20091123

हतियारसमेत ल्याउने सहमतिका लागि माओवादी जनसेनाका कमान्डरहरुको एक साताव्यापी गोप्य चीन भ्रमण, !


माओवादी जनसेनाका उपकमान्डर नन्दकिसोर पुन 'पासाङ' र डिभिजन कमान्डर यमबहादुर अधिकारी 'प्रतीक्षा'लगायतको एक टोली चीनको एक साताव्यापी गोप्य भ्रमण गरी हालै फर्केको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमण गरी फर्केलगत्तै जनसेनाका कमान्डरहरुको यो गोप्य भ्रमणलाई ज्यादै रहस्यका रूपमा लिइएको छ। माओवादीले केन्द्रीय समितिलाईसमेत गोप्य राखेको यो भ्रमणबारे केन्द्रीय सदस्यहरूले पनि अनेकथरी आशंका र जिज्ञासा राखेका छन्। जनमुक्ति सेनका लागि बन्दोबस्तीका सामान सहयोग लिन आफूलाई अध्यक्ष प्रचण्डले चीन पठाएको पासाङले सीमित केन्द्रीय सदस्यहरूलाई बताएका
छन्। तर समाचार स्रोतले भने बन्दोबस्तीका सामानमात्र नभएर हतियारसमेत ल्याउने सहमतिका लागि अध्यक्ष प्रचण्डले पासाङलाई चीन पठाएको जनाएको छ। प्राप्त जानकारीअनुसार आफ्नो चीन भ्रमणमै हतियार ल्याउनेबारे टुंगो लगाउन अध्यक्ष प्रचण्डले चाहेका थिए। तर चिनियाँ नेताहरूको व्यस्तताका कारण टुंगो लाग्न नसकेपछि अहिले पासाङलाई पठाइएको बताइन्छ। आफ्नो देशका माओवादी एवं आसामका पृथकतावादीहरूलाई नेपालको बाटो गरी चीनबाट हतियार आउन थालेको आशंका भारतले गरिरहेको परिस्थितिमा भएको माओवादीको यो चीन भ्रमणलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएको छ। विशेष गरी भारतका लागि सुराकी गर्ने कतिपय माओवादी कार्यकर्ताहरू अहिले पासाङको गतिविधिबारे निगरानी राख्न थालेका छन्।
यसैबीच, माओवादीले मंसिर १२ देखि १३ गतेसम्म सबै शिविरमा सैन्य तालिम आयोजना गर्ने भन्दै बन्दोबस्तीका सामान जुटाउन थालेको छ। क्षेत्रपाटीस्थित एक खुकुरी व्यापारीका अनुसार चौथो डिभिजनका लागि मात्रै तीन सय थान खुकुरी र ६० थान तरबार खरिद गरिएको छ। दोस्रो डिभिजनका लागि खरिद गरिएको दुई हजार चार सय जोर ट्रयाकसुटमा घोटला भएको उजुरी परेपछि छानबिन हुने भएको छ। चार सयमा पाइने कमसल ट्रयाकसुटलाई पाँच सय ५० रुपैयाँमा खरिद गरेर सात सय ७५ रुपैयाँको बिल बनाइएपछि व्यापक घोटला भएको अनुमान गरिएको हो। अब पाँच/सात दिनभित्रमा सरकार ढल्ने र आफ्नो नेतृत्वको सरकार बन्ने हल्ला पार्टीले जनसेनाको शिविरभित्र चलाउन थालेको दुई महिना बितिसकेको छ। कार्यकर्ताले यो हल्ला पत्याउन छाडेपछि तालिमको आयोजना गर्न थालिएको हो। सात डिभिजनमध्ये विविध, प्रतीक र राजेश गरी तीनवटा डिभिजन कमान्डरमात्रै केन्द्रीय समितिमा रहेका कारण बाँकी चार कमान्डरहरू आफ्नो असन्तुष्टि लिएर अहिले काठमाडौं आएका छन्। उनीहरूको असन्तुष्टि त्यतिमा मात्र सीमित छैन, पार्टीका अन्य नेता र अकूत सम्पत्ति कमाएका तर आफूहरूले कमाउन नसकेकोमा झन् बढी छ।
उता, पार्टी जिल्ला कमिटीको निर्देशन वाईसीएल जिल्ला कमिटीले नमान्ने र वाईसीएलको गतिविधिलाई पार्टी जिल्ला कमिटीले जिम्मेवारी नलिने क्रम बढेर गएपछि धेरैजसो जिल्लामा आपसी द्वन्द्व चर्कन थालेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक