20100123

प्रचण्डले आफूलाई अपदस्थ गर्न दिनमा तीन पटकसम्म विदेशी राजदूतलाई भेटेको, सेनालाई नष्ट गर्न खोजेको पूर्वप्रधान सेनापति रुक्मांगद कटवालको आरोप


"माओवादीले छ महिनामा बुझाउने भनेको हतियार खोइ अहिलेसम्म बुझाएको ?,  काभ्रे जिल्ला अदालतले निरञ्जन बस्नेतलाई मागेको भन्ने कुरा अदालती प्रक्रियामा छ । शान्ति सेनाबाट फिर्ता पठाएकोचाहिँ 'नबुझिकन पठाएको' भन्ने राष्ट्रसंघले नै भनिरा'छ । कति हाम्रा सैनिक अधिकृत र जवानहरूमाथि पनि प्रहार भएको थियो उतिबेला । त्यसबाहेक  प्रचण्ड थैवको, रामहरि श्रेष्ठको कुराहरू किन आउँदैन ? यिनका पनि त हत्या भएकै हो । संसारले थाहा पाएका ज्यानमाराहरू शिविरमा  बसिरहेका छन् । तिनका पनि त कुरा आए हुन्थ्यो ।"
पूर्वप्रधान सेनापति रुक्मांगद कटवालले माओवादी शिविरभित्र रहेको हतियार तुरुन्त राज्यलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ। पदबाट अवकाश पाएको ४ महिनापछि शुक्रबार बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै माओवादीको कटु आलोचक मानिएका कटवालले उक्त धारणा राख्नुभएको हो। ‘शिविरभित्र बन्दी बनाएर राखिएका व्यक्तिहरू अधिकांश पढ्न चाहन्छन्, उनीहरूलाई त्यहाँबाट मुक्त गर्नुपर्छ’ -माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने/नगर्नेबारे चर्को बहस भइरहेका बेला पूर्वप्रधान सेनापति कटवालले भन्नुभयो। माओवादी नेतृत्वको सरकारले नेपाली सेनामा व्रि्रह ल्याएर सेनालाई नष्ट गर्न.......
खोजेको आरोप पनि उहाँले लगाउनुभयो। ‘जर्नेल कुलबहादुर खड्कालाई प्रयोग गरेर सेनामा व्रि्रह ल्याउने प्रयास माओवादी सरकारले गरेको थियो तर उसको सामर्थ्यले भ्याएन’ -उहाँले भन्नुभयो।

कटवालले माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको तत्कालीन सरकारले आफूलाई अपदस्थ गर्न दिनमा तीन पटकसम्म विदेशी राजदूतलाई भेटेको पनि बताउनुभयो। उहाँले वैधानिक सरकारले दिएको आदेश पालना गर्नमा कुनै कसर बाँकी नराखे पनि नियम, कानुन र परम्पराविपरीत सेनालाई खत्तम पार्ने र एउटा पार्टी ‘क्याडर’ बनाउन खोजेपछि आफूले वैकल्पिक बाटो खोज्न बाध्य भएको बताउनुभयो। कटवालले राजाको माघ १९ को कदमका बेला आफू प्रधान सेनापति भएको भए अहिले यो स्थिति नहुने टिप्पणी गर्नुभयो। राजतन्त्र ब्युँताउने खेलमा आफू सामेल नभएको तर जनताले चाहेमा राजसंस्था फेरि स्थापित हुन सक्ने उहाँले बताउनुभयो। राजनीतिमा संलग्न हुने तयारी गरिरहेको हो भन्ने प्रश्नमा कटवालले त्यसबारेमा आफूले अहिले नसोचेको तर भविष्यमा भन्न नसकिने बताउनुभयो।

राजनीतिक विवादका बीच प्रधानसेनापति पदबाट अवकाश पाएका रुक्मांगद कटवालले बीबीसी वल्र्ड सर्भिस ट्रस्टको साझा सवाल कार्यक्रमसँग पहिलोपटक राजनीतिक कुराकानी गरेका छन् । सातदोबाटोस्थित आफ्नै निवासमा साझा सवालका प्रस्तोता नारायण श्रेष्ठ र अन्य २० सहभागीको जिज्ञासा मेट्ने क्रममा उनले राजनीतिमा आउन सक्ने सम्भावनालाई नकारेनन् ।

तपाईंलाई प्रधानसेनापतिमै थमौती गर्ने राष्ट्रपतिको करिब आठ महिनाअघिको कदमपछि राजनीतिक समीकरणमा परिवर्तन भयो । सोही कदमले शान्ति प्रक्रियामा गतिरोध पुगेको भन्दै आइएको छ । त्यसमा तपाइको भूमिका रहँदा कस्तो लागेको छ ?

यसको पृष्ठभूमिमा जाउँ । माओवादी नेताहरू सार्वजनिक भएकै दिन प्रधानमन्त्रीको सरकारी निवासमा नेपाली सेनाप्रति जुन आरोप लगाइयो, नेपाली सेनालाई सामन्ती वर्ग, ज्यानमारा, बलात्कारी भनेर, त्यहींबाट सुरु भयो । टुँडिखेलबाट पनि सेनापतिलाई 'को हो त्यो' भनेर भनियो । त्यो कुराको पृष्ठभूमिबाट जानुपर्छ भन्ने मलाई लाग्छ ।

त्योतपाईंले भन्न खोज्नुभएको,त्यो बेलादेखि नै सेनाप्रति नियोजित रूपमा प्रहार गर्ने योजनाअन्तर्गत नै तपाईंलाई पनि प्रचण्ड सरकारले बर्खास्त गरेको हो ?

त्यसमा केही शंका छ र ।

फेरि सुरुकै प्रश्नमा आउँ, शान्ति प्रक्रियामा अहिले उत्पन्न गतिरोधमा तपाईंको पनि केही भूमिका र जिम्मेवारी छ भन्ने लाग्छ ?

त्यसमा त मेरो कुनै दोष रहेको मान्न सकिँदैन । नेपाली सेना र तत्कालीन प्रधानसेनापति शान्तिप्रति पूर्ण प्रतिबद्ध भएको व्यक्ति हो । त्यसैकारण नेपाली सेनाले कहिल्यै प्रतिवाद गरेन, बोलेन । सेनाले प्रशस्त मात्रामा धैर्य अपनाएको छ । व्यक्तिगत रूपमा र सांगठानिक रूपमा सेनाले कहिल्यै पनि कुनै कुरामा प्रतिवाद गरेन ।

त्यो बेलाको सरकारले गरेको निर्णय राष्ट्रपतिले नउल्ट्याइदिएको भए के थियो तपाईंको योजना ?

यो काल्पनिक प्रश्न भयो । राष्ट्रपतिलाई गएर १८ राजनीतिक दल, विभिन्न पेसा र क्षेत्रका बुद्धिजीवीहरूले कानुन, सहमति र सम्झौता तोडियो भनेपछि राष्ट्रपतिले न्याय दिने काममात्र भएको हो ।

तत्कालीन प्रधानमन्त्रीको निर्णय ठीक थिएन भन्ने तपाईंको भनाइ रह्यो । तर राष्ट्रपतिको कदम पनि कुनै संवैधानिक प्रक्रिया र कानुनी आधारमा भएको त छैन नि ?

सुरु कसरी भयो भन्ने कुरा हेरौं न त । फेरि राष्ट्रपति आफैंले त्यो कदम चालेको पनि त होइन नि । सबैको सहमति र सुझावमा भएको हो । सेनालाई राजनीतिमा तान्ने प्रयास भइरहेको छ, यसले शान्ति भाँडिन्छ भनेर दलहरूले भनेपछि न राष्ट्रपतिले कदम चालेको हो ।

शारदा महत (सहभागी): पूर्वसेनापतिले पटकपटक सेना नियम कानुनमा चलिरहेको भन्नुभयो तर सरकारको निर्देशन नमान्ने सेनापतिले त्यसो भन्न मिल्छ ? खोइ त नागरिक सर्वोच्चता ?

के हो नागरिक सर्वोच्चता भनेको ? नागरिक सर्वोच्चता भनेको त कानुनअनुसार चल्ने हो । कसैले भनेको नमान्नेबित्तिकै आँखा निकाल्दिनु, जबर्जस्ती लुटपाट गर्नु, नागरिक सर्वोच्चताको नाममा ज्यानमाराहरूलाई पालेर राख्नु नागरिक सर्वोच्चता हो भन्ने मलाई लाग्दैन ।

कानुनसम्मत नेपाली सेना चलिरहेको छ भन्दा मानव अधिकार उल्लंघनका घटनामा नागरिक अदालतमा माग्दा पनि तपाईंहरूले सेनाका मानिसलाई बुझाउनुभएको छैन ? निरञ्जन बस्नेतको उदाहरण नै लिउँ न ।

काभ्रे जिल्ला अदालतले निरञ्जन बस्नेतलाई मागेको भन्ने कुरा अदालती प्रक्रियामा छ । शान्ति सेनाबाट फिर्ता पठाएकोचाहिँ 'नबुझिकन पठाएको' भन्ने राष्ट्रसंघले नै भनिरा'छ । कति हाम्रा सैनिक अधिकृत र जवानहरूमाथि पनि प्रहार भएको थियो उतिबेला । त्यसबाहेक  प्रचण्ड थैवको, रामहरि श्रेष्ठको कुराहरू किन आउँदैन ? यिनका पनि त हत्या भएकै हो । संसारले थाहा पाएका ज्यानमाराहरू शिविरमा  बसिरहेका छन् । तिनका पनि त कुरा आए हुन्थ्यो । त्यसैले त हामीले सत्य निरूपण तथा मेलमिलाप आयोगको कुरा गरेको ।

अवकाशको झन्डै चार महिनापछि पनि तपाईं नेपाली राजनीतिको केन्द्रमै हुनुहुन्छ, कस्तो महसुस हुन्छ ?

मेरो चाहनाबाहेक कसैले मलाई ल्याउन चाहन्छ भने यो मेरो नियन्त्रणबाहिरको कुरा हो ।

तपाइ राजनीतिमा प्रवेश गर्नु हुन्छ भन्ने धेरैको अनुमान सही हो ?

मलाई कसैले त्यस्तो स्थान दिन्छ भने र राज्यका लागि काम गर्न पर्‍यो भन्छ भने विचार गर्छु । तर तत्काल केही भन्न सक्ने अवस्था छैन । अहिलेचाहिँ म कुनै पार्टीमा आबद्ध छैन ।

भविष्यमा कुनै पार्टीले बोलायो भने ?

त्यतिबेला विचार गर्न सकिन्छ ।

प्रकाश ढकाल (सहभागी): सेनाको काम सिमाना रक्षा गर्ने पनि हो । तर उहाँ सेवामा रहेकै बेला नेपालको करिब ९० हजार हेक्टर जग्गा भारतले मिच्यो किन त्यो विषयमा केही बोल्नु हुँदैन ?

सेना आफैंले त केही गर्ने होइन । सरकार र संसद्ले निर्णय गरेर हामीलाई निर्देशन दिएको भए मैले संसदीय समितिमा पनि भनेको थिएँ, हामी २४ घन्टामा कालापानीमा, सुस्तामा फौज पुर्‍याइदिन्छौं । अहिले पनि त्यही दोहोर्‍याउन चाहन्छु । इतिहासको कालखण्डदेखि नै नेपाली सेनाले राज्यको अधिकार भएको 'पोलिटिकल सेटअप' को आदेश मानिरहेको छ ।

त्यही त नेपाली सेनालाई पहिल्यै बनेको राजनीतिक संरचनाको आदेश मान्न सजिलो भाथ्यो । जनताले अर्को सेटअपका लागि चुनावमा माओवादीलाई धेरै मत दिए । तिनलाई मान्न तपाईंलाई अप्ठ्यारो भयो, होइन ?

होइन, हामीले अप्ठेरो मानेनौं । ब्याण्ड बाजा बजाएर आर्मी मुख्यालयमा स्वागत गरेको हो । कानुनसँग नमिलेका आदेश आएपछि मात्र समस्या सुरु भएको हो ।

माओवादीहरूलाई बाजा बजाएर स्वागत गरेजस्तो गर्नुभयो, अन्त्यमा बाजा बजाएरै बिदा पनि त गर्नुभयो नि ? तपाईंहरू निकै शक्तिशाली हुनुहुँदो रै’छ है ?

हामीले बिदाइ गरेको हैन त्यो । त्यसरी नहेर्दा पनि हुन्छ नि, हैन

र ? (एकछिनको हाँसो) कसरी के भयो भन्ने कुरा सबैलाई थाहा छ

(फेरि हाँसो) ।

तपाइले शान्ति सुरक्षा बिग्रँदै गएकोतर्फ केहीअघि इंगित गर्नुभएको थियो । त्यसमा सरकार असफल हुँदै गइरहेको बाहिर पनि प्रशस्त सुनिन्छ । के सेनाको सहयोग लिएर सरकारले अहिले सुरक्षा कायम गर्न सक्ला ?

सरकारले आदेश दियो भने सेनाले गर्नैपर्छ । त्यसैका लागि त सेना पालेर राख्ने । सरकारले जे आदेश दिन्छ, सेनाले त्यो मान्छ ।

शान्ति प्रक्रियाको मुख्य मुद्दा माओवादी सेनाका लडाकुहरूको समायोजन पनि हो । त्यसको त तपाईंले सुरुदेखि नै विरोध गर्दै आउनुभा'छ । अर्का पक्षले त्यो नभई शान्ति प्रक्रिया नटुंगिने भनिरहेका छन् । देश युद्धमा जाने त होइन ?

कुनै पनि नेपालीले युद्ध चाहँदैन । त्यसमाथि सेनाले त झनै चाहँदैन । किनभने युद्धको मोल, खतरा र भार सेनालाई थाहा हुन्छ ।

तपाईंले सेनाले शान्ति चाहेको तर माओवादीले नचाहेको भन्न खोज्नु भा'हो ?

त्यसमा शंका छ र ? नेपाली सेनाका हकमा म भन्न सक्छु, अहिले पनि सेना शान्तिप्रति प्रतिबद्ध छ । राज्यबाहेक अरू कसैले पनि हतियार राख्छ भने उसले शान्ति चाहेको भन्न मिल्दैन । माओवादीले छ महिनामा बुझाउने भनेको हतियार खोइ अहिलेसम्म बुझाएको ?

हतियार त शिविरमा अनमिनको अनुगमन छ, हैन र ?

साँचो त उनीहरूसँगै छ । बेलाबेला हतियार लिएर बाहिर आएको सबैले देखेकै छन् । 

माओवादीसित तपाईं किन यति धेरै सशंकित ?

किन हतियार लिएर बसेको त ? हतियार किन चाहियो एउटा पार्टीलाई ? नागरिकलाई त्यसैको भरमा धम्क्याइरहेको छ । तपाइर्ंले पटकपटक सुन्नुभएको छैन सत्ता कब्जा, सत्ता कब्जा । चाहे त्यो शक्तिखोरको भिडियोमा होस् वा खन्ना गार्मेन्टको टेपमा ।

लडाकुकै कुरामा माओवादी सेनालाई नेपाली सेनाले हराउन नसकेको त तपाईं स्विकार्नु हुन्छ नि ?

त्यतिबेला नेपाली सेनालाई दिएको मिसन भनेको माओवादीलाई मार्ने नभई वार्तामा ल्याउनु थियो । उनीहरूले कहीँ पनि राज्यभित्र अर्को राज्य खडा गरेका थिएनन् र सेनालाई पराजय गर्न नसकेर वार्तामा आएका हुन् भन्ने कुरा संसारलाई थाहा छ । त्यसकारण सेना उतिबेला आफ्नो मिसनमा सफल भएको हो । समायोजनका मामिलामा ती भाइबहिनीहरूको इच्छालाई स्वतन्त्र रूपमा बुझ्नु पर्छ भन्छु म । निष्पक्ष ढंगले 'ए बाबुहरू तिमीहरू के गर्न चाहन्छौं' भन्यो भने कसैले पनि 'आर्मीमा जान चाहन्छौं' भन्छ भन्ने मलाई लाग्दैन ।

हामीले उनीहरूलाई भेटेर कैयौं पटक सोध्दा सेनामै जाने इच्छा देखाएका छन् त ?

उनीहरूलाई जबर्जस्ती राखेर त्यो भन्न लगाइएको छ ।

प्रसंग बदलौं, व्यक्तिगत रूपमा प्रचण्ड तपाईंलाई कस्तो लाग्छ ? उहाँ कस्तोखाले नेता हो ? अरू प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपालसँग पनि तपाईंले काम गर्नुभयो ।

प्रधानमन्त्रीको नाताले मैले सबैसँग काम गर्ने मौका पाएँ र मलाई कानुनसम्मत ढंगले अप्ठ्यारो काम भएन । उहाँ (प्रचण्ड) को पालामा हामीले प्रजातान्त्रिक पद्धति र कानुनसम्मत ढंगले होस् भन्ने कुरा गर्‍यौं । त्यसमा हाम्रो कुरा मिलेन ।

फेरि भोलि माओवादीकै सत्ता आयो अथवा प्रचण्ड नै प्रधानमन्त्री हुनुभयो भने सेनालाई तिनको आदेश पालन गर्न अप्ठ्यारो होला ?

सरकारको आदेश पालना गर्न नेपाली सेनालाई कुनै पनि हालतमा अप्ठ्यारो हुँदै हुँदैन । खालि त्यो आदेश कानुनसम्मत हुनुपर्छ ।

त्यतिखेर तपाईंलाई माओवादीले राजदूतसहितको 'अफर' गरेको भन्ने कुरा बाहिर आएको थियो नि ?

मलाई वैशाख २० गते बिहान बालुवाटारमा बोलाएर सोधिएको थियो । मैले कुनै पनि हालतमा स्वीकार गर्न नसकेपछि बेलुकी भद्र तरिकाले त्यही कुरा सम्झाइयो । कार्यकालको अन्तिम समयसम्म पनि म प्रभावशाली सेनापतिकै रूपमा काम गर्छु भनेर मैले भनेको हुँ ।

अहिले सेनासँग तपाइको सम्बन्ध कस्तो छ ? रक्षामन्त्री र सेनालाई तपाईंले पक्कै सुझाव दिइरहनुभएकै हुन्छ ।

हो, सेनामा त मेरो इष्टमित्रहरू नै छन् । उनीहरूलाई सल्लाह सुझाव दिइरहने त भइरहन्छ नि । फेरि रक्षामन्त्री मात्र किन, जो पनि मसँग सुझाव लिन आउँछ भने मैले जानेको सल्लाह सुझाव त दिइरहन्छु ।  - Kantipur

हतियारधारी समूहले गोली चलाउँदा एक युवकको मृत्यु

तुलसीपुर- ६ बरुवागाउँमा शुक्रबार साँझ हतियारधारी समूहले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर- ५ का २७ वर्षीय बुद्धि केसी रहेका छन्। साँझ साढे ६ बजे बरुवागाउँस्थित ज्ञानज्योति बोर्डिङ स्कुलनजिकै दुई समूहबीच जम्काभेट हुँदा ४/५ जनाको संख्यामा रहेको एक समूहले चलाएको गोलीबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  छातीमा गोली लागेका केसीको तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा सामान्य उपचार गरी थप उपचारका लागि नेपालगन्जतर्फलैजाँदै गर्दा बाटोमै मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ।

घटनामा केही व्यक्तिहरूमाथि आशंका गरिए पनि आक्रमणकारी पक्राउ परेपछि मात्र उनीहरूका बारेमा जानकारी गराउने इप्रका तुलसीपुरले जनाएको छ। पुरानो रिसिइबीका कारण गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनालगत्तै प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ।

1 comment:

  1. Wait wait. Katuwal was right as long as he took the help of Nepali soil.He is naked and made the Nepali history a shame. Did he say anything when Sood interfared government ?Did he say anything to him like "it is our problem and we will solve it." No, he did not. What is this all drama then ? I had a thought that Maoist was wrong when they sacked Katuwal but now I realize that they were very brave and did very right for the nation. But I do oppose their political dogma and the way they gokvern the nation.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक