20091104

अन्तर्राष्ट्रिय समुदाय माओवादी आन्दोलनप्रति असहमत


एकीकृत नेकपा (माओवादी) ले चालू आन्दोलनबाटै वर्तमान सरकारलाई ठेगान लगाउने उद्घोष गरिरहेका बेला अन्तर्राष्ट्रिय समुदायले भने आन्दोलनप्रति असहमति जनाउँदै संसद्बाटै निकास खोज भनेको छ। उपत्यका नाकाबन्दी, विमानस्थल बन्द, गणराज्य घोषणा, स्थानीय निकाय कब्जा गर्नेजस्ता कार्यप्रति कूटनीतिक नियोगका प्रतिनिधिहरूले अनौपचारिक रूपमा गम्भीर चासो राखेपछि मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनबारे स्पष्ट पार्न नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुखहरूलाई अन्नपूर्ण होटलमा आमन्त्रण गर्नुभएको थियो।
जनतालाई सास्ती दिएर माओवादीको यो नौटँकी, भिडियो हेरौं  Video Source: Kalpana/Dinesh/Dcnepal
माओवादीकै निम्तोमा उपस्थित भएको अन्तर्राष्ट्रिय समुदायले आन्दोलनका घोषित कार्यक्रमप्रति पुनर्विचार र पुनरवलोकन गर्न आग्रह गरेपछि माओवादी नेतृत्व अलमलमा परेको छ। युरोपियन युनियनका प्रतिनिधिहरू, अमेरिका, रसिया, अन्य राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले प्रजातान्त्रिक प्रक्रियालाई सम्मान गर्न सुझाव दिँदै संविधानसभा, संसद् र शान्तिप्रक्रियाका संयन्त्रहरूलाई प्रयोग गरी आफ्ना कार्यक्रम अर्थात् मागहरू अगाडि बढाउन भनेका छन्।
माओवादीले आयोजना गरेको कार्यक्रमपछि मंगलबार साँझ उपस्थित सबै राजदूतका तर्फाट बेलायती दूतावासले जारी गरेको वक्तव्यमा नेपाली जनता, विदेशी नागरिक, कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको स्वतन्त्रतापूर्वक आवागमन गर्न पाउने अधिकारको सम्मान गर्न माओवादीलाई आग्रह गरिएको छ। राजदूतहरूले विमानस्थल र अन्य पर्यटकसँग सम्बन्धित संरचनाहरू बन्द गर्दा पर्यटकहरू अत्यधिक रूपमा आउने अहिलेको ‘पिक सिजन’ मा नेपालको प्रतिष्ठा ब्रि्रने र अन्ततः नेपालको अर्थतन्त्रलाई समेत क्षति पुर्याउनेतर्फमाओवादीको गम्भीर ध्यानाकर्षा गराएका थिए। उनीहरूले सबै दललाई आत्मसंयमित बन्न, शान्तिसम्झौताको  भावनाअनुरूप असमझदारी अन्त्य गरी सहकार्य गर्न, प्रभावकारी रूपमा सम्झौताको कार्यान्वयन गर्न पनि सुझाव दिएका थिए। अध्यक्ष प्रचण्डसँगै विदेश विभागप्रमुख कृष्णबहादुर महराको पनि सहभागिता रहेको कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटमा माओवादीले आफ्नो आन्दोलन नागरिक सर्वोच्चता बहालीका लागि भएको र आन्दोलन शान्तिपूर्ण हुने भनी आश्वस्त पार्न खोजेको थियो। तर राजदूतहरूले भने उपत्यका नाकाबन्दी गर्ने, सरकारी कार्यालय चल्न नदिने, कतिपय स्थानीय निकाय कब्जा गर्ने, विमानस्थल बन्द गर्नेजस्ता कार्यप्रति सबै त्रसित भएको भनी शान्तिपूर्ण हुनेमा आशंका व्यक्त गरेका थिए।

कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटघाटपछि विदेश विभागका प्रमुख एवम् पार्टी महराले अमेरिका, बेलायत, भारत, रसिया, डेनमार्क, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्डका राजदूतलगायत अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग पार्टी अध्यक्ष प्रचण्डले भेटघाट गरी आन्दोलनबारे जानकारी गराउँदै यो दुईहप्ते आन्दोलनबाट केही असुविधा हुन सक्छ र त्यसबाट पर्न सक्ने असुविधाप्रति दुखी छौं भन्नुभएको स्पष्ट पार्नुभएको छ। आन्दोलन शान्तिपूर्ण हुन्छ/हुँदैन भन्ने र आन्दोलनका कार्यक्रमप्रति राजदूतहरूले सरोकार राखेको जानकारी गराउँदै नेता महराले संविधान निर्माण, शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनका लागि आन्दोलन गर्नुपरेको कुरा अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभएको बताउनुभएको छ। नेता महराका अनुसार अध्यक्ष प्रचण्डले आफूहरूको आन्दोलन संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनका लागि दबाब दिने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आग्रह गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समुदायसँगको भेटघाटलगत्तै पार्टी पदाधिकारीहरूको पेरिसडाँडामा बसेको बैठकले कात्तिक २४ गतेको विमानस्थल नाकाबन्दी गर्ने कार्यक्रम फिर्ता लिने निर्णयगरेको छ। पार्टीप्रवक्ता दीनानाथ शर्माका अनुसार अन्तर्राष्ट्रिय समुदायको अनुरोधमा विमानस्थल बन्द कार्यक्रम फिर्ता लिइएको हो। बैठकमा अन्तर्राष्ट्रिय समुदाय आन्दोलनप्रति सकारात्मक नभएको मात्र होइन, संसद्बाटै निकास खोज भन्नेजस्तो आग्रह गरेको पनि अध्यक्ष प्रचण्डले जानकारी गराउनुभएको थियो। बैठकमा धनकुटामा कार्यकर्ताले नगरपालिका कब्जा गरेर गलत सन्देश दिएको भन्दै तत्काल सो कार्य रोक्न र आगामी दिनमा त्यस्ता घटना नदोहोर्याउन निर्देशन दिने निर्णयभएको बताइएको छ।

 एकीकृत नेकपा (माओवादी) द्वारा आयोजित राष्ट्रव्यापी विरोध प्रदर्शनका सन्दर्भमा सबै व्यक्तिको मानवअधिकार संरक्षित र सम्मानित हुने  सुनिश्चित गर्न प्रभावकारी उपाय गर्न संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालय  नेपालले नेपाल सरकार, एनेकपा (माओवादी) र अन्य राजनीतिक दलका कार्यकर्तालाई आग्रह गरेको छ।
उच्चायुक्तको कार्यालयले एनेकपा (माओवादी) को नेतृत्वलाई आफ्ना कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा अरुको अधिकारको सम्मान गर्ने, कुनै पनि प्रकारको हिंसामा नलाग्ने तथा कानुनी शासनको उच्चतम पालना गर्ने कुरा सुनिश्चित गर्न आह्वान गरेको छ।
आपत्कालीन सेवा, मानवीय कार्यकर्ता तथा मानवअधिकार अनुगमनकर्ताले सँधै खुला बाटो पाउने कुरा सुनिश्चित गरिनुपर्ने पनि संस्थाले जोड दिएको छ।
कार्यालयले सरकारलाई पनि अन्तरराष्ट्रिय दायित्व पालना गर्न तथा सुरक्षाफौजले संयम अपनाई अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्णरुपमा भेला हुन पाउने स्वतन्त्रताको अधिकारलाई सम्मान गर्ने कुरा सुनिश्चित गर्न आह्वान गरेको छ।
“म नेपाल सरकार, माओवादी नेतृत्व तथा अरु सबै राजनीतिक पात्रलाई राष्ट्रव्यापी आन्दोलनका सन्दर्भमा संयम अपनाउन आग्रह गर्छु। विरोध प्रदर्शनका आयोजकहरुले प्रदर्शनकारीले शान्तिपूर्ण रुपमा तथा कानुनभित्र रहेर कार्य गर्ने कुरालाई सुनिश्चित गर्नुपर्छ,” उच्चायुक्तको कार्यालय नेपालकी उपउच्चायुक्त ज्योति साङ्घेराले भन्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले सरकारविरुद्ध तीव्र रूपमा आन्दोलन गरिरहेका बेला सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल मंगलबार साताव्यापी भ्रमणका लागि भारत जानुभएको छ।

खनाल भारत सरकारको निमन्त्रणामा त्यसतर्फजानुभएको हो। भ्रमणका क्रममा खनालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, सत्तारूढ कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विपक्षी दल भारतीय जनता पार्टी अध्यक्ष लालकृष्ण आडवाणी र भारतीय कम्युनिस्ट पार्टी महासचिव सीताराम येचुरीलगायतसँग भेट्नुहुने भएको छ।

‘सत्तारूढ पार्टीको हैसियतमा अध्यक्ष भारत जानुभएको हो’, एमाले पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले रिपोर्र्टर्स क्लबको साक्षात्कारमा भन्नुभयो- ‘नेपालको पछिल्लो अस्थिर परिस्थितिबारे भारत, चीनलगायत अन्य विदेशी राष्ट्र चिन्तित छन्, अध्यक्षको भारत भ्रमणमा त्यसबारे कुराकानी हुनेछ।’ खनालका साथमा भ्रमणटोलीमा केन्द्रीय सदस्य अरुण नेपाल र विदेश विभाग सदस्य उदयराज पाण्डे पनि सहभागी हुनुहुन्छ।

सरकार परिवर्तनको चर्चा चलिरहेका बेला भावी प्रधानमन्त्री बन्नका लागि भारतसित कुरा गर्न खनाल दिल्ली जान लाग्नुभएको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भन्नुभयो- ‘अध्यक्ष तत्काल प्रधानमन्त्री बन्ने कुरा हावादारी हुन्, माधवकुमार नेपाललाई विस्थापन गरी एमालेकै अन्यको नेतृत्वमा सरकार बन्न सक्दैन।’ यसैबीच मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि मंगलबार नै भारत भ्रमणका लागि जानुभएको छ। फोरमका सभासद् बीपी यादवका अनुसार पार्टीको सुदृढीकरण र राष्ट्रिय हितका पक्षमा अध्यक्ष यादवको भ्रमण केन्द्रित रहनेछ। यादवले पनि प्रधानमन्त्री सिंह, विभिन्न राजनीतिक दलका नेता एवम् सरकारी उच्च अधिकारीसँग भेट्नुहुने भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक