केही समययता माओवादीका माथिल्लो तहका नेताहरू एक ठाउँमा बस्ने नगरेको पाएपछि ‘कोभर्ड’ गर्न हिँडेका सैनिकहरू अप्ठ्यारोमा पर्ने गरेकाले मुख्यालयले चाहेजति माओवादी नेताहरूको विवरण फेला पार्न नसकेको बताइएको छ।
डीएमआईले माओवादी नेताहरूको बारेमा संकलन गरेको विवरण युद्ध कार्य महानिर्देशनालय (डीएमओ) लाई बुझाइसकेको छ भने माओवादीको पछिल्लो गतिविधिका बारेमा सेनाका उच्च तहका अधिकारीबीच एक चरणको छलफलसमेत भइसकेको स्रोतले दाबी गर्यो। सेनाले माओवादीको क्षेत्रीयस्तर र जिल्लास्तरका नेताहरूको बारेमा समेत जानकारी संकलन गर्न ६ वटा डिभिजन र २८ वटा बाहिनीलाई समेत मुख्यालयले निर्देशन दिएको छ। नेपालका माओवादीको भारतमा भूमिगत रूपमा सशस्त्र संघषॅ गर्दै आइरहेको भारतीय माओवादीसँग सर्म्पर्क रहने गरेको र नैतिक र भौतिक सहयोग गर्ने गरेको रहस्यसमेत सेनाले पत्ता लगाएको दाबी स्रोतले गरेको छ। यता माओवादीका ‘हार्ड लाइनर’ नेताहरूको बारेमा जानकारी लिन कठिनाइ उत्पन्न भएको ‘रिपोर्टिङ’ फिल्डमा खटिएका सैनिकहरूले आफ्नो नेतृत्वलाई जानकारी गराएको स्रोतले दाबी गरेको छ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सहमतिमा ल्याएरै छाड्ने बताएका छन्। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी महासमिति बैठकको उदघाटन गर्दै कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन आग्रह पनि गरे।
माओवादी नेतृत्वमा सहमतीको सरकार गठनका लागि माओवादी, कांग्रेस र एमालेका प्रमुखहरूबीच समझदारी भएको केही जानकार स्रोतले दाबी गरेका छन्।अन्तरिम संविधानको अर्को संशोधनद्धारा 'राष्ट्रपतिको कार्यक्षेत्र प्रष्ट उल्लेख गर्ने' सहमति तीन नेताबीच भएको पनि तिनको दाबी छ। स्रोतका अनुसार, त्यही समझदारी बढेपछि राष्ट्रपति रामवरण यादवले कानुन व्यवसायीहरूसँग आफूलाई दलहरूले आक्षेप लगाउन खोजेको असन्तुष्टी व्यक्त गरेका थिए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अधयक्ष झलनाथ खनालसँग एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको केही चरणमा छलफल भइसकेको र त्यसले 'वातावरण परिपक्व भएपछि' साकार रूप लिने तिनले दाबी गरेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने भएकाले 'आन्दोलनबाट सरकारलाई गलाउने' माओवादीले नीति लिएको छ भने संसदबाट नयाँ सरकारका पक्षमा बहुमत पुर्याउने तिनको प्रयास जारी रहनेछ।
'आन्दोलनको बटमलाइन सहमतिको सरकार हो। त्यो नेतृत्व माओवादीले गर्नेछ। राष्ट्रपतिको कदमबारे त्यही सरकारले सदनमा छलफल गर्ने प्रस्तावमा सहमती बनेको छ,' माओवादी स्थायी समितिका एक सदस्यले भने।
एमालेका खनाल पक्षधर एक केन्द्रीय सदस्यले उक्त प्रस्ताव विकसित भएको स्वीकार गरे। राष्ट्रपतिको कदमबारे कोइराला मौन रहँदै आएका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यले भने-'राष्ट्रपतिको कदमबारे गिरिजाबाबुले अहिलेसम्म बोल्नु भएको छैन। मुठभेड रोक्न उहाँले स्वाभाविकरूपले सहमतिको सरकार स्वीकार्नुभएको छ।' माओवादीले आइतबार सुरू गर्ने आन्दोलनबारे प्रधानमन्त्री नेपालले अध्यक्ष खनालसँग छलफल पनि नगरेको खनाल निकट स्रोतले जनाएको छ। 'आन्दोलनले कस्तो रुप लिन्छ त्यसमै उनीहरूको वैचारिक र व्यवहारिक पक्षको आलोचना हुन्छ,' खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ' पार्टीले सरकारलाई प्रतिकार, दमन गर भनेर निर्देशन दिन सक्दैन।'
एमाले नेता केपी शर्मा ओलीले संसद्मा तीन सय एक मत जितेर सरकारको नेतृत्व लिन माओवादीलाई चुनौती दिएका छन् । सडकमा रोएर सत्ताको नेतृत्व प्राप्त नहुने ओलीको भनाइ छ । उनले माओवादी नेतृत्वमा गठित अघिल्लो सरकारलाई 'बाँदरको हातमा नरिवल'को संज्ञासमेत दिए ।
काठमाडौं एमालेको ओलीनिकट समानान्तर कमिटीले नेपाल संवतका अवसरमा शनिबार राजधानीमा आयोजना गरेको चियापानमा उनले सडकमा वितण्डा मच्चाएर नभई संसद्मा बहुमत जितेर माओवादीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन चुनौतीसमेत दिए । 'हामीले यो सरकार सडकमा उप
|mेर, छाती पिटेर, कपाल लुछेर ल्याएको होइन, संसद्मा तीन सय ६१ मत जितेर बनाएका हौँ,' उनले भने, 'सरकारको नेतृत्व चाहिएको भए छाती पिटेर सडकमा नरोऊ, तीन सय एक भोट जितेर लैजाऊ ।' उनले माओवादीको घोषित आन्दोलनलाई वितण्डाको संज्ञा दिए । 'यो आन्दोलन होइन, वितण्डा हो, आँखामा पट्टी बाँधेर हाँडी फुटाउने खेलजस्तो,' उनले अगाडि भने, 'तिम्रा आँखामा पट्टी बाँधे बाँध, तर जनताका टाउका हाँडी होइनन् ।'
नेता ओलीले माओवादी नेतृत्वमा गठित अघिल्लो सरकारलाई बाँदरको हातमा नरिवलजस्तो बताए । 'हामीले नै सहयोग गरेर उसकै नेतृत्वमा सरकार बनाइदिएका थियौँ, तर बाँदरको हातमा नरिवलजस्तो भयो,' ओलीले भने, 'बाँदरलाई नरिवल फुटाएर दिनुभयो भने त खाला, नत्र खेलाउँछ-खेलाउँछ, अन्तिममा गुडाइदिन्छ, नौ महिनासम्म खेलाएर माओवादीले सरकार गुडाइदियो ।' माओवादीलाई अन्य दलले एक्ल्याउन खोजेको भन्ने भनाइको प्रतिवाद गर्दै नेता ओलीले माओवादी आफैँ एक्लिन चाहेको दाबी गरे । 'सबै दल भएको संसद्लाई चलाऊँ
, सँगै जाऊँ भन्यो, मान्दै मान्दैन, एक्लै हिँड्छु भन्छ, सरकारमा आऊ भन्यो, कठपुतली रे,' ओलीले भने, 'कस्तो सरकार बनाउने हो, मिलेर बनाऊँ न त भन्यौँ, त्यो पनि मान्दैन ।'
नागरिकलाई अनाहकमा कुटपिट गर्ने माओवादी आन्दोलनको मात्र नागरिक सर्वाेच्चता भएकोप्रति उनले व्यंग्य गर्दै भने, 'भजनको मन्त्रजस्तो नयाँ नेपाल भन्ने, भाङभुङ गरेर थोत्रो पार्ने ? नागरिक सर्वाेच्चता भन्ने, बटुवालाई समेत कुट्ने ?' उनले भने, 'दस वर्ष उमेर कटेका मान्छेले यस्तो गरेको मैले कहिल्यै देखेको थिइनँ ।'
माओवादीलाई उनले 'जनावरजस्तो' संज्ञासमेत दिए । 'मानव जातिसँग त वाणी हुन्छ, बोली हुन्छ, भाषा हुन्छ, तर जन्तुको भाषा हुँदैन, सिङ मात्र हुन्छ,' ओलीले भने, माओवादी पनि चित्त नबुझेपछि घ्याच्च सिङले हानिहाल्छ ।'
नेेता ओलीले माओवादीले संविधान बनाउन नचाहेको पनि आरोप लगाए । 'संविधान बनाउन चाहे संविधानसभामा सबै तयारी छ, तर म नभए संविधान बन्दैन, म मरिगए मिल्नेवाला छैन भन्दै हिँडेपछि, त्यसले के संकेत गर्छ ?' माओवादीप्रति ओलीको प्रश्न थियो ।
दुई ध्रुवमा विभाजित एमालेको काठमाडौं जिल्ला कमिटीको चियापानमा उनीहरूले अर्का पक्षको आलोचना भने गरेनन् । नेता ओलीले पार्टीको आन्तरिक विषयमा केही बोलेनन् । केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अघिल्लो दिन उपत्यका समन्वय कमिटीले आयोजना गरेको जलपान समारोहलाई पनि पार्टीको जलपान समारोह भनेका थिए । 'हिजो उपत्यका समन्वय कमिटीले आयोजना गरेको थियो, आज जिल्ला कमिटीले आयोजना गरेको छ,' श्रेष्ठले भने, 'सके वडा कमिटीले पनि आयोजना गरोस् ।'
समानान्तर जिल्ला कमिटीले अघिल्लो र पछिल्लो दिन गरी आयोजना गरेको जलपान समारोह रोक्न पार्टी अध्यक्ष झलनाथ खनालले निर्देशन दिएपछि खनालपक्षीय जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमको मिति, स्थान र समयमा शुक्रबार उपत्यका कमिटीले जलपान आयोजना गरेको थियो । शनिबारको कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख अतिथि भनी प्रचार गरिए पनि प्रधानमन्त्री नेपालको उपस्थिति थिएन । नेपाल दुवैतर्फका जलपानमा निम्त्याइए पनि दुवैतिर उपस्थित भएनन् । शुक्रबार उपत्यकाको जलपानमा अध्यक्ष खनाल र शनिबारको जलपानमा ओलीले प्रमुख वक्ताका रूपमा भाषण गरेका थिए ।
1 comment:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
This message has increased my hope to see better political envroment in Nepal........
ReplyDelete