20091211

गृहमन्त्रीमा फौजी उन्माद र आपराधिक मनोवृत्तिको पराकाष्ठा देखिएको भन्दै माओवादीद्वारा गृहमन्त्री भीम रावलमाथि कारबाहीको माग


बाच्नु पर्छ के के देख्न सुन्नु पर्छ, १५ हजार भन्दा बढी को खुन पिएका हरु र जता ततै कानुन को खिल्ली उडाउदै नयाँ नेपाल का नाम मा आतंक मच्चाइ रहेका माओवादीहरुले यस्तो माग गर्दै प्रेस रिलिज जारी गरेको देख्दा दुनियाँ तीन छक परेको छ । 
माओवादीले गृहमन्त्री भीम रावलमाथि कारबाहीको माग गरेको छ। डुडेझारीदेखि सल्यानको लुहापिङसम्म आइपुग्दा गृहमन्त्रीमा फौजी उन्माद र आपराधिक मनोवृत्तिको पराकाष्ठा देखिएको भन्दै उसले तत्काल गृहमन्त्रीलाई कारबाही गर्न माग गरेको हो। संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका अध्यक्ष बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा सल्यानमा २०६६ मङ्सिर २३ गते घेराउ कार्यक्रम सम्पन्न गरी बसमा फर्किरहेका माओवादीमाथि सल्यान लुहापिङ, कभड हलनिर एमालेसम्बद्ध युथ फोर्सका जत्थाले एकाएक ढुङ्गामुढा गरेको र दर्जनौं युवाहरूलाई घाइते बनाएको आरोप लगाइएको छ। राज्यको आडमा सत्ताधारी दलका भरौटे......
लठैतहरूले गरेको त्यो आततायी आक्रमणको जनआन्दोलन घोर निन्दा एवम् भर्त्सना गर्दछ भन्दै विज्ञप्तिमा उनले कठपुतली सरकारका गृहमन्त्रीले सो घटनामा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का कार्याकर्तालगायतका युवाहरूमाथि गोली चलाउने र जनआन्दोलनका जिल्ला संयोजक, एकीकृत माओवादीका सल्यान जिल्ला सेक्रेटरी र वाईसीएल अध्यक्षलाई झुट्टा मुद्दा लगाएर थुन्ने ठाडो आदेश दिएको पनि जनाएका छन्। र, भनेका छन्- त्यो आदेश अस्वीकार गरेकै कारण प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र जिल्लाका निमित्त प्रहरी प्रमुखसमेत रहेका प्रहरीनिरीक्षक राजबहादुर खिउजुलाई ठाडो आदेशमा कारबाहीस्वरुप स्थानान्तरण गराएको घटनाप्रति हामी घोर आपत्ति जनाउँछौं।

माओवादी स्वायत्त गणराज्य घोषणा सुरु : झापाको बिर्तामोडबाट कोचिला र तेह्रथुमबाट लिम्बूवान स्वायत्त गणराज्य घोषणा

अन्य राजनीतिक दलको तीब्र विरोधका बावजुद माओवादीले स्वायत्त गणराज्य घोषणा सुरु गरेको छ। जसअन्तरगत उसले शुक्रबार झापाको बिर्तामोडबाट कोचिला र तेह्रथुमबाट लिम्बूवान स्वायत्त गणराज्य घोषणा गरेको हो। तत्कालीन प्रधान सेनापति रुक्माङगत कटवाल प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको माओवादीले गणराज्य घोषणा गरी सङ्घीय राज्य स्थापनाका निम्ति दबाब दिएको जनाएको छ। 'सङ्घीय राज्य निर्माण नगर्ने षडयन्त्र भइरहेको छ', झापा, मोरङ र सुनसरीलाई कोचिला स्वायत्त गणराज्य घोषणा गर्न विर्तामोडमा आयोजित कार्यक्रममा माओवादी नेता नेत्रविक्रम चन्दले भने – 'त्यसैले दबाबका लागि गणराज्य घोषणा गरिएको हो।' यसलाई देशभर निरन्तरता दिइने चन्दले जानकारी दिए।

यसअघि दोस्रो चरणकै आन्दोलनमा गणराज्य घोषणा गर्ने कार्यक्रम तय गरे पनि माओवादीले त्यसले अप्ठ्यारो स्थिति सिर्जना गरेको भन्दै तत्काललाई घोषणा स्थगन गरेको थियो। प्रचारात्मक कार्यक्रम मात्रै भएको भन्दै माओवादीले त्यसबेला फिर्ता लिए पनि गणराज्य घोषणा कार्यक्रम यथावत् रहेको बताएपछि अन्य दलले संविधानसभाको अवमूल्यन भएको भन्दै विरोध गरेका थिए। तर, माओवादीले त्यसको प्रवाह नगरी गणराज्य घोषणा थालेको हो।

माओवादीले कोचिला गणराज्य घोषणा गरेको झापा, मोरङ र सुनसरीलाई आफ्नो राज्य दाबी गर्ने लिम्बूवान सङ्गठनहरुले पनि माओवादी कदमको आलोचना गरेका छन्। “अरुण पूर्वका ९ जिल्ला लिम्बूवानमा पर्दछन्” मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन भन्छन् – हामी यो घोषणा स्वीकार गर्दैनौं।” तर, माओवादी मत भने बेग्लै छ। “जातीय मुक्तिका लागि पनि यो जरुरी छ”– नेता नेत्रविक्रम चन्दले भने।

शुक्रबार माओवादीले बिर्तामोडमा मुख्य राजमार्ग ५ घण्टाभन्दा बढी अवरुद्ध पार्दै कोचिला गणराज्य घोषणा गरेको हो। सशस्त्र आन्दोलनकालमा झापा, मोरङ र सुनसरीलाई कोचिला क्षेत्र नामाकरण गर्दै सङ्गठन विस्तार गरेको माओवादीले तीन जिल्लालाई कोच राज्य घोषणा गरेको हो। अहिले यी तीन जिल्लामा कोचहरुको जनसङ्ख्या झण्डै सवा लाख छ। कोचमा राजवंशी, धानुक, गनगाई र ताजपुरिया जाति पर्दछन्।

कोचिला गणराज्य घोषणासभामा सहभागी हुन माओवादीले तीन जिल्लाबाट बसमा सर्वसाधारण ओसारेका थिए। वाइसीएलको बाक्लो सुरक्षा घेराभित्र आयोजित घोषणा सभामा १५ वटा मैन बत्ती बालेर माओवादीले जातीय एकताको प्रतीक भनेका थिए। हरिबोल गजुरेल, झलक दर्लामी, गौरीशङ्कर खड्का, पूर्णसिंह राजवंशीलगायतका नेता सभामा सहभागी थिए।

माओवादी स्रोतका अनुसार कोचिला स्वायत्त गणराज्य प्रमुखमा पूर्णसिंह राजवंशी तोकिएका छन्। द्वन्द्वकालमा कोचिला मुक्ति मोर्चाका अध्यक्ष रहेका उनी झापा क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् हुन्। कङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि राजवंशी चर्चित बनेका थिए। २०५७ देखि उनी माओवादीमा आबद्ध छन्। त्यस्तै तेह्रथुमबाट घोषित लिम्बूवान गणराज्य प्रमुखमा श्रीप्रसाद जबेगु तोकिएको माओवादी स्रोतले जनाएको छ।- राजु अधिकारी/नागरिक


"ठूला दल सत्ता प्राप्तिको खेलमा लाग्दा मुलुक गृहयुद्धतर्फ जान लागेकोछ"

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले ठूला दल सत्ता प्राप्तिको खेलमा लाग्दा मुलुक गृहयुद्धतर्फ जान लागेको बताएका छन्। 'काङ्ग्रेस, एमाले र माओवादी सत्ता प्राप्तिको खेलमा लागेका छन्', राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैठौँको १७ औँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन आयोजित सम्मेलनमा केसीले भने- 'सत्ताको खेलले मुलुक गृहयुद्धतर्फ जान थालेको छ।' नेता केसीले माओवादीले गणराज्य घोषणाको कुरा अगाडि सारेर जनताको सम्मानमा आँच पुर्‍याएको बताए।

राष्ट्रलाई विखण्डनबाट बचाउन आफूहरू लागिपरेको उल्लेख गर्दै उनले जनगणतन्त्र र सङ्घीयताले देशमा जातीय दङ्गा भड्काउने तर्क राखे।

यसैबीच सो पत्रकार सम्मेलनमा अखिल छैठौंका केन्द्रीय अध्यक्ष राजेन्द्र ढुङ्गानाले चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा हुने राष्ट्रिय सम्मेलनमा देशभरका ७५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने जानकारी दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक