20091103

आकस्मिक मन्त्रिपरिषद बैठक, सेना सहित सबै सुरक्षा अंगलाई 'हाइएलर्ट'मा रहन निर्देशन,

माओवादी आन्दोलन हिंसात्मक दिशातर्फ लागेको निष्कर्ष


प्रधानमन्त्री माधवकुमार नेपालले आकस्मिक रुपमा चार वटै सुरक्षा अंगका प्रमुखलाई मन्त्रिपरिषद बैठकमा बोलाएका छन्। मन्त्रिमण्डलका राज्य र सहायक मन्त्रीहरुलाई समेत बोलाइएको बैठकले माओवादी आन्दोलनको समीक्षा गर्दै सेना सहित सबै सुरक्षा अंगलाई 'हाइएलर्ट'मा रहन निर्देशन दिएको छ। प्रधानमन्त्रीले बोलाएपछि मन्त्रिपरिषद बैठक सुरु भएको २० मिनेटपछि नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी, सशस्त्र प्रहरी बलका महानिरीक्षक सनदकुमार बस्नेत तथा राष्ट्रिय अनुसन्धानका प्रमुख अशोकदेव भट्ट मन्त्रिपरिषद बैठकमा भाग लिन प्रधानमन्त्रीको कार्यलय सिंहदरबार पुगेका थिए। बैठकबाट बाहिरिने क्रममा मिडियाकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले पोखरेलले माओवादीले जारी गरेको नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्ने कार्यक्रमले शान्ति सम्झौता उल्लंघन गरेको आरोप लगाए।
शान्ति सम्झौता भंग गर्ने माओवादी गतिविधि बारे नेपालस्थित राष्ट्रसंघीय शान्ति मिसन अनमिनलाई सचेत गराउने निर्णय सरकारले गरेको उनले जानकारी दिए। माओवादीलाई वार्तामा आउन आह्वान गर्दै मन्त्री पोखरेलले माओवादीले शान्ति सम्झौता भंगको घोषणा नगरेसम्म सेना परिचालन नहुने बताए। आन्दोलनका लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई व्यापक रुपमा परिचालन गर्ने निर्णय गरेको उनले बताए। बैठकले सेनाका विभिन्न अंगहरुलाई हाइ एलर्टमा रहन निर्देशन दिएको छ। मन्त्रिपरिषद बैठकले प्रारम्भिक रुपमा माओवादीको आन्दोलन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको थियो। नगरपालिका कब्जा, सार्वजनिक सम्पत्तिमा आगजनी जस्ता कुराहरुले माओवादी आन्दोलन हिंसात्मक दिशातर्फ लागेको निष्कर्ष सरकारले निकालेको छ।

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका कार्यावाहक सभापति सुशील कोइरालाबीच मंगलबार साँझ एक रात्रीभोजमा छलफल भएको छ। नेकपा एमालेका नेता केपी ओलीले भक्तपुर बालकोटस्थित निवासमा आयोजना गरेको भोजमा तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको हो। भोजमा कांग्रेस नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, माओवादीका तर्फबाट बाबुराम भट्टराई, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ सहभागी छन्।
प्रधानमन्त्री नेपाल ओली निवास जानुअगाडि कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर आएका थिए। कोइरालाले मंगलबार बिहान एमाले अध्यक्ष झलनाथ खनाल र सोमबार अपरान्ह एनेकपा माओवादीका अध्यक्ष दाहालसँग छलफल गरेका थिए। कोइरालाको अनुरोधमा माओवादी अध्यक्ष दाहाल संसदबाट बजेट पारित गर्ने विषयमा पार्टीभित्र छलफल गर्न तयार देखिएका छन्।

बिभिन्न १२ मुलुकका राजदूत तथा उच्च कुटनीतिक अधिकारीहरुको अनुरोधपछि एकिकृत नेकपा माओवादीले त्रिभुवन विमानस्थल बन्दको कार्यक्रम फिर्ता लिएको छ। माओवादीले आगामी कात्तिक २४ गते विमानस्थलसमेत बन्द गर्ने घोषणा गरेका थिए। 'कुटनीतिक नियोगका प्रतिनिधिहरुको अनुरोधमा एयरपोर्ट बन्दको कार्यक्रम फिर्ता लिइएको हो,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नागरिकसँग भने,'अन्य सबै विरोधका कार्यक्रम भने यथावत छ।'माओवादी नेताहरुले मंगलबार मध्यान्ह होटल अन्नपूर्णमा नेपालस्थति विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गरेका थिए। छलफलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बिदेश विभाग प्रमुख कृष्णबहादुर महरालगायतका नेताहरु थिए । बैठकमा बेलायत, फार्न्स, डेनमार्क, फिनलेण्डलगायतका मुलुकका राजदूत र अमेरिका, भारतलगायतका देशका उच्च कुटनीतिक अधिकारीहरु सहभागी थिए । 'वर्तमान राजनीतिक परिस्थिति र शान्ति प्रकृयाप्रतिको हाम्रो प्रतिबद्धता बारेमा आफ्ना कुराहरु राख्यौं' महराले बैठकपछि संवाददाताहरुलाई भनेका थिए। राजदूतहरुले माओवादी आन्दोलनबाट शान्ति प्रक्रियामा पुग्न सक्ने क्षति प्रति सचेत हुन र आन्दोलनले मानवअधिकार उल्लंघन नगर्नेमा प्रतिवद्धता जारी गर्न अनुरोध गरेका थिए।

एमालेको युथफोर्सका कार्यकर्ताले एकीकृत नेकपा माओवादी जिल्ला कमिटी धनकुटा र अन्य जनवर्गिय संगठनको कार्यालय आज विहान तोडफोड र आगजानी गरेका छन। युथफोर्सले सिधुवा बजार क्षेत्रको १२ वटा माओवादी कार्याकर्ताको घरमा तालाबन्दी गरेका छन । सोमबार राती धनकुटाकै सिधुवा बजारमा युथफोर्सका कार्यकर्ता चढेको ९ वटा मोटरसाईकल र एउटा भ्यानमा माओवादीका कार्यकर्ताले आगजानी गरेपछि मंगलबार बिहानैदेखि धनकुटाबजारमा तोडफोड भएको हो। युथफोर्सका कार्यकर्ताले धनकुटाको हुलाकटोलमा रहेको माओवादीको जिल्ला पार्टी कार्यालय र जनवर्गिय संगठनको बोर्ड र कागजपत्र बाहिर निकाली जलाई दिएका छन। यसैबीच, सिधुवाबजारमा भएको मोटर साईकल र भ्यान आगजानीको विरोध गर्दै युथफोर्स धनकुटाले आजदेखि अनिश्चितकालिन धनकुटा बन्द आव्हान गरेको छ। मोटरसाईकल आगजानी गर्ने घटनामा संलग्न ब्यक्तिलाइृ कार्वाहीर क्ष्तिपुर्तिको माग गदर्ैै बन्द गरिएको युथफोर्स धनकुटाका संयोजक प्रविण पोखरेलले बताउनु भयो । बन्दको कारण बिहानैदेखि धनकुटामा सवारी साधान चलेका छैनन् भने पसलसमेत खुलेका छैनन।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक