20091113

सरकारलाई मङ्सिर ५ गते सम्मको माओवादी अल्टिमेटम,

हामीले जितेनौं भने देश ठूलो दुर्भाग्यमा पर्छ : पुष्पकमल दाहाल
माओबादीको आन्दोलन देशमा बितण्ड मच्चाउनका लागी : शेर बहादुर देउवा
माओवादी अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चता कायम गर्न सरकारलाई मङ्सिर ५ गतेसम्मको अल्टिमेटम दिएका छन् । उनले नत्र तेस्रो चरणको आन्दोलन योभन्दा आक्रामक र व्यापक हुने तथा त्यसले दलहरुका धृष्टता समाप्त पार्ने चेतावनी पनि दिए। वर्तमान सरकारले माओवादी जङ्गल पसोस् र आफूहरु लुटेर खान पाइयोस् भन्ने चाहना राखेको बताएका छन्। यो सरकारलाई जनसमर्थन नभएको र जनताले साह्रै घृणा गर्न थालेको दाबी पनि उनले गरे । र, भने- उनीहरु जे चाहन्छन्, हामी त्यसको विपरित गर्छौं। माओवादीले थालेको लडाइ क्रान्ति, नयाँ संविधान र परिवर्तनका विरोधीविरुद्धको.....
भएको पनि उनले बताए। माओवादीले लडाकुलाई बाहिर निकालोस् र त्यही बहानामा वितण्डा मच्चाउन सकियोस् भनेर शासकहरुले चाहेको तर आफूहरु नयाँ ढङ्गको आन्दोलनमा उत्रेको पनि उनले बताए। भृकुटीमण्डपमा भइरहेको माओवादी सभामा बोल्दै उनले यो लडाइमा माओवादी नहार्ने तर शासकहरु भाग्ने पनि दाबी गरे । कूटनीतिज्ञहरुले आफूलाई यत्रो मान्छे उतारेर पनि शान्तिपूर्ण आन्दोलन गरेकामा बधाइ दिएको पनि उनले सुनाए। संविधानसभा विघटन गर्ने षडयन्त्र भइरहेको दाबी पनि उनले गरे । 'यो लडाइ हामीले जितेनौं भने स‌ं‌विधानसभा विघटन हुन्छ', उनले भने- हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैनौं। सेना लगाएर माओवादीलाई दमन गर्ने सपना देख्नेलाई अझै पनि समय छ, शिक्षा लेउ भन्दै उनले चेतावनी दिए- अहिले सिंहदरबारमा जानेहरु कसरी त्यहाँ पुगे भन्ने सबैलाई थाहा छ, उनीहरु त्यहाँ पुग्नु मुलुकको बेइज्जति हो। यो राष्ट्रिय स्वाधीनताको लडाइ भएकाले हामीले जित्नैपर्छ, हामीले जितेनौं भने देश ठूलो दुर्भाग्यमा पर्छ।

अहिले सङ्घीयताविरुद्ध पनि षडयन्त्र भइरहेको बताउँदै उनले माओवादीले आन्दोलन छाड्छ कि भन्ने भ्रम छाड्न पनि सबैलाई आग्रह गरे । छिमेकीसँग राम्रो सम्बन्ध चाहने बताउँदै उनले राणाकाल र राजतन्त्रकालमा भएका सन्धिलाई माओवादीले मान्यता नदिने पनि उल्लेख गरे । यो आन्दोलनले प्रतिक्रियावादीहरुको सात्तो गइसकेको भन्दै दाहालले भने- हामी कुनै हालतमा सम्झौता गर्दैनौं, सिंहदरबार र बालुवाटारमा बस्नेहरुले सुने हुन्छ। जनताले बनाएका भए सरकारमा बस्नेहरुले राजिनामा दिन्थे भन्दै उनले थपे- उताबाट रिमोटको स्वीच नथिचेसम्म वा नेपाली जनताले नलत्याएसम्म उनीहरु छाड्दैनन्। इतिहासबाट शिक्षा लिन पनि उनले दलहरुलाई सुझाए। यसैगरी बाबुराम भट्टराईले अहिलेको आन्दोलन ढोकाअगाडि मात्र भएको तर तेस्रो चरणको आन्दोलन ढोका भत्काउने हुने चेतावनी दिए । उनले यो बुख्याचा सरकारलाई मान्यता नभएको बताएका छन्। उनले नेपाली जनता आफ्नो भाग्य आफैं निर्माण गर्न चाहन्छन् भन्दै जनताको आन्दोलनलाई कुल्चने कसैलाई बाँकी नराख्ने बताए। उनले अदृश्य शक्तिले राष्ट्रपतिलाई ज्ञानेन्द्रकै शैलीमा कु गर्न उक्साइरहेको पनि दाबी गरे।
उनले भने– नागरिक सर्वोच्चता भनेको सेना जनताको अधीनमा रहनु हो भन्दै थपे– यो लाटाले पनि बुझ्ने कुरा हो। जनताको बाहेक अरु कसैको पनि आदेश मान्न हामी तयार छैनौं। उनले यही संसदले राष्ट्रपति चुनेकाले उनीबारे संसदमा छलफल हुन पाउनुपर्ने जिकिर पनि गरे। राष्ट्रपति राजा नभएकाले उनीबारे संसदमा छलफल गर्न दिन र नदिए योभन्दा उच्चस्तरको आन्दोलन गरिने चेतावनी पनि उनले दिए। उनले आफूहरुले दाहिने हातले दिएका विकल्प सुनिएन भने देब्रे हात उचाल्ने भन्दै थपे– देब्रे हात भनेको क्रान्तिको हात हो। दाहिने हातले उठाएका माग नसुनिए देब्रे हात उठाउने र त्यसो भयो भने कसैलाई बाँकी नराखिने उनको भनाइ थियो।

नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले माओबादीको आन्दोलन देशमा बितण्ड मच्चाउनका लागी भएको टिप्पणी गर्नु भएको छ। आज बिहान प्रेस युनियन बाँकले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता देउवाले नागरीक सर्वोच्चताको लागी भनी गरेको आन्दोलनले नागरीकलाई नै सास्ती भएको बताउनु भयो।
उहाँले माओबादीले गर्दै आएको आन्दोलन त्यो उसैका लागी घातक हुने चेतावनी समेत दिनु भयो। अवकास पाईसकेका सेनापतिको बिषयलाई लिएर नागरीक सर्वोच्चता मिचीएको भन्दै आन्दोलन गर्नु माओबादीको सर्बसत्ताबादी सोच भएको उहाँको तर्क छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक