20091108

अर्घाखाचीको हंसपुरमा १६, बाँकेको घण्टवा खोलामा एक, पोखरामा दुईको मृत्यु, दर्जनौं घाइते

अर्घाखाचीको हंसपुर लामभिरेमा यात्रुबहाक बस आज बिहान दुर्घटनाग्रस्तहुँदा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १३ जना गंभिर घाईते भएका छन्। अर्घाखाचीको गोखुङ्गाबाट सदरमुकाम सन्धिखर्कका लागी छुटेको लु १ ख ३९८७ नम्बरको यात्रुबाहक बस बिहान ७ बजेतिर हंसपुर गाविस ३ कमरेपानिको लामभीरे भन्ने स्थानमा दुर्घटना भएको हो। मृत्युहुनेमा गोखुङ्गा – ७ का बाबुराम खनाल , नविन पौडेल, केशावती पौडेल र उनको एउटा बच्चा, प्रेम पौडेल, उनकी नातीनी, मिरा पौडेल र उनको एक बच्चाको मृत्यू भएको प्रहरीले जनाएको छ। त्यस्तै गोखुङ्गा ९ का उमेश खनाल, हंसपुर ३ का भूप बहादुर घर्ती मगर, सोही ठाउँका जमुना हमाल, हरिप्रसाद पन्थि र नन्दी घर्ती मगर गाडी चालक सुर्य बिष्ट र प्युठान घर भएका अन्य २ जना रहेको प्रहरीले बताएको छ। घाइते १३ जनालाई उपचारका लागि सदरमुकाम सन्धिखर्क पुर्याइएको छ। करिब ४० जना सवार बस सडकबाट झण्डै १५ सय मिटर तल खसेको छ।
१५ जनाको घटनास्थलमै मृत्यु भएको र बसका चालकको उपचार गर्न लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा यात्रा गरिरहेका अधिकांस यात्रुहरु घाईते भएकोले मृतकको संख्या बढ्नसक्ने प्रहरीको भनाई छ। बस साघुरो बाटो भएका कारण दुर्घटना भएको बताइएको छ। सो बाटोमा यात्रु ओरालेर बाटो पार गर्नुपर्ने भए पनि आज यात्रु नओरालीकन पार गराउने क्रममा दुर्घटना भएको बताइएको छ ।

यता पुर्बपश्चिम राजमार्ग अन्तरगत बाँकेको अगैयानजिकै पर्ने घण्टवा खोलामा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा धादिङ्ग खाल्चे १ का ५० बर्षिय याम बहादुर गुरुङ्गको मृत्यु भएको हो। दुर्घटनामा १४ जना घाईते भएका छन। घाईतेमध्ये अर्घाखाँचीका ३५ बर्षिय तिर्थ बहादुर सारुको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। घाईतेहरुको कोहलपुर शिक्षण अस्पातलमा उपचार भैरहेको छ। नेपालगन्जबाट सल्यान,रुकुमका लागि छुटेको ना ३ ख ३२२८ नम्बरको रोकिराखेको बसलाई घण्टुवा खोला पुलमा नेपालगन्जबाट काठमाण्डौका लागि छुटेको ना ३ ख ९७४७ नम्बरको बसले बिहान साँढे ७ बजेतिर पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका मृतक तथा घाईते सबै यात्रुहरु ठक्कर दिने बसमै सवार थिए ।

यता पोखरामा आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना विद्यार्थीको मृत्यु भएको छ।
पाँच दिनअघिमात्रै पोखरामा स्कूल बसको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै पुनः यस्तै प्रकृतिको घटना दोहोरिएको हो। ना १३ प ४२८५ नम्बरको मोटरसाइकल चढेर स्कूल जाँदै गर्दा पोखराको न्यूरोडमा बिपरीत दिशाबाट आउँदै गरेको लु १ ख ५७५३ नम्बरको ट्रकले ठक्कर दिएर पोखराको बिरौटा घर भएका पर्वत गुरुङ र विकास छन्त्यालको घटनास्थलमै मृत्यु भएको हो। दुबैजना न्यूरोडस्थित लक्ष्मी आवासीय उच्च मावि ब्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ मा अध्ययनरत् छात्रहरु हुन्। उनीहरुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। घटनापछि आक्रोशित मृतकका आफन्त, सहकर्मी र स्थानीयबासीको प्रदर्शन उत्रेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आधादर्जन संख्यामा अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीको लाठीचार्ज र अश्रुग्याँसका कारण आधादर्जन घाइते छन्। तीमध्ये लक्ष्मी आवासीयका शिक्षक नवराज अधिकारी र विद्यार्थी शिशिर थापा गम्भीर छन्। प्रदर्शनकारीले पोखराको सभागृहचोक, न्यूरोड र चिप्लेढुंगा क्षेत्रमा केहीबेर सवारी आवागमन ठप्प पारेकोमा अहिले सो सडकखण्डमा सवारीसाधन चल्न थालेका छन्। प्रहरीले ठूलो संख्यामा सो क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको छ।

एनआरएन पोर्चुगलको प्रतिनिधिमण्डलद्वारा राष्ट्रपति तथा प्रधानमन्त्रीसंग भेट
- भीम के सी कमल
  लिस्बन, पोर्चुगल  
गैर वासिय नेपाली संघ, पोर्चुगलका अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य मकर हमालको  नेतृत्वमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, सचिव खेमराज रानाभाट लगायत अन्य सदश्यहरु सम्मिलित प्रतिनिधिमण्डलले पोर्चुगलमा नेपालको बैतनिक कन्सुलरको स्थापना लगायत पोर्चुगलवासी नेपालीहरुका बिबिध समस्याहरु तथा मागका बारेमा सम्माननीय राष्ट्रपती डा. रामबरण यादब, सम्माननीय प्रधानमन्त्री माधब कुमार नेपाल, माननीय उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्ब उप-प्रधानमन्त्री रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एनेकपा माओबादीका उपाध्यक्ष नारायण काजि श्रेष्ठ (प्रकाश), नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी तथा नेपालका लागि पोर्चुगलका अवैतनिक कन्सुलर राजेन्द्र खेतानसंग हालै काठमाण्डौमा छुट्टाछुट्टै भेटघाट गरी ज्ञापनपत्र तथा माग प्रस्तुत गरेको छ।
राष्ट्रपती डा. रामबरण यादबसंगको १ घंटा भन्दा बढी समयको आत्मीय तथा सौहार्दपुर्ण भेटमा प्रतिनिधिमण्डलका सदस्यहरुले पोर्चुगलमा रहेका नेपालीहरुको वास्तविक अवस्था, समस्याहरु र नेपाली कन्सुलरको आवस्यकता बारे बिस्तृत छलफल गरेका थिए। राष्ट्रपती डा. यादबबाट पोर्चुगलवासी नेपालीहरुका समस्याहरु गम्भिरतापुर्बक लिइ समाधानको निमित्त सम्बन्धित निकायको ध्यानाकर्षण गराउने आश्वासन प्राप्त भएको जानकारी नेपाल भ्रमणकै क्रममा रहेका गैर वासिय नेपाली संघ, पोर्चुगलका अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य एबं प्रतिनिधिमण्डलका नेता मकर हमालले टेलिफोनबाट दिएका छन्।
त्यसै गरी प्रधानमन्त्री माधब कुमार नेपाल तथा उप-प्रधान एबं परराष्ट्रमन्त्री सुजाता कोइरालासंगको भेटमा उनीहरुको पोर्चुगल भ्रमणको स्मरण गराउदै पोर्चुगलवासी नेपालीहरुका मागका बारेमा लिखित स्मरण-पत्र प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री तथा उप-प्रधानमन्त्रीबाट पोर्चुगल भ्रमणको क्रममा प्राप्त न्यानो आतिथ्यताको स्मरण गर्दै पोर्चुगलवासी नेपालीहरुका समस्यासंग आंफुहरु पुर्ण परिचित रहेको र बर्तमान सरकारबाट समस्या समाधान गर्न यथाशक्य पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेको जानकारी भेटघाटमा सहभागी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले दिएका छन्।
प्रतिनिधिमण्डलले भेटघाट गरेका अन्य राजनैतीक, ब्यबशायीक तथा कुटनैतीक ब्यक्तित्वहरुसंग समेत पोर्चुगलमा नेपाली बैतनिक कन्सुलर कार्यालयको स्थापना, नेपालको पर्यटन तथा ब्यापार, ब्यबशाय प्रबर्धन बिषयमा उत्साहजनक छलफल तथा जानकारी आदानप्रदान भएको छ।
पोर्चुगलवासी नेपालीहरुका कागजपत्र प्रमाणिकरण तथा कन्सुलर सम्बन्धी समस्याहरु तत्कालिन रुपमा समाधान गर्न हालको लागि प्रत्येक २ महिनाको अन्तरमा फ्रान्स स्थित नेपाली दुताबासका कर्मचारी १ महिनाको निमित्त पोर्चुगलमा टुर-मुकाम (कार्यालय) कायम गरी बस्ने ब्यबस्था गर्ने आन्तरिक तयारि भैरहेको जानकारि परराष्ट्र मन्त्रालय सम्बद्ध श्रोतबाट प्राप्त भएको छ।
पोर्चुगलवासी नेपालीहरुका बिबिध समस्याहरु राष्ट्रको यति उच्च तहमा प्राथमिकताका साथ छलफल भएको यो प्रथम पटक भएको र गैर आवासिय नेपाली संघ पोर्चुगलको यो प्रयासलाइ सम्पुर्ण प्रवासी नेपालीहरुले उच्च सर्‍हाना गरेका छन्।


कपिलबस्तु दिबस

Kapilvastu Day logo
बुद्धको जन्मस्थल कपिलबस्तुलाई बिस्व सामू अरु बढी परिचित गराउने र बिस्व भरी नै बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिस्वभर मनाउन पहलकदमी गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा । यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु  दिन सक्छ । नेपालमा हालसालै पूर्व अनुमान गरिएभन्दा फरक किसिमले बिस्वलाई आस्चर्य चकित तुल्याउदै अत्यन्तै शान्तिपूर्ण तबरबाट स्थापना भएको गणतन्त्रको घोषणा, संयुक्त राष्ट्र संघ अन्तर्गत बिभिन्न देशमा शान्ति स्थापनार्थ नेपालले गर्दै आएको सकृय सहयोग र सहभागिताले नेपाली शान्तिकामी हुन भन्ने राम्रो सन्देश दिएको छ बिस्वलाई । हालै मात्र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा आणबिक हतियार घटाउने सम्बन्धमा प्रस्तुत संकल्प प्रस्ताबलाई सर्ब सम्मतिले अनुमोदन गरेको छ र अमेरिकी राष्ट्रपतिद्धारा अध्यक्षता गरिएको र निशस्त्रिकरणको बिषयमा यसरी समर्पित भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको इतिहासमा पहिलो घटना हो यो । संसारभरी छरिएर रहेका नेपाली बुद्धिजिबीहरुको पहलकदमीमा हुन लागेको यो कार्यक्रमले यस किसिमका राष्ट्रिय अन्तरराष्ट्रिय घटनाक्रमहरुमा समर्थन जनाउने मात्र नभएर संभब भएसम्म यस किसिमका शान्तिपूर्ण घटना र आन्दोलनहरुलाई समेत कुनै न कुनै रुपमा कुनै न कुनै हदसम्म सांकेतिक रुपमा उत्प्रेरित गर्न सक्छ भन्ने कुरामा आशाबादी हुन सकिन्छ ।
१ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले लुम्बिनिमा अशोक स्तम्भ पत्ता लगाएको आधारमा यस दिनलाई कपिलबस्तु दिन मनाइने निर्णय गरिएको हो । अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने देन भने Anton Führer लाई जान्छ र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । शान्तिका प्रतिमूर्ति गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयले  राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको हो । यस कार्यक्रमलाई संसारभर छरिएर रहेका नेपालीले आ-आफ्नो क्षमतानुरुप ऐक्यबद्धता जनाएर सहयोग गरिदिनु भएको खण्डमा बिस्व सामू नेपाललाई अरु बढी परिचित गराइ नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउन सकिन्छ र अन्तत्वगत्वा यस्ले नेपालको बिकासमा नै सहयोग पुर्याउने कुरामा सन्देह छैन  ।
संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर्‍यो र संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना (Master Plan) ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो ।
आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले आफ्नै किसिमको बिशेषता र महत्वयुक्त लुम्बिनिको बिस्वमै चाख र महत्व हुन सक्ने भएकोले नै युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा राखेको हो । लुम्बिनी बिकास गुरु योजनाको कार्यन्वयनले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको थियो तापनि आधा शताब्दीभन्दा बढी समय ब्यतित भैसक्ता पनि योजना कार्यन्वयनले पूर्णता पाउन नसकेको र त्यसतर्फ कुनै चासो नै दिएको नदेखिनुले कता कता स्वस्थानीमा अरुले दया गरेर ल्याइदिएको खाना पनि खान लाग्दा  हुरीले उडाएर लगेको घटनाको स्मरण गराउँछ । अन्तरराष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएको एउटा बलियो आधारलाई पनि अरुले त्यत्रो सहयोग गर्दा समेत हात बाँधेर टुलुटुलु हेरेर बसिन्छ भने योभन्दा लज्जास्पद र नामर्दिपन अरु केही हुन सक्ला र ?
शान्तिका प्रतिक गौतम बुद्धका सन्देशहरुलाई धार्मिक रुपमा मात्र सीमित गरिनुभन्दा मानबीय चरित्रको आधारशिलाको रुपमा अबलम्बन गरिने र प्रबचनको श्रोत बनाउनुभन्दा आफ्नो दैनिक जीबनमा प्रयोग गरिने हो भने मात्र प्रत्येक ब्यक्ति खुशी र सुखी हुन सक्छ अनि यो संसार सुन्दर शान्तिमय ग्रहको रुपमा बिकास हुन सक्छ । स्वार्थ र अभिमानले ब्याप्त मानब जातिका कारण नै यो संभाबना असंभब प्राय: जस्तो देखिदै आएको छ तापनि बिस्वब्यापी रुपमा गरिने यस किसिमको राजनीतिक प्रतिबद्धता, बुद्धिजिबी र सामाजिक कार्यकर्ताहरुको अथक नि:स्वार्थ प्रयासहरुले बिद्यमान समस्यालाई धेरै हदसमम्म न्यूनिकरण गर्न सकिने कुरा अस्वाभाबिक नहुन सक्छ ।
आयोजकहरुको प्रकृतिका कारण फेसबुक तथा ट्विटर जस्ता सामाजिक सन्जालहरु र सन्चारका माध्यमहरुको अधिकाधिक प्रयोग सर्बोत्तम उपाय भएको देखिन्छ यस कार्यक्रमको लागि र पनि संभब भएसम्म बिभिन्न किसिमका स्थानीय कार्यक्रमहरुको लागि प्रयासहरु भैरहेका छन । बुद्धको शान्ति सन्देश संसारभर फैलाउँदै नेपाल र नेपालीलाई संसारभर अरु बढी चिनाउने उद्धेस्यका साथ अगाडि बढेको यस निर्बिबाद कार्यक्रममा सबैले यथासक्य सहयोग गरी आ-आफ्नो तर्फबाट नागरिकीय कर्तब्य पुरा गर्नु हुनेछ भन्ने कुरामा बिस्वस्त छौं । यस कार्यक्रमको सफलताको लागि सकेसम्म अन्य ब्यक्तिहरुलाई पनि सकृय हुन अभिप्रेरित गर्ने र त्यसो गर्न नसकिए  पनि प्रत्येक ब्यक्तिको कम्तीमा ५-१० मिनेटको योगदानले नेपाल र नेपालीको लागि मात्र नभएर बिस्वकै लागि केही अर्थ र महत्व राख्न सक्छ । थोपा थोपा पानी नै समुद्रको अस्तित्वको आधार हुने भएकोले यस कार्यक्रममा पनि यहाँहरु प्रत्येकको कम्तीमा ५-१० मिनेटको योगदानले ठूलो अर्थ राख्न सक्नेछ । धेरै बिदेशीहरुको समेत सहभागिता हुने संकेत पाईएको यस कार्यक्रममा हामी नेपालीहरुको उल्लेख्य सहभागिता स्वाभाबिक र अपरिहार्य देखिन्छ ।
हालसम्ममा केही नायक तथा नायिका र कलाकारहरुले समेत यस कार्यक्रममा सकृय सहभागिता जनाउने जुन प्रतिबद्धता जाहेर गर्नु भएको छ त्यस्को लागि उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । र कार्यक्रमका दिनसम्ममा अन्य धेरै कलाकारहरुको सकृयता हुने कुरामा आशाबादी छौं । त्यसरी नै यस कार्यक्रमको लागि लोगो डिजाइन गरेर सहयोग गर्नु हुने सन्जिब श्रेष्ठ पनि धन्यवादका पात्र हुनुहुन्छ ।
कार्यक्रममा सहभागिता एबं ऐक्यबद्धता जनाउने क्रममा यस कार्यक्रमको लोगोलाई अनिबार्य रुपमा प्रयोग गरिदिनु हुन पनि सादर अनुरोध गरिन्छ लोगो प्रयोगबाट हुने बिभिन्न फायदाहरुलाई ध्यानमा राखेर ।
बिस्व सामू नेपाललाई अरु बढी चिनाउन सहायक सिद्ध हुन सक्ने मात्र नभएर देशमा भैरहेको शान्ति प्रकृया र बिस्व शान्तिमा भैरहेका प्रयासहरुमा समेत सांकेतिक अर्थ र महत्व राख्न सक्ने  हुनुका अतिरिक्त यस किसिमका कार्यहरुमा उत्प्रेरकको रुपमा काम गर्न सक्ने यस्तो निर्बिबाद कार्यक्रममा सबैको यथासक्य सहयोग र सहभागिता हुने कुरामा हामी आशाबादी छौं । र संचारको क्षेत्रमा कृयाशील श्रद्धेय मित्रहरुले उक्त दिन बुद्ध र कार्यक्रमको सान्दर्भिकता झल्कने सान्दर्भिक सामग्रीहरुलाई जे जस्तो किसिमले हुन्छ स्थान दिनुलाई नागरिक कर्तब्यकै रुपमा लिएर ऐक्यबद्धता जनाउनु हुनेछ भन्ने कुरामा बिस्वस्त छौं ।
रामकुमार श्रेष्ठ , वेलायत
omram2002@gmail.com

- ७ नोभेम्बर २००९

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक