20100117

माओवादीको भारत प्रकरणका ६ नाटकहरु !

- केदार सुवेदी

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी यतिखेर आफ्नो चौथो चरणको आन्दोलनअन्तर्गत छिमेकी देश भारतविरुद्ध रणसंग्रामको पुराण पढिरहेको छ। यसको पहिलो चरणको आन्दोलन संसद्बाट निर्वाचित १८ दलको गठबन्धन सरकारलाई 'कठपुतली' साबित गर्ने, दोस्रो चरणमा नागरिक सर्वोच्चता कायम गराउने, तेस्रो चरणमा आफ्नो नेतृत्वको संयुक्त सरकार निर्माण जस्ता दशैंपछि लगत्तै शुरु गरिएका चरणबद्ध आन्दोलन सम्पन्न भएपछि ऊ चौथो चरणमा स्वाधीनताको नामबाट भारतखण्डमा प्रवेश गरेको हो। पुस २७ गते खुर्दलोटन बाँध निरीक्षण भएर यसको रणसंग्राम 'पुराणको भारतखण्ड' शुरु भएको हो। माओवादीका नेताहरू यतिखेर आफ्नो पुराणको यो खण्डको कथावाचनलाई देशव्यापी बनाइरहेका छन्। ..................
यो पुराण कहिलेसम्म चलिरहला भन्ने अनिश्चितै छ। आफ्नो संग्राम पुराणमा 'भारतखण्ड' प्रवेश गरेपछि र त्यसलाई वाचन गर्न ठाउँ–ठाउँ खटिएका पण्डितहरूको अनुहार देखिन थालेपछि त्यो पुराणवाचनलाई मद्दत पुगोस् भनी माओवादीले यसअघि भारतसँग उसले कस्तो व्यवहार गरेको थियो भन्ने केही घटनाहरू प्रस्तुत गर्न खोजियो। 'पुराणको मिथ्यावाचन भयो भने वाचनकर्ता मात्र होइन श्रवणकर्ता पनि पापको भागी बन्नुपर्नेछ भन्ने पुराणमै लेखिएको' सन्दर्भमा मिथ्या दोषबाट श्रवणकर्ता बचौं भन्नाका खातिर यी केही विवरण प्रस्तुत भएका हुन्:

अध्याय: एक

माओवादीका लागि भारत खण्ड त्यस्तो भूमि हो जहाँ उसले प्रत्यक्ष १५ हजार ८ अप्रत्यक्ष ५ हजार गरी १० वर्षमा करिब २० हजार नेपाली नागरिकको जंगली हत्या गरिरहेकाको निरन्तर शृंखलालाई तोड्न हस्ताक्षर गर्यो । १२ बँुदे समझदारी भारतखण्डमा भएको जगजाहेर छ। भारतमा भएको यो सझदारीबाट उसले जंगली जीवन छाड्न एउटा अवसर पाएको थियो। त्यो अवसरले उसलाई शान्तिपूर्ण आन्दोलनमा रूपान्तरित गरायो र त्यही अवसरको पृष्ठभूमिमा बन्दुक होइन ब्यालेटले उसलाई अरुभन्दा ठूलो दलमा पुर्याूयो। भारतखण्डका बासीहरूको रोहवरमा नै उसले यो अवसरलाई आत्मसात् गरेको हो। नेपाली नागरिकमध्ये करिब २० हजारको संख्याको ज्यान जाने काम गर्दाको आश्रयस्थल पनि भारतखण्ड नै थियो। यहींबाट यो हत्या हिंसाका लागि रसदपानी र हातहतियार प्राप्त गर्ने गरेको तथ्य पनि जगजाहेरै छ। उसको यो चौथो चरणको रणसंग्राम पुराणको भारतखण्ड वाचन भैरहँदा श्रवणकर्ताहरूले उसको यो पृष्ठभूमिलाई बिर्सन हुँदैन। उसले सुनाइरहेको पुराणको यो खण्डका बारे मिथ्या कि सत्य कस्तो वाचन भैरहेको छ भन्ने सर्वप्रथम छुट्याउने एउटै मात्र सूत्र नै यही हुनेछ।

अध्यायः दुई

माओवादीले आफ्नो पुराण पुस्तकबाट भारत खण्ड झिकेको दिन हो– २०६४ साउन। यसका सार्वजनिक रूपमै पाइने ती पुस्तिकाहरू पढियोस्, त्यसमा त्यो वर्षको त्यो महिनामा सम्पन्न बालाजु प्लेनममा भारतका बारे कतै एक शब्द पनि उल्लेख भएको पाइँदैन। त्यसबेला भारत विरोधलाई आफ्नो दस्तावेजबाट त्यसै हटाइएको चाहिं होइन। यो प्लेनम शुरु हुनुभन्दा एक साताअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई सुटुक्क सिलिगुढी गई भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जी भारतीय गुप्तचर संस्था 'र' का प्रमुख अशोक चनुर्वेदीसँग भेट वार्ता गरेका थिए। यो भेटवार्ताका विवरणहरू त्यसबेलाका नेपाल भारततर्फका मुद्रणमा आइसकेका छन्। त्यही भेटले माओवादी दस्तावेजहरूबाट कतै पनि एउटा शब्दको चिन्हसम्म नरहने गरी भारतको विरोधलाई खर्लप्पै झिकियो। अहिले देशव्यापी रूपमा उसबाट भारतखण्ड वाचन भैरहेको पुराणका स्रोताहरूले यो कुरालाई पनि एकपटक विशेष ध्यान दिइयो भने यो पुराण श्रवणबाट झन् बढी लाभ हुनेछ।

अध्याय: तीन


आफ्नो पुराण पुस्तकबाट भारतखण्डको विरोधलाई पूरै झिकिएको यो घटना बन्दा माओवादीहरू कसैको नेतृत्वमा सरकारमा थियो। पछि चुनाव भयो, ऊ अरुभन्दा ठूलो दल बन्यो। ठूलो दलको हैसियतले माग पनि ठूलै पायो अर्थात् अब ऊ सरकारको नेतृत्वकर्ता भयो। उसका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए। प्रधानमन्त्री भएको महिना दिन नबित्दै भारतखण्डको यस्तो महिमा प्रकट भयो– यसअघि यो देशका कुनै पनि पदाधिकारीले त्यो हदसम्म गरेका थिएनन्।
प्रधानमन्त्रीका रूपमा प्रचण्डले आफ्नो पहिलो भ्रमण अर्को छिमेकी देश चीनलाई रोजे। एक सातासम्मको त्यो भ्रमण सकेर देश फर्कनासाथ उनले भने– यो त मेरो भ्रमण नै होइन, आफ्नो पहिलो भ्रमण भारतखण्डबाटै शुरु हुनेछ। उनको पहिलो चीन भ्रमणको सन्दर्भलाई भित्र–भित्रै जे–जस्तो अनुमान गरिए पनि भारतखण्डबाट कुनै त्यस्तो प्रतिक्रिया जनाइएको थिएन। भारतखण्डका कुनै एउटा भुसुना जस्तो प्राणीले सम्म 'किन पहिलो भ्रमण चीनमा गरेको' भनी प्रचण्डलाई त परै जाओस्, आफ्ना घर–परिवारसँग पनि कुरा गरेका थिएनन्। त्यसबेलाका मुद्रण समाचार पढियोस्। यसले के अर्थ लाग्यो भने आफ्नो यो भ्रमणले आफ्नो आराध्यदेवमाथि आक्षेप लगाउन खोजेको भन्ने आत्मवाणीबाटै यो काम भएको थियो। त्यसको केही दिनपछि नै आफ्नो सरकारी मठका सबैलाई अघिपछि लगाएर बाजागाजासहित उनी आफ्नो भ्रमणको पहिलो थालनी भन्दै भारतखण्डतर्फ लागे। उनको यो पहिलो भ्रमणमा माओवादीको जन्मकालदेखि उठाउँदै आइएको र अहिले रणसंग्रामको चौथो अध्यायमा प्रवेश गरी भारतखण्डबाट भएका काम–कुराहरूको जस्तो वर्णन भैरहेको छ, तीमध्ये एउटा पनि कुरा त्यो बेला त्यो भ्रमणमा उठाइएन। त्यो भ्रमणबाट नेपालले के पायो त? एउटा पनि उदाहरण छैन।

अध्याय: चार


भारतखण्डको पुराण वाचन हुँदा अहिले माओवादीले देशव्यापी रूपमा सीमास्तम्भ खोज्ने, गाड्ने र मिचिएका जमिन फिर्ता गर्ने कुरालाई विशेष महत्वका साथ धेरै भक्तिरस निकालेर वाचन गरिरहेको छ।
यो वाचनका श्रोताहरूलाई सम्झना होला– आफ्नो देशको एउटा मन्दिरको पूजारीलाई समेत थाम्न सकिएन। पशुपतिनाथका भारतखण्डका भट्टहरूलाई हटाएर त्यसबेला नेपालखण्डका पूजारीलाई नियुक्ति गरेर गुफावाससमेत गराइसकिएको थियो। यतिखेर भैरहेको भारतखण्डविरोधी पुराण वाचकहरूले नै त्यसबेला यो नियुक्ति गरेका हुन्। भारतखण्डबाट यो घटनाको केही विरोध भयो। त्यसखण्डका दुईजना व्यक्तिहरू नेपाल भ्रमणमा आएर पशुपतिको दर्शन गर्न नै गएनन्। यति कुराले नै आफैंले आफ्नो देशका व्यक्तिलाई आफ्नो देशको एउटा मन्दिरमा गरिएको नियुक्ति बदर गरेर आफैंले दोहोर्याेउँदै एक साताभित्रै भारतखण्डकै पूराजारीलाई स्थापित गरियो। हावाको यति सानो बेगलाई त थाम्न नसक्नेहरूले सीमा स्तम्भ गाड्न सक्लान्? भू–भाग थप्न सक्लान्? पुराणवाचनमा मिथ्या मिसियो भने त्यसको पापको भागी श्रवणकर्ताहरू नि हुनुपर्दछ। पुराणमै यो कुरा भनिएको छ। त्यसकारण माओवादीको यो पुराण वाचनमा के–कति मिथ्या छ भन्ने छानेर मात्र श्रवण गरियोस् भनी यो घटना यहाँ यसरी उल्लेख भएको हो।

अध्यायः पाँच

माओवादीले वाचन शुरु गरेको यो भारतखण्ड पुराणका श्रोताहरूले एउटा मन्दिरको पूजारी नियुक्तिकै अर्को घटना पनि सम्झनामा राख्न आवश्यक छ। त्यसो भएन भने मिथ्या दोष श्रोतामा पनि लाग्न सक्छ।
यो घटना पनि पशुपतिनाथकै पूजारी नियुक्तिको सन्दर्भसँग जोडिएर आएको छ। माओवादीले पहिलो चरणमा 'कठपुतली' भनी स्थापित गर्न खोजेको सरकारबाट पशुपतिनाथमा भारतखण्डकै भट्टहरूलाई पूराजारीमा नियुक्ति गरियो। त्यो नियुक्तिविरुद्ध माओवादीले नन्दी–भृङ्गीहरूलाई यसरी तैनाथ गरायो कि डेढ दुई सातासम्म पशुपतिनाथको ढोकै खुल्न सकेन, तालाबन्दी नै गरियो। यस्तो बन्द ती पूजारीलाई उनकै देश भारतखण्डमा फिर्ता नगरुन्जेल कायम रहने हुंकार गरियो। यस्तो चलिरहँदा भारतखण्डबाट माओवादीका कान छेउमै हावाको एउटा स्पर्श भयो। माओवादीका आदेशमा उसका सेनाले मन्दिर छाडिदिए। भारतखण्डका पूजारीले नेपालखण्डको मन्दिरमा विधिवत् काम थाले। यो घटना पनि आफूले नियुक्ति गरेको एउटा पूजारीलाई थेग्न नसकेजस्तै हो। अर्कोले गरेको पूजारीलाई काम गर्न दिन्न भन्नु र पछि सर्लक्क काम गर्न दिनु जस्ता घटना आफैंले माओवादीका लागि भारतखण्डको महिमा कति महत्वको रहेछ भन्ने बताउँछ। त्यस्तो महिमामा पनि मिथ्या मिसिएला, होस गरे बेस।

अध्याय: छ

माओवादीले भारतखण्डलाई आफ्नो सान, मान र व्यवस्थापन नै जिम्मा दिएको घटना उसकै अध्यक्ष प्रचण्डबाट ठूलो जनसभामा नै सार्वजनिक भइसकेको छ। त्यो सन्दर्भ हो– प्रधानसेनापतिबारे मन्त्रिपरिषद्को निर्णय समय। 'सेनापतिका सन्दर्भमा के–कस्तो निर्णय गर्न उपयुक्त हुन्छ, एउटा विशेष दूत पठाइदिन भनी भारतखण्डसामु उसका दूतमार्फत आफूले धेरैपटक भनेको तर उताबाट सुनुवाइ नभएपछि आफैंले निर्णय गर्नुपरेको' भन्दै माओवादीका अध्यक्षले गरेको सार्वजनिक भाषण सार्वजनिक माध्यममा मुद्रित भएर अझै पनि रेकर्डमा छन्। कुनै पनि एउटा स्वतन्त्र देशको मन्त्रिपरिषद् आफ्ना देशका निकायहरूमा नियुक्ति र बर्खास्तगी गर्ने हैसियत राख्दछ। तर, यति गर्न पनि माओवादीका लागि भारतखण्डकै विशेषदूत चाहियो। यसका अध्यक्ष तथा देशका तत्कालीन प्रमुख प्रचण्डले भनेअनुसार त्यस्तो दूत मागिएको तीन सातासम्म पनि प्रतीक्षा गर्दा उनी आएनन्। यो भनाइको अर्थ लाग्छ– त्यसकारण यो दुर्घटना हुन गयो। कुनै एउटा देशको प्रधानमन्त्रीले आफ्ना आन्तरिक निर्णयहरू गर्ने क्षण कुनै अर्को देशको दूत बोलाउँछ भने त्यस्तो दलबाट आफ्नो देशको स्वाधीनता कायम होला? यिनै व्यक्तिहरू अहिले भारतखण्ड पुराणका प्रमुख वाचक भएका छन्। यी वाचकसँग श्रवणकर्ताले एउटा मात्रै प्रश्न– 'ती दूत आएर यो गर, ऊ नगर भनी दिएको आदेश मानिँदा स्वाधीनता हुन्छ कि पराधीनता?' - Deshantar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक