20091205

सुकुम्बासी कान्ड चर्किदैछ, छ लास भेटिए, अन्य केही बेपत्ता, प्रचन्डको माओवादी सुकुम्बासी प्रकरण् लाई तताउने पक्षमा, आईतवार नेपाल बन्द


एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले शान्ति प्रक्रियालाई भड्काउने र संविधान निर्माणलाई अवरुद्ध तुल्याउने नियतले सरकारले नै कैलालीमा हिजो सुकुम्बासीमाथि आक्रमण गर्न लगाएको आरोप लगाउनुभएको छ। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन विश्वविद्यालय राष्ट्रिय समिति र त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको प्रथम संयुक्त अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले छलफलद्वारा समस्याको समाधान खोज्नुको साटो सरकार सुकुम्बासीमाथि पञ्चायती शैलीमा निर्मम दमनमा उत्रेको बताउनुभयो। अध्यक्ष दाहालले छ जनाभन्दा बढी निहत्था व्यक्तिको ज्यान जाँदासमेत सरकारले राजनीतिक दलहरूसँग समस्या समाधानका लागि पहल र छलफल नगरेको भनी आक्रोश व्यक्त गर्नुभयो।
कैलालीमा भएको घटनाको विरोधमा एकीकृत माओवादीले आइतबार नेपाल बन्दको घोषणा गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बन्दको घोषणा गरिएको हो। मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ। पत्रकार सम्मेलनमा मारिएकालाई शहीद घोषणा गरिनुपर्ने, घाइतेको उपचार गरिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग पनि गरिएको छ। आज ५ बजे राजधानीमा मसाल जुलुस गर्ने निर्णय पनि माओवादीले गरेको छ।
उता, वन अतिक्रमणकारी र प्रहरीबीच हिजो भएको झडपका कारण आज पनि कैलालीको वातावरण तनावपूर्ण छ।
आज दीपायल, धनगढी र नेपालगन्जबाट समेत थप प्रहरी बल मगाइएको छ। विरोधमा एकीकृत माओवादीले अनिश्चितकालीन कैलाली बन्दको आह्वान गरेको छ। धनगढीबाट नागरिकन्युजकर्मी दिलबहादुर छत्यालले जनाएअनुसार बन्दका कारण धनगढी बजार ठप्प छ।अतिक्रमणकारीले गएराति एक दर्जन सवारी साधन जलाएका छन्।
उता, कैलालीमा भएको घटनाको विरोध गर्दै नेकपा माओवादीको थारुवान राज्य समितिले दाङको यातायात बन्द गराएको छ। त्यसैगरी अखिल नेपाल सुकुम्बासी संघले थारुवान क्षेत्रका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बन्द आह्वान गरेको छ।
कैलालीको डुडेझारी जंगल क्षेत्र कब्जा गरी बनाइएका सवै टहरा शनिबार सुरक्षाकर्मीले हटाएका छन् । टहरा भत्काई जंगल क्षेत्र खालि गर्न सयौं सुरक्षाकर्मी परिचालन गरिएको थियो । सशस्त्र सुरक्षाकर्मीले टहरा भत्काउन थालेपछि अतिक्रमणकारीहरु त्यहाँबाट लाखापाखा लागेका छन् । कैलालीको बलिया वन क्षेत्र कब्जा गरी बसेका अतिक्रमणकारी र प्रहरीबीच शुक्रबार भएको झडपमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । पछिल्लो जानकारी अनुसार एक प्रहरी र ५ जना अतिक्रमणकारीसहित ६ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुमा नरेन्द्र बिक, सञ्जय ढकाल, लक्की चौधरी, लर्के विक र रुपलाल डगौरा छन् । त्यस्तै प्रहरी जवान पदम सिंह ऐरको पनि मृत्यु भएको छ । भीडन्तमा प्रहरी र अतिक्रमणकारी गरी तीन दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाको विरोधमा माओवादीले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङ जिल्ला बन्द गराएको छ । बन्दका कारण ती जिल्लाको जनजीवन कष्टकर बनेको छ । बजार र यातायातका साधन ठप्प छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक