20091216

"प्रचण्ड पनि यहाँ आएको भन्ने सुन्दा मलाई लाज लाग्यो", लाज लाग्नुपर्नेहरू निर्लज्ज छन् !


- देवप्रकाश त्रिपाठी
आधुनिक भारतको सर्वश्रेष्ठ निर्माणमध्येको एक तेहरी जलविद्युत् परियोजनाको अवलोकन भ्रमणबाट फर्कंदै गर्दा मित्र शम्भु श्रेष्ठले भन्नुभयो, 'प्रचण्ड पनि यहाँ (बाँध निरीक्षणमा) आएको भन्ने सुन्दा मलाई लाज लाग्यो।' उहाँले लज्जाबोध गर्नुको एकमात्र कारण– 'यति विहंगम र सुन्दर रचना हेर्न रचना या सिर्जनासँग कुनै साइनो नभएका विध्वंशका खास मित्र प्रचण्ड किन आए र भारतीयहरूले यहाँ उनको स्वागत किन गरे होलान्' भनेर थियो। सन्दर्भ प्रचण्डसँग जोडिएको भए पनि सामान्यतया नेपाली राजनीतिको उपल्लो तहका राजनीतिकर्मीहरूमा सिर्जना, रचना या निर्माणको क्षमता, गुण, दृष्टिकोण, प्रतिभा र प्रतिबद्धता भेटिँदैन। त्यसमा पनि नयाँ बनाउन स्थापित मान्यता र संरचनाहरू ध्वस्त गर्नैपर्छ भन्ने मान्यताबाट निर्देशित माओवादीहरू रचनात्मक.....
भूमिकामा रहने अपेक्षा कसरी गर्नु? ध्वंस सिर्जनामा विशेष दख्खल राख्ने माओवादीहरू अहिले पनि क्रान्तिकै चरणमा छन् र क्रान्तिको अध्याय पूरा नभई सिर्जनात्मक रचनाका बारेमा सोच्ने आवश्यकता पनि उनीहरूले महसुस गरेका छैनन्। माओले जे–जस्तो सोच र शैली अवलम्बन गरेका थिए ठीक त्यही पथमा नेपाली माओवादीहरू छन् र शतप्रतिशत अनुकरण गर्न नसकेका भए पनि उनीहरू सत्तामा सम्पूर्ण पकड जमाउन माओले अपनाएको शैली जस्ताको त्यस्तै अनुशरण गर्न भने प्रतिबद्ध देखिन्छन्। करिब दुई वर्षअघि आफ्नो धर्म, कर्म, सिद्धान्त, विचार र दर्शन छोडेर कैयन मानिसले माओवादीलाई संविधानसभाको चुनावमा मतदान गरेर पहिलो ठूलो दलको हैसियतमा पुर्यााइदिएका थिए। उनीहरूलाई मतदान गर्नुको कारण संसद्मा पुर्या्इदिएपछि जनस्तरमा उनीहरूको व्यवहार सुध्रने र मुलुकमा शान्ति बहाल हुने अपेक्षा नै थियो। तर, जनअपेक्षामुताबिक बदलिनुको सट्टा उनीहरू झन् उत्साही भए र अझै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ क्रियाशील हुँदै छन्। सन् १९४९ मा प्रजातान्त्रिक पद्धतिलाई विस्थापित गरेर च्याङ काई सेकलाई चीनबाट धपाएपछि चिनियाँ जनताले विध्वंश र वितण्डको अध्याय समाप्त भएको ठानेका थिए र उनीहरू माओत्सेतुङ अब रचनात्मक सिर्जनामा लाग्नेछन् भन्ने विश्वासमा थिए। तर, सम्पूर्ण सत्ताको सर्वेसर्वा भएर सत्र वर्ष शासन गर्दा पनि माओले चीनको उन्नतिमा योगदान  पुर्याछउने एउटै पाइला चाल्न सकेनन्। ध्वंश गर्ने विशेष क्षमताका माओमा निर्माण गर्ने क्षमता रहेको प्रमाण उनको सत्र वर्ष लामो शासनले दिन सकेन, चाइना आर्थिक रूपले टाट पल्टने अवस्थामा पुग्यो। अनि आफ्नो कमजोरी छोप्न सन् १९६६ बाट अर्को ध्वंसात्मक अभियानको 'सिर्जना' गरे र नाम दिए– 'सांस्कृतिक क्रान्ति'। सांस्कृतिक क्रान्तिका नाममा दसौं लाख निर्दोष चिनियाँ नागरिक मारिए, पुराना मठमन्दिर र अनेकौं संरचनाहरू भत्काइए। क्रान्तिको नाममा एकप्रकारको आतङ्क र त्रासदी फैलाउँदा–फैलाउँदै माओको १९७६ मा निधन भयो र उनको निधन भएपछि मात्र ध्वंसात्मक अभियानको अवसान भएको हो। माओपीडित देङले असीको दशककै आखिरबाट सुरु गरेको सिर्जना र निर्माण अभियानले मात्र आजको अत्याधुनिक एवम् समृद्ध चाइनाको सूत्रपात गरेको हो। माओको सच्चा हिमायतीका रूपमा प्रचण्डलाई नबुझ्ने हो भने प्रचण्डमाथि अन्याय हुनसक्छ, बुझ्ने हो भने पहिलो कुरा त उनले नयाँ जनवादी क्रान्ति गर्नै बाँकी रहेको भन्नुपर्ने हुन्छ र नयाँ जनवादको स्थापना गरेपछि पनि क्रान्तिको सिलसिला समाप्त हुँदैन। माओले झैं २७ वर्ष पूरै शासन गर्ने अवसर प्रचण्डले पाए भने पनि क्रान्ति सम्पन्न भइसकेको हुनेछैन। पुराना मँन्यता, मान्छे र संरचना ध्वंश गर्दागर्दै उनको जीवनकाल पूरा हुन सम्भव छ भने त्यस्ता प्रचण्ड जसले निर्माण र सिर्जना गर्नु नै छैन, उनले तेहरी परियोजनाजस्तो मानव सिर्जनाको एउटा उच्चतम दृष्टान्तको 'दर्शन' किन गरे होलान् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। विध्वंश मात्र सोचिरहने र विपत्ति निम्त्याउन अनेक कसरतमा जुटिरहने भन्ने ठानिएका प्रचण्डले मानव निर्माणको चामत्कारिक परियोजना अवलोकन गर्न प्रचण्ड आएको कुरा त्यहाँका कर्मचारीहरूले गर्वसाथ उल्लेख गर्दा हामी सबै खुसी हुन्छौं भन्ने अनुमान गरेका हुँदा हुन्, तर त्यस्तो भएन। विकास निर्माणको मात्र होइन देशकै बनिबनाउ सद्भाव र संरचनालाई समेत ध्वस्त तुल्याउन अग्रसर प्रचण्डले 'निर्माण' को अवलोकन गरेको भन्ने सन्दर्भ आफैंमा एउटा रोचक व्यङ्ग्य थियो, शम्भु श्रेष्ठज्यूको लज्जा र ग्लानिबोध पनि यसै सन्दर्भमा भएको थियो। प्रचण्ड बिन लादेन होइनन् र उनी वीरप्पन पनि होइनन्। तर, साउदी अरबले बिन लादेन र भारतले वीरप्पनको नामबाट चिनिनुपर्ने अवस्था आयो भने सम्बन्धित मुलुकका बासिन्दाहरूमा जुन पीडाबोध देखिन्छ, शम्भुजीको अनुहारमा ठीक त्यस्तै प्रतिक्रिया देखिएको थियो।
विश्वइतिहासमा विद्रोह या क्रान्तिको अगुवाइ गर्नेहरूबाट देश बनेको (समृद्ध भएको) दृष्टान्त प्राप्त गर्न मुस्किल छ। देशलाई समृद्ध तुल्याउने कार्यको अगुवाइ न उत्तरकोरियामा किम इल सुङबाट भयो न चीनमा माओबाट। न कम्बोडियामा पोलपोटबाट हुनसक्यो न क्युवामा फिडेल क्यास्त्रोबाट। लेनिन मात्र होइन प्रजातान्त्रिक भारतका महान् अगुवाहरू महात्मा गान्धी र जवाहरलाल नेहरूले पनि भारतमा विकास र समृद्धिको अगुवाइ गर्न सकेको ठानिँदैन। नेपालमा प्रचण्डले विकास र समृद्धिको 'गफ' जो आज गरिरहेका छन् यो टुँडिखेलमा मान्छे जम्मा गरेर औषधि बेच्न कुनै चटकेले गरेको प्रयासभन्दा भिन्न र बढी केही हो भने त्यो प्रमाणित हुन बाँकी छ।
तेहरी बाँध, जसबाट चौबीस सय मेगावाट विद्युत् उत्पादन हुन्छ त्यो भारतको गौरवका रूपमा उत्तराखण्डमा अवस्थित छ। त्यस्तो बाँधको प्रचण्डले अवलोकन गर्नुको कारण उनमा विकास, निर्माण र सिर्जनाप्रति आकर्षण बढेको मानौँ भने नेपाल बन्द, हड्ताल र नागरिकको घरजग्गा कब्जामोह भङ्ग हुनुपर्ने थियो, तर त्यस्तो परिवर्तन उनमा देखिएको छैन।
पाँच दशकअघि हाम्रै आर्थिक हैसियतका मुलुकहरू आज आर्थिक विकासको विश्वगतिमा सर्वाधिक अग्रपङ्क्तिमा छन्। विकास र निर्माणको अन्तिम र सबैभन्दा महत्वकाङ्क्षा चरणमा उनीहरू प्रवेश गरेका छन्। तर, हामी भने विगत छ दशकदेखि राजनीतिक झमेलाहरूमा नै अल्भि्करहेका छौँ। संविधानहरूको निर्माणमा भने हामीले चीन र भारतलाई धेरै पछि पारेका छौँ। छ दशकभित्र अनेकौँ आकार–प्रकारका संविधान बनाउँदै–जलाउँदै फेरि यसपटक अर्को एउटा संविधान निर्माणको 'महान्' अभियानमा जुटेका छौँ। संविधान बन्नेबित्तिकै सडक, शिक्षा, बिजुली, पानी, सिँचाइ, स्वास्थ्य र सञ्चारका समस्या तुरुन्तै समाधान हुन्छ भने विश्वास पनि हामीले जनतामा दिलाएका छौँ। तर, हामीलाई थाहा छ– हाम्रो राजनीतिक नेतृत्व देशको सामाजिक तथा सांस्कृतिक सद्भावलाई ध्वंश गरेर चल्ने होइन बन्ने संविधान नै निर्माण गरिरहेछन्। प्रचण्डले तेहरी बाँधको अवलोकन भ्रमण गर्नुको अर्थ खोज्दाखोज्दै हाम्रो पुस्ताको पनि अभाव र सङ्कटमै जिन्दगी सकिने निश्चित छ। भावी पुस्ताले झन् अरू कति प्रचण्डहरूलाई बेहोर्नुपर्ने हो– अनुमान गर्न सकिन्न, छिमेकीका घरमा पाकेको भोजनको बास्ना सुँघेर भोक मेट्नुपर्ने अवस्थामा हाम्रो राजनीतिक नेतृत्वले हामीलाई पुर्यामउँदै छन्, शम्भु श्रेष्ठहरूलाई लाज लागेर के गर्नु, लाग्नुपर्नेहरू निर्लज्ज छन्!

राजा महेन्द्रलाई गुमराहमा पार्ने पञ्चहरू नै बने घोर राजाविरोधी

- दीर्घराज प्रसाईं  
नेपालको राजनीतिक इतिहासमा पुस १ गते चाहेर पनि बिर्सन सकिँदैन। इतिहास भनेको राष्ट्रको ऐना हो। ऐना हेरेर अनुहारमा लागेको दागहरू हटाएको जस्तै इतिहासमा लागेका दागहरू हटाउन सक्नुपर्छ। राजा महेन्द्र र बीपी कोइराला इतिहास बनिसकेका छन्। यी दुवै राजनीतिक हस्तीको वैचारिक द्वन्द्वको कारण नेपालमा राजनीतिक वादविवाद चर्किंदै आएका छन्। तर, हामीले पूर्वाग्रह नराखी इतिहासको मूल्याङ्कन गर्न सक्नुपर्छ। राजा महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई समन्वय र सन्तुलन गरेर हिँड्नु नै अबको राजनीतिक निकास खोजिनुपर्दछ। नेपालको इतिहासमा राजा महेन्द्र र बीपी कोइरालालाई बिर्सेर राजनीतिक निकास पाइन्न। राजा महेन्द्रको राष्ट्रप्रेम र बीपीको पेट खोलेर बोल्ने र नरम बानीले यी दुवैले एक–अर्कालाई सम्मान गर्थे।
तर, राजा महेन्द्र र बीपीको बीचमा कसरी विवाद बढ्यो त? यो खोजीको विषय छ। २०१७ साल साउन महिनामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ असोजतिर गोर्खा पुगेका थिए। २०१७ साल कात्तिक ९ गते दिउँसो तीन हजारजति मानिसको जुलुस कर्मवीर महामण्डलको झण्डा लिई 'नेपाली काङ्गे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौँ' भन्ने काङ्गे्रसविरोधी कडा नारा लगाउँदै अड्डाअगाडि जुलुस आउँदा प्रहरीहरूसँग भिडन्त भई ढुङ्गामुडा लाठीचार्जपछि गोलीकाण्ड भयो जसमा ७ जना ठहरै मरेको र १० जना गोलीबाट घाइते भएका थिए। १० जनाको हातखुट्टा भाँचिएकाले आतङ्कको सिर्जना भयो। यी सबै कुरा योगी नरहरिनाथको उग्र भाषणको कारणले भएको भनियो। कात्तिक ९ गते गोर्खाकाण्ड भयो। नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो। तर, गोर्खामा योगीजी कतै भेटिएनन्। गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा भएको हल्ला आयो। जब कि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ। योगीजीलाई कत्तिले उड्नसक्ने क्षमता थियो पनि भन्ने गर्थे।
घटनाक्रमको खोजी गर्दा धेरै होलान् तर योगीलाई काङ्गे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ भन्ने झुटा रिपोर्ट बीपीका कानमा पार्न थालिएको थियो। बीपी पनि त्यही कुरालाई विश्वास गरेर दरबारविरुद्ध बोल्न थालेका थिए। बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि प्रधानमन्त्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमन्त्री सुशीलालाई छालाको ब्याग, बीपीलाई टेपरेकर्डर, घडी, ब्रासलेट दिँदै) 'तपाईंले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा? बिनाप्रमाण मेरोविरुद्ध किन वक्तव्य दिनुभयो? किन हामीलाई दोष लगाउनुभयो? योगीलाई कारबाही गर्ने हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनुभयो?' भनेको र बीपीले प्रतिकार गर्दै 'मैले होइन जोगीले नै सरकारलाई मुछी हिँडेको छ।' महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारको विरुद्ध विद्रोह गरे हुन्छ भनीकन ऊ हिँड्थ्यो।' भन्ने कुरा बीपीले आत्मवृत्तान्तमा उल्लेख गरेको कुरालाई अध्ययन गर्दा राजा महेन्द्र र प्रधानमन्त्री कोइरालाबीचको सम्बन्धविच्छेदको अध्यायनै यहीँबाट सुरु भएको देखिन्छ। तर, गोरखाकाण्ड र योगी नरहरिनाथबीचको वास्तविकता त्यस्तो थिएन। 'कर्मवीर महामण्डलले गरेको अनुरोधअनुसार रु. ५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ' भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नुभएको कागज योगीजीले बोक्नुभएको र त्यही कागजलाई अरूहरूले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै काङ्गे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्र दिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर बीपीसमक्ष पोल पुर्याुइएका कारणले राजा र प्रधानमन्त्रीबीचमा फाटोको जालो बन्न गयो।
नेपालको प्रजातान्त्रिक अधिकारको लडाइँमा बीपी कोइरालाको ठूलो देन छ। बीपी प्रजातन्त्रबाट मात्र देश बँँच्छ भन्थे। तर, राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै हँँकेर देशको स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण गर्दै जनताको सक्रिय सहभागिता जुटाउने अडान राजा महेन्द्रको थियो। बीपीको भारतका जयप्रकाश नारायणलगायत थुपैै्र नेतासँगको सहवासले बीपी भारतीय नेताहरूले भनेको कुरा टार्न असमर्थ हुन्थे। राजा महेन्द्र र बीपीबीचमा वैमनुष्यताको परिस्थिति आउन थालेको थियो। यस्तैमा राजा महेन्द्रले पुस १ गते संसद् विघटन गरेर शासनभार ग्रहण गरे। यस्तो किन भयो बिनापूर्वाग्रह यसको मूल्याङ्कन गरौँ।
२०१७ सालको परिवर्तनपछि क्रमशः कुनै पनि विदेशीलाई नेपालको जमिन खरिद बिक्रीमा रोक लगाइयो। नेपाली भाषालाई राष्ट्र भाषाको रूपमा लागू गरियो। नेपाली मुद्रालाई नेपाल अधिराज्यभरि अनिवार्य गराइयो। नेपालको पेटमा पहाड मधेस दुवैलाई सुविधा हुनेगरी पूर्वपश्चिम राजमार्गका लागि २०१८ सालमा गैंडाकोटमा राजा महेेन्द्रबाट शिलान्यास भयो। उनले जुन उद्देश्यबाट २०१७ सालको घटना घटाए तापनि त्यसको पछाडि राष्ट्रियतालाई सुदृढ गराएको उज्यालो पक्ष छ भलै निर्दलीयतालाई राजनीतिक परिचालनको माध्यम बनाइएको थियो। राजा महेन्द्रको विचार थियो– वर्गसङ्घर्ष हिंसात्मक हुन्छ, त्यसको सट्टामा पुँजीपति र मजदुरको आपसमा सहयोग र सम्ान्वयको आधारमा नेपालमा भूमिसुधार, राज्यरजौटा, बिर्ता उन्मूलन, जातिपाति, लिङ्गभेद, छुवाछुतजस्ता रोगबाट मुक्त गर्ने प्रयत्न भयो। राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरूको दबाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गरेर संयुक्त राष्ट्रसङ्घमा नेपालको अगुवाइ गराउन सकेको थियो। आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरू यी दुवैसँग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गर्न सकेका थिए। राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिष्ठा नबढेको होइन। तर, प्रतिशोध र वैदेशिक हस्तक्षेपको कारणले हामीले आफूहरूलाई चिन्न सकेका छैनौँ। नेपालको अन्योल भनेको आपसमा समझदारी र राष्ट्रियताको महसुस हुन नसक्नु।। राष्ट्रिय राजनीति भनेको तर्क र समझदारीको संगम हो। राष्ट्रनिर्माणमा प्रजातान्त्रिक मार्ग अनुकरणमा नेपाली काङ्ग्रेसका नेता बीपीलाई २०३३ सालपछि पनि सम्झाउने प्रयत्न गर्न सकिन्थ्यो। २०३३ साल पुसमा बीपी राष्ट्रियताको नारा दिएर नेपाल फर्केका थिए। तर, भ्रष्ट पञ्चहरूले बीपी भारतबाट नेपाल फर्कंदा २०३३ सालमा हवाईफिल्डमा उत्रन दिएनन्। कालोझण्डा देखाएर बीपीलाई मुर्दावादको नारा लगाए। राजालाई थाहा नै नदिएर चाकरी बजाउन पञ्चहरू त्ाातेका रहेछन्। तिनै पञ्चहरू आज राजाविरोधी भएका छन्। नेपालको राजसंस्थालाई प्रजातान्त्रिक समझदारीमा आउन नदिएर केही पञ्चहरूले ब्रह्मलुट मच्चाउन खोजेको परिणाम अहिलेसम्मको राजनीतिक अस्थिरता कायम छ। निर्दलीयतालाई साझा बनाउन सकिन्थ्यो। त्यसलाई प्रजातान्त्रिक हुन नदिएर एकदलीय स्वरूपमा परिणत गराउन खोजेकाले त्यसको विरुद्ध नेपालका राजनीतिक पार्टी विदेशीहरूको सहयोगमा आन्दोलित भएकाले प्रजातन्त्र त नेपालमा आयो तर त्यो नेपालको हितमा भएन। अब काङ्ग्रेस, एमाले, माओवादीलगायत सबै पार्टीभित्र र बाहिरका देशभक्तहरूले राष्ट्रियता र प्रजातन्त्रलाई कसरी सँगसँगै लिएर नेपाल बचाउन सकिन्छ, त्यसतर्फ सचेत हुनुपर्ने बेला छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक