- देवप्रकाश त्रिपाठी
कम्युनिष्ट पार्टीमार्फत सर्वहारावर्गको हातमा सम्पूर्ण सत्ता प्राप्त नभई समाजवाद र साम्यवादको स्थापना हुन नसक्ने निष्कर्ष लेनिनले निकालेको केही वर्षपछि माओ त्से तुङले अर्को घोषणा गरे– सत्ता बन्दुकको नालबाट मात्र प्राप्त हुन्छ। लेनिन र माओका यस्ता विचार–दर्शनबाट अभिपे्ररित नेपालका माओवादीहरूमा सत्ताकब्जाको चाहना या रणनीति छैन भनेर बुझ्नु गम्भीर भूल हो। यदि उनीहरूमा सत्ताकब्जाको दुर्भेद्य चाहना छैन भने उनीहरूलाई 'सच्चा माओवादी' मानिरहनुपर्ने छैन। माओवादीहरूको अन्तिम लक्ष्य सिद्धान्ततः
साम्यवाद हो भने व्यवहारतः सत्ता। अर्थात् साम्यवाद देखाएर सत्तामा पुग्नु र सत्तामा बसिरहन साम्यवाद देखाइरहनु माओवादीहरूको बाध्यता हो र विशेषता पनि। रूपमा जे–जस्तो देखिए तापनि सारमा संसारका अन्य माओवादीले जे गरेका हुन् यहाँका माओवादी पनि ठीक त्यही गर्दै छन्। मुस्लिम धर्मावलम्बीहरूले जेहन्नत (साध्य) प्राप्तिका लागि जुनसुकै हथकण्डा अपनाए पनि त्यसलाई पुण्यकर्म मानेझैं माओवादी पनि आफूले तय गरेको गन्तव्य (क्रान्ति) प्राप्त गर्न जस्तोसुकै तरिका (साधन) अपनाउनुलाई जायज मान्छन्। माओवादीको सैद्धान्तिक, वैचारिक या व्यावहारिक मूल्य–मान्यतागत विशेषता भनेको क्रान्ति पूरा गर्न जतिसुकै तल या माथि जान, सत्य या झुट बोल्न, पारदर्शी या छली व्यवहार गर्न, मर्न या मार्न तत्पर रहनु हो। निर्वाचनमा भाग लिँदा संसद्मा जम्मा नौ स्थान मात्र रहेको (२०४८ मा) पार्टीले दस वर्षकै अवधिमा जे–जस्ता 'उपलब्धि' हासिल गर्यो। त्यसले माओवादी नेतृत्वको कौशल मात्र प्रमाणित गरेको छैन, उनीहरू आफूले तय गरेको क्रान्तियात्राको आधारभूमि पनि निर्माण गरेको छ।
विवेकवान मानिस सत्यलाई पे्रम गर्छन् र सत्यबाट नै पे्ररित पनि रहन्छन्, तर अहंकारीहरू आत्मकेन्द्रित हुन्छन् र आफूले जे बुझेको छ या आफूलाई जे लागेको छ त्यसैलाई सत्य ठान्छन्। नेपाली राजनीतिमा विवेकहीनहरूको बाहुल्य हुँदै जाँदा अहंकारजन्य क्रियाकलापमा बढोत्तरी भएको छ, त्यसैले जनताका समस्या एकातिर पाखा लगाएर 'इगो'का लागि
युद्धसम्म गर्ने तत्परता कथित राजनीतिकर्मीहरूबाट प्रकट भइरहेको छ। मानिसका निम्ति शान्ति सधैं चाहना र आवश्यकताको विषय हो भने युद्ध एउटा क्रूर बाध्यता मात्र। राजनीतिक महत्वाकाङ्क्षा भएका मानिसहरूमा हिंसालाई साधन होइन साध्य मान्ने प्रवृत्ति रहँदा देश या समाजले कुन प्रकारको परिणति भोग्नुपर्ने रहेछ भन्ने वास्तविकताको बोध नेपाली वर्तमानले गराइरहेको छ। कथित क्रान्तिका नाममा भय र त्रासको मुख्य स्रोत बन्न पुगेको माओवादीको नेतृत्व तह अहंकार र आत्मकेन्द्रित मनोदशाबाट ग्रस्त छ। सत्तामा पुग्ने र सदा सत्तामा बसिरहन पाउनुपर्ने चाहनाबाट पे्ररित माओवादी नेतृत्व अरू सबै आफ्नो पाउ परेको या पूरै मेटिएको हेर्न चाहन्छ भन्ने तिनको अभिव्यक्ति र व्यवहारले दर्शाइरहेको छ। संविधानसभा र गणतन्त्रका लागि मात्र २०५२ सालमा माओवादीले हिंसात्मक युद्ध सुरु गरेको थिएन, देशको 'स्थायी सर्वसत्तावादी शासक' बन्ने महत्वाकाङ्क्षाको चरम प्रस्फुटन थियो त्यो सन्दर्भ भन्ने पुष्टि वर्तमानले गर्न खोज्दै छ।
गिरिजाप्रसाद कोइरालालाई अघि सारेर ०६३ सालमा माओवादीले उपलब्धि के हासिल गरेको थियो, देशबाट प्रजातान्त्रिक मूल्य, मान्यता, अनुशासन र विधिजन्य व्यवहार गायव भएका छन्। आफूले ल्याएको क्रान्तिको मालिक आफैं बन्नुपर्छ भन्ने दर्शनबाट अभिपे्ररितहरूको हप्की–दप्की बढेको छ। जातीय सद्भाव बढाउनुभन्दा भड्काउनु महान् कार्य हो र विवेक, विधि तथा न्यायसम्मत व्यवहारभन्दा हिंसा र बल प्रयोग नै लक्ष्य प्राप्तिका सही साधन हुन् भन्ने मूल सन्देशसहित 'राजनीति'मा स्थापित हुँदै गर्दा माओवादी नेतृत्वले देशको इतिहासप्रति कति ठूलो अन्याय गर्दै छ? देख्नेहरूले पनि लेख्ने सामर्थ्य जुटाउन सकिरहेका छैनन्।
वि.सं. ०५२ मा हिंसात्मक युद्धमा प्रवेश गरेयता माओवादीले देशभित्रको भौतिक संरचना मात्र ध्वस्त गरेन, सामाजिक, मनोवैज्ञानिक, भावनात्मक, राजनीतिक र राष्ट्रिय संरचनासमेत ध्वंस गरेको छ। माओवादीइतर राजनीतिक दलहरूको आधारभूमि भत्काउने सफलता माओवादीले हासिल गरेका छन्। शान्तिसम्झौता भएको तीन वर्ष बितिसक्दा पनि अन्य पार्टी कार्यकर्ताहरू स्थानीय तहमा निर्वाध क्रियाशील हुन पाउने/सक्ने अवस्था बनेको छैन। पार्टी भनेकै माओवादी र माओवादी भनेकै पार्टी भन्ने मान्यता स्थापना गर्ने कसरत गाउँस्तरमा करिब सफल भइसकेको छ, अब सहरमा बाँकी। माओवादीअनुकूलको अभिव्यक्ति या निर्णय ठीक र प्रतिकूल निर्णय या अभिव्यक्ति नाजायज र देशकै लागि नाजायज भनिने अवस्था बनाइएको छ। क्रान्ति एकै रातमा सम्पन्न हुने 'सुहागरात कर्म' होइन भन्ने बुझेका मार्क्सवादी, लेनिनवादीहरू क्रान्ति चरणबद्ध रूपमा सम्पन्न गरिने, गर्नुपर्ने या हुने विषय हो भन्ने मँन्यता राख्छन्। ०५२ देखि ०६२ सम्म आइपुग्दा 'क्रान्ति'को एउटा चरण सम्पन्न भएको छ। दसवर्षे युद्धको सबैभन्दा ठूलो उपलब्धि भनेको अन्य दलहरू जो माओवादीविरुद्ध मानिन्थे तिनलाई आफ्ना एजेन्डामा सहमत गराउनु र दलहरूसँग विशेष सम्झौता (बाह्रबुँदे) गर्न सक्नु हो। दलहरूसँगको सम्झौतापश्चात् 'क्रान्ति' दोस्रो अर्थात् गणतन्त्र स्थापनाको चरणमा प्रवेश गर्योझ। गणतन्त्र स्थापनाका लागि नायक बनाइए गिरिजाप्रसाद कोइराला, कोइरालाले काँध दिए प्रचण्डले नारायणहिटी ताकेर गोली हाने। प्रचण्ड प्रहारले नारायणहिटी त ढल्यो नै, गिरिजाप्रसादको राजनीतिक थातथलो पनि नराम्रोसँग ढलमलायो। गणतन्त्र घोषणासँगै क्रान्तिको दोस्रो चरण पनि सफलतापूर्वक सम्पन्न भयो। लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा बनाइएका या बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मित्रहरूको उपयोगिता पनि माओवादी दृष्टिमा घट्न पुग्यो र उनीहरू तेस्रो चरणको 'क्रान्ति' मा प्रवेश गरे। तेस्रो चरणको मूल गन्तव्य जनगणतन्त्र अर्थात् माओवादी अधिनायकत्वमा चल्ने राजनीतिक एवम् आर्थिक प्रणाली हो। लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका राष्ट्रिय मित्र गिरिजाप्रसाद कोइराला र अन्तर्राष्ट्रिय मित्रशक्ति मानिएको भारत माओवादी क्रान्तियात्राको नयाँ चरणमा सहयोगी बन्न नसक्ने, बरु बाधक बन्ने ठानिनु स्वाभाविक थियो र माओवादीले ठान्यो पनि त्यस्तै। तर, यो चरण पूरा गर्न त्यति सहज देखिएको भने छैन। माओवादीलाई जङ्गलबाट सिंहदरबारसम्म ल्याउन जो–जसले निर्णायक भूमिका निर्वाह गरेका थिए, ती शक्तिहरू अहिले माओवादीप्रति सचेत हुन पुगेका छन्।
जनस्तर र राजनीतिक दल तथा विभिन्न जातीय समूहहरूलाई माओवादीले आफ्नो काबुमा लिइसकेको ठानेको छ। अब चीनको समर्थन र सहयोगबेगर चिनियाँ मोडलको (राजनीति कम्युनिष्ट पार्टीको नियन्त्रण र अर्थ व्यवस्था अर्धखुला) गणतन्त्र स्थापना हुन र टिक्न असम्भवप्रायः मानिन्छ। यही कुरालाई आत्मसात् गरेर 'क्रान्ति'को नयाँ चरणमा नयाँ मित्रहरू निर्धारण गरिएका छन्। 'भारतलाई छक्याउने र चीनलाई पट्याउने' रणनीति माओवादीले अवलम्बन गरेको छ। सत्तामा रहेकाहरूसँगको सम्पर्क र सम्बन्धलाई मात्र सहज, स्वाभाविक र हार्दिक रूपमा लिने चाइनाले माओवादीलाई जसरी भए पनि सत्तामा पुग्न 'सुझाव' दिएका कारण माओवादी सत्ता पाउन हतारिएको छ। सत्ताको वागडोर आफ्नो हातमा नभएसम्म नयाँ चरणको क्रान्ति सम्पन्न नहुने, सत्तामा पुग्न अनेकौं जटिलताहरू पार गर्नुपर्ने भएकोले माओवादीका निम्ति वर्तमान 'थाल खाउँ कि भात खाउँ' झैं भएको छ।
इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र पेरूको घटना पुरानवृत्ति हुन नदिन अत्यन्त सचेत माओवादीले राज्यका महत्वपूर्ण निकायहरू न्यायपालिका, सेना, प्रहरी र प्रशासनको नाडी छामिसकेको छ र यी निकायहरूबाट आफ्नो यात्रामा व्यवधान पैदा हुन नसक्ने ठानेको छ। वैधानिक मोर्चा र सडक दुवैका कौशलपूर्ण प्रयोगबाट क्रान्ति सम्पन्न गर्न सकिने विश्वासमा रहेका माओवादीका लागि यतिबेला संसद् उर्फ संविधानसभाको सङ्ख्यागत अवस्थिति एक अर्थमा अत्यन्त लाभकारी देखिएको छ भने अनेक अर्थमा व्यवधानकारी। संविधानसभामा पूर्ण बहुमतको अवस्था हुन्थ्यो भने यसबेलासम्म माओवादीले संविधान जारी गरिसक्थ्यो र संविधानमार्फत नै जनगणतन्त्र स्थापना कार्य सम्पन्न गरिन्थ्यो। आफूले चाहेजस्तो संविधान बन्न नसक्ने अवस्था भएकोले उसको प्राथमिकतामा संविधान निर्माण कार्य पर्न सकेको छैन। संविधानसभालाई आफ्नो वैधानिक सुरक्षाकवचको रूपमा उपयोग गर्दै 'क्रान्तियात्रा' छोट्याउने रणनीति माओवादीले अख्तियार गरेको प्रस्ट बुझिन्छ। एकतिर संसद् उर्फ संविधानसभाको अस्तित्व जोगाइराख्ने तर त्यसलाई क्रियाशील हुन नदिने र अर्कोतिर सडक–सङ्घर्षबाट गन्तव्य प्राप्त गर्ने रणनीति अवलम्बन गर्नुले उनीहरूको नियत छर्लङ्ग दर्शाएको छ। सत्ता प्राप्तिको वैधानिक मार्ग (जसलाई उनीहरूले 'सहमति' भन्ने गरेका छन्) लाई खुला राख्दै सडकबाट समाधान खोज्ने जुन प्रयास माओवादीले गरेका छन् यो सफल भएमा तेस्रो चरणको क्रान्ति सम्पन्न हुने या धेरै नजिक हुने उनीहरूको ठहर रहेको बुझिन्छ। अवैध अर्थात् हिंसाको मार्ग अवलम्बन गरेर सिंहदरबार प्रवेशलाई सहज तुल्याउने माओवादीले अहिले राज्यको हरेक तह र तप्कामा आफ्नो पहुँच स्थापित गरिसकेका छन्। आफ्ना लडाकुहरूको अस्तित्व र त्रास जीवित राख्दै राज्य संयन्त्रमा बढाएको पहुँचले लोकतन्त्रका वास्तविक हिमायतीहरूलाई धराशायी बनाउँदै लगेको छ। अब पनि लोकतन्त्र पक्षधर शक्तिहरूले नबुझ्ने र आपसी एकता कायम गर्न नसक्ने हो भने नेपालबाट लोकतन्त्र सम्पूर्ण रूपले विस्थापित हुन र त्यसको ठाउँमा माओवादीले चाहेजस्तो जनगणतन्त्र स्थापित हुन लामो समय प्रतीक्षा गर्नै नपर्ने निश्चित भएको छ। यो अलग्गै सत्य हो कि नेपालमा माओवादीले जनगणतन्त्र घोषणासम्म गर्न सके पनि त्यसलाई चलाउन र टिकाउनचाहिँ उनीहरूलाई पनि मुस्किल पर्नेछ। तर, राजनीतिक अहम्को यो लडाइँमा देश भने आगामी कैयन कालसम्म रक्त–आहालमा डुब्ने सम्भावना बढाएको छ।
यस्ता त मन्त्री छन नयाँ नेपालमा, हेर्नुस् भिडियो
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक