20091219

"मुलुक गम्भीर दुर्घटनाको मोडमा, शान्ति प्रक्रिया समस्यामा " : गिरिजाप्रसाद कोइराला

"अन्तरिम संविधान, संविधानसभा, सरकार र राष्ट्रपति सबै विघटन हुने" :  एमाले अध्यक्ष झलनाथ खनाल
 'माओवादीको जुँगा दश दिनमै खस्छ भनेर मात्रै माओवादीको विरोध हुँदैन,' बामदेव गौतम
 

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मुलुक गम्भीर दुर्घटनाको मोडमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने महत्वपूर्ण समयमा दलहरूबीच बढ्दै गएको मतभेदले शान्ति प्रक्रियालाई नै समस्यामा पारेको भन्दै कोइरालाले दलहरूबीच तत्काल सहमतिको आह्वान गरेका छन्। शुक्रबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा कोइरालाले अहिलेकै अवस्था केही समय लम्बिए मुलुकमा गम्भीर राजनीतिक दुर्घटना हुने बताए। माओवादीलाई आन्दोलन कार्यक्रम स्थगित गरी सहमतिमा आउनसमेत उनले आग्रह गरे। 'मुलुकमा देखिएको दलहरूबीचको तिक्तता र मतभेद अझै......
केही समय कायम रहे त्यसले शान्ति प्रक्रिया र संविधान लेखनमा प्रभाव पर्नेगरी गम्भीर दुर्घटना हुने चिन्ता व्यक्त गर्नुभयो,' दुई नेताको भेटमा सँगै रहेका कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले कोइरालाको भनाइ उद्धृत गर्दै नागरिकसँग भने, 'सहमतिका आधारमा अघि बढ्न दाहाललाई विशेष आग्रह गर्नुभयो।'

माओवादीको गणराज्य घोषणा, निजी र सार्वजनिक जग्गा कब्जा लगायतका गतिविधिको चर्को विरोध भइरहेको सन्दर्भमा शान्ति प्रक्रियाको नेतृत्व गर्दै आएका कोइरालाले पहिलोपटक मुलुक राजनीतिक दुर्घटनाको मोडमा पुगेको टिप्पणी गरेका हुन्।
'लामो समयदेखि माओवादीले जारी राखेको आन्दोलन र पछिल्लो समय शान्ति प्रक्रियाविपरीत आफैं गणराज्य घोषणा गर्ने कार्यले मुलुकमा थप गम्भीर अवस्था निम्त्याएको ठहर गिरिजाबाबुको थियो,' सिटौलाले भने।
यसअघि भेट गर्न अस्वीकार गरेका कोइरालाले आफ्नै निवास महराजगञ्जमा भएको माओवादी अध्यक्ष दाहालसँगको भेटमा शान्ति प्रक्रिया र नयाँ संविधान लेखनमै गम्भीर संकट देखिएकाले तत्काल सहमतिमा आउन आग्रह गरेका छन्।
माओवादी अध्यक्ष दाहालले भने मुलुक गम्भीर मोडतर्फ गएको भन्ने कोइरालाको भनाइमा सहमति जनाउँदै राजनीतिक सहमतिका लागि आफूले पार्टीभित्र र अन्य दलहरूसँग तत्काल छलफल सुरु गर्ने बताएका थिए। 'गिरिजाबाबुको कुरा सुनेपछि दाहाल गम्भीर हुँदै सहमतिका लागि आफूले तत्काल पहल गर्ने बताए,' दाहालको भनाइ उद्धृत गर्दै सिटौलाले भने।
कोइरालाले अहिले आन्दोलन र संघर्षको समय नभई सहमति, सहकार्य र एकताका साथ अघि बढ्न दाहाललाई आग्रह गरेका थिए । कोइरालाको भनाइमा गम्भीर बनेका दाहालले साझा संकल्प प्रस्ताव तयार पार्न गठित त्रिदलीय कार्यदलमा सहमतिको प्रस्ताव बनाउन पहल गर्ने प्रतिबद्धता भेटवार्तामा गरेका थिए।
दाहालले लामो समयदेखि आन्दोलन गर्दै आएको माओवादीका मागलाई कुनै न कुनै ढंगबाट सम्बोधन गर्न पहल गरिदिन कोइरालासँग विशेष आग्रह गरेका थिए। 'माओवादीका मागलाई कुनै न कुनै ढंगबाट सम्बोधन गर्न आफूले पनि पहल गर्ने र गिरिजाबाबुलाई पनि पहल गरिदिन दाहालले आग्रह गरे,' सिटौलाले भने।
दलहरूबीच एकताको लामो संघर्षले मुलुकलाई अहिलेको अवस्थामा ल्याएको स्मरण गराउँदै कोइरालाले शान्ति प्रक्रियालाई प्रभाव पार्नेगरी घोषणा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्न दाहाललाई आग्रह गरेका थिए।
कोइरालाले अहिलेको तरल अवस्थामा राजनीतिक चलखेल हुनसक्नेतर्फ संकेत गर्दै त्यसबाट सबै दल चनाखो हुनुपर्ने धारणा राखेका थिए। 'अहिलेको तरल अवस्थाबारे सोच्नुपर्‍यो भन्ने गिरिजाबाबुको चासो थियो,' सिटौलाले भने। दाहालले भने मुलुकको गम्भीर अवस्थाप्रति चिन्तित रहेको बताउँदै सहमतिको विशेष पहल गर्न कोइरालालाई नै आग्रह गरेका थिए।
भेटमा यसअघि भन्दा धेरै गम्भीर बनेका कोइरालाले सहमतिहरू टुट्दै गएकोप्रति पनि माओवादी अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए। दाहालले भने आफू सहमति र एकताकै पक्षमा भएको बताउँदै आफ्नो दलभित्र छलफल गरी पुनः भेट गर्ने भन्दै कोइराला निवासवाट बाहिरिएका थिए।
माओवादीले जारी राखेको संसद अवरोध, तेस्रो चरणको आन्दोलनलगायत गतिविधिका कारण शान्ति प्रक्रिया र संविधान लेखनमा गम्भीर असर परेको छ। शान्ति प्रक्रियाका महत्वपूर्ण कार्यको रूपमा लिइएको सेना समायोजनका विषयमा अझै कुनै ठोस सहमति हुन सकेको छैन। नयाँ संविधान लेखनका प्रक्रियामा पनि कतिपय महत्वपूर्ण विषयमा दलहरूबीच तीव्र मतभेद सिर्जना भएको छ। दलहरूबीचको मतभेदका कारण अझै संविधानसभाका केही विषयगत समितिले प्रतिवेदन तयार गर्न सकेका छैनन्।

                              एमाले अध्यक्ष झलनाथ खनालले निर्धारित मितिमा संविधान नबने अन्तरिम संविधान, संविधानसभा, सरकार र राष्ट्रपति सबै विघटन हुने बताए। 'निर्धारित मितिमा संविधान बनेन भने कुनै एक संस्थामात्र होइन, संविधानसभा, सरकार र राष्ट्रपति सबै संस्था विघटन हुनेछन्,' शुक्रबार पेशागत बुद्धिजीवी विशेष जिल्ला कमिटीको अधिवेशन उद्‍घाटन गर्दै अध्यक्ष खनालले भने, 'त्यतिखेर दलहरूको औचित्यसमेत समाप्त भएर जानेछ।' छिटोभन्दा छिटो वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा अध्यक्ष खनालले जोड दिए। 'दलहरूले राष्ट्रिय समस्या समाधानका लागि गम्भीर भएर लाग्नैपर्छ', उनले भने। वार्ता प्रक्रियामा कांग्रेस र माओवादी गम्भीर नभएको अध्यक्ष खनालको भनाइ थियो। कांग्रेसमा पनि कता-कता वार्ता नगरेर मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ लैजाने सोच हावी भएको उनले बताए। 'कार्यदलमा अधिकांश विषयमा सहमति भएको छ,' उनले भने, 'तर, कांग्रेस र माओवादीले शब्दजालमा अड्काएर मुलुकलाई दुर्घटना र रक्तपाततिर धकेले भने त्यसको जिम्मेवार उनीहरू नै हुन्छन्, एमाले हुने छैन।' उनले सहमतिका लागि एमाले वाधक भएको हो भने कहाँनेर कुन कुरामा वाधक भयो देखाइदिन पनि चुनौती दिए।

'कार्यदल शब्दजालमा अल्भि्कने र शीर्ष नेता बैठक बस्नै नमान्ने कुराले अप्ठयारो परेको छ,' एमाले अध्यक्ष खनालले भने, 'यसमा कांग्रेस र माओवादी एकमात्र नभएर दुवै जिम्मेवार छन्।' यसमा आफ्नो पार्टीको अवरोध भए त्यसलाई खुलामञ्चबाटै आलोचना गर्न पनि उनले चुनौती दिए। एमालेको दायाँ र बायाँ कांग्रेस र माओवादी रहेको बताउँदै खनालले भने, 'कांग्रेस शिरदेखि तीरसम्म दक्षिणपन्थी यथास्थितिवादले ग्रस्त छ भने माओवादी पनि शिरदेखी तीरसम्मै उग्रवामपन्थी सोचले ग्रसित छ।' माओवादीमा आपराधिक मनोवृत्ति भएको पनि उनले बताए। एमालेको सल्यान जिल्ला अधिवशेनको बन्द सत्रमा प्रवेश गरेर आक्रमण गर्नुलाई अध्यक्ष खनालले आपराधिक मनोवृत्तिको उदाहरणका रूपमा प्रस्तुत गरे।

'माओवादीमा अपराधीहरूको जमात छ', उनले भने, 'तिनीहरू कम्युनिष्ट होइनन्।' त्यसैले पनि माओवादीबाट एमाले प्रवेश गर्ने लहर चलेको अध्यक्ष खनालले दाबी गरे। 'माओवादी र कांग्रेसले देशलाई अगुवाई गर्लान् भन्ने जनताको अपेक्षा छैन,' उनले भने, 'त्यसैले पनि एमाले नेता पार्टीका रूपमा विकास हुने संभावना छ।' उनले एमालेको भूमिका बढ्दै गएको पनि बताए।

शान्ति प्रक्रियाको तार्किक निष्कर्ष, संविधान निर्माण, राज्यको पुनर्संरचना, आर्थिक क्रान्ति र राष्ट्रिय एकता निर्माण अहिले मुलुकको प्रमुख पाँच कार्यभार भएको अध्यक्ष खनालले स्मरण गराए। 'यी महत्वपूर्ण कार्यभारबाट कोही पनि भाग्न सक्दैनन्, यसलाई पूरा गरेरै छाडनुपर्छ,' उनले भने। माओवादीले स्वायत्त गणराज्य घोषणा गरेर संविधानसभालाई औचित्यहीन बनाएको उनले बताए। 'माओवादीले गणराज्य घोषणा गरेर संविधानसभाको अधिकार दुरुपयोग गर्दैछन्,' उनले भने।

एमाले बहुपदीय प्रणालीमा गएपछि अरू पार्टी पनि त्यतैतिर लागेको उनले बताए। माओवादी र कांग्रेसले एमालेकै संरचना अनुसरण गरेको उनले उल्लेख गरे। माओवादी भड्किएर प्रचण्डपथसम्म पुगेको बताउँदै उनले भने, 'यो प्रचण्डवादमा जाने हो कि भन्ने खतरा थियो। तर, अहिले बहुपदीय प्रणालीमा प्रवेश गरेको छ।' त्यसपछि माओवादीबाटै प्रचण्डपथ कम सुनिन थालेको उनले बताए। 'अब यो प्रचण्डपथ गलत रहेछ भनेर घोषणा गर्ने विन्दुमा पुग्नेछन्', उनले भने।

एमाले एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने पनि उनले बताए। 'एमालेमा कहिलेकाहीँ हाच्छिउँ र रुघाखोकीको समस्या आइरहन्छ,' पार्टीमा देखिएको आन्तरिक विवादबारे अध्यक्ष खनालले भने, 'तर, समस्या देख्नेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था छैन।' उनले पार्टीभित्रको विवादलाई मिडियाले बढाइचढाइ गरेको पनि बताए।

पार्टीका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष खनालको प्रतिवेदनमा रहेको त्यागको कुरालाई पार्टीभित्रैबाट बद्ख्वाई गर्ने काम भएको बताए। पार्टीभित्रबाट माओवादीको आलोचना भएको शैलीप्रति नेता गौतमले असन्तुष्टि व्यक्त गरे। 'माओवादीको जुँगा दश दिनमै खस्छ भनेर मात्रै माओवादीको विरोध हुँदैन,' नेता गौतमले आफ्नै पार्टीका नेता केपी ओलीप्रति संकेत गर्दै भने, 'माओवादीको विरोध सँगै बसेर गर्नुपर्छ, पर्गेलेर होइन।'

माओवादीले गणराज्य घोषणा गरेकोप्रति गौतमको पनि असन्तुष्टि थियो। 'भोलि संविधानसभाले गर्ने काम माओवादी आजै गर्दैछन्, त्यसैले त्यो उग्रवामपन्थी विचार भयो,' उनले भने। उनले माओवादीको यो कार्यलाई काँचै आप खाने प्रवृत्तिका रूपमा टिप्पणी गरे। 'आँप पाकेपछि खाँदा मिठो हुन्छ, तर अरूले खाइदेलान् भनेर काँचै खाँदा मिठो हुँदैन,' उनले भने, 'माओवादीको काम गराई काँचो आप खानेजस्तो भयो।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक