20091210

देश जलाउनेहरू कहिल्यै महान् हुन सक्दैनन्

-देवप्रकाश त्रिपाठी

जर्ज वासिङ्गटनले एक्काईसौं शताब्दीका मानिसको चाहना, भावना र आवश्यकतालाई दृष्टिगत गरेर आफ्ना कार्ययोजनाको तर्जुमा गरेका थिएनन्। उनकै समयका मानिसको भलाइका निम्ति चालिएका कदम दूरगामी महत्त्वको बनेका हुन्। सिद्धार्थ गौतमले अहिलेका मानिसलाई ज्यादा दुःख र समस्या हुनेवाला छ भनेर मुक्तिको खोजिगरेका होइनन्, तात्कालिक वर्तमानका मानिसलाई लक्षित गरेर नै मुक्तिमार्गको खोजी गरेका हुन्, तर धेरैपछिसम्म पनि उनका सूत्रहरू अनुशरण गरिँदै छन्, यो बेग्लै पक्ष हो। कन्फुसियसले चाइनामा र महावीरले भारतमा उनीहरूको आफ्नै समयका मानिसलाई दीक्षित तुल्याउन प्रयास गरेका हुन्। तर, तिनका विचारमार्ग मानवसभ्यताको विकासमा यति उपयोगी भइदिए कि मानवजीवन धर्तीमा रहिन्जेल उनीहरू विस्मृतिमा नजाने भए। ब्रिटिस प्रधानमन्त्री वस्टिन चर्चिल.....
आफ्नो समयका समस्या समाधान गर्ने कौशलपूर्ण क्षमता दर्शाएका कारण त्यसबेला चर्चित र अहिले स्मरणयोग्य बनेका हुन्। दुर्गम र अनकन्टार गाउँको एउटा गरिब किसानका छोरा पनि चीनजस्तो ठूलो मुलुकको शासन सत्ताको मालिक बन्न सक्छ भन्ने प्रमाणित गरेर देखाएका कारण माओत्सेतुङ चर्चित बनेका हुन् तर देङ सियाओ पिङचाहिँ तात्कालिक चीनमा व्याप्त गरिबीविरुद्ध 'युद्ध लडेर' स्थापित भएका नेता हुन्। देङले तात्कालिक चाइनाको गरिबी हटाउन खोज्दा चीन समृद्ध हुने बाटोमा लाग्यो। चीन धनी र शक्तिशाली राष्ट्र बन्नुपर्छ भन्ने आमधारणा भए पनि देङको मुख्य जोडचाहिँ तात्कालिक समाजका चिनियाँ जनतालाई भौतिक रूपमा दुःखमुक्त तुल्याउनु नै थियो। उनको नीति र निर्णयको लाभ उनीपछिका चिनियाँले पनि प्राप्त गरिरहेका छन्, यो बुझाइको अर्को पाटो हो। हिंसा, अराजकता, तनाव र गरिबीले ग्रस्त मलेसियालाई तात्कालिक सङ्कटबाट मुक्त गराउने कार्य गरेबापत महाथीर मोहम्मद मलेसियाको इतिहासका स्मरणीय पात्र बनेका छन्। करमचन्द गान्धीले भारतको तात्कालिक समाजका मानिसलाई स्वतन्त्र बनाउन अहिंसात्मक लडाइँ लडेका हुन्। गान्धीले आफ्नो समयका मानिसलाई स्वतन्त्र तुल्याउन आफ्नै समयका मानिस परिचालन गरेर सफलता प्राप्त गरेका भए पनि गान्धीपछिका पुस्ताका भारतीयले पनि शान्ति र स्वतन्त्रताको उच्चतम उपभोग गरिरहेका छन्। सिङ्गापुरका ली क्वान यु तात्कालिक समस्याको समाधान गर्न सकेका कारण त्यहाँका महामानव बन्न सकेका हुन्।
शंखधर साख्वालाई हामी नेपाली आज राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्दैछौँ। शंखधरले आजका हाम्रा लागि योगदान पुर्यासएका कारणले होइन, उनकै समयका नेपालीका निम्ति विशिष्ट योगदान पुर्यायएका कारणले हो। राजा राम शाह न्यायका लागि सुप्रसिद्ध छन् र हामी आज पनि उनको उच्चसम्मान गर्दछौँ। राजा राम शाहले उनको वर्तमानका मानिसलाई सेवा र सुविधा प्रदान गरेका कारण हाम्रो सम्मान आजतक उनका प्रति प्रकट भएको हो। आफ्नो जीवनकालमा विद्यमान समस्या समाधानमा विशिष्ट योगदान पुर्यानउने जो जहाँका भए पनि त्यस्ता व्यक्ति सम्बन्धित देशमा पुजित हुने भएकाले हामी भोजपुरका षडाननलाई शिक्षाक्षेत्रमा पुर्या एको योगदानका लागि आज पनि स्मरण गर्दैछौँ। तर, हाम्रा आजका नेताहरू वर्तमानलाई कष्टपूर्ण बनाएर भोलिका कसको निम्ति कस्तो प्रकारको सुख खोज्दैछन् यो बुझ्नुपर्ने भएको छ।
राजनीति समस्या समाधानको प्रमुख साधन मानिन्छ। तर, नेपालमा समस्या समाधानको होइन समस्याको प्रमुख स्रोत राजनीति बनेको छ। जनता शान्ति चाहन्छन्, दैनिक जनजीवन सहज र सरल होस् भन्ने चाहन्छन्, सार्वभौमिकता सुदृढ र राष्ट्रिय एकता मजबुत होस् भन्ने अपेक्षा राख्दछन्। जातीय एकता र सामाजिक सद्भाव नखलबलियोस्, विकास र निर्माणका कार्य सहज ढङ्गले अघिबढोस्, उद्योगधन्दा विस्तार होस् र रोजगारी सिर्जना होस् भन्ने जनता चाहन्छन्, तर उल्लिखित सबै चाहनामा दखल कतैबाट पुगिरहेको छ भने त्यो राजनीतिक क्षेत्रबाट पुगिरहेको छ। 'हामी उद्योग–व्यवसाय गर्न चाहन्छौँ, तपाईंहरू डिस्टर्भ नगरिदिनुहोस्, हामी आफ्ना काममा जान चाहन्छौँ, तपाईंहरू बाटो बन्द नगरिदिनुहोस्, हामी राज्यलाई कर तिर्न चाहन्छौँ, तपाईंहरू जबर्जस्ती चन्दा असुल्ने कार्य बन्द गरिदिनुहोस् र समग्रमा हामी आफंै बाँच्न चाहन्छौँ कृपया तपाईंहरू घोचीघोची नमारिदिनुहोस्,' नेपाली जनताको राजनीतिकर्मीहरूसँगको दारुण याचना हो यो। राजनीतिक क्षेत्रबाट आफ्ना पक्षमा कुनै कार्य हुने आशा नेपाली जनताले यतिबेला राखेका छैनन्, केवल समस्या पैदा गरेर आफूहरूलाई सास्ती मात्र नदिए हुने थियो भन्ने जनअपेक्षा छ। परिवर्तन र क्रान्तिका भ्रान्तिपूर्ण गफ दिएर जनता अलमल्याउन गरिएका प्रयासबारे जनता बेखबर छैनन्, एउटा भयङ्कर त्रास र बलियो नेतृत्वशक्तिको अभावका कारणले मात्र जनता प्रतिरोधमा उत्रन नसकेका हुन्।
वर्तमानमा बाँचेकाहरूलाई हदैसम्म सास्ती दिएर भविष्यको कुन नेपालीलाई यिनले सुखसुविधा दिलाउन सङ्घर्ष गरिरहेका हुन्– प्रश्न उठाउन ढिलाइ गर्नै नहुने भएको छ। हिजोको पुस्ताको समस्या र समाधान जे–जस्ता थिए, त्यस्तो आज छैन। आज हामी जुन प्रकारका समस्या भोग्दै छौँ र यसको निदान जसरी खोज्दै छौँ भोलिका पुस्ताको निम्ति वर्तमानका सबै प्रसङ्ग अप्रासाङ्गिक हुन सक्छन्। जंगबहादुर राणाले मुलुकी ऐन ल्याउँदा या चन्द्रशमशेरले सती प्रथा उन्मूलन गराउँदा मुलुकको धेरै ठुल्ठूला समस्या समाधान गरिएको ठानेका थिए होलान्। इतिहासमा यस्ता अनेकौं शृङ्खला छन् जसले तात्कालिक वर्तमानका समस्या सुल्झाएका थिए। तैपनि समस्याका पहाडको उचाइ घट्दो होइन बढ्दो क्रममै छ। नेपाली राजनीतिको वर्तमानका केही मठाधीशहरू जो भोलिको नेपाल सुन्दर–शान्त र समृद्ध तुल्याउन अहिले शान्ति, अराजकता र अन्योलको खेती गर्दै छन् यिनले बुझ्नैपर्ने सत्य के हो भने भावी इतिहासले तिमीलाई तिम्रो वर्तमानमा के–कस्ता कर्म गर्यौे भन्ने आधारमा नै तिम्रो मूल्याङ्कन गर्नेछ। वर्तमानका हामीलाई दुखाएर भोलिका नेपालीको स्यावासी खोज्नु भनेको छोरा मारेर सुन्दर नातिको कल्पना गर्नु मात्र हो। सृष्टिका सबै समस्याको समाधान अहिले नै खोजिदिने र अनन्तकालसम्मका लागि नेपाली जनजीवनलाई शान्त, समृद्ध र समस्यामुक्त बनाइदिने भन्ने शैलीमा प्रचण्डजीहरू जे गर्दै हुनुहुन्छ यसले उहाँहरूको अदूरदर्शिता र अहंकारको मात्र पुष्टि गर्दैन, प्रकृति र प्रकृति चक्रको सामान्य ज्ञानको तीव्र अभाव उहाँहरूमा रहेको तथ्य उजागर पनि यहीँनेर भएको छ। लेनिन र माओले पनि 'क्रान्ति' सम्पन्न गरेर विजयोत्सव बनाइरहँदा आफ्ना देशबाट समस्याले बिदा लिएको ठानेका थिए होलान्, तर लेनिन र माओकै कारण रसिया र चाइनाले अन्ततः कति सास्ती बेहोर्नुपर्योब भन्ने तथ्य विश्वइतिहासमा जाहेर छ। पाकिस्तानले सात वर्ष लगाएर संविधानसभामार्फत संविधान बनाएका बेला संविधानको त्यही 'ठेली'ले सम्पूर्ण समस्याको समाधान गर्ने ठानिएको हुँदो हो, तर त्यसरी कठिनाइपूर्वक जन्माएको संविधानले पाकिस्तानलाई सात वर्ष पनि चलाउन सकेन। २०४७ सालमा नेपालमा बनाइएको 'विश्वकै उत्कृष्ट' संविधान पनि बाह्र वर्षभन्दा टिक्न सकेन या टिक्न दिइएन। जब कि त्यसका निर्माताहरूले त्यसबेला उक्त संविधान सधैंका लागि निर्माण भएको र हरेक समस्याको समाधान त्यही संविधानबाट हुन सक्छ भन्ने विश्वास राखेका थिए। अहिले जतिसुकै सुन्दर संविधान निर्माण भए पनि संविधान आफैंले समस्या समाधानको निम्ति तत्परता लिने होइन। संविधानभन्दा पनि संविधानका निर्माताहरूको सोच र व्यवहारमा परिवर्तन नभएसम्म जतिसुकै सुन्दर दस्तावेज तयार पारिए पनि त्यसबाट सकारात्मक एवम् सुखद परिणामको आशा गर्न सकिन्न। समस्या राजनीतिकर्मीको सोच र व्यवहारमा छ, समाधानचाहिँ संविधानमार्फत खोज्ने धृष्टता हामी गर्दै छौँ। 'बिचरा' कागजका पाना र अक्षरका पङ्क्तिहरूले अराजकता, अस्थिरता, असुरक्षा र अन्योलको अन्त्य गर्न सक्ने भइदिएको भए एकीकृत युगोस्लाभियालगायत कैयन मुलुकले युद्ध र विघटनको पीडा किन बहन गर्नुपर्थ्यो होला र? राजनीतिकर्मी भनेर सम्बोधन गर्दा कैयन जायज भूमिकाका योग्य व्यक्तिहरूको अपमान हुन पुगेकोमा दुःखी हँुदै भन्नुपरेको छ– राजनीतिकर्मीले आफैंलाई नबदलेसम्म संविधान जतिपटक बदले पनि देशको सकारात्मक बदलाव सम्भव छैन। पृथ्वीनारायण शाहले खण्डित नेपाललाई एकीकृत बनाउनुलाई 'गम्भीर गल्ती' भन्दै तुच्छ पद प्राप्तिका निम्ति पन्ध्र हजार निर्दोष नागरिकको बलि चढाउनुचाहिँ 'महान् ऐतिहासिक र गौरवशाली कार्य' भनी दाबी गर्ने सोच नै मुलुकको आजको प्रमुख समस्या हो। देश एकीकरणको सन्दर्भलाई यसरी होच्याइएको दृष्टान्त संसारमा कतै भेटिँदैन र देशविरुद्ध एकपछि अर्को निर्दयी कदम चालिँदै जाँदा देशवासीहरू यसरी मूकदर्शक बनेको अर्को उदाहरण पनि विश्वइतिहासमा अन्यत्र कतै पाइँदैन।
माओवादीका कारण वर्तमान अस्तव्यस्त बनेको छ र देशको भावी अस्तित्वसमेत सङ्कटमा पर्नसक्ने सङ्केतहरू बलियो ढङ्गले प्रकट हुन थालेका छन्। सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता र सामाजिक सद्भाव खलबल्याएर माओवादीले देशलाई विघटनको बाटोमा डोर्यातएका छन् भने वर्तमानमा देशभित्र आतङ्क, हिंसा, असुरक्षा र अराजकताको सिर्जना गरेर देशवासीलाई त्राहिमाम बनाएका छन्। देशको वर्तमान र भविष्य दुवैलाई अन्योल र अनिश्चयको भूमरीमा पार्नु कुनै बहादुरी या महान् कार्य हुन सक्दैन। लोकतन्त्रको स्थापनापश्चात् विगतको गल्ती या अपराधका निम्ति जनतासँग क्षमा याचना गर्दै रचनात्मक, सिर्जनात्मक र सकारात्मक चरित्रको राजनीतिक यात्रामा आफूलाई समाहित गर्न खोजेको या सकेको भए माओवादी क्षमायोग्य हुन सक्थे। एउटा गल्ती छोप्न हजार गल्ती गर्दा आज उनीहरू जनदृष्टिमा उपेक्षा र हेयको पात्र बन्ने खतरा बढ्दै छ, सीमित कार्यकर्ता र लडाकुको बलमा मात्र राजनीति जोगाउन सकिँदैन भन्ने यथार्थ माओवादी नेतृत्वले आत्मसात् गर्न आवश्यक छ।
त्यसैले, प्रचण्डजीहरू यही समयका हामी जनतालाई शान्ति, सुरक्षा र सुव्यवस्थाका निम्ति प्रतिबद्ध हुनसके भने भविष्यका नेपाली जनताले पनि उहाँहरूको भूमिकाको उच्च मूल्याङ्कनसहित स्मरण गरिदिने आशा गर्न सकिन्छ। त्यसो नगरेर अनन्तसम्म आइपर्ने समस्या आजै समाधान गरिदिने शैलीमा प्रस्तुत हुँदै वर्तमानलाई यस्तै प्रकारको सास्ती दिँदै जाने हो भने त्यसले उहाँहरूलाई पोलपोटको नियति भोग्न बाध्य गराएनछ भने पनि भोलिको इतिहासले चिरकालसम्म त्यसरी स्मरण गरिरहनेछ जसरी हाम्रो धर्मशास्त्रका पात्र धुन्धुकारी र दुर्योधनहरूलाई गर्ने गरिएको छ। आज राम्रो गरिदिए पुग्छ भोलिको चिन्ता लिन भोलिकै पुस्ता आउनेछ, जन्मेको छोरालाई भोटो नपहिर्यािएर गर्भमै नआएको बच्चाको चिन्ताले जलेको स्वाङ पार्दा देश नै जल्ने स्थिति बनेको छ, देश जलाउनेहरू कहिल्यै महान् हुन सक्दैनन्, महान् बन्ने बनाउनेहरू मात्र हुन्।

कोपनहेगन, कालापत्थर र कैलाली काण्ड :
पृथ्वीको हरितगृह ग्यासलाई स्थिर तुल्याउने चिन्ताका साथ कोपनहेगनमा जलवायु परिवर्तनमाथि विश्व सम्मेलन सुरु भएको छ। गरिब तथा अल्पविकसित देशहरू जलवायु परिवर्तनका कारण अत्यन्त जोखिममा परेको यथार्थप्रति गम्भीर हुँदै उत्पन्न सङ्कटबारे विश्वलाई घच्घच्याउने उद्देश्यले नेपालले सगरमाथाको फेदमा गत साता मन्त्रिपरिषद्को बैठक आयोजना गर्योन। कालापत्थर भनेर चिनिने सगरमाथाको आधारशिविरमा सम्पन्न मन्त्रिपरिषद्को उक्त ऐतिहासिक बैठक कतिपय कोणबाट आलोचना गरिएझैँ निष्फल या फजुल ठानिन लायक देखिएन। बरु महत्त्वका साथ अनुमानभन्दा बढ्ता विश्वका सञ्चारमाध्यमहरूले स्थान दिएर प्रचारप्रसार गरिदिएकाले बैठकको महत्त्व चुलियो। विश्व समुदायका नेपाल नचिन्नेहरूले यही बैठकका माध्यमबाट नेपाल चिन्न पाए भने पूर्वपरिचितहरूले आफ्नो स्मरण ताजा पारे यो अनौठो क्याबिनेट मिटिङबाट। सामान्य दृष्टिमा नेपाल सरकारद्वारा गरिएको प्रचारात्मक भद्दा प्रयासजस्तो लागे पनि यो फगत नेपालका लागि नभएर पृथ्वीमा बास बस्ने समस्त प्राणीको अस्तित्व–रक्षासँग जोडिएको सवालमा उठाइएको कदमका रूपमा विश्वले अङ्गीकार गर्योब। नेपालको आशापेक्षाअनुरूप विश्व सम्मेलनबाट जलवायु परिवर्तनले निम्त्याएको जोखिमसँग जुझ्न आवश्यक स्रोत–साधन जुट्ला–नजुट्ला, तर जुटाउनुपर्छ भन्ने सोच र संवेदना पैदा गराइदिएको छ सरकारले अपनाएको कालापत्थर बैठकले। यस अर्थमा एक हदसम्म सगरमाथा–बैठकको उद्देश्य सिद्ध वा सार्थक भएको छ र नेपाललाई यस प्रयासले प्रत्यक्ष–परोक्ष रूपमा थप फाइदा पनि पक्कै पुर्यादएको छ।
यसरी जलवायु परिवर्तनको सन्देश छरेर त्यसले निम्त्याउने खतराप्रति विश्वको ध्यानाकर्षण गर्न र मुलुक विश्वनजरमा छाएको खुसीमा सरकार मग्न हुँदै गर्दा अर्कातिरबाट एक अनिष्ट निम्तिन पुग्यो। बलिया (कैलाली) को डुडेझाडी जङ्गल फाँडेर बसोवास गर्न तम्सिएका सुकुम्बासीहरूको प्रयासलाई रोक्न खोज्दा प्रहरी र सुकुम्बासीबीच झडप पैदा भयो। घटना त्यत्तिमै सीमित रहेन, जङ्गल फँडानी गर्न चाहनेहरूको जबर्जस्ती असैह्य किसिमले बढेको महसुस गर्दै प्रहरीले बल प्रयोग गर्नलाग्दा सुकुम्बासीहरू उत्तेजित भए र आफूसँग भएका बञ्चरो, खुर्पा, कोदालोजस्ता सामग्रीलाई हतियार बनाएर प्रहरीमाथि जाइलाग्न पुगे। प्रहरी गोलीसमेत चलाउन बाध्य बन्यो र घटनास्थल एकैक्षणमा 'रणसङ्ग्राम'मा परिणत भइदियो। धमिलिएको राजनीतिक वातावरण थप धमिल्याउन उक्त घटनाले आगोमा घ्यूको काम गर्योर।
जङ्गल कब्जा गर्न सुकुम्बासीलाई उक्साएको, सुकुम्बासीका नाममा आफ्ना कार्यकर्ता तथा क्यान्टोनमेन्टमा रहेका लडाकुसमेत परिचालित गरेको र सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप नगर्ने भनी विगतमा राजनीतिक दलहरूबीच भएको सम्झौता पालना नगरेकोजस्ता आरोप सरकार र सरकारमा सहभागी दलहरूले माओवादीमाथि लगाएका छन्, कैलाली घटनापछि। माओवादीले चाहिँ सुकुम्बासीलाई जमिन प्राप्त हुनैपर्ने भन्दै घटनामा आफ्नो असंलग्नता दाबी गरेको र विरोधमा नेपाल बन्दजस्तो गम्भीर कदमसमेत चालिसकेको छ। यस घटनालाई लिएर एकातिर दलहरू छानबिन गर्ने र सहमतिमा पुग्ने प्रयत्नमा जुटे पनि जनतामा निराशा भने जगाइसकेको छ माओवादी रवैया र सरकार तथा अन्य दलहरूको व्यवहारले। सुकुम्बासी प्रकरणको पुच्छर समातेर माओवादीले सरकार ढाल्ने प्रयत्नमा पाइन थपेको र सत्ताधारी पक्षले पनि सहमतिको बाटो पहिल्याउनुको साटो माओवादीलाई उपेक्षा गर्दै एक्ल्याउने रहर नै मुखरित गरिरहेको आरोप सचेत नागरिक तप्काबाट जो लाग्दै आएको छ, पछिल्ला घटनाले यसको पुष्टि गरेको छ। दलहरू देश र जनताप्रति पटक्कै संवेदनशील बन्न नसकेको अब कुनै तर्क वा ढाकछोपको प्रयत्नले लुकाउन नसक्ने विषय बनेर दुनियाँसामु छताछुल्ल भएको छ। एक दिनको बन्दले करोडौँको क्षति पुग्ने, सर्वसाधारण जनताले घोर दुःख पाउने र विश्व समुदायले दुत्कार्ने भलिभाँती जान्दाजान्दै पटक–पटकको वाचा तोडेर माओवादी जसरी 'बन्द'को आन्दोलनमा ओर्लियो, यसले उसको साख पनि ओह्रालेको छ। समग्रमा समस्त दलका क्रियाकलापले असफल रष्ट्रको कोटिमा उभ्याएरै छोड्ने नियतितर्फ नेपाललाई तीव्र रफ्तारमा हुइँक्याएको छ।

डुडेझारी र माओवादी

-श्रीधर शर्मा
डुडेझारी घटनालाई लिएर माओवादीले फेरि एकपटक ताण्डवनृत्य देखायो देशभर नेपाल बन्दको नाममा। न उसले स्वतन्त्र प्रेसलाई छाड्यो न एम्बुलेन्स र औषधिपसललाई नै। बरु थप नयाँ 'अग्रगामी' काम उसले पत्रिका वितरणमा रोक लगाएर देखायो यसपटक। जब यसको विरोधमा उसतर्फ प्रश्न सोझियो, अनि फेरि उही बनिबनाउ जवाफ दोहोर्यामयो, 'यो हाम्रो नीति होइन', र ऊ सबैखाले दोषबाट मुक्त भयो।
कैलालीको बलिया गाविसस्थित त्रिशक्ति सामुदायिक वनमा घटेको घटना वास्तवमा अत्यन्त दुःखद् हो जोकसैका लागि पनि। मारिनेहरू निर्दोष थिए। ती अनुचित उक्साहट र प्रलोभनमा परेर त्यहाँ पुगेका थिए। माओवादीले बाँझो रहेको जग्गा बाँड्ने भनेर नै सकेसम्मका मानिसलाई जम्मा गराएको र सार्वजनिक जमिन कब्जा गरी बस्न निर्देशन दिएको थियो त्यस स्थानमा। यसकारण यस घटनामा सरकारभन्दा दोषी माओवादी नै छ चाहे उसले चर्का आवाजले आफ्नो गल्ती ढाकछोप गर्ने जतिसुकै प्रयत्न गरोस्। स्मरण रहोस्, यस्तै प्रयास यसअघि धादिङमा पनि गरिएको थियोे।
माओवादीले आफूले दिने गरेका र अझ, कथित जनयुद्धकालमा दिएका असम्भव आश्वासनहरू सरकारमा पुगेर पनि पूरा गर्न नसकेपछि जनतामा आफूप्रति बढ्दै गएको वितृष्णा कम गर्नका लागि विभिन्न नाटक गरिरहेको छ। 'नागरिक सर्वोच्चता' उसको यस्तै नाटकको थेगो हो भने कैलालीको यो अराजक कार्य उसकै निर्देशनमा भएको सबैलाई उल्लू बनाउने अर्को धृष्टता हो। यसैगरी आन्दोलनका नाममा उसले देखाइरहेको नौटंकीप्रति कसैले वास्ता नगरेपछि मानवरगतकै आहालमा जन्मेको माओवादीले त्यस्तै स्थिति सिर्जना गर्न, लोकतान्त्रिक संविधान बन्न नदिन र मुठभेड निम्त्याएर सबैको ध्यान अन्यत्र मोड्न पनि सुनियोजित रूपमा यस्तो उपाय अपनाएको हो।
चर्को आवाजले आफ्ना कमजोरी लुकाउन, ढाकछोप गर्न खोज्ने माओवादीको सबैले जानेको चरित्र हो। एउटा उपद्रो नमच्चाई माओवादी बस्न सक्दैन भन्ने कुरा पनि सबैले बुझेकै हो। 'जनता' शब्द प्यारो मान्ने तर त्यही शब्दको बारम्बार दुरुपयोग गर्ने उसको प्रवृत्ति पनि सबैले जानेकै हो। माओवादी यही प्रक्रिया बारम्बार दोहोर्यातइरहेछ। यसैको नयाँ उदाहरण डुडेझारी घटना हो।
व्यक्तिगत सम्पत्ति कब्जा गर्नु, सार्वजनिक जग्गा र जङ्गलक्षेत्र अतिक्रमण गर्नु चाहे जुनसुकै बहानामा गरिएको किन नहोस्, त्यो राजनीति होइन अराजकता हो। माओवादी यिनै र यस्तै कुराको नेतृत्व गरेर हिँडिरहेको छ। हो, हामीकहाँ थुप्रै भूमिहीन, गरिब जनता छन्, तर वैधानिक तरिकाबाट तिनको आवश्यकता पूरा गर्नु, तिनको समुचित व्यवस्थापन गर्नुको साटो जबर्जस्तीको तरिका अपनाउनु कुनै पनि हालतमा उचित होइन। प्रलोभनमा पारेर भीड जम्मा गर्नु राजनीति होइन न त मुढेबल नै राजनीति हो। राजनीति त विचारको हुनुपर्छ, सिद्धान्तको हुनुपर्छ। आफ्ना वास्तविक सिद्धान्त र विचारहरूप्रति आस्थावान व्यक्तिहरूको समूहले राजनीतिलाई सही दिशातर्फ डोर्याकउँछ भने माओवादीको जस्तो सस्ता नारा र खोक्रा आश्वासन अनि झुटको खेतीले देशलाई रणभूमि बनाउनेबाहेक कुनै काम गर्दैन।
यस पृष्ठभूमिमा झुटा आश्वासन दिएर गरिब, विपन्न अनि सोझा–सिधा जनतालाई भड्काउँदै व्यक्तिगत सम्पत्ति वा सरकारी जमिनमाथि अतिक्रमण गर्न लगाउने माओवादीलाई राजनीतिक दलको रूपमा कसरी स्वीकार गर्ने भन्ने प्रश्न उठ्न थालेको छ अहिले। डुडेझारीजस्ता घटना सीधै अराजक कार्य हुन्। माओवादी राष्ट्रवादको कुरा गर्छ तर यो वा त्यो बहानामा आतङ्क मच्चाउने गतिविधि र मुठभेड निम्त्याउने कार्य गर्छ, दुहाई लोकतन्त्रको दिन्छ तर गतिविधि जबर्जस्तीको गर्छ भने उसको राष्ट्रवादलाई, उसको लोकतन्त्रलाई कसरी बुझ्ने? कसरी विश्वास गर्ने? गम्भीर प्रश्न छ।
समस्याहरू आउँछन् अत्तालिनु हुँदैन, आक्रोशित हुनुहुँदैन। धैर्य र संयमका साथ गरिने कामले राम्रो परिणाम दिन्छ भने जिम्मेवारीबोध र संयमताका साथ नगरिने कामको परिणाम दुःखदायी हुन्छ। कुनै कार्यले भविष्यमा पार्नसक्ने दूरगामी असरको कुनै वास्ता नै नगरी तात्कालिक लोकप्रियताका लागि अघि बढ्नु गल्ती हो, यही गल्ती माओवादी गरिरहेछ। डुडेझारीको सन्दर्भमा कुरा गर्दा माओवादीले जमिन पाइने आशा र प्रलोभन देखाएर विभिन्न ठाउँका मानिसलाई उक्त स्थानमा जम्मा गरेको थियो। ती वास्तविक सुकुम्बासी नै हुन् भन्ने आधार र प्रमाणबिना उसले मानिसहरूलाई आफ्नो पक्षमा लिनका लागि यसो गरेको थियो। यसमा माओवादीका विभिन्न भ्रातृ सङ्गठनहरू संलग्न थिए। तर, अवैध रूपमा जमिन कब्जा गर्नेहरूलाई हटाउनु, सरकारी सम्पत्तिको संरक्षण गर्नु सरकारको दायित्व थियो, यसैका लागि सरकार लाग्यो र घटनाले यस खालको दुःखद् रूप लियो। के यसमा पनि सरकारलाई दोष दिन मिल्छ? पक्कै मिल्दैन।
दुःखका साथ भन्नुपर्छ– अहिले नेपाली हुनुमा गर्व गर्नेभन्दा नेपाली हुनुलाई दुर्भाग्य ठान्नेहरूको सङ्ख्या बढ्दै गएको छ नेपालमा। जनताका नाममा राजनीति गर्नेले नै जनतालाई थिचोमिचो गर्ने, तिनका दुःख, पीडाप्रति कुनै वास्ता नगरी केवल सत्ता र भत्ताकै लागि मरिहत्ते गर्ने अवस्था देखेपछि यसखालको निराशा उत्पन्न हुनु अस्वाभाविक पनि होइन। शान्ति, सुरक्षा र विकासका लागि नेताहरूको ध्यान नपुग्दा मुलुक अधोगतितर्फ धकेलिएको छ, मुलुकको युवाशक्ति विदेशमा श्रम बेच्न बाध्य छ भने बौद्धिक वर्ग पलायन भइरहेको छ। संविधान लेखनको कार्य अलमलमै छ र समयमै सो कार्य सम्पन्न हुने कुरामा कसैलाई विश्वास छैन। यस स्थितिमा राजनीतिक संरक्षणमै अराजक गतिविधि हुनुले थप निराशा उत्पन्न गर्नेबाहेक केही गर्दैन। यस कुराप्रति आफूलाई सत्ताको सक्कली हकदार ठान्ने माओवादी नै गम्भीर हुनुपर्छ।
अन्त्यमा भन्नुपर्दा, एकातिर तुहिँदो आन्दोलन तथा अर्कोतिर बहुचर्चित 'सिङ्गापुर दौडाहा' अर्थहीन भएको पीडामा रन्थनिएका प्रचण्ड र उनको पार्टीले कथित सुकुम्बासीको नाममा राजनीति गर्न खोजेको कुरा जगजाहेर छ। अनि हरेक घटनापछि ध्यान अन्यत्र मोड्न अर्को ताण्डव मच्चाउने माओवादी नीति सबैले बुझेकै छौँ भने डुडेझारी घटना पनि माओवादीको यस्तै नीतिअन्तर्गतको हो, पूर्वनियोजित घटना हो भनी बुझ्दा हुन्छ। तर, त्योभन्दा पनि बुझ्नुपर्ने कुराचाहिँ के हो भने यस्ता घटनाले न सरकार गिराउन सकिन्छ न जनताको मन जित्न नै।- घटना र विचार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक