20091115

अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने माओवादी उपाध्यक्षको चेतावनी

"सरकारको नेतृत्व माओवादीलाई गर्न दिए जारी आन्दोलन रोकिने" : नेत्रविक्रम चन्द
"माओवादीको गतिविधिका कारण नेपालमा विदेशी हस्तक्षेप" : दमननाथ ढुङ्गाना
माधवकुमार नेपालविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्न लोकेन्द्रबहादुर चन्दको सल्लाह


एकीकृत माओवादीका स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्दले राष्ट्रिय सरकारको नेतृत्व माओवादीलाई गर्न दिए जारी आन्दोलन रोकिने जानकारी दिएका छन्। माओवादीले सत्ताको नेतृत्व गर्न पाए राष्ट्रपतिको कदम पनि सच्चिने र नागरिक सर्वोच्चता पनि पुनर्बहाली हुने उनले बताए। आइतबार नेपालगन्जमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी नेता चन्दले भने- 'सबभन्दा ठूलो पार्टीको हिसाबले सत्ता, सरकार र संविधानमा माओवादीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। राष्ट्रिय सरकारमा माओवादीको नेतृत्व नभएसम्म आन्दोलन जारी रहने बताउँदै चन्दले भने- माओवादीले सत्ताको नेतृत्व गर्न पाउनु नागरिक सर्वोच्चता हो।
सरकारको नेतृत्व माओवादीले नगर्दासम्म जनताले चाहेको संविधान बन्न नसक्ने दाबी पनि चन्दले गरे। संविधान बनाउनलाई किन सरकारको जरुरी पर्यो भन्ने संवाददाताको प्रश्नमा चन्दले जनताले माओवादीलाई संविधान बनाउनका लागि मात्र भोट नदिएको बताए। उनले भने- 'सबैखाले परिवर्तनका लागि भोट पाएको माओवादीले सरकारको नेतृत्व गर्न पाउनै पर्छ।' माओवादीले राम्रो काम गर्न थालेपछि षडयन्त्रपूर्वक सत्ताबाट हटाइएको दाबी पनि उनले गरे।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले एकिकृत नेकपा माओवादीको गतिविधिका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन्। उनले भने- ‘सबै समस्याको समाधान निस्कने संसद थुनेर माओवादीले विदेशीलाई चलखेल गर्ने अवसर दिएका छन्।'उनले सिंहदरबार घेराउ गर्नुभन्दा संसदबाट समस्याको निकास निकाल्न पनि आग्रह गरेका छन्। ‘संसद थुनेर सिंहदरबार त के पूरै देश नै घेराउ गरे पनि माओवादीले भनेको नागरिक सर्वोच्चता कायम हुँदैन'- मानव अधिकार संरक्षण मञ्च मोरङले आइतबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने- ‘सिंहदरबार घेरेर जनताले दु:खमात्र पाउने हो।' ढुङ्गानाले माओवादीलाई संविधानसभा विघटन हुने डर नपालेर त्यसको सट्टा संसदलाई गतिशील बनाउनुपर्ने सुझाव दिए। माओवादी एकातिर र त्यसबाहेकका राजनीतिक दल अर्कोतिर भएकै कारण देशको राजनीतिक अवस्था डाँवाडोल अवस्थामा पुगेको उनको भनाइ थियो। ‘माओवादी र त्यसबाहेकका दल दुई धारमा बाँडिएकाले समस्या झाँगिएको हो', उनले भने- ‘जुन शान्ति सम्झौताको विपरित हो।' कार्यक्रममा अर्का अधिकारवादी पदमरत्न तुलाधारले राजनीतिक दलका आपसी लडाईका कारण मुलुक जटिल अवस्थामा पुगेको तर्क गर्दै सहमतिबेगर कसैको भलाई नहुने बताए। उनले भने- दलहरु प्रतिबद्ध नभएसम्म मुलुकको समस्या समस्या हुँदैन् ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एकीकृत नेकपा माओवादीलाई प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्न भनेका छन्। आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै तत्कालिन राजनीतिक गतिरोध अन्तका लागि संवैधानिक र सदनको बाटोबाट अगाडि बढ्न सुझाव दिएका हुन्। माओवादीका लागि अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्नु उत्तम विकल्प हुन्छ,' राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेको चन्दले भने,…सबै समस्याको समाधान सदन र संविधानको बाटोबाट खोज्नुपर्छ।' राजनीतिक सहमतिका लागि प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्डको ठाउँमा बसेर सोच्नुपर्ने र प्रचण्डले पनि माधव नेपालको ठाउँमा बसेर सोच्नुपर्ने बताए। सबैले आफ्नो स्थानबाट मात्र विश्लेषण गर्दा समस्या समाधानको उपाय ननिस्किएको बताए।

यसैगरी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्। आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सहमतिको ढोका खोलिदिन बारम्बार प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गर्दै अविश्वासको प्रस्ताव ल्याएर भएपनि सरकार ढाल्ने चेतावनी दिएका हुन्।
सकेसम्म सहमतिबाटै राष्ट्रिय सहमतिको सरकार निर्माणको पक्षमा छौं,' कुन माध्यमले सरकार गठन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, …अविश्वासको प्रस्ताव ल्याएर पनि अगाडि बढ्न सकिन्छ।' आफूहरु अंकगणितको खेलमा नलागेको अन्यथा सरकार धेरै अघि ढलिसक्ने दाबी गरे। जुनसुकै प्रस्ताव लादा राष्ट्रिय सहमति बनाउन लागेकाले ढिलाई भएको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक