20100112

किन झस्के प्रचण्ड ? माओवादीभित्र फेरि एकपटक विभाजनको राजनीति सुरु भएकोछ


- अर्जुन ज्ञवाली 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका अर्का नेता बाबुराम भट्टराईलाई भारतबाट प्रधानमन्त्री बनाउन दबाब आएको खुलासा गरेपछि माओवादीभित्र फेरि एकपटक विभाजनको राजनीति सुरु भएको छ।   पार्टी अध्यक्षबाटै भारतपरस्तको गम्भीर आरोप खेप्नुपरेका भट्टराई यतिबेला राजनीतिक अस्तित्वको लडाईंमा पुगेका छन्। पार्टीमा 'आत्मसमर्पण' गर्ने वा प्रचण्डसँग मुकाविला गर्ने बाध्यतामा पुगेका भट्टराईले अब के गर्ने हुन्, नेपाली राजनीतिक परिदृश्यमा यसलाई चासोका.............
साथ हेरिरहेको छ।  प्रधानमन्त्रीको पासा फालेर दिल्ली खेल्न खोजेको भन्दै प्रचण्डले बाबुरामलाई भारत आशीर्वादप्राप्त व्यक्ति भएको संकेत गरे। यो घटनालाई बाबुरामले आफ्नो चरित्रहत्या भने पनि यसलाई नेपाली राजनीतिमा दिल्ली–माओवादी सम्बन्धकै नयाँ रुपमा व्याख्या गरिएको छ। भारतीय गुप्तचर संस्था 'र' सँग बाबुरामको सम्बन्ध रहेको ५ वर्षअघि चुनवाङ बैठकबाटै आरोप लागिरहेको अवस्थामा  माओवादीमा सुरु भएको नयाँ प्रकरण त्यसैको निरन्तरता भएको विश्लेषकहरु बताउँछन्।

  फुज्टिवाङ  बैठकले भट्टराईलाई भारतपरस्त भएको आरोप लगाउँदै   कारवाही गरी श्रमशिविरमा पठाएको थियो। तर, दिल्लीमै हेडक्वार्टर खडा गरेको माओवादी नेतृत्वसामु व्यापक दबाब परेपछि चुनवाङ बैठकबाट बाबुरामको कारवाही फुकुवा गरी लोकतान्त्रिक गणतन्त्रको नीति पास गरिएको थियो। कतिपयले युद्धकालमा माओवादीका वैचारिक नेता किरणलाई सिलगुढीमा बाबुरामले नै गिरफ्तार गराउन भूमिका खेलेर लोकतान्त्रिक गणतन्त्रको नीति पास गराएको आरोप लगाउँदै आएको छन्। एउटा नेता जेलमा हुँदा अर्का नेताको रणनीति पास हुनुले अहिलेसम्म यो विषय नेपाली राजनीतिमा चर्चायोग्य भने भइरहेको छ।

  संविधानसभाको निर्वाचनपछि राष्ट्रपतिमा माधव नेपाललाई उम्मेदवार बनाउने सहमतिमा बाबुराम बाधक बनेको आरोप पार्टीमै खुलासा भएको छ। भारतीय खुफिया संस्था 'र' कै योजनामा २०४२ सालमा काठमाडौंमा  बमकाण्ड घटाएका रामराजाप्रसाद सिंहलाई माओवादीले राष्ट्रपतिको उम्मेदवार बनाउने घटनामा बाबुराम संलग्न भएको आरोप माओवादीले नै लगाइरहेका छन्।

  २०५२ सालमा ४० सूत्रीय एजेन्डाअघि सारेर जनयुद्धमा गएको माओवादीको दिल्ली सम्बन्ध 'र' मार्फत् भएको विश्लेषण हुँदै आएको छ। माओवादीका वरिष्ठ नेता किरण सिलिगुढीमा तथा अन्य १० केन्द्रीय नेता पटनामा गिरफ्तार हुनुमा पनि माओवादीभित्रको 'र' सम्बन्ध जिम्मेवार मानिँदै आएको छ।

  माओवादीमा भारतीय सम्बन्ध यतिमै सीमित छैन। लखनउमा सुरेश आलेमगर र मातृका यादवको गिरफ्तारी र सुपुर्दगी तथा प्रचण्डलाई लखनउमै भारतीय प्रहरीले गिरफ्तार गर्न लाग्दा घरधनीले १० मिनेट अगाडि बचाएको घटनालाई पनि यसै सन्दर्भमा जोडेर हेर्ने गरिएको छ।

  दिल्लीमा मोहनविक्रम मसालबाट माओवादीमा ध्रुवीकृत बाबुरामसहितको सम्पूर्ण धार पूर्ण रुपमा सुरक्षित हुनु तर माओवादीको मूलधारभित्रका वैचारिक नेताहरु गिरफ्तार पर्नुले पनि यो आशंकालाई बल दिएको हो। शान्ति प्रक्रियापछि पनि अन्तरिम संविधानमार्फत् नागरिकता विधेयक पारितपछि मात्र किरण र सिपी गजुरेल भारतीय जेलबाट रिहाइ हुनुले यो आशंकालाई थप बल प्रदान गर्योा। यतिबेला बाह्य रुपमा माओवादीभित्र बाबुराम एक्लो जस्तो देखिए पनि त्यहाँभित्र २०४० पछिको मोटो मशालको नेतृत्वबाहेकबाट धु्रवीकृत पंक्ति उनकै पक्षमा छ। सरकारबाट प्रचण्डको बहिर्गमनपछि जनसेनाका पासाङबाहेकका कमान्डरहरुले बाबुरामकै पक्षमा वकालत गरे। यहाँसम्म कि प्रचण्डनिकटस्थ मानिने वर्षमान पुन अनन्त नै भित्री रुपमा बाबुरामको पक्षमा उभिन पुगेपछि प्रचण्ड बाबुरामसँग सशंकित भएको स्रोत बताउँछ। गत भदौमा जनसेना कमान्डरहरुको जिम्मेवारी हेरफेर त्यही घटनाको कारण भएको बताइन्छ। बाबुरामकै लोकतान्त्रिक गणतन्त्रको लाइनमा अघि बढेर गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री बनेका प्रचण्ड पछिल्ला दिनमा उनीसँग हच्किएका छन्। त्यही भएर प्रचण्डले प्रधानमन्त्रीको लाइनमा रहेका बाबुरामलाई किनारा लगाउन खोजेका हुन्।  सिंगापुरमा केही समय अगाडि भएको भेटवार्तामा नेपाल विश्लेषक भारतीय प्रोफेसर तथा बाबुरामका शुभचिन्तक एसडी मुनिले भट्टराईलाई प्रधानमन्त्रीको उम्मेवदार बनाए एक महिनाभित्र राष्ट्रिय सहमति जुटाइदिने आश्वासन दिएपछि प्रचण्ड बाबुरामसँग झस्किएको स्रोत बताउँछ। त्यही कारण शान्ति वार्तापछि सदैव सँगसँगै लिएर हिंड्ने गरेका प्रचण्डले पछिल्ला दिनमा बाबुरामलाई बाइपास गरिरहेको देखिएको छ। आफू प्रधानमन्त्री भएपछि उपप्रधानमन्त्री हुन नदिएका प्रचण्डले पछिल्ला दिनमा बाबुरामलाई संसदीय दलको उपनेताको पदमात्र खोसेका छैनन्, पेरिस डाँडामा माओवादी केन्द्रीय कार्यालय खोल्दा बाबुरामलाई कोठासमेत दिएका थिएनन्। यसलाई माओवादीभित्र विभाजित राजनीतिको रुपमा विश्लेषण भइरहेको छ। बाबुरामलाई भारत–अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्तिको समेत समर्थन प्राप्त भएकाले पनि प्रचण्ड झस्किएको बताइएको छ।

  किरणलाई गिरफ्तार नगर्दासम्म माओवादी आफ्नो केन्द्रमा नआउने बुझेपछि भारतले बाबुरामको सहारा लिएर किरणलाई किनारा लगाएको थियो। किरणको गिरफ्तारीपछि चुनवाङ बैठकबाट 'र' द्वारा अघि सारिएको नीति पास भएपछि किरण पक्षधरले अहिले बाबुराममाथि भारतीय पक्षधर भएको आशंका गर्दै आएका छन्। त्यसो त फुन्टिवाङ बैठकपछि भारतविरुद्ध सुरुङ युद्धको नीति लिएको माओवादीले भारत हाबी भएको चुनवाङ बैठकपछि त्यो नीति परित्याग गरेको घटनाले पनि अहिले बाबुरामविरोधी अभिव्यक्ति दिन प्रचण्डलाई सहज भइरहेको छ।

  त्यसो त पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर निकास खोज्ने नीति माघ १९ को कदमबाट असफल बनेपछि माओवादीले लोकतान्त्रिक गणतन्त्रको नीति अख्तियार गरी सात दलसँग सहकार्य गरेको थियो। यो अवस्थामा चौतर्फी घेरिएको माओवादीलाई भारतीय गुप्तचर संस्था 'र' ले या त माओवादी हेडक्वार्टर समाप्त गरिदिने या बाबुरामलाई पुनर्स्थापना गर्ने प्रस्तावपछि कृष्णबहादुर महरालाई दिल्ली पठाएर माओवादी पार्टी सुरक्षित भएको थियो।

  माओवादीले अहिले आन्दोलनको चर्को नारा दिइरहेको भए पनि उसको मुख्य उद्देश्य प्रधानमन्त्री प्राप्त गर्नु रहेको छ। तर, प्रधानमन्त्री चयनमा भएको विवादले पार्टी विभाजनको संघारमा पुग्ने भयले अहिले प्रचण्ड पक्षधरले योजनावद्ध ढंगले बाबुरामको तेजोबध गरिरहेका छन्। आन्दोलन घोषणा गर्नुपूर्व काठमाडौंको एक चारतारे होटलमा केही पत्रकारहरु, जो माओवादीले भन्दै आएको भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद निकट थिए, मार्फत् प्रधानमन्त्रीको प्रोपोगण्डा गराएको घटनाले पनि त्यसैलाई पुष्टि गरेको विश्लेषकहरु बताउँछन्। बाबुराम–भारत मोडललाई राम्ररी नियालिरहेको माओवादी हेडक्वार्टरले पछिल्लोपटक बाबुरामलाई प्रधानमन्त्री बनाएर माओवादीलाई विभाजन गर्ने र मोहन वैद्यसहित प्रचण्डलाई समाप्त गर्ने सूचना पाएपछि धूर्त राजनीति गरिरहेका प्रचण्डले मुख खोलेको बताइएको छ। ४० जना सभासद लिएर मात्र माओवादीलाई विभाजन गराउन सके सरकारकै नेतृत्व दिने गोप्य सूचना पाएपछि प्रचण्ड बानेश्वर सभामा कडा रुपमा प्रस्तुत भएको स्रोतको दाबी छ।

  त्यसो त पहिलो चरणमा प्रचण्ड र किरणमा विभाजन ल्याउने, दोस्रो किरणसंरक्षित नेतृत्व समाप्त गर्ने योजनाअन्तर्गत बाबुराम निकट सचिवालय सदस्य टोपबहादुर रायमाझीको भित्री नेतृत्वमा गत साल वीरगन्जमा अर्का सचिवालय सदस्य नेत्रविक्रम चन्द 'विप्लव' माथि आक्रमण गरिएको आरोप बाबुराममाथि लगाइएको छ। वीरगन्ज घटनापछि प्रचण्ड–बाबुरामको दूरी बढेको र त्यसपछि उनलाई किनारा लगाइएको स्रोत बताउँछ।

  पार्टीभित्र 'र' धारलाई कडारुपमा घेराबन्दी नगरे अबको लडाइँ लड्न कठिन हुने निष्कर्षमा माओवादीको मूलधार पुगेपछि बाबुरामाथि सडक आक्रमण भएको हो। सूत्रका अनुसार माओवादीभित्र अहिले 'र' निकट नेतृत्व अत्यन्त कडा निगरानीमा छन्। यहाँसम्म कि नवप्रवेशी अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेतले अहिले प्रचण्डलाई साथ दिएका छन्। नारायणकाजी नेतृत्वको एकता केन्द्रलाई पनि भारतीय दबाबमै एकीकरण गरिएको थियो। यसको उद्देश्य स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा बहुमत पुर्याएएर किरणसहितको क्रान्तिकारी देशभक्त धार समाप्त गर्ने थियो। किरणसहितको नेतृत्वलाई पनि त्यसरी नै समाप्त गर्ने योजनाअनुरुपको फरक भूमिकामा पुरानो र नयाँ 'र' धार को घेरा असफल भएपछि अब विभाजन गराउन सक्ने षड्यन्त्र बुझेपछि प्रचण्ड आफैँले मुख खोलेका हुन्। खरिपाटी बैठकमा अन्तिम अवस्थामा प्रचण्डले किरणको साथ दिएपछि माओवादीमा प्रचण्ड–बाबुराम दूरी बढेको समेत विश्लेषकहरु बताउँछन्।


किन झस्के प्रचण्ड?
चुनवाङ  'प्लेनम'देखि यहाँसम्म आइपुग्दा सँगै रहेका दाहाल भट्टराईसँगसँगै देखिए पनि त्यो वास्तविकता नभएको पछिल्ला दिनमा खुलासा भएको छ। खरिपाटी बैठकअघि प्रचण्ड र किरणबीच कटुता सिर्जना गराएर पार्टी कब्जा गर्ने बाबुरामको रणनीति  देवेन्द्र पौडेलको   फरक मतमार्फत सार्वजनिक भएपछि प्रचण्ड झस्किएको स्रोत बताउछ।  एकातर्फ भारतीय प्रभावका मिडियाले बाबुराम दोस्रो नेता भन्दै गरेको प्रोपोगाण्डाले किरणपक्षधर झस्किएका थिए। यसले पनि प्रचण्ड र किरणबीच दुरी घटेको थियो।  जसरी २०६१ सालमा  फुन्टिवाङ प्लेनमपछि  बाबुरामलाई कारवाही गर्दा तरंग ल्याएको थियो  अहिले प्रचण्डको बाबुराममाथिको आरोपले  दिल्लीदेखि काठमाडौंसम्म त्यस्तै तरंग ल्याएको छ।-दृष्टि

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक