20100107

तीन माओवादी कार्यकर्ताको गोली हानी हत्या


बारामा तीन माओवादी कार्यकर्ताको गोली हानी हत्या गरिएको छ। घटनामा दुई जना घाइते छन्। बुधबार राति बाराको गन्जभवानीपुरमा ३ मा घरनजिकैको चिम्नी भट्टामा भोज खाएर फर्कदै गरेको समूहमाथि मोटरसाइकलमा आएको अज्ञात समूहले राति पौने १० बजेतिर अन्धाधुन्ध गोली चलाउदा उनीहरुको मृत्यू भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा गन्जभवानीपुर-२ का रामप्रकास यादव , दारा यादव र गन्जभवानीपुर -९ का अम्बिका महतो रहेको बाराका प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले बताए। सोही घटनामा गोली लागी कन्हैया यादव र सियाराम कुसवाह घाइते भएका छन्। टाउको र कोखामा गोली लागी गम्भीर घाइते भएका कन्हैयाको राजधानीमा उपचार हुँदै छ। उनी एकीकृत माओवादीका जिल्ला कमिटी सदस्य तथा क्षेत्र २ का सेक्रेटरी हुन्। घटनामा मारिने रामप्रकास यादव कन्हैयाका दाजु हुन् भने सोही घटनामा मारिएका दारा यादव उनका भान्जा हुन्। पाखुरामा गोली लागी घाइते भएका सियाराम कुशवाहको भने वीरगन्जमा उपचार हुँदैछ। यसैबीच तराई मुक्ति मोर्चा नामक सशस्त्र समूहले उक्त घटनाको जिम्मेवारी लिएको छ। मोर्चाका बारा,पर्सा,रौतहटका सैन्य कमाण्डर अग्नीले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी उक्त घटनाको जिम्मेवारी लिएका हुन्। मोर्चाका कमाण्डर अग्नी र मारिने समूह एकै गाउँका रहेका स्थानीयले बताएका छन्।

आफ्नो महत्वाकांक्षामा ठेस पुगेपछि कार्यकर्तालाई पुनः 'जनविद्रोह'मार्फत् साम्यवादी शासन व्यवस्था स्थापित गर्न 'सत्ताकब्जा'को प्रशिक्षण दिन थालेका छन् पुष्पकमल दाहाल.......


एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल कहिले लण्डन त कहिले बेइजिङ, कहिले सिंगापुर त कहिले हङकङ भ्रमणमा व्यस्त भएका छन्। बेइजिङबाहेक उनका प्रायः यी अपारदर्शी भ्रमणक्रममा विदेशी नेताभन्दा बढी सुरक्षा संयन्त्रका प्रतिनिधिहरूसँग गोप्य भेटवार्ता हुने गरेको उनकै पार्टीका नेताहरूले बढी अनुमान गर्दै जानु स्वाभाविक भइसकेको छ। प्रधानमन्त्रीबाट राजिनामा गरेपछि तेस्रोपल्ट बुधबार उनी चीनतर्फ (खासमा हङकङ) प्रस्थान गरेका छन् जुन अवधिमा भारत भ्रमण गर्ने उनको राजनीतिक तारतम्य मिल्न सकेको छैन।

अध्यक्ष दाहाललले प्रधानमन्त्री पदमा फर्किने आफ्नो व्यापक अभ्यासबीच भारतलाई बाधकका रूपमा देखेका छन्। त्यहीकारण उनले 'राष्ट्रिय स्वाधीनता'लाई प्रमुख विषय बनाएका छन्। वैधानिक सत्तातर्फ आफ्नो यात्रालाई दक्षिणी छिमेकीले सहयोग नगरेको प्रकट गर्दै उनले पार्टीका अर्का नेता बाबुराम भट्टराईलाई भारतपरस्तका रूपमा चिनाउन थालेका छन्। भट्टराईलाई विदेशी एजेन्ट भनेर प्रस्तुत गरेपछि आफूलाई प्रधानमन्त्रीको निर्विवाद उम्मेदवार बनाउन उनलाई सजिलो भएको छ।

केन्द्रीय समितिबाट प्रधानमन्त्रीका उम्मेदवार बनेको घोषणा गरेकै भोलिपल्ट पार्टीमा धेरै नेतालाई अन्तिम क्षणमा मात्र जानकारी दिएर उनी हङकङतर्फ उड्नुको सोझो अभिप्रायः बुझ्न सकिँदैन। तर उनी झनभन्दा झन् रहस्यमयी हुँदै गएको प्रष्ट छ। चीनका नेताहरूले उनको पछिल्लो भ्रमणमा शान्ति प्रक्रिया र संविधान निर्माणमा जोड दिन र कुनै अर्को छिमेकी (यस सन्दर्भमा भारत)सँग अनावश्यक झगडा नगर्न दिएको सुझावपछि झन् उनी भारतसँगको असन्तुष्टीलाई उत्तेजकरूपमा प्रस्तुत गर्न पुगेका छन्।

अध्यक्ष दाहालले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि आफ्नो पक्षमा सहानुभूति आउने अनुमान गरेका थिए भने पनि त्यो सही सावित हुन सकेन। त्यसपछि चीनले समेत व्यवहारिक नीति अपनाउन सुझाव दिएको सन्दर्भमा उनले सत्ताप्राप्तिलाई मूल धेयका रूपमा अगाडि सार्न थालेका हुन्। तर सिंहदरवारतर्फको यात्रा असहज रहेको पुनः ख्याल गरेपछि उनमा स्वाभाविक निराशाले बलियोसँग डेरा गरेको छ। आफ्नो महत्वाकांक्षामा ठेस पुगेपछि उनी कार्यकर्तालाई पुनः 'जनविद्रोह'मार्फत् साम्यवादी शासन व्यवस्था स्थापित गर्न 'सत्ताकब्जा'को प्रशिक्षण दिन थालेका छन्।

सरकारमा गए पनि विद्रोह, नगए पनि विद्रोह भन्ने उनको प्रशिक्षणका प्रष्ट सन्देश छन्। पार्टीको भातृ संगठन नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय पदाधिकारीलाई आइतबार ललितपुरको एक बन्दकोठामा प्रशिक्षण दिने क्रममा उनले आफ्नो अभिष्ट खुलाएका छन्। त्यसअनुसार, संविधान निर्माण गर्ने र आम निर्वाचनमा भाग लिने पार्टीको लाइन हुन सक्दैन। निर्वाचनमा दुई तिहाई ल्याएर 'सत्ताकब्जा' गर्ने समेत पार्टीको नीति हुन नसक्ने किटान गरेर उनले 'जनविद्रोह'लाई नै एकमात्र स्थायी नीतिका रूपमा व्याख्या गरेका छन्।
संविधान नबनाउने पार्टीको नीति हो भने उनी शान्ति प्रक्रिया र जनताप्रति बेइमान हुन्। बाह्र बुँदे समझदारीदेखि वृहद् शान्ति सम्झौता, अन्तरिम व्यवस्थापिका-संसद, अन्तरिम संविधान, संविधानसभा निर्वाचन हुँदै अहिलेसम्मका प्रक्रियामा सहभागिता दाहालका 'कलाबिहीन नाटक' हुन्। संविधान नबनाउने लक्ष्य हो भन्ने त उनका गतिबिधिले यसबीच देखाइसकेका छन् तर त्यसलाई खुलारूपमा उनी न स्वीकार्छन्, न नकार्छन्।

संविधानसभाप्रति उनको निष्ठा छैन भन्ने उनको पार्टीले आफैं देशभरि राजा महाराजाले झैं 'गणराज्य' वितरण गर्दै हिँडेकैबाट प्रष्ट हुन्छ।

आम निर्वाचनमा भाग नलिने हो भने 'नेपालको नयाँ मूलधार'मा आएको उनको पार्टीले बाह्र बुँदेदेखि नै अन्य दल, जनता र अन्तर्राष्ट्रिय समुदायलाई सोझै धोखा दिएको हुन्छ। उनको साम्यवादी सोचको पराकाष्ठा निर्वाचनमा दुई तिहाई ल्याएर पनि नपुग्ने अभिव्यक्ति हो। कुनै पनि मूलधारको प्रतिस्पर्धी राजनीतिक पार्टीको लक्ष्य बहुमत ल्याएर सरकार निर्माण गरी आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु हो। दुई तिहाई मत राजनीतिक महत्वाकांक्षा हो जुन देशको इतिहासमा असाध्यै दुर्लभ हुने गर्छ। त्यो पनि पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि विगतमा त्यत्रो मरिमेट्ने पार्टीले त्यस्तो अभिलाषा राख्नु विरोधाभाषपूर्ण छँदैछ।

दुई तिहाई ल्याएर बलियो सरकार निर्माण गर्ने विकल्प पनि अस्वीकार गर्ने दाहालको अधिनायकवादी अभिष्टको ज्वलन्त उदाहरण हो। अर्थात् उनी कुनै प्रतिपक्ष उभिएको हेर्न चाहँदैनन्। उनको सत्तामा कोही विरोधी हुनु हुँदैन। कोही असहमत हुनु हुँदैन भन्ने सोचाइको यो प्रतिबिम्ब हो। जसरी उनी आफ्नो पार्टीमा २०४३ सालदेखि अविच्छिन्न रूपमा प्रमुख रहँदै आएका छन् र पार्टीभित्र असहमत पक्षलाई दबाउन समर्थ हुँदै आएका छन्, त्यसैको महत्वाकांक्षी लक्ष्य हो उनले स्थायी समाधानका रूपमा देखेको 'सत्ताकब्जा'।
दाहालको 'सत्ताकब्जा'को नीति राज्यसत्तामा फर्किन नसकिरहेको छटपटीको प्रतिक्रियामात्र होइन भने यसले देशको राजनीतिक प्रक्रियामा गम्भीर आघात पुर्‍याउने प्रष्ट छ। उनले आफ्नो पार्टीलाई फरक मतहरूको लोकतान्त्रिक मोर्चाका रूपमा हुर्किन नदिएकाले उनकै अभिप्रायःमा एकीकृत माओवादीको देशभरिको वृहद् सञ्जाल, संगठन र साम्यवादी रूमानी परिकल्पनाले प्रभावित आम कार्यकर्ता-समर्थक अबैधानिक क्रियाकलापमा होमिने खतरा छ। त्यसको प्रतिक्रियामा संविधानसभाका अन्य दलहरू सरकारलाई कडारूपमा प्रस्तुत हुन बाध्य हुनेछन् जसले देशलाई पुनः भिडन्ततर्फ मोड्ने छ।

बाह्र बुँदे समझदारीदेखिको राजनीतिक विकासक्रमलाई अस्वीकार गर्ने दाहालको अभिप्रायःले पार्टीलाई ऐतिहासिक चुनबाङ बैठकपूर्वको अवस्थामा फर्काउने छ। त्यो भनेको 'संसदवादी' दलहरूसँग सहकार्य अस्वीकार गर्नु हो। बहुदलीय प्रतिस्पर्धा, बहुलवादको बहिष्कार हो। शास्त्रीय ढाँचाको कम्युनिष्ट शासन व्यवस्था स्थापित गर्ने लक्ष्यमा उनले कार्यकर्तालाई प्रशिक्षित गरेको संघर्षको बाटो भनेको पुनः हत्याहिंसा हो। उनमा 'जनयुद्ध'को भूतसवार भएको हो। उनले प्रष्ट भनेकै छन्, मर्दाखेरि एकचोटी फेरि आनन्द आउने भयो, उद्धेश्यनिम्ति मरियो भन्ने हुन्छ, मर्दा पनि केका लागि मरियो भन्ने हुनसक्छ भन्ने डर अन्त्य भएको छ।

ललितपुरको खन्ना गार्मेन्टमा उनले दिएको अभिव्यक्तिको अडियो टेप संविधानसभा निर्वाचनअघि आफ्ना छापामारलाई शक्तिखोर शिविरमा दिएको प्रशिक्षणको भिडियो टेपको निरन्तरता हो। भिडियो टेप सार्वजनिक भएपछि उनले आफ्नो अभिव्यक्ति भिन्न सन्दर्भमा आएको जिकीर गरेका थिए। 'सत्ताकब्जा' गर्ने मूल नीति परिवर्तन नभएको त यतिका वर्षपछि पुनः उजागर भएको छ। संविधानसभा निर्वाचन नहोला जस्तो अवस्थामा अन्य दललाई दबाब दिन त्यस्तो अभिव्यक्ति दिएको प्रष्टिकरण दिने दाहालले पछिल्लो प्रशिक्षणको खण्डन गर्न सकेका छैनन्।

सरकारमा गए पनि 'जनविद्रोह' गर्ने हो भने माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अन्य दलहरू सहमत हुनुपर्ने कुनै कारण छैन। माओवादीको 'सत्ताकब्जा'मा वैधानिक दलहरू भागिदार हुने छैनन्। 'विदेशी प्रभु'हरू पनि माओवादीको अतिवादका साक्षी हुन सक्ने छैनन्। त्यसो भए दाहालले के आफ्ना कार्यकर्तालाई अवास्तविक, अव्यवहारिक र असम्भव प्रशिक्षण दिइरहेका हुन्? हो भने उनले आफ्ना कार्यकर्तालाई भयानक कम आँकलन गरेका हुन्। होइन भने देश दुनिया र विदेशको आँखामा उनी छारो हालिरहेका छन्।

प्रष्ट छ, दाहालले कि जनतालाई ढाँटेका छन् कि कार्यकर्तालाई।

राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायले माओवादीसँग माग गरेको छ, हिंसा सधैंका लागि परित्याग गरिएको घोषणा गर, योङ कम्युनिष्ट लिग (वाइसिएल)का नाममा संगठित जुझारू कार्यकर्ताको अर्धसंरचना भंग गर, अन्य दलका कार्यकर्तासँग राजनीतिक व्यवहार गर, शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रतिबद्ध बन। मूलधारको जिम्मेवार राजनीतिक दलका रूपमा वैधानिक तवरले स्थापित हुने राजनीतिक सभ्यताको विश्वव्यापी कार्यशैली अंगिकार गर।

दाहालले अरूको त्यही चाहनालाई पूर्णतः अस्वीकार गर्दै युद्धकालीन मनस्थितिमा पार्टीको नेतृत्वपंक्ति र कार्यकर्तालाई फर्काउन खोजेका छन्। मूठभेडको परिस्थिति बनाउँदै लगेका छन्। एउटा उत्तेजक अभिव्यक्ति दिन्छन्, दबाब परेपछि सच्याएजस्तो गर्छन् र सञ्चार माध्यमलाई आरोपित गर्छन् तर आफ्नो मूल धेयलाई भित्रभित्रै जारी राख्छन्। उनले जनतालाई भुलभुलैयामा पारिरहेका छन्। सबभन्दा बढी त आफ्ना कार्यकर्तालाई मुर्ख सावित गर्न खोजिरहेका छन्।- नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक