20091205

माओवादीले जारी राखेको सदन अवरोध, स्वायत्त गणराज्य घोषणा कार्यक्रम र खाद्यान्न र जमिन कब्जाप्रति अमेरिकाको चिन्ता

माओवादीले जारी राखेको सदन अवरोध, स्वायत्त गणराज्य घोषणा कार्यक्रम र खाद्यान्न र जमिन कब्जाप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ। अमेरिकी राजदूतवासका कार्यवाहक राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री माधवकुमार नेपालसितको भेटमा अमेरिकाको यस्तो चिन्ता जाहेर गरेका हुन्। शुक्रबार भएको भेटबारे शनिबार दूतावासद्वारा जारी विज्ञप्तिमा माओवादीको गतिविधिले शान्ति प्रक्रियालाई कमजोर पार्ने उल्लेख छ। भेटका क्रममा कार्यवाहक राजदूतले नेपाल सरकार तथा यहाँका राजनैतिक नेतृत्वले सहमतिका लागि सकारात्मक र रचनात्मक प्रयास गर्नुपर्नेमा जोड दिएको वक्तव्यमा उल्लेख छ।यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तका नेपाल प्रतिनिधि रिचर्ड बेनेटले बाराका पत्रकार वीरेन्द्र शाहको हत्याका
आरोपी अझै एकीकृत माओवादीको जिम्मेवार पदमा आसिन रहेकोप्रति चिन्ता व्यक्त गरेका छन्। माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरासँग शुक्रबार भेटेर बेनेटले चिन्ता व्यक्त गरेका हुन्। हत्याका प्रमुख आरोपी लालबहादुर चौधरी, कुन्दन फौजदारलगायतलाई पार्टीले बारा जिल्ला समिति सचिवालय सदस्यमा राखेको खुलासापछि बेनेटको प्रतिक्रिया आएको हो। 'मैले पहिले पनि एकीकृत माओवादी नेतृत्वसमक्ष पत्रकार शाहको मुद्दा पटकपटक उठाइसकेको छु, मलाई आरोपीहरू पार्टीबाट निस्कासित गरिसकेको बताइएको थियो,' बेनेटले महरासँग भनेका छन्, 'तर, उनीहरूलाई पार्टीमा पदोन्नती गरिएको खबरले आश्चर्यमा परेको छु।' उच्चायुक्तको नेपाल कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार महराले बेनेटलाई यस विषयमा पार्टी नेतृत्वले सोधपुछ गर्ने बताएका थिए। माओवादीको यस्तो व्यवहारप्रति नेपाल पत्रकार महासंघले भत्सर्ना गरेको छ।

रूसमा आगलागीको घटनामा एकसयजना भन्दा बढीको मृत्यु

मारिनेहरू धेरैजसो धुंवाका कारण निसास्सीएर मरेका हुनसक्ने अनुमान गरिएको छ
रूसमा एउटा रात्रीकालीन मनोरञ्जनस्थल, नाइटक्लबमा भएको आगलागीमा परि मारिनेहरूको संख्या बढेर १०३ पुगेको छ भने घाइतेको संख्या कम्तीमा १३० छ।घाइते मध्ये धेरैको अवस्था गम्भीर छ। पेर्म शहरमा भएको उक्त आगलागीको घटनामा बांच्न सफल भएकाहरूले, उक्त क्लबको स्टेजमा गरिएको आतशबाजीका कारण दलीनमा आगो सल्केको पुष्टि गरेका छन्।
"लेम हर्स" नाउंको उक्त नाइटक्लबभित्र खिचिएको भिडियोमा एकमिनेट अघिसम्म मानिसहरू खुशीसाथ नाचिरहेका देखिन्छ भने अर्को मिनेटमा आगोको लप्का उर्लिएर दलिनबाट फैलिन लाग्दा मानिसहरूमा भद्रगोल मच्चिएर तिनीहरू नजीकको ढोकाबाट बाहिर निस्कन भागमभाग गरेका देखिन्छ।

बाक्लो धुँवा

मारिनेहरू धेरैजसो बाक्लो धुंवाका कारण मरेका र केहि क्लबमा जम्मा भएका झण्डै दुई सयभन्दा बढी मानिसहरू एकै पटक एउटै बाटोबाट धकेलाधकेल गरेर बाहिर निस्कन खोज्दा च्यापिएर मरेका हुनसक्ने ठानिएको छ।

रूसको सरकारी अभियोक्ताको कार्यालयका अधिकारीहरू र केहि सरकारी मन्त्रीहरू घटनास्थलमा पुगेका छन्। र उक्त नाइटक्लबका मालिकलाई हिरासतमा लिइएको छ।

रूसी राष्ट्रपति दिमित्री मेदभेदेभले उक्त नाइटक्लबको सुरक्षाको दायित्व भएकाहरू आपराधिक हेलचेक्र्याईंको दोषी भएको बताएका छन्।

अपराध
राष्ट्रपति मेदभेदेभले भने, "जे जस्तो घटना भयो त्यसलाई एउटा अपराध बाहेक अरू केहि भन्न सकिन्न। यो सुनियोजीत अपराध निश्चय पनि होइन तर त्यसो भन्दैमा यो घटनाबाट उत्पन्न असरको गम्भीरता भने कम हुंदैन।"

रुसी राष्ट्रपतिले उक्त क्लबभित्र आतशबाजी गर्न दिनेहरूलाई कडा रुपमा दण्डित गरिने पनि बताए।

रूसमा यस्तो घातक आगलागीका घटनाहरू उदेकलाग्दो गरी नियमित जस्तै भैरहन्छन्। हरेक बर्ष १८ हजार भन्दा बढी यस्ता घटनाहरू हुने गर्छन्।

तर त्यस्ता घटनाहरूको दांजोमा पनि पेर्म शहरमा भएको वियोगान्त दुर्घटना भने स्तब्धकारी नै रहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक