20100122

राजधानीमा मात्रै वाईसीएलका २८ वटा क्याम्प, जहाँ १५ देखि दुई सय ५० सम्म वाईसीएल कार्यकर्ता,अर्धसैन्य संरचनामै !


माओवादीले अझै पनि भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई क्याम्पभित्र अर्धसैन्य संरचनामै राखेको छ । राजधानीमा मात्रै २८ वटा क्याम्प छन्, जहाँ १५ देखि दुई सय ५० सम्म वाईसीएल कार्यकर्ता बस्छन् । उनीहरूले नेपाल प्रहरीको जस्तै 'प्रभाग र वृत्त' बनाएका छन् । काठमाडौं र ललितपुरको रिङरोड तथा कीर्तिपुरका साथै भक्तपुरको नाकामा उनीहरूलाई समूहगत रूपमा माओवादीले राखेको छ । सुरक्षाका दृष्टिकोणले उनीहरू रणनीतिक स्थानमा छन् । माओवादीले ०६५ असारमा सात दलबीच भएको सहमतिमा वाईसीएलको अर्धसैनिक संरचना भंग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा उसको सैन्य संरचनाको व्यापक आलोचना भए पनि विघटन गर्न माओवादीले अस्वीकार गर्दै आएको छ । आफू सरकारमा गएपछि पनि उसले पटकपटक........
वाईसीएलको अर्धसैनिक संरचना भंग गर्ने र कब्जामा रहेको भवनमा नबस्ने प्रतिबद्धता गरेको थियो । वाईसीएलले भने संगठन क्याम्पमा नबसेको दाबी गरेको छ । तर तथ्य र तथ्यांकले उनीहरू अझै सैन्य संरचनामा बसेको देखाएको छ । आफ्ना कार्यकर्ताहरू व्यक्तिगत रूपमा डेरा लिएर बसेको दाबी उसले गरेको छ ।

गृह स्रोतका अनुसार वाईसीएल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापाको कमान्डमा बालाजुमा १२० देखि १२५ जनाको समूह भाडाको घरमा बस्दै आएको छ । त्यस्तै कीर्तिपुर पाँगास्थित विजय लामाको घर भाडामा लिएर १३० देखि १४० सम्म बसेका छन् । त्यसको कमान्ड प्रताप मगरले गरेका छन् । सबभन्दा बढी काठमाडौं महानगरपालिका ठमेल भगवती बहालस्थित अष्टनारायण महर्जनको भाडाको घरमा मिलन मल्लको कमान्डमा २५० को समूह बस्दै आएको छ । काठमाडौंकै म्हैपीमा सूर्यबहादुर तामाङको कमान्डमा १३० जना बस्दै आएका छन् । सीतापाइलामा रूपेश शर्माको कमान्डमा १००, कामनपा ३४ मा विनायक धु्रवमार्गमा आकाश महर्जन र धनबहादुर श्रेष्ठको कमान्डमा १५० जना बस्दै आएको गृहले जनाएको छ । कपन, जोरपाटी नयाँबस्ती, जडिबुटी, क्षत्रपाटीचोक, नयाँबसपार्क, कामनपा ७ जनमिलाप गल्ली, डल्लु, टंकेश्वर, वज्रयोगिनी र तीनथानामा पनि कम्तीमा ५० जनाको समूहमा वाईसीएलका कार्यकर्ता बस्दै आएका छन् ।

भक्तपुरको दधिकोट, चित्रपुरमा हरि क्षेत्रीको कमान्डमा १५० बस्दै आएका छन् । त्यहाँ उनीहरू रामलाल राजथलाको घर भाडामा लिएर बसेका छन् । झौखेल ३ लक्ष्मण खडकाको कमान्डमा ७० जना, भक्तपुर नगरपालिका टे्रेड युनियनको सल्लाघारी कार्यालयमा भास्कर प्रधानांगको कमान्डको नेतृत्वमा ४० जना बस्दै आएका छन् । त्यस्तै गठ्ठाघर, सीपाडोल, सुकुलढोकामा पनि कम्तीमा १५ जनाको दरले वाईसीएल क्याम्प जमाएर बसेका छन् । ललितपुरको इमाडोल ४, बालकुमारीस्थित हाल राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको खन्ना गार्मेन्टमा ६० पुरुष र २५ महिला बसेका छन् । त्यसको नेतृत्व लालध्वज नेवाङ रहेको स्रोतले जनाएको छ । उनीहरू बसेका ठाउँमा बिहान र बेलुका तालिम हुने गरेको छ । अधिकांश स्थानमा उनीहरू भाडामा बस्दै आएका छन् । तर काठमाडौंको वज्रयोगिनी ३ मा फिल्मी हल, ललितपुरको बालकुमारीस्थित राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको खन्ना गार्मेन्ट र भक्तपुर ८ को सुकुलढोकामा गुठीको भवनमा बसेका छन् ।

वाईसीएल संयोजक गणेशमान पुनले आफ्ना कार्यकर्ता विकेन्दि्रत -अलगअलग) रूपमा बसेको दाबी गरे । 'सैन्य संरचनामा क्याम्प जमाएर बसेको भन्ने मिडिया प्रचार मात्र हो,' उनले भने, 'वाईसीएललाई बदनाम गर्ने र खतम गर्ने रणनीतिअन्तर्गत चलाएको सुनियोजित हल्ला हो ।' उनले अग्रगमन परिवर्तनको विरुद्धमा हुनेहरूले वाईसीएल सैन्य संरचनामा बसेको प्रचार गर्दै आएको उल्लेख गरे । वाईसीएल केन्द्रीय कार्यालयका अनुसार मुलुकभर करिब १२ हजार पूर्णकालीन कार्यकर्ता छन् । राजधानीमा मात्रै करिब हजार पूर्णकालीन वाईसीएल कार्यकर्ता रहेको केन्द्रीय कार्यालय सचिव आरसी शर्माले जानकारी दिए । 'हामी विशेष गरी संघर्षका कार्यक्रममा केन्दि्रत छौं,' उनले कान्तिपुरसँग भने, 'त्यस्तै उत्पादन र संगठन निर्माणका काममा लागेका छौं ।' उनले सम्भव भएसम्म सामूहिक रूपमा बसेको जानकारी दिँदै अर्धसैनिक संरचनामा बसेको भन्ने गलत भएको दाबी गरे । उनले राजधानीका विभिन्न स्थानमा च्याउखेती, तरकारी खेती, हाते उद्योग चलाएर 'गुजारा' गरिरहेको जिकिर गरे । माओवादी सेनाका अस्थायी शिविरबाट बिदा भएका 'अयोग्य' लडाकुलाई पनि उसले सकभर वाईसीएलमा राख्ने योजना बनाएको छ । लडाकु शिविरबाट करिब तीन हजार 'अयोग्य लडाकु' धमाधम बहिर्गमन भइरहेका छन् । वाईसीएल संयोजक पुनले भने पार्टीमा काम गर्ने उनीहरूको इच्छालाई कदर गर्ने जनाए । 'अयोग्य भनिएका कुनै पनि साथीहरू जुनसुकै संगठनमा लाग्न सक्छन्,' उनले भने, 'हाम्रो संगठनमै लाग्नुपर्छ भन्ने छैन ।' -कान्तिपुर

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक