20091114

गिरिजाप्रसाद कोइरालालाई उपचारका लागि शनिबार बिहान एयर एम्बुलेन्सबाट सिंगापुर लगियो


कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उपचारका लागि शनिबार बिहान एयर एम्बुलेन्सबाट सिंगापुर लगियो। सो अवसरमा काठमाडौँ विमानस्थलमा सञ्चारकर्मी, कांग्रेस नेता र कार्यकर्ताहरुको ठूलो भीड थियो। लामो समयदेखि निमोनिया र फोक्सोको संक्रमणबाट पीडित उनको उपचार नेपालमा सम्भव नभएपछि सिंगापुर लैजान लागिएको हो। कोइरालालाई श्वासप्रश्वासमा समस्या हुन नदिन बारम्बार अक्सिजन दिइरहनुपर्ने भएकाले विमानभित्रै अत्याधुनिक उपचार सामग्री भएको विशेष एयर एम्बुलेन्स व्यवस्था गरिएको छ। कोइरालालाई यात्रुवाहक जहाजमा लान सम्भव नभएकाले सिंगापुरबाट एयर एम्बुलेन्स मगाइएको हो।
मुलुकभित्र यस्तो एम्बुलेन्स छैन। यसअघि नेपालबाट कसैलाई पनि एयर एम्बुलेन्समा राखेर विदेश लगिएको थिएन। उनलाई सिंगापुरको टि्रपलवन समरसेटस्थित ग्लेनिगल्स अस्पतालमा उपचार गराइने छ। सरकारले कोइरालाको उपचार तथा एयर एम्बुलेन्समा लग्दा र फर्काउँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भएको छ। लोकतान्त्रिक आन्दोलनमा झन्डै सात दशक अनवरत योगदान पुर्‍याएका र शान्ति प्रक्रियामा अग्रणी भूमिका निर्वाह गरिरहेका कोइरालाको सम्मानस्वरूप उपचार र आतेजाते खर्च बेहोर्न लागेको हो। मन्त्रिपरिषद्को आगामी बैठकले यससम्बन्धी निर्णय गर्ने ऊर्जा मन्त्री प्रकाशशरण महतले जानकारी दिए।

प्रधानमन्त्री माधवकुमार नेपालले कोइरालाको उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने प्रतिबद्धता जनाइसकेको उनका प्रेस सल्लाहकार विष्णु रिजालले बताएका छन्। कोइराला लामो समयदेखि 'सिओपिडी ब्रोन्काइटिस' भनिने दमखोकीबाट पीडित छन्। एक्कासी श्वासप्रश्वासमा समस्या र रगतमा अक्सिजन कमी भएपछि मंगलबार बिहान उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। ०६३ सालमा कोइराला यस्तै समस्याबाट पीडित भएपछि थाइल्यान्डको बैंककमा लगेर उपचार गराइएको थियो। त्यतिबेला उनी प्रधानमन्त्री थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक