाहाल कमरेडले त शान्तिमार्गमा आएको अढाई वर्ष मात्रै पुगिसक्दा 'लङ-जम्प' हानिदिनुभो ।
उहाँ मोहनचन्द्रझैँ 'स्लो' होइन 'शूरवीर' हुनुहुन्छ, यसमा शंका छैन । तर, प्रचण्डपथको लंकादहन गरेर के मोहनचन्द्रपथ समाउने चक्करको शिलान्यास हो भैँसीपूजा ? लौ है कमरेड हो ! श्री भैँसीमाताले हामी सबैलाई कल्याण गरून् । जय नेपाल !
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक