20091117

सीडीओ समाजले ७५ वटै जिल्ला प्रशासन कार्यालयमा काम ठप्प पार्ने चेतावनी


कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले सीडीओ प्रकरणमा दुःख व्यक्त गरी प्रकशित गरेको वक्तव्यमा सीडीओ समाजले आपत्ती जनाएको छ। समाजले प्रधानमन्त्रीको निर्देशनमा पीडितमाथि नै लाञ्छित लगाउने गरी राज्यमन्त्रीबाट वक्तव्य आएको भन्दै ७५ वटै जिल्ला प्रशासन कार्यालयमा काम ठप्प पार्ने चेतावनी दिएको छ। प्रधानमन्त्री माधवकुमार नेपालले सीडीओमाथि हातपात गरेकामा क्षमायाचना गर्न दिएको निर्देशनपछि वेगमले जारी गरेको विज्ञप्तिमा सीडीओलाई समेत दोषारोपण गर्दै घटना राम्रो नभएको भन्दै दुःख प्रकट गरेकी थिइन्। उनले विज्ञप्तिमा 'कात्तिक २४ मा म र पर्साका सीडीओबीच भएको घटना अप्रत्यासित र दुःखद् हो' भन्दै उक्त घटनाको सम्पूर्ण कारक तत्व र जिम्मेवार व्यक्ति सीडीओ भण्डारी स्वयं भएको दाबी गरेकी छन्। भण्डारीले आमजनता, राजनीतिक नेता तथा विभिन्न मधेशी मूलका मन्त्रीसित लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आएको आरोपसमेत लगाएकी छन्। 'आमजनता, राजनीतिक नेता तथा मधेशी
मूलका मन्त्रीमाथि उहाँले लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आउनुभएको थियो। त्यही सिलसिलाको चरम कडी सीडीओको मसितको कात्तिक २४ को दुर्व्यवहार हो। तर पनि त्यो दुर्व्यवहारबाट आवेशमा आई मबाट हात उठ्न गएको घटना राम्रो नभएको म महसुस गर्छु' उनले विज्ञप्तिमा भनेकी छिन्।

'प्रधानमन्त्रीको कारबाही नगर्नू र उनको निर्देशनमा पीडितमाथि नै आरोप लगाई राज्यमन्त्रीको वक्तव्य आएका कारण सबै सीडीओले काम ठप्प पार्छौं। 'कहिले काम रोक्ने भन्नेबारेमा हामी सल्लाह गर्दैछौं' सीडीओ समाजका अध्यक्ष डिल्ली शिवाकोटीले भने। 'प्रधानमन्त्रीको निर्देशनले दण्डहीनता भएको छ' भन्दै उनले यसले प्रधानमन्त्रीलाई नै राम्रो नगर्ने बताए। 'सीडीओलाई कुट्नेमाथि कारबाही हुँदैन भने प्रधानमन्त्रीलाई कार्यालयमा कसैले कुट्यो भने त्यसमाथि पनि कारबाही गर्न मिल्दैन' शिवाकोटीले भने। गृहका अधिकारीहरूले पीडित सीडीओमाथि नै गम्भीर आक्षेप लगाई राज्यमन्त्रीको वक्तव्य आएपछि सारा निजामती कर्मचारीको मनोबल गिरेको उल्लेख गर्दै दण्डहीनताको यो घटनाका कारण अब कर्मचारीले मन्त्री र सचिवको आदेश नमान्ने प्रवृत्तिलाई बढाउने बताए। राज्यमन्त्रीबाट कुटाइ खाएका सीडीओलाई सरकारले राजधानी झिकाई बिदा लिन लगाएर उल्टै कारबाही गरेको दाबीसमेत शिवाकोटीले गरे। गृहका प्रवक्ता जयमुकुन्द खनालले भने घटना हुनुअघिल्लो दिन नै सीडीओ भण्डारीले कात्तिक २५ देखि ७ दिनका लागि बिदा लिएको दाबी गर्दै राजधानी नझिकाइएको दाबी गरे। पर्सामा सहायक सीडीओ नभएकाले सात दिनका लागिमात्र सहसचिव यादव कोइरालालाई काजमा सीडीओ बनाएर पठाइएको दाबी गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक