20091103

अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी !

नेकपा एमाले र एकीकृत माओवादीका कार्यकर्ताबीच झडपको सम्भावना बढेपछि स्थानीय प्रशासनले धनकुटा बजारमा मंगलबार अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनले माइकिङ गरी धनकुटा बजारको पूर्वमा आत्मारा, पश्चिममा बिहीबारे, उत्तरमा स्कुलडाँडा र दक्षिणमा घुमाउने चौतारासम्मको क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो। मंगलबार दिनभरि दुवै पक्षलाई मिलाउन स्थानीय प्रशासनले गरेको वार्ताको प्रयास असफल भएपछि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। बजारमा दिनभरि एमालेको युथफोर्सले लठ्ठीसहित शक्ति प्रदर्शन गरेपछि साँझ तनावको स्थिति सिर्जना भएको थियो, युथफोर्स कार्यकर्ताले एकीकृत माओवादी जिल्ला कमिटी धनकुटा र अन्य जनवर्र्गीय संगठनको कार्यालयमा मंगलबार बिहान तोडफोड र आगजनी गरे। यस्तै, धनकुटाको सिधुवा बजारमा माओवादीका परेवादिन गाउँ कमिटी सेक्रेटरी ज्ञानेन्द्र कार्की र सदस्य शेरबहादुर बानियाँलाई कुटपिट गरी घाइते बनाए। उनीहरुलाई सिधुवा बजारमा मोटरसाइकल जलाएको आरोपमा कुटपिट गरेको बताइएको छ। घाइतेको सिधुवा स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनायो। सोमबार राति सिधुवा बजारमा युथफोर्स कार्यकर्ता चढेको नौ मोटरसाइकल र एउटा भ्यानमा माओवादी कार्यकर्ताले आगजनी गरेपछि मंगलबार बिहानैदेखि धनकुटा बजारमा तोडफोड र कुटपिटको घटना भए। युथफोर्स कार्यकर्ताले धनकुटाको हुलाक्क टोलमा रहेको माओवादीको जिल्ला पार्टी कार्यालय र जनवर्गीय संगठनको बोर्डर कागजपत्र बाहिर निकाली जलाइदिए। त्यस्तै, युथफोर्स कार्यकर्ताले एकिकृत नेकपा माओबादीको गाउँमा रहेको कार्यालयको बोर्ड समेत झिकेर जलाई दिए। सिधुवा मुर्तिढुंगा, जोरपार्टी, हिले लगायत ८ ठाउँमा रहेको माओबादी पार्टी कार्यालयका बोर्ड युथफोर्सका कार्यकर्ताले जलाएको एकिकृत नेकपा माओबादी धनकुटाका सह-सेक्रेटरी चेतन बरालले बताए।

सिधुवाबजारमा भएको मोटरसाइकल र भ्यान आगजनीको विरोध गर्दै युथफोर्स धनकुटाले मंगलबार अनिश्चितकालीन धनकुटा बन्द गरे। घटनामा संलग्न ब्यक्तिलाई कारबाही र क्षतिपूर्तिका लागि बन्द गरिएको युथफोर्स धनकुटाका संयोजक प्रवीण पोखरेलले बताए। बन्दका कारण बिहानैदेखि धनकुटामा सवारी साधन चलेनन् भने पसल समेत खुलेनन्। त्यस्तै, धनकुटाका हिले पाखि्रबास, लेगुवा, जितपुरलगायतका बजार समेत युथफोर्स कार्यकर्ताले बन्द गराए। धनकुटामा बजारमा लठ्ठी बोकेर युथफोर्स कार्यकर्ताले माओवादीविरुद्ध शक्ति प्रदर्शन समेत गर्यो। नेकपा एमाले जिल्ला कमिटी धनकुटाले मंगलबार पत्रकार सम्मेलनको गरी इँटाको जवाफ पत्थरले दिने घोषणा गरेको छ। वार्ता र सहमतिका लागि बोलाउँदा समेत अटेर गरी माओवादीले मुठभेड निम्त्याएको आरोप नेकपा एमाले धनकुटाका सचिवालय सदस्य उमेश घिमिरेले बताए।
आगजनीमा माओवादी धनकुटा ८ नं. इलाकाका इन्चार्ज जीवन्त, ज्ञानेन्द्र कार्की, राजेन्द्र बस्नेतको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ। एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले अराजक र आपराधिक गतिविधिको डटेर सामना गर्ने बताए।-नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक