20091213

थारुवान र सेती-महाकाली स्वायत्त गणराज्य घोषणा

"माओवादीको हतियारधारी समूह प्रवेश गरेर अन्धाधुन्द आक्रमण"
"माओवादीले लोकतन्त्र, संविधानसभा र विस्तृत शान्तिसम्झौताको खिल्ली उडाए"

एकीकृत माओवादीले आइतबार थारुवान र सेती-महाकाली स्वायत्त गणराज्य घोषणा गरेको छ । माओवादीले नेपालगन्ज र दिपायलमा छुट्टाछुट्टै सभा आयोजना गरी थारुवान र सेती-महाकाली स्वायत्त गणराज्य घोषणा गरेको हो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पोलिटब्युरो सदस्य लेखराज भट्टले दिपायलमा सेती-महाकाली तथा माओवादी सचिव सिपी गजुरेल र नेता लीलामणि पोखरेलले नेपालगन्जमा थारुवान गणराज्य घोषणा गरेका थिए, माओवादीको घोषित थारुवान गणराज्यमा भेरीको बाँके र बर्दिया, राप्तीको दाङ, सेतीको कैलाली तथा महाकालीको कञ्चनपुरलाई तोकेको छ ।

यस्तै सेती-महाकाली गणराज्यमा डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला समेटिएको छ । थारुवान गणराज्य घोषणा गर्दै माओवादी सचिव गजुरेलले भने, 'आजबाट तराईका पाँच जिल्लालाई थारुवान गणराज्य घोषणा गर्दछु । ताली बजाएर स्वागत गर्नुहोस् ।' कार्यक्रममा उपस्थित माओवादी नेता र सर्वसाधारणले ताली बजाएर नेता गजुरेललाई साथ दिएका थिए । गजुरेलले माओवादी केन्द्रीय सदस्य रामचरण चौधरी थारुवान गणराज्यको संयोजक....
रहेको घोषणा गरेका थिए । उनले गणराज्यको घोषणा समानान्तर सरकारको घोषणा होइन, जनवादी शासनको सुरुवात मात्र भएको बताए ।
माओवादी नेता लीलामणि पोखरेलले जनतामा जातीय अधिकार बाँडिदैमा देश नटुक्रिने दाबी गर्दै प्राकृतिक, भौगोलिक, जातीय, धार्मिक विविधताको मुलुकमा गणराज्य स्थापना हुनुपर्ने धारणा राखे । सो अवसरमा थारू, मुस्लिम र मधेसी समुदायले झाँकी तथा विशाल सांस्कृतिक परिवारका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

एमालेले सल्यान र रुकुमलगायतका घटनामा माओवादीले प्रदर्शन गरेको हिंसात्मक व्यवहारविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । आइतबार पार्टी मुख्यालयमा बसेको पोलिटब्युरो बैठकमा एमालेले सल्यान र रुकुम घटनाबारे समीक्षा गरी त्यसविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो । बैठकमा हालै माओवादीबाट भएका आक्रामक कारबाही विषयमा समीक्षा भएको थियो । 'सल्यान घटनाबारे विस्तृत समीक्षा भयो, सल्यान जिल्ला अधिवेशनको बन्दसत्र हलमा माओवादीको हतियारधारी समूह प्रवेश गरेर अन्धाधुन्द आक्रमण गरेको घटनाबारे प्रारम्भिक जानकारी बैठकमा गराइयो,' पोलिटब्युरो सदस्य गंगालाल तुलाधरले भने । घटनामा सरकार, गृह मन्त्रालय, पार्टी नेताहरू र सिंगो पार्टीपंक्तिको भूमिकाबारे पनि एमाले नेताहरूले समीक्षा गरेका थिए । एमालेले रुकुममा पत्रकार टीका विष्ट र नुवाकोटमा अनेरास्ववियुका कार्यकर्तामाथि माओवादीबाट भएका सांघातिक हमलाको पनि एमालेले भत्र्सना गरेको छ । सल्यानलगायतका पछिल्ला घटनामा माओवादी संलग्नताको तथ्य सार्वजनिक गर्न सोमबार एमालेले पार्टी मुख्यालयमा पत्रकार सम्मेलनको पनि आयोजना गरेको छ ।

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले गणराज्य घोषणा गरेर माओवादीले लोकतन्त्र, संविधानसभा र विस्तृत शान्तिसम्झौताको खिल्ली उडाएको आरोप लगाएका छन् । 'माओवादीले एकलौटी रूपमा गणराज्य घोषणा गरेर संविधानसभा र आन्तरिम संविधानविरोधी कार्य गरेको छ,' देउवाले भने ।
ताप्लेजुङबाट सिराहा जान आइतबार अपराह्न विराटनगर विमानस्थल आइपुगेका देउवाले एमाओवादीले गणराज्य घोषणा गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नाकारात्मक सन्देश गएको बताए । माओवादीको यस्ता गतिविधिले शान्तिप्रक्रिया र नयाँ संविधान निर्माण कार्यमा असर पर्ने उनको भनाइ थियो । उनले शान्तिसम्झौता, आन्तरिम संविधानविरोधी कार्यहरू तुरुन्त फिर्ता लिन आग्रह गरे ।
सडक आन्दोलन छाडेर सहमतिमा आई शान्तिप्रक्रियालाई अघि बढाउन देउवाले माओवादीलाई अनुरोध गरेका छन् । संविधानसभाको बहुमतबाट वर्तमान सरकार गठन भएकाले संविधानसभामा बहुमत रहेसम्म सडकको आन्दोलनले सरकार नढल्ने दाबी पनि देउवाले गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक