20091126

गोल्छाको जग्गा माओवादीको भ्रातृ संगठन अखिल नेपाल सुकुम्बासी संघका पदाधिकारीको नेतृत्वमा कब्जा

माओवादीले बुधबार बाँकेमा २२ बिघा जमिन कब्जा गरेको छ। थारुवान राज्य समितिको कात्तिक २७ गते बसेको बैठकले जमिनदारको जग्गा कब्जा गर्ने निर्णयगरेअनुसार माओवादीले सुकुम्बासीको अगुवाइमा गोल्छा कम्पनीको उक्त जमिन कब्जा गरेको हो। नेपालगन्ज-कोहलपुर सडक खण्डअन्तर्गत कोहलपुर-२ मा रहेको महेन्द्रकुमार गोल्छाको उक्त जग्गा माओवादीको भ्रातृ संगठन अखिल नेपाल सुकुम्बासी संघका पदाधिकारीको नेतृत्वमा कब्जा गरिएको हो। चारैतिर बाउन्ड्री गरिएको र हुलास इन्डस्ट्री प्रालिको दुईवटा भवन रहेको उक्त जग्गामा थारुवान राज्य समितिका सुकुम्बासी विभाग संयोजक तथा सुकुम्बासी संघका केन्द्रीय सदस्य अमर परियारको नेतृत्वमा पुगेका सुकुम्बासीहरूले झन्डा गाडेर कब्जाको घोषणा गरेका छन्।.....

गोल्छाको २२ बिघामा १२ बिघा नम्बरी र अरू ऐलानी जग्गा रहेको बताइएको छ। जिल्लामा हजार बिघाभन्दा बढी जमिन कब्जा गर्ने नीतिअनुसार उक्त जग्गा कब्जा गरिएको र अब कुनै पनि हालतमा नछोड्ने सुकुम्बासी संघले जनाएको छ। थारुवान राज्य समितिका सुकुम्बासी विभाग संयोजक अमर परियारले क्रान्तिकारी भूमि सुधार लागू नभई भित्र-भित्र जमिनदारहरूले जग्गा विक्री गरिरहेकाले त्यसलाई रोक्न कब्जा शुरू गरिएको बताउनुभयो। विगतमा पनि गोल्छाको उक्त जग्गामा सुकुम्बासीहरू बस्न थालेका थिए तर पछि उनीहरूलाई उठाइएको थियो। जिल्लाका धेरै ठाउँमा कब्जा गर्ने जग्गाको अध्ययन र अनुसन्धान गरिरहेको बताएको सुकुम्बासी संघले गोल्छाको जग्गा कब्जालाई ‘नमुना’ भनेको छ।

माओवादीले जग्गा कब्जा गरेको घोषणा गरेपछि ढिला पुगेको प्रहरीले उनीहरूले गाडेका सबै झन्डा झिकेर ल्याएको छ। प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले सुकुम्बासीहरूको संख्या हेरेर प्रहरी पठाउँछु भन्दाभन्दै सुकुम्बासीहरू आफ्नो कार्यक्रम सकेर त्यहाँबाट हिँडिसकेका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक कमल गिरीको टोलीले गोल्छा कम्पनीमा गाडिएको सुकुम्बासीका १४ वटा झन्डा झिकेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक