20100113

प्रचण्ड र बाबुराम : अर्काको टाउकोमा दोष थोपर्न प्रचण्ड सदा सफल, बाबुरामको कद घटाउन प्रचण्डको अनेक रणनीति



- देवप्रकाश त्रिपाठी
एउटा परम्परावादी खाँटी कम्युनिष्ट विपक्षी या विरोधीहरूबाट आफ्नो प्रशंसाको अपेक्षा राख्दैन। वर्ग–सङ्घर्षको आधारभूत नियम र मर्मप्रति प्रतिबद्ध कम्युनिष्टको लोकतान्त्रिक मूल्य एवम् मर्म र मान्यतासँग कुनै प्रकारको साइनो रहँदैन। त्यस्ता रुढिवादी कम्युनिष्ट आफूलाई 'यजमानभन्दा सदैव पवित्र र उच्च ठान्ने पुरोहित' झैं बेग्लै कोटिको ठान्छन्। आफूसम्बद्ध पार्टीका कार्यकर्ता, समर्थक र सहयोगीहरू अब्बल दर्जाका मानव, बाँकीहरू जम्मै 'चेतनास्तर कमजोर भएका मानिस' या दुश्मन हुन् तिनका दृष्टिमा। यस कोटिका कम्युनिष्टहरू आफूइतरका कसैले पार्टीको या पार्टीका कुनै नेता–कार्यकर्ताको भूमिकाको प्रशंसा गर्योो भने कहीँ गल्ती भएछ कि भनेर दसौंपटक समीक्षा–बैठक गर्छन् र 'गल्ती' पत्ता लगाउने प्रयास गर्छन्। 'गल्ती' भेटिएन भने उनीहरू प्रशंसा गर्ने पक्षको पृष्ठभूमि र गर्नुको कारणबारे अध्ययन–अनुसन्धान..........
सुरु गर्छन्। प्रचण्ड र बाबुराम भट्टराईबारे चर्चा गर्न लागिएको यस लेखमा पनि कतै प्रचण्ड या बाबुराममध्ये कसैको प्रशंसा हुन पुगेछ भने पार्टीभित्र सम्बन्धित नेतालाई शङ्काको दृष्टिले हेरिन्छ भन्ने जान्दाजान्दै पनि यहाँ माओवादीका उपल्लो तहका नेता रहेका प्रचण्ड र बाबुरामबारे सङ्क्षिप्त चर्चा गर्ने धृष्टता गरिएको छ।
मानिसमा व्यक्तित्वको मूलतः तीनवटा पत्र (तह) हुन्छन्। पहिलो, झट्ट हेर्दा देखिने बाहिरी पक्ष ९यगत यियप० हो, जसमा अनुहार, उचाइ, शारीरिक, बनावटको अन्य पक्ष तथा पहिरनले निर्धारण गर्ने व्यक्तित्व पर्छ। वाणीमा प्राकृतिक रूपमा प्राप्त माधुर्य, आफूले विकास गरेको नम्रता, तर्क–क्षमता, प्रस्तुतिमा कलात्मकता तथा भद्रपनले व्यक्तित्वको दोस्रो पत्र (तह) खोल्छ। व्यक्तित्वको तेस्रो तह खुल्नचाहिँ व्यक्तिलाई अलिक गहिराइमै बुझ्नुपर्ने हुन्छ। ज्ञानको गहिराइ, चिन्तनशीलता या चिन्तन–क्षमता, इमानदारी, विश्वसनीयता, जीवनशैली, निर्णय–क्षमता, गाम्भीर्य, स्थिरता, शालीनता र सकारात्मकताले व्यक्तित्वको तेस्रो तह (पत्र) दर्शाउँछ। मानिसको स्थायी व्यक्तित्व पनि यही नै हो। देखिने या वार्तालापका क्रममा खुल्ने व्यक्तित्व घरमा गरिने रंगरोगन र साजसज्जाजस्ता हुन् तर सङ्गत या  लामो अध्ययनपछि बुझिनेचाहिँ वास्तविक व्यक्तित्व हो।
माओवादीका बहुचर्चित नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईको तुलना गर्न सकिने अनेकांै आधारहरू छन्। प्राज्ञिक, पारिवारिक र राजनीतिक पृष्ठभूमिबाहेक स्वभावगत अन्तर तथा नकारात्मक चिन्तनभावको तुलनात्मक विश्लेषण गर्दा उहाँहरूबीचको भिन्नता खुट्याउन सकिन्छ। दुई नेतालाई कम्युनिष्टका रूपमा बुझ्न खोज्दा देखिने एउटा स्पष्ट भिन्नता के हो भने प्रचण्ड आफंैले दुःख पाएर कम्युनिष्ट बन्नुभएको महसुस हुन्छ र बाबुराम भट्टराईचाहिँ अर्काको दुःख देखेर कम्युनिष्ट हुनुभएको भन्ने लाग्छ। आफंैले दुःख पाएर कम्युनिष्ट बनेकाहरू अलिक कठोर, कुण्ठित र निर्मम हुन्छन्, अर्काको दुःख देखेर कम्युनिष्ट भएकाहरूमा चाहिँ उदारता र व्यावहारिकताको बेग्लै विशिष्टता भेटिन्छ।
डा. बाबुराम भट्टराई एक बौद्धिक तथा अध्ययनशील व्यक्ति हुनुहुन्छ। उहाँको प्राज्ञिक व्यक्तित्व कम्युनिष्ट आन्दोलनमा 'एडजस्ट' हुन सङ्घर्षरत छ, तर अध्ययनको दायरा सङ्कुचित र एकोहोरो हुने कम्युनिष्ट कार्यकर्ताहरूमाझ डा. भट्टराई कसरी निर्वाध सास फेर्दै हुनुहोला– एउटा रोचक जिज्ञाशा पैदा हुनु स्वाभाविक छ। कम्युनिष्टहरू मार्क्सलाई सर्वज्ञाता एवम् महान् मान्छन् र कम्युनिष्ट आन्दोलनभन्दा बाहिरको संसारलाई व्यर्थ, बर्बादी र विकृतिको उपजका रूपमा लिन्छन्। सबैलाई समान बनाउने कोरा कल्पनाजन्य आदर्शको छातामुनि गोलबद्ध बबुराहरूको भावनामा खेल्दै चरम महत्त्वाकाङ्क्षी एवम् सत्तामुखी व्यक्ति पार्टीको केन्द्रबिन्दुमा पुग्ने र तिनै व्यक्तिको आकाङ्क्षालाई पार्टीको आकाङ्क्षाको रूपमा बुझ्नुपर्ने बाध्यकारी अवस्था हरेक कम्युनिष्ट आन्दोलनमा देखिन्छ र नेपाली कम्युनिष्ट आन्दोलनको माओवादी धारमा पनि यस्तै प्रवृत्ति प्रकट भएको छ। रुढिवादी र अल्पशिक्षित कम्युनिष्टहरूको प्रज्ञा र प्राज्ञिकहरूसँग सधैं वैरभाव रहन्छ। रसियाली क्रान्तिका बौद्धिक एवम् व्यावहारिक नेता ट्राटस्की लेनिन र स्टालिनहरूको कोपभाजनमा सधैं परिरहे र अन्त्यमा उनी स्टालिनद्वारा मारिए। आफूभन्दा बौद्धिक, ज्ञानी र लोकप्रिय हुनसक्ने सम्भावना भएकै कारण माओत्सेतुङले लिन प्याओलाई सिध्याएका हुन्। बौद्धिक तथा उदार नेता देङ सियाओ पिङलाई माओले कतिसम्म सास्ती दिएका थिए भन्ने बुझ्न उनकै छोरी देङरोङद्वारा लिखित पुस्तक पर्याप्त छ। नेपालको माओवादी आन्दोलनमा बाबुराम भट्टराई यस्ता नेता दरिनुभयो जो अत्यन्त साधारण जीवनशैलीमा विश्वास गर्नुहुन्छ, इमानदार र काममा प्रतिबद्ध हुनुहुन्छ, मन्त्री (अर्थ) का रूपमा रहँदा अधिकांश मानिस असफल हुन्छन् र आफ्नो उचाइ पूर्ववत् कायम राख्न सक्दैनन्, घटाउँछन्। तर डा. बाबुराम त्यस्ता अत्यन्त सीमित व्यक्तिमध्ये पर्नुहुन्छ जसले मन्त्री भएपछि आफ्नो उचाइ थप्नुभएको छ र देशमा इमानदार र कर्मशील नेताको उपस्थिति रहेको आभास दिलाउनुभएको छ। भूमिगत जीवनमा प्रवेश गर्नु अगावै एउटा विशिष्ट मान्छेको छवि निर्माण गरिसक्नुभएको हुनाले सशस्त्र सङ्घर्ष प्रचण्डको नेतृत्वमा चलिरहँदा पनि जनताले चाहिँ बाबुरामलाई नै मूल नेताको रूपमा बुझ्ने र चर्चा गर्ने गर्दथे। त्यसबेला प्रचण्डले आफ्नो नाम र अनुहार स्थापित गर्न पार्टीमा विशेष निर्णय नै गराउनुपरेको थियो। नेतृत्व एउटाको हुने तर नेताका रूपमा अर्कै व्यक्तिको चर्चा हुने गरेको सन्दर्भले प्रचण्डलाई कति पीडा दिएको थियो भन्ने तथ्य अनेकौं सन्दर्भहरूमा प्रचण्ड स्वयम्बाट अभिव्यक्त हुँदै आएको छ। ०६३ सालमा जनआन्दोलनको सफलतापश्चात् भूमिगत जीवन त्यागेर सार्वजनिक हुँदा प्रचण्डको बाह्य व्यक्तित्व ९यगत यियप० ले धेरैलाई प्रभावित तुल्याएको थियो। निश्चित सम्झौता–प्रक्रियाद्वारा प्रचण्ड सार्वजनिक हुने परिस्थिति सिर्जना भएको भए पनि उहाँमा युद्धविजयीको भाव झल्किन्थ्यो र एउटा 'बहादुर'को भूमिकामा आफू रहेको अभिनय उहाँ गर्नुहुन्थ्यो। दसवर्षे सशस्त्र सङ्घर्ष यदि एउटा युद्ध थियो र त्यसमा कोही विजयी भएका थिए भने त्यसको यश (जस) मोहन वैद्य किरणलाई जानुपर्थ्यो या सार्वजनिक नेताका रूपमा डा. बाबुराम भट्टराईलाई पनि जानसक्थ्यो। तर, 'युद्ध' र 'युद्ध सफलता'को जस (यश) न वास्तविक योजनाकारलाई प्राप्त भयो न जनताले चिनेका सार्वजनिक नेतालाई नै गयो। कारणवश नेतृत्वमा पुर्याोइएका प्रचण्डले सम्पूर्ण जस (यश) लिने प्रयत्न गर्नुभयो र यसमा धेरै हदसम्म उहाँ सफल पनि हुनुभएको छ। मोहन वैद्य त बेलाबखतमा कुना या किराना पारिनुभएकै छ, डा. बाबुराम पनि आफैंले रचेको सङ्घर्षको नायक अरू कसैलाई मान्न बाध्य हुनुहुन्छ र आफ्नै पार्टी हो कि परायाको छुट्याउन नसकिने गरी किनारामा पुर्यालइनुभएको छ।
प्रचण्ड आफू बाँचुञ्जेल अरू कसैलाई पार्टीको मूल नेतृत्वमा आउन दिन चाहनुहुन्न र प्रधानमन्त्री या राष्ट्रपतिजस्ता महत्त्वपूर्ण पदभारको असली हकदार पनि उहाँ आफंैलाई मात्र ठान्नुहुन्छ। पार्टीभित्र कुनै अर्को शक्तिकेन्द्र पैदा नहोस् भन्नेमा प्रचण्ड सदा सचेत रहनुभएको देखिन्छ। जो कमजोर हुन्छ उसलाई साथमा राख्ने र जो बलियो हुँदै जान्छ उसलाई किनारामा पुर्याचइहाल्ने प्रचण्डको स्थापित शैली हो। काङ्गे्रसका गिरिजाप्रसाद कोइरालाले पनि आफू सभापति भइसकेपछि यस्तै सूत्र अवलम्बन गर्न थाल्नुभएको थियो। प्रचण्डले सैन्य कमाण्डरका रूपमा रामबहादुर थापा बादल बलियो हुन थालेपछि उहाँको जिम्मेवारी घटाएर क्षेत्रीय तहमा सीमित गरिदिनुभयो। किरणको घुर्की–फुर्की धेरै हुन थालेपछि डा. बाबुरामलाई साथमा लिएर हिँड्न थाल्नुभयो भने यसबीचमा बाबुराम भट्टराई एक मात्र प्रचण्डको विकल्प हो भन्ने धारणा–मान्यता स्थापित हुँदै गएपछि बाबुरामको कद घटाउन प्रचण्डले अनेक रणनीति अवलम्बन गरिरहनुभएको छ। इमानदारी एवम् प्राज्ञिक क्षमतामा डा. भट्टराई अगाडि रहनुभएको भए पनि कूटनीतिक एवम् रणनीतिक चातुर्य र 'अभिनयको पाटो'मा प्रचण्ड अतुलनीय ढङ्गले बाबुरामभन्दा अगाडि हुनुहुन्छ। प्रचण्ड भित्रपट्टि हाँस्दै बाहिर रुन या भित्रभित्रै रोइरहे पनि बाहिर हाँस्न सक्नुहुन्छ। मनमा कुराका अनेक तरेली 'रिजर्भ' राखेर पनि प्रचण्ड 'मनका कुरा खुलस्थ भन्ने या भनेको' 'इम्पे्रसन' दिन सक्नुहुन्छ। उहाँ बोली जति फेरे पनि लाज हुँदैन भन्ने नयाँ माओवादी दर्शनबाट पे्ररित देखिनुहुन्छ। हरेक पटक ठ्याक्कै सत्य कुरा नै बोलेको 'इम्पे्रसन' दिन सक्नुलाई प्रचण्डको विशेष खुवीका रूपमा बुझ्नेहरू पनि छन्। कुरा बदलिरहन सक्ने प्रचण्डको शैली र जति पटक बदले पनि लाज नमान्ने उहाँको क्षमताबारे जनतासमेत परिचित भइसकेका छन्। तर, डा. बाबुरामको भने वाणीमा माधुर्यको कमी छ, बोलेपछि फेर्न लाज मान्ने र एकोहोरो ढङ्गले प्रस्तुत भइरहने उहाँको शैलीले प्रचण्डभन्दा बाबुराम नै कठोर र 'निर्मम' भन्ने सन्देश दिइरहेको छ। मेकियावेलीको सूत्रअनुसार राम्रा कामहरूको जस (यश) लिन र विवादास्पद एवम् नराम्रा कामहरूको निम्ति अर्काको टाउकोमा दोष थोपर्न पनि प्रचण्ड सदा सफल रहिआउनुभएको छ। प्रचण्ड आफ्नो भित्री मनसाय कहिल्यै कसैलाई 'सेयर' गर्नुहुन्न। कहाँ कुन स्विच थिच्दा कुन रंगको बत्ती बल्छ र कुन थिच्दा निभ्छ, कोसँग कस्तो कुरा गरेर उचाल्नुपर्छ र कसलाई कतिबेला कसरी थचार्नुपर्छ भन्ने विषयका राम्रा ज्ञाता प्रचण्ड यतिबेला राष्ट्रियताको नारा दिँदै नेपाली जनता तथा उत्तरतर्फका छिमेकीको विश्वास जित्न चाहनुहुन्छ। भएभरका युक्ति–बुद्धिको प्रयोग गर्दा पनि दक्षिणको छिमेकीलाई विश्वासमा लिन नसकिएपछि एउटा बाध्यात्मक अवस्थामा प्रचण्ड राष्ट्रियताको मुद्दा उठाउने निष्कर्षमा पुग्नुभएको निष्कर्ष निकाल्नु उचित हुनेछ। सशस्त्र सङ्घर्षकालमा भारतसँग युद्ध लड्न बङ्कर खन्दै गर्नुहुने प्रचण्ड एकाएक दिल्ली सम्झौता (२०६२) मा सहभागी हुन झुल्कनुभएको थियो र त्यही सम्झौताले उहाँको सिंहदरबारसम्मको यात्रा सुनिश्चित गरेको हो। अहिले प्रचण्डले भनिरहनुभएको राष्ट्रियताको आन्दोलनको अर्थ पनि पहिलेको सन्दर्भभन्दा टाढा गएर खोज्नु भनेको प्रचण्डलाई नबुझ्नु मात्र हुनसक्छ। तर, दक्षिणले 'रेस्पोन्स' गर्दै गरेन भनेचाहिँ उहाँ जुनसुकै कदम पनि चाल्न सक्नुहुन्छ भन्ने यथार्थलाई हामीले भुल्नुहुँदैन। प्रचण्ड आफैंमा अत्यन्त कठोर, निर्मम, निर्दयी, कुटिल र छली हुनुहुन्छ भन्ने धेरैको ठम्याइ छ, तर आफूलाई अत्यन्त सरल, उदार, सहज, दयालु र मायालु देखाउन सक्नु उहाँको विशेष क्षमता हो। प्रचण्ड आफूबाहेक कसैलाई पनि विश्वास गर्न सक्नुहुन्न र गर्नु पनि हुन्न, तर आफ्नो विश्वासप्राप्त भएको भ्रम उहाँ धेरै राम्रोसँग एकैपटकमा धेरैलाई दिन सक्नुहुन्छ। प्रचण्डको जीवनको एक मात्र लक्ष्य 'पावर' हो, तर उहाँ जनताको हित नै आफ्नो जीवनको मूल लक्ष्य हो भन्ने 'इम्पे्रसन' दिन सफल हुनुहुन्छ। एउटा खुँखार अधिनायकवादी तानाशाहमा हुनुपर्ने र हुनसक्ने सबै प्रकारका गुण प्रचण्डमा देखिन्छन् तर आफू सबैभन्दा लोकतन्त्रवादी रहेको सन्देश दिने सफलता उहाँलाई प्राप्त रहिआएको छ। प्रचण्ड आफूलाई क्रान्तिको पक्षमा भएको देखाउँदै क्रान्तिकै निम्ति लड्ने–मर्ने प्रतिबद्धता यसो भावुकतावश कहिलेकाहीँ प्रकट गर्ने गर्नुहुन्छ। माओ शैलीको क्रान्ति चाहने अल्लारेहरूलाई आफ्नो पछि लगाउन जे गर्नुपर्छ या जसो भनिदिनुपर्छ त्यसैबमोजिम गर्न प्रचण्ड कञ्जुस्याइँ गर्नुहुन्न, उहाँको यही शैलीका कारण प्रचण्डलाई क्रान्तिकारी ठान्नेहरूको सङ्ख्या उल्लेख्य छ। वास्तवमा समग्रमा प्रचण्डलाई हेर्दा उहाँ एउटा सच्चा क्रान्तिकारीभन्दा भ्रान्तिकारी प्रतीत हुन्छ, पुष्टि इतिहासले गर्न मात्र बाँकी छ।
डा. बाबुराम भट्टराईले पनि चाहनुहुने हो भने उहाँको जीवनशैली पनि राजा–महाराजाको जस्तो विलासी र सानसौकतपूर्ण हुनसक्छ। डेढ करोड मूल्यको विलासी गाडी चढ्न उहाँले इच्छा राख्नेबित्तिकै सम्भव छ। तर, जीवनशैलीमा जुन सादगीपन बाबुरामले दर्शाउनुभएको छ यसले विश्वका उच्चकोटिका ऐतिहासिक नेताहरूलाई पनि उहाँले बिर्साउनुभएको छ भन्न सकिन्छ। माओवादी आन्दोलनमा नभइदिएको भए बाबुराम आज धेरैको नेता हुन पनि सम्भव थियो, तर उहाँले अङ्गीकार गर्नुभएको विचारले उहाँलाई एउटा सानो घेरामा सीमित गरिदिएको छ। प्रचण्डको तुलनामा वाणीमा माधुर्यको न्यूनता र लागेको कुरा सीधा–सीधा व्यक्त गर्ने स्वभावका कारण बाबुराम भट्टराईमा वाणीले प्रभाव पार्ने क्षमता कमजोर देखिन्छ। रुढिवादी कम्युनिष्ट कट्टरता र वाणी–प्रभावको न्यूनतालाई छोडेर भन्ने हो भने इमानदारी र 'सिम्प्लिसिटी' मा उहाँ अग्रणी हुनुहुन्छ। प्राप्त जिम्मेवारी पूरा गर्ने र लिएको काम फत्ते गरेर मात्र छोड्ने बाबुरामको अर्को विशेषता हो। मुलुक निर्माणको 'भिजन' उहाँमा छ भन्ने तथ्यको नौमहिने शासनकालमा नै पुष्टि भइसकेको छ। कम्युनिष्ट नभईकन यस्ता मानिस कुनै पनि देशमा अझ युरोप–अमेरिकामा जन्मनुभएको भए विश्वमै उदाहरणीय व्यक्तिको छवि स्थापित गर्न उहाँ समर्थ हुनुहुन्थ्यो। तर, नेपालमा पर्नुभयो र त्यो पनि खाँटी माओवादी कम्युनिष्ट, जे–जति सुन्दर र सकारात्मक गुणहरूले सुसज्जित भए पनि कपट र छल गर्न सक्ने क्षमता (जुन नेपाली राजनीतिमा अनिवार्य मानिन्छ) नभएका कारण बाबुराम भट्टराई नेपाली राजनीतिमा पूर्ण रूपले सफल रहने कुरामा सन्देह गर्नुपर्ने अवस्था छ। त्यसमाथि प्रचण्डजस्ता महाचतुर अगुवा रहेको माओवादी पार्टीमा बाबुरामले भविष्य खोज्नु भनेको दाउद इब्राहिमको समूहमा सामेल भएर बुद्धत्व प्राप्त गर्ने कोसिस गर्नुभन्दा कति भिन्न हो– सोचनीय छ। प्रजातान्त्रिक विचार, प्रचण्डको चातुर्य र बाबुरामको इमानदारीको फ्युजन हुन सकेको भए त्यसको सबैभन्दा ठूलो लाभ नेपालीले प्राप्त गर्न सम्भव थियो। तर, अब प्रचण्डको चातुर्य 'एक्स्पोज' भइसकेको तथा बाबुरामलाई आफ्नै पार्टीभित्र निष्प्रभावी तुल्याइसकिएको अवस्था छ, यस्तोमा नेपाली जनता लाभान्वित हुने अध्याय समाप्त भइसकेको निष्कर्ष निकाल्नु उचित हुने देखिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक