20091107

नेपालको आन्तरिक मामिलामा राष्ट्र संघले हस्तक्षेप गरेको छैन : राष्ट्र संघ प्रवक्ता

नेपाली सेना चुप लागेर नबस्ने रक्षामन्त्रीको चेतावनी
बान की मुनले दिएको सुझाव सही: पुष्पकमल दाहाल
गणराज्य घोषणा कार्यक्रम गर्छौँ : बाबुराम भट्टराई
माओवादीले सदनमा बहुमत पुर्याए एक मिनेट पनि सरकारमा नबस्ने चेतावनी, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषी धमला भारतीय प्रहरीबाट कुटिए


रक्षामन्त्री विद्यादेवी भण्डारीले बृहत शान्ति सम्झौता र संविधान निर्माणमा माओवादीले अवरोध सिर्जना खडा गरे सेनाको भूमिका बढाउने चेतावनी दिनुभएको छ। कुनै पनि शक्तिले नेपाली सेनामा विखण्डन ल्याउन नसक्ने पनि उहाँको दावी छ। राजधानीमा आज गरिएको एक कार्यक्रममा रक्षामन्त्री भण्डारीले यस्तो बताउनुभएको हो। राष्ट्रियताका लागि बलिदान दिन तयार नेपाली सेनामा विखण्डन ल्याउन षडयन्त्र भए नेपाली सेना चुप लागेर नबस्ने पनि रक्षामन्त्री भण्डारीले चेतावनी दिनुभयो। मन्त्री भण्डारीले जनसेना शिविर बाहिर निस्किए त्यो माओवादीका लागि घातक हुने बताउनुभयो ।


यता  संयुक्त राष्ट्र संघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको स्पष्ट पारेको छ । राष्ट्र संघकी प्रवक्ता मिशेल मोन्टासले नेपालमा केही राजनीतिक दलहरूले महासचिवको प्रतिवेदनमाथि गरेको आलोचनाका बारेमा टिप्पणी गर्दै महासचिव बान की मूनले शान्ति प्रकृयाको सफलताका लागि नेपालका राजनीतिक पार्टीहरुबीच आम सहमति हुनुपर्ने कुरालाई दोहराएको बताएकी छिन । "रिपोर्टले नेपालका राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारका विषयमा उनीहरुले व्यक्त गरेको चाहनालाई नै प्रोत्साहित गर्छ यसले कुनै किसिमको हस्तक्षेपको प्रतिनिधित्व गर्दैन" उनले न्यूयोर्कमा संवाददाताहरुसँग भनिन । सत्ता साझेदार २२ दलको बैठकले मूनको प्रतिवेदनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ती जनाएको थियो ।
यसअघि अनमिन प्रमख ल्यानग्रेनले नेपालमा कायम राजनीतिक गतिरोधले गर्दा शान्ति प्रकृयामा अत्यन्तै सीमित प्रगति भएको बताएकी थिइन । राष्ट्र संघीय सुरक्षा परिषदमा गएराति महासचिव मुनको प्रतिवेदन पेश गर्दै ल्यानग्रेनले हालैका महिनाहरुमा शांति प्रक्रियाले लामो गतिरोधको सामना गरिरहेको भन्दै टकरावको जोखिम औंल्याएकी छिन अनमिन प्रमुख ल्यानग्रेनले नेपालको शान्ति प्रक्रिया गति नलिनुमा राजनीतिक गतिरोध मुख्य कारक रहेको बताइन। उनले राजनीतिक गतिरोधका कारण नै शान्ति प्रक्रियामा काम गर्न नसकेको गुनासो पनि गरिन । उनले निर्वतमान प्रधानसेनापती प्रकरणपछि दलहरुबीच राजनीतिक दुरी बढेको पनि उल्लेख गर्दै सहमतिका लागि पटक पटक प्रयास भइरहेपनि विश्वासको बातावरण बन्न नसकेको जानकारी दिइन। नेपालका सम्बन्धमा महासचिव बानकी मुनले तयार पारेको प्रतिवेदनमा शान्ति प्रक्रियाप्रति दलहरुले जनाएको प्रतिवद्धता पुरा नभएको उल्लेख गरिएको छ।

यसैगरी एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न दिएको सुझाव सही भएको बताएका छन्। अध्यक्ष दाहालले शुक्रबार इलाममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो सरकारको गठन भए मात्र राजनीतिक गतिरोध अन्त्य हुने भनी मुनले दिएको प्रतिवेदनको वर्तमान सरकारले विरोध गर्नु मूर्खता भएको बताए। कात्तिक २३ गतेका लागि घोषित स्वायत्त गणराज्य घोषणा कार्यक्रम हाललाई स्थगित गरिएको उनले बताए अहिलेको घोषणा कार्यक्रम स्थगित गरेर पदाधिकारी नियुक्तिसहित गणराज्य घोषणा पछि गरिने उनले बताए। राष्ट्रिय संयुक्त सरकार गठन र सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदम सच्चिनु जरुरी रहेको आफ्नो अडान रहेको उनले बताए। अध्यक्ष दाहालले सरकारले बहुमत सदस्यबाट बजेट पास गर्ने दुष्साहस गरे त्यो संविधानको मर्म र भावना विपरीत हुने बताए।

यसैगरी संयुक्त राष्ट्रिय जनआन्दोलनका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीको आन्तरिक तयारी नपुगेकाले गणराज्य घोषणा कार्यक्रम स्थगन गरिएको बताएका छन्। पार्टीले आफ्नो जारी आन्दोलनअन्तर्गत सोमबार गणराज्य घोषणा कार्यक्रम तय गरेको थियो। 'तयारी पूरा भएपछि यो कार्यक्रम अघि बढाइनेछ,' राजधानीस्थित पार्टी मुख्यालयमा शुक्रबार नेवा राज्य समितिअन्तर्गतका अगुवा कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिँदै उनले भने। दोस्रो चरणको आन्दोलनबाट पनि माग पूरा नभए नागरिक अवज्ञादेखि देशव्यापी हड्ताल गर्नसमेत पछि नपर्ने उनले बताए। यसका लागि तयार रहन उनले कार्यकर्तालाई निर्देशन दिएका छन्। नेवाः राज्यभित्र केन्द्रीय सदस्य, सभासद्, विभिन्न जनवर्गीय संगठनका प्रमुख, नेवा राष्ट्रिय मुक्तिमोर्चा र नेवा मंका दबुका केन्द्रीय पदाधिकारी प्रशिक्षणमा सहभागी थिए।

यता उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीलाई बहुमत पुर्‍याएर सरकार फेर्न चेतावानी दिएका छन्। माओवादीले सदनमा बहुमत पुर्याए एक मिनेट पनि सरकारमा नबस्ने उनले बताए। 'माओवादीले आन्दोलन गरेर देशलाई द्धन्द्ध र मुठभेड तर्फ धकेल्न खोज्दैछ,' शुक्रवार थारु कल्यणकारिणीसभा सुनसरीको छैठौ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री गच्छदारले भने, 'माओवादीले बहुमत पुर्‍याएर देखाए सरकारमा सहभागी दल एक मिनेट पनि बस्दैनन्। सरकार छाडेर माओवादीलाई बाटो खुल्ला गरिदिन्छन्।' सरकार बदल्ने भए विधिसम्मत तरिकाले प्रस्तुत हुन माओवादीलाई उनले सुझाव दिए। उनले अल्पमलते बहुमतको आवाज दबाउन खोज्दै माओवादीले देशको विकास र संविधान निर्माण गर्ने कार्यमा भाँजो हाल्ने काम गरेको आरोप लगाए। 'राजनीति जनताको हित र देशको विकासका लागि गर्नुपर्छ,' मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष समेत रहेका गच्छदारले भने, 'माओवादीले बिनास र तोडफोड राजनीति गरेर अगाडि बढ्न खोजेको छ।' उनले नेपाली जनताको भावना विपरित चल्नेलाई जनताले पाखा लगाउने दावी गरे। 'लामो समयदेखि माओबादीले संसद अवरुद्ध गरेर बजेट पारित हुन नदिई देशमा आर्थिक संकट उत्पन्न गराउन खोजेको छ,' उनले भने, 'संसद अवरुद्ध गरेर देश, जनता र राष्ट्रको बजेट पारित हुन नदिनु देशको ठुलो राजनीतिक दलको गैर जिम्मेवारी हो।''बजेट पारित हुन नदिएर देशमा उत्पन्न सम्पूर्णं दोषको जिम्मेवारी माओवादीले लिनुपर्छ,' उनले भने। जर्वरजस्ती गरेर कसैले संसदलाई बन्धक वनाई राख्छ भने त्यसविरुद्ध कडा कदम चाल्न सरकार बाध्य हुने चेतावनी उनले दिए। सोही अधिवेशनका अवसरमा थरुहट आन्दोलनका क्रममा घाईते भएका १५ जना, थारु समुदायको उत्थानमा योगदान पुर्‍याउने १५ जना, समाजसेवी लगायतलाई सम्मान गरिएको थियो।


नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको भारत भ्रमणको सिलसिला मै धमला दुई दिन अघि नयाँदिल्ली पुगेका थिए । विहीबार नयाँदिल्लीस्थित विज्ञान भबनमा भारतीय अधिकारीहरुलाई भेट्न गएका फोरम अध्यक्ष यादवसँगै रहेका धमलालाई भारतीय सुरक्षाकर्मीले मर्यादा उल्लङ्घन गरेपछि दुई चड्कन लगाएका थिए । भारतीय टेलिभिजन स्टार न्युजको राजनीतिक सम्बाददाता आशिष कुमारका अनुसार भारतीय अधिकारीहरुलाई भेट्न फोरम अध्यक्ष यादवसँगै प्रवेश गर्ने कोशिश गर्दा धमलालाई सुरक्षाकर्मीले रोकेका थिए । आफू सञ्चारकर्मी भएको भन्दै परिचय पत्र देखाउँदा पनि धमला प्रवेश गर्न पाएनन् । उनले दुई पटकसम्म आफूलाई प्रवेश गर्न दिन अनुरोध गरेपछि भारतीय सुरक्षाकर्मीले उनलाई थप्पड हानेका थिए ।rishi-front
सुरक्षाकर्मीको अनुरोध लत्याउँदै मर्यादा उल्लङ्घन गरेकोले भारतीय प्रहरीले हिँजो धमलालाई कुटेको आशिष कुमारले जनाएका छन् । भारतीय प्रहरीले दुई चड्कन लगाएपछि धमलालाई विज्ञान भबनको गेटबाट बाहिर निकालेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक