- देवप्रकाश त्रिपाठी
युद्ध छोडेर देशको शान्ति–प्रक्रियामा आयो भन्ने ठानिएको नेकपा माओवादीले सशस्त्र सङ्घर्ष केका निम्ति लडेको थियो ? लोकतन्त्रका लागि, गणतन्त्रका निम्ति, नौलो जनवाद र समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि, देश विकासका लागि, राष्ट्रिय स्वाधीनता र सम्मानका लागि, देशको सुदृढ एकीकरणका लागि वा केवल तुच्छ महत्वाकाङ्क्षा परिपूर्ति गर्ने सत्तास्वार्थका लागि या कसैको इसारामा देशकै बर्बादीका लागि, नेपालीले एकपटक समीक्षा गर्नैपर्ने बेला आएको छ। शान्ति र स्थिर तलाउलाई शान्त र स्निग्ध राखिरहन जति मुस्किल हुन्छ त्यसमा तहल्का मच्चाउन कुनै ठूलो आयतनको परिश्रम गरिरहनु पर्दैन, एउटै सानो ढुङ्गा पनि तलाउको शान्ति र स्थिरता खलबल्याउन प्रशस्त हुन्छ। प्रचण्डले नेपालमा बृहत्तर रूपको हिंसात्मक सङ्घर्ष सुरु गर्नुअघि वर्तमानको एमाले र तत्कालिक कोकेले पनि देशमा ठूलै हलचल पैदा गरेको तथ्य भुल्नुहुँदैन। भत्काउनु या बिगार्नु बहादुरी हो कि सिर्जना या निर्माण गर्नुचाहिँ बहादुरी हो? पराले झोपडी खडा गर्नु पनि आफैंमा सिर्जना हो, सिंहदरबार भत्काएर त्यही स्थानमा पराले झोपडी बनाउनुचाहिँ बहादुरी हो कि सिर्जनशीलता?
ज्यान खतरामा परेका बेला मानिसले डाँकुलाई पनि देवता सम्बोधन गरेर चरणस्पर्श गर्न सक्छन् भने भयङ्कर त्रासको वातावरण सिर्जना गरिँदा जाबो एउटा भोट दिनु–लिनुलाई प्रेम, ममता र विश्वास प्रकट भएको ठान्न सकिन्न। तिनै हातका भोटहरू जोगमेहरदेखि मरिचमान, नानीमैना र तीर्थरामहरूलाई
पनि प्राप्त भएका हुन्। मानिसले राजनीति देशभित्र गर्ने हो देश नै अस्तव्यस्त तुल्याउने कार्यलाई राजनीति भनेर प्रोफेसर लास्की र विद्वान् रुसो मात्र होइन मेकियावेलीले पनि भनेका छैनन्। देश अस्तव्यस्त बनाउने कार्यलाई सामान्यतया विद्वान्हरू आतङ्क भन्ने गर्दछन्। मानिस म बेठीक गर्दै छु भनेर कुनै काम गर्दैन, हरेक मानिस आफूलाई ठीक र उचित लागेकै भूमिका निर्वाह गरिरहेका हुन्छन्। इदिअमिनदेखि स्टालिनसम्मले आफ्नो जीवनकालमा जे गरेका थिए त्यो बेठीक गरिँदै छ भन्ने सोच्दै गरेका थिएनन्। लेनिनले आत्मनिर्णयको अधिकारसहितको सोभियत सङ्घ भविष्यमा विघटन गर्न र अस्तव्यस्त तुल्याउनका लागि भनेर खडा गरेका थिएनन्। हिटलर र मुसोलिनीले राष्ट्रवादका नाममा निश्चित जातिको संहार निमित्त निर्वाह गरेको भूमिकालाई वर्तमान विश्वले जतिसुकै आलोचना र तिरस्कार गरे पनि उनीहरू स्वयम्ले चाहिँ हामी बेठीक र अनुचित कार्य गर्दै छौँ भनी कहिल्यै महसुस गरेका थिएनन्। त्यसैले यतिबेला प्रचण्डजीहरू जे गर्दै हुनुहुन्छ उहाँहरूलाई ठीक गरिरहेका छौँ भन्ने लाग्नु स्वाभाविक छ। इतिहासले कहिल्यै क्षमा दिन नसक्ने एउटा अँध्यारो कालखण्डका 'नायक'का रूपमा भोलिको इतिहासले धारणा बनाउँछ कि भन्ने चेत उहाँ स्वयम्मा नपलाउनु अस्वाभाविक छँदै छैन। चंगेल खाँजस्ता आततायीले आफूलाई कहिल्यै गलत ठानेनन्, माओत्सेतुङले सांस्कृतिक क्रान्तिका नाममा लाखौं चिनियाँ नागरिकको बलि भोगिरहँदा उनी पनि आफू जायज र अत्यावश्यक कर्म गरिँदै छ भन्ने ठान्दै थिए, माओको जीवनकालमा आ–आफ्ना बेडरुममा बसेर सांस्कृतिक क्रान्ति गलत हो भन्ने हिम्मत पनि कुनै चिनियाँ नागरिकसँग हुँदैनथ्यो तर उनको मृत्युपश्चात् तियनमेन स्क्वाएरमै उभिएर सांस्कृतिक क्रान्ति मुर्दावाद भन्नेहरू लाखौंलाख भए।
माओवादीले संविधानसभामार्फत संविधान बन्नुपर्योा भन्ने माग राख्ने त्यसलाई नाजायज भन्नुपर्ने कारण थिएन, गणतन्त्र स्थापना गरेर साँचो अर्थको लोकतान्त्रिक अभ्यास गरिनुपर्छ भनेर उनीहरूले भने त्यसलाई पनि सैद्धान्तिक रूपमा मानिसहरूले अर्घेल्याइँ या अनिष्टकारी सोच मानेनन्। तर, लोकतन्त्र र गणतन्त्रसमेतको स्थपनापश्चात् माओवादीहरू जे–जस्ता हरकत गर्दै छन् त्यसलाई जायज र उपयुक्त माओवादीबाहेक कसले भनेको छ? खासगरी देशलाई जातिवादतर्फ धकेल्दै आन्तरिक युद्धको आधारभूमि जसरी खडा गरिँदै छ यसले असली नेपालीको मुटुमा सियो रोपेझैं अनुभूति गराएको छ। तै पनि माओवादीले हिंसात्मक र कुनै उपद्रोकारी घटना गराउँदैनन् कि भनेर जनताले दिएको मत आज उनीहरूलाई मदजस्तो भएको छ र झनै विष्मयकारी घटना सिर्जनाका लागि उपे्ररित देखिँदै छन्। 'बाघलाई बलियो बनाए धेरै गाई मारिदिन्छ, जोगीलाई बलियो बनाए धेरै घर डुल्छ र गाईलाई बलियो बनाए धेरै दूध दिन्छ' भन्ने सत्यलाई प्रमाणित गर्दै माओवादीले जनताको 'साथ' पाएपछि जनतालाई नै सताउने काम ज्यादा गरिरहेका छन् भन्ने महसुस आमदेशवासीले गरेका छन्। संसद्को बैठक महिनौंदेखि अवरुद्ध गर्नु र सडक–सङ्घर्ष गरेर सामाजिक जीवनलाई अस्तव्यस्त तुल्याइनुले माओवादीप्रतिको धारणामा परिवर्तन ल्याउँदै गरेका बेला उसले जातीय आधारमा गणराज्यहरूको घोषणा गर्ने जुन कार्यक्रम सार्वजनिक गरेको छ यसबाट उनीहरू देशप्रति तिलबराबर पनि संवेदनशील र इमानदार नरहेको प्रमाणित गर्दछ।
दुःख हरेक मानिसको जीवनमा हुन्छ, हरेक मानिस जो जुनसुकै तह र तप्काका हुन् कुनै न कुनै प्रकारले उनीहरू दुःखमा रहेका हुन्छन्। जन्म र जीवनसँगै दुःख लपक्क टाँसिएर आउने हुँदा राजकुमार सिद्धार्थ गौतमले आफू सत्ताका मालिक भएर पनि राजनीतिका माध्यमबाट मानिसलाई दुःखमुक्त गर्न नसकिने निष्कर्ष निकाले। दुःखबाट मुक्त गर्न भनेर आसुरी प्रवृत्ति दर्शाउनेहरू पनि त्यसबेला नभएका होइनन्, तर, सिद्धार्थ गौतमले देवत्वपथबाट दुःख मुक्तिको उपाय खोजे, साढे दुई हजार वर्षअघि नै उनले मानिसलाई दुःखमुक्तिको उपाय सुझाएका हुन्। तथापि संसारमा अहिले पनि दुःखी र दुःखको कुनै कमी छैन। स्वयम् बुद्धका अनुयायीहरू पनि दुःखी नै छन्। त्यस्तै मार्क्स, लेनिन, माओ, स्टालिन र किम आदिले पनि मानिसलाई दुःखबाट मुक्त गर्ने उपाय सुझाएका हुन्, तथापि चीन, रसिया, कोरिया आदि कहीँका बासिन्दा पनि दुःखमुक्त हुन सकेका छैनन्। सुख र शान्तिका निम्ति ती मुलुकमा पनि सङ्घर्ष जारी नै छ। यहाँ नेपालमा माओवादीले संविधानसभामार्फत संविधान बनाइनुपर्छ भनेर जुनसुकै नियत या कारणले भनेका भए पनि जनताले चाहिँ संविधानसभाको गठन भएपछि शान्ति छाउँछ र संविधान बनेपछि सुखका दिन आउँछन् भन्ने आशा राखेका हुन्। तर, एकपछि अर्को जटिल समस्याहरूको सिर्जना गर्दै प्रचण्डले तुच्छ सत्तास्वार्थका लागि जे–जस्ता क्रियाकलापहरूको प्रदर्शन गरिरहनुभएको छ यसले माओवादीको नियतमाथि नै गम्भीर तहको आशङ्का र अविश्वास पैदा गराएको छ। दस वर्ष लामो हिंसात्मक द्वन्द्वका क्रममा करिब पन्ध्र हजार नेपालीले ज्यान गुमाए, पन्ध्र हजारको ज्यान जाने गरी युद्ध गरेर प्रधानमन्त्रीका रूपमा सिंहदरबार पुग्नुभएका प्रचण्डको तस्बिर त्यहाँ मरिचमान सिंहको सँगै एक लहरमा झुन्डिएको छ। मरिचमानसँगै तस्बिरमा झुन्डिन त्यति ठूलो हिंसा किन रच्नुपर्थ्यो? अब देश तवाहीको अर्को शृङ्खला सुरु गरिएको छ। एउटै मानिस नमारीकन पनि कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतले प्रधानमन्त्रीको हैसियत प्राप्त गरेकै हुन्। जाबो प्रधानमन्त्री बन्नका लागि देशलाई नै अस्तव्यस्त बनाउने काम नभइदिएको भए अति उत्तम हुनसक्थ्यो भन्ने आमनेपालीको सोच छ।
माओवादीले हिजो जे गरे त्यो नेपाली जनताले भूले या भुल्नु उचित ठाने, तर अहिले जे गर्दै छन् त्यो भुल्न सकिने प्रकारको छैन। देशलाई जातीय आधारमा विभाजन गर्ने कार्य आफैंमा विषवृक्षको रोपण हो। कहिल्यै नसकिने युद्धको जग माओवादीले हालेको छ र युद्ध सकिएछ भने पनि यसले कहिल्यै नपुरिने घाउ बनाउँछ भन्ने तथ्य विश्वइतिहासका घटनाक्रमहरूले दर्शाएका छन्।
संविधानसभामा देशको आन्तरिक संरचना कस्तो प्रकारको हुने भन्न छलफल चल्दै छ र त्यसको अन्तिम निर्णय लिने आधिकारिक निकाय पनि संविधानसभा हो। संविधान निर्माणको प्रक्रिया चलिरहँदा माओवादीले गणराज्यहरूको सार्वजनिक घोषणा गर्न चाह्यो, यसबाट माओवादीहरू संविधानसभाप्रति सकारात्मक छैनन्, त्यसलाई प्रभावकारी बनाउन चाहँदैनन् र संविधानसभामार्फत संविधान निर्माण गर्ने पक्षमा उनीहरू छैनन् भन्ने स्पष्ट गरेको छ। गणराज्यहरूको एकतर्फी र बलजफ्ती घोषणाले माओवादीहरू राजनीतिक रूपमा नसुधि्रएको मात्र पुष्टि गर्दैन, उनीहरू संविधानसभाको उपेक्षा गर्न चाहन्छन् र बृहत् शान्ति–सम्झौताको औचित्य समाप्त भएको मानसिकतामा छन् भन्ने पनि दर्शाउँछ। देशको एकता र सद्भावनाका आधारहरू ध्वंश गर्दै जाने क्रममा भाषा, धर्म, संस्था र सेनामाथिको हमलापछि अब जातीयतामाथि केन्द्रित गरिएको छ। देशभरि छरिएर रहेका जातजातिलाई आतङ्कित तुल्याउँदै निश्चित क्षेत्र निश्चित जातिका नाममा राज्य कायम गरिने प्रयास जुन माओवादीबाट भयो यसलाई ध्वंश गर्ने सिलसिलाको एउटा निर्णायक कडीका रूपमा बुझ्न सकिन्छ। राजनीति जातको कुरामा अलमलिएपछि मानिसको अर्को कुनै सिद्धान्त, विचार र दर्शन हुँदैन। त्यस्ता व्यक्ति आफ्नो सम्पूर्ण भविष्य जातभित्र देख्छ र त्यहीँ खोज्छ। तिनीहरूका निम्ति देशभन्दा जात ठूलो हुन्छ र जातीय सम्प्रदाय जोगाउन राष्ट्र र राष्ट्रियताको नारा दिइरहेको हुन्छ। जातीय राजनीति सुरु भएपछि देशमा कम्तीमा विचारको विघटन हुन्छ भन्ने दृष्टान्त मलेसियामा देखिएको छ भने बढीमा देशकै विघटन पनि हुनसक्छ भन्ने कुराको एउटा उदाहरणचाहिँ सोभियत सङ्घ हो। लेनिनले आत्मनिर्णयको अधिकारसहितको सङ्घीयताको अवधारणा दिए, त्यही अवधारणा घातक भएको महसुस स्टालिनले गरेका थिए र उनी त्यसलाई सच्याएर समग्र सोभियत सङ्घलाई एउटै मालामा उन्ने सूत्रको खोजी गर्दै थिए। मार्क्सवाद र लेनिनवाद मात्रले सोभियत सङ्घको एकता जोगाउन नसक्ने देखेपछि स्टालिनले रसियन भाषाको धागोमा सबैलाई उन्ने प्रयत्न गर्दै थिए। प्रान्तीय अधिकारलाई सीमित गरी केन्द्र बलियो बनाउने कार्यारम्भ पनि उनी गर्दै थिए। तर, ढिलो गरिएको सुरुवातले सोभियत सङ्घको एकतालाई जोगाउन सकेन, अन्ततः देश पन्ध्र टुक्रामा विभाजित भइछाड्यो। लेनिनको गल्ती माओले दोहोर्याकएनन्, युद्धकालमा लेनिनले झैं आत्मनिर्णयको अधिकारसहितको राज्यको नारा दिए पनि क्रान्ति सम्पन्न भइसकेपछि माओ त्यसबाट पछि हटे र चीनलाई जोगाए।
माओवादी आन्दोलनलाई निष्त्रि्कय बनाउनसक्ने कुनै 'एन्टिबायोटिक' छ भने त्यो जातीय–क्षेत्रीय (साम्प्रदायिक) भावना हो भन्ने कुराको पुष्टि इथियोपियाले पनि गरिसकेको छ। नेपालमा त्यस्तो 'एन्टिबायोटिक' माओवादी आफैंले आफ्नो हातैमा बोकेर हिँड्नुले आश्चर्य पैदा गराएको छ। देश मात्र होइन, देशसँगै आफू पनि सकिने सूत्र कार्यान्वयनमा माओवादी कसको कुन स्वार्थ पूरा गर्नका लागि हिँड्दै छ ? उसको सशस्त्र युद्ध देशकै विघटनका निम्ति सिर्जना गरिएको थियो कि थिएन ? नेपाली जनताले अब खोज्नुपर्ने बेला आएको छ। - घटना र विचार
20091202
माओवादी फेरी यसरी पासा फ्याँक्दैछ, काङ्रेस एमाले अरु दल सचेत भएनन भने नेपाल बिघटन हुन धेरै समय लाग्ने छैन !
1 comment:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
This is not political thinking. This is just the voice from distracted persons who do not want our to be independent. This does not mean Maosit are right but actually so called democrats NC and UML attempts to prove that look if Nepal needed to be free first fisnish UML and NC. Yes you are right but why do not you oppose at the very begining of 12-point treaty. This type of doctrine obseesive to only one party is very dangerous to nation.
ReplyDelete