20100124

"प्रचण्ड भन्नुहुन्छ- उहाँको जीवन खतरामा छ, उहाँ आफू असुरक्षित हुनुहुन्छ, उहाँ मारिने सम्भावना छ"

"यस्तै ताल आगामी दिनमा पनि ज्यूँदै रह्यो भने माओवादीहरू विश्व सभ्यताकै आतंककारी लिस्टमा टाँसिनेछन्"
-प्रदीप नेपाल
एकीकृत माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्नुहुन्छ- उहाँको जीवन खतरामा छ, उहाँ आफू असुरक्षित हुनुहुन्छ, उहाँ मारिने सम्भावना छ । आफू कोबाट असुरक्षित छु भन्ने सत्यचाहिँ उहाँले अहिलेसम्म खोल्नुभएको छैन । त्यसैले यो भय-भाषण पनि उहाँका अरू भाषणजस्तै बताससँगै उडेर आएका अभिव्यक्ति हुन् कि भनेर शंका गर्ने स्थान दाहालजी स्वयंले दिनुभएको छ । मैले पुष्पकमल दाहालको बोलीको सिको गरेर यो टिप्पणी लेखेको होइन । तर, उहाँका एकजना कार्यकर्ताले 'प्रदीप नेपालजस्ता नेताको बाँच्ने अधिकारमाथि प्रतिबन्ध लगाउनैपर्ने' भन्ने टिप्पणी लेखेर आप\mनो हिंसात्मक चेतको सार्वजनिक प्रदर्शन गरेका छन् । माओवादी हिंसाको चेतनामा हुर्किएका.....
कार्यकर्ताहरूले जिउने अधिकारमाथि प्रतिबन्ध लगाउनु भनेको सबैले बुझ्ने भाषाको मृत्युदण्ड हो । एमालेका राष्ट्रिय परिषद् सदस्य यदु गौतमको हत्या गरेपछिका टिप्पणीहरूसँगै माओवादीका नेता-कार्यकर्ताले पठाएका र दिएका हत्याको धम्की मैले सुन्दै आएको छु । अर्थात् गएको १२ वर्षमा झन्डै दर्जनपटक माओवादीका नेतादेखि कार्यकर्तासम्मले मलाई धम्क्याएका छन् । कसैले मीठो भाषामा त कसैले तीतो भाषामा । स्वयं पुष्पकमल दाहालजीले एक दशकअगाडि नै प्रदीप नेपाललाई लेख्न रोक्नुहोला भनेर तत्कालीन एमाले महासचिव माधवकुमार नेपालमार्फत समाचार पठाउनुभएकै थियो ।
तर, दाहालजीले जसरी म असुरक्षित छु भन्न सक्दिनँ । जन्मिनुको अन्तिम निष्कर्ष नै मृत्यु हो । यो मृत्युको अर्थलाई बुझेरै सामाजिक रूपान्तरणको अभियानमा लागेको हुनाले मैले धम्कीलाई साह्रै गम्भीरतापूर्वक लिनु पनि हुँदैन । यो सन्दर्भ मैले खालि माओवादी अध्यक्ष पुष्पकमल दाहालको असुरक्षा-सन्दर्भको प्रतिक्रियाका लागि मात्र उठाएको हुँ । अहिलेको नेपालमा अन्तरमाओवादी हिंसात्मक द्वन्द्वबाहेक अरू कतैबाट माओवादी नेताको जीवन असुरक्षित छैन । तर, प्रत्येक नेपाली नागरिक अहिले पनि माओवादी नेता तथा कार्यकर्ताको 'बाँच्ने अधिकारमाथि प्रतिबन्ध लगाउने' धम्की र व्यवहारबाट आक्रान्त छन् ।
माओवादीको आलोचना गर्नै नहुने शासन स्थापनाको कसरतमा लागेका माओवादी नेताहरूले बुझ्नु जरुरी छ- कम्बोडियामा पोलपोटको विनास त्यसै भएको होइन, भने पेरुमा गोन्जालोको समाप्ति पनि रहरले भएको होइन । आतंकको राज क्षणिक हुन्छ । धम्की त माओवादीले ०५२ सालदेखि नै दिन थालेका थिए- एमाले र कांग्रेसका कतिपय नेता र कार्यकर्तालाई । तर, त्यसले एमाले र कांग्रेसलाई भन्दा बढी क्षति माओवादीलाई नै पुर्‍यायो । अहिलेसम्म माओवादी अध्यक्ष प्रचण्डले दर्जनपटक अमेरिकी राजदूत, विदेश उपमन्त्रीहरूसँग हामीलाई आतंककारीको लिस्टबाट हटाइदिनुपर्‍यो भनेर निहोरा गरेका छन् । तर, अमेरिकाले हुन्छ-हुन्छ भनेर कुरो तर्काउनेबाहेक अर्को काम गरेको छैन । यस्तो हुनुमा लोकतान्त्रिक गणतन्त्रमा आएपछिका माओवादी कार्यकर्ताका गतिविधि र नेताहरूबाट हुँदै आएको तिनको संरक्षण गरिने व्यवहार नै जिम्मेवार छ । केवल लेखेकै भरमा एउटा स्तम्भकारलाई मारिदिनुपर्ने हुकुम सम्प्रेषित गर्ने पार्टीलाई अहिले त अमेरिकाले मात्रै आतंककारीको लिस्टमा राखेको छ । यस्तै ताल आगामी दिनमा पनि ज्यूँदै रह्यो भने माओवादीहरू विश्व सभ्यताकै आतंककारी लिस्टमा टाँसिनेछन् ।
अन्य केही पाठकले आफूले चाहिँ बन्द गर्ने अनि अहिले माओवादीले बन्द गरेकोमा सामाजिक अपराध भन्ने ? भनेर प्रश्न पनि गरेका छन् । अघिल्लो सोमबारको टिप्पणीको थालनी चित्रबहादुर केसीबाट आरम्भ भएको छ । चित्रबहादुर केसी माओवादी हुनुहुन्न र उहाँको तर्फबाट मैले कुनै नकारात्मक टिप्पणी पनि पाएको छैन । उक्त टिप्पणीमा, मैले पञ्चायती निरंकुशताको अन्त्यपछि हामीले बन्द गरेर राम्रो गरेका थियौँ भनेर पनि लेखेको छैन । ०४७ सालको संविधान निर्माणपछि जो-कोहीबाट गरिएका भए पनि सबै बन्द गलत थिए, बेठीक थिए भन्ने निष्कर्ष मैले निकालेको थिएँ । त्यसबाहेक, माओवादी विश्लेषणमा ऊ वेलाको नेपाल सामन्तीसत्ताको पुरानो नेपाल थियो र ०६२/६३ को आन्दोलनपछिको नेपाल माओवादीको निष्कर्षमा नयाँ नेपाल थियो । नेपालका शासनप्रणाली माओवादी विश्लेषणका आधारमा मात्रै निष्कर्ष निकाल्ने हो भने पुरानो नेपालमा बन्द स्वीकृत र सहज आन्दोलन हुनुपर्ने थियो भने अहिलेको नयाँ नेपालमा बन्द सम्पूर्णतामै गलत ठहरिनुपथ्र्यो । तर, माओवादीको पुरानो र नयाँ नेपालको विश्लेषणसँग असहमति रहेकै कारण ०४७ पछिदेखि नै बन्दहरू गलत थिए भन्ने मैले निचोड निकालेको हुँ ।
जनताका लेख्ने, बोल्ने, सभासंगठन गर्ने अधिकार प्राप्त भएपछि शान्तिपूर्ण आन्दोलनको उच्चरूप मानिने बन्दको आयोजना आफैँ अर्थहीन हुन पुग्छ । ०४७ सालको संविधानले नेपाली रैतीलाई नागरिक बनाएको यथार्थलाई त माओवादी पार्टीले पनि स्वीकार गरेकै थियो । त्यही संविधानका आधारमा शपथग्रहण गरेर संसद्मा माओवादी सभासद्हरूको उपस्थिति पनि भएकै थियो । त्यसै हुनाले कांग्रेस र एमाले मात्रै होइन, स्वयं माओवादी पार्टीका लागि पनि ०४७ देखि ०५८ सालसम्मको कालमा बन्द असान्दर्भिक आन्दोलन नै बनेको थियो । अवकाशप्राप्त राजाले मकरतन्त्रको अभ्यास गरेपछि भने मुलुकको लोकतन्त्र बचाउनका लागि पुनः शान्तिपूर्ण संघर्षको उच्चरूप मानिने बन्द सान्दर्भिक बन्न पुगेको थियो । तर, ०६२/६३ को दोस्रो जनआन्दोलनको सफल समाप्तिपछि त्यो सदाका लागि असान्दर्भिक बन्न पुगेको थियो ।
एकीकृत माओवादी पार्टीका नेताहरूले आप\mना कार्यकर्तालाई कम्तीमा पनि माओ त्सेतुङका सयौँ फूलहरू फूल्न देऊ, सयौँ विचारशाखाहरू चल्न देऊ भन्ने निबन्ध पढाउनु जरुरी भएको छ । समाजवादका दुई आत्मा -ड्रापरहलको उद्धरण भएको) निबन्ध पढाउनु जरुरी भएको छ । धैर्यतापूर्वक पढ्ने समय भएका कार्यकर्तालाई किम इलसङको जीवन पढाउनु आवश्यक देखिएको छ ।
कम्युनिस्ट पार्टी आततायी संगठन होइन । कम्युनिस्ट शासन निरंकुश सत्ता पनि होइन । अब्राहम लिंकनभन्दा अगाडि कार्ल माक्र्सले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका बारेमा असाध्यै अग्रगामी विचार सम्प्रेषण गरेका थिए । तर, माक्र्सका विचारलाई नै पनि हाम्रो एसियाली मुलुकमा सही ढंगले भित्रिन दिइएन । माक्र्स एंगेल्सका प्रायः सबै कृति जर्मनबाट अंग्रेजी, अंग्रेजीबाट हिन्दी र हिन्दीबाट नेपाली हुँदै आएका छन् । अनुवादको पनि अनुवाद आफैँमा अप्ठ्यारो विषय हो । माक्र्सका कृति जर्मनी भाषामा सुरक्षित छन् । नेपालमा पनि जर्मनी भाषाका ज्ञाताहरू दर्जनौँ छन् । तिनीहरू कम्युनिस्ट पार्टीका सदस्य नहुन पनि सक्छन् । तर, तिनीहरू माक्र्सका कम्युनिस्ट पार्टीको घोषणापत्र, जर्मन विचारधाराजस्ता गम्भीर वैचारिक रचनालाई अनुवाद गर्दा बिगार्छन् भन्ने शंका हामी कसैले पाल्नुहुँदैन ।
माओवादी साथीभाइ हो, बन्दुकको नालबाट शान्ति जन्मिँदैन । धम्कीको हुंकारमा सहकार्य र सहमतिको राजनीति पनि अघि बढ्दैन । पटक्कै मन नपर्ने विचार कसैले सम्प्रेषण गर्‍यो भने पनि सुन्ने धैर्यता राख्नुपर्छ । विचारको विवाद नै लोकतन्त्र हो । सत्ताविरोधी विचार बोकेकै कारण नेपालीका गंगालालसहितका चार इमानदार नागरिकले राणाकालमा बलिदान दिनुपरेको थियो भने स्वयं तपाईंहरूकै सहिद कृष्ण सेनले पनि बन्दुक बोकेका कारण होइन, विचार बोकेकै कारण मृत्युवरण गर्नुपरेको थियो ।
तपाईंहरूलाई मेरा टिप्पणी साह्रै असैह्य लाग्छन् भने फोन या इमेलमार्फत जानकारी गराउनुहोला- म यही टिप्पणीलाई अन्तिम बनाउन पनि सक्छु । किनभने मैले लेखेको तपाईंहरूका लागि हो । तपाईंहरूको पार्टी र तपाईंहरूमा लोकतान्त्रिक अभ्यास जागोस् भनेरै हो । तपाईंहरूलाई लोकतन्त्र मन पर्दैन भने, माक्र्स एंगेल्स र माओ त्सेतुङका शिक्षा मन पर्दैनन् भने मैले लेखेर मात्रै पो के उपलब्धि होला र ! तर बुझरिाख्नूस्, नागरिकलाई स्वतन्त्रताको सर्वाधिक उपभोग गर्न दिने सिद्धान्त भनेको माक्र्सवाद मात्रै हो । माक्र्सको निधनपछि विशेषगरी एसियाली मुलुकमा त्यसलाई फलामेढोकाभित्रको शासन बनाउने गलत काम भएको हुनाले अहिलेसम्म एसियाली मुलुकमा कम्युनिस्ट पार्टीलाई हिंसात्मक पार्टी भन्ने गरिएको हो ।-नयाँ पत्रिका

1 comment:

  1. suna pradip nepal ji ma sadharan nepali nagarik ho ra timi pani a ma le ko nam ma mao ho sano sano bakka ma vhanchu ,aileni hichada a ma le choda ra comunist milera nepal jasto abikasita des lai bikasa garna timro sano swartha chodera maobadi lai sahayog gara timro pani valo ra nepal ko pani valo , ramrari buja na bakbakau ok thanks take positave if u have nepali blood mero addresh madhab_subedi2000@yahoo.com pls
    give me action if u r real nepali

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक