20091011

खोल गणतन्त्र को भित्री व्यबहार आतंकको यहिनै हो माओवादीको असलियत, फेरी धम्क्याए माओवादीले

माओवादीले हात हतियार र लडाकुको आडमा बारम्बार धम्क्याउने, जनगणतन्त्रका का नाममा उसको अधिनायकबाद लाध्न बारम्बार कोशीस गरिरहेको कुरात थाहा नहुने को होला र ! खोल गणतन्त्र को भित्री व्यबहार आतंकको यहिनै हो माओवादीको असलियत। फेरी माओवादीले राज्य लाई नराम्ररि धम्क्याएकोछ एक प्रेस बक्तब्य मार्फत । त्यो धम्की तल जस्ता को तस्तै छ पढ्नुहोस् ।

"केही समय यता वर्तमान कठपुतली सरकार र त्यसका मन्त्रीहरुले बृहत शान्ति–सम्झौता र अन्तरिम संविधानको प्रावधान तथा स्पिरिट विपरित एक पछि अर्को निर्णय गर्ने र अभिव्यक्ति दिने गरेको घटनाप्रति एकिकृत ने.क.पा.(माओवादी) र संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को गम्भीर ध्यानाकर्षण भएको छ।

१. रक्षामन्त्री विद्या भण्डारीले व्यवस्थापिका–संसदको राज्य–व्यवस्था समितिमा बृहत शान्ति–सम्झौता र सेना तथा हतियार अनुगमन सम्झौतामा भएका सेना सम्बन्धी कतिपय प्रावधान संशोधन गर्नुपर्छ भनी दिएको लिखित मन्तव्य असाध्यै गैरजिम्मेवारपूर्ण, दुराशययुक्त र आपत्तिजनक छ। यसबाट वर्तमान कठपुतली सरकारको शान्ति प्रक्रिया भाँड्ने र देशमा पुनः द्वन्द्व निम्त्याउने कुत्सित उद्देश्य र मनसाय रहेको पुनर्पुष्टि हुन्छ। हामी रक्षामन्त्रीको यो दुराशयपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति र विरोध प्रकट गर्दछौं र त्यस्ता हर्कतमा संलग्न नरहन गम्भीर चेतावनी दिन्छौं।

२. यस कठपुतली सरकारले बृहत शान्ति–सम्झौताको अभिन्न अङ्ग रहेको र राजनीतिक सहमतिका आधारमा गठन भएको उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगलाई एकपक्षीय ढंगले विघटन गरेर मनोमानी प्रकारले अर्को आयोग गठन गरेको घोषणा गरेको छ। यो बृहत शान्ति–सम्झौताको ठाडो उल्लंघन र घोर आपत्तिजनक कार्य हो। यसरी नै अन्य कतिपय राजनीतिक सहमतिका आधारमा गठित आयोग र संस्थाहरु पनि विघटन गर्ने घोषणा गरिएको छ। हामी यस्तो बृहत शान्ति–सम्झौता र राजनीतिक सहमति विपरित कार्यको घोर भर्त्सना गर्दछौं र यस्तो एकपक्षीय निर्णय मान्य नहुने सार्वजनिक जानकारी गराउँदछौं।

३. स्थानीय निकायहरुको गठन राजनीतिक सहमतिका आधारमा र संविधानसभा निर्वाचनमा अभिव्यक्त जनादेश अनुरुप गठन गर्नुपर्नेमा अहिलेसम्म त्यसो नगरी उल्टै यो कठपुतली सरकारले आफ्नै मनोमानी ढंगले स्थानीय संयन्त्रहरु गठन गर्ने जुन प्रयत्न गरेको छ, त्यो शान्ति–सम्झौता र अन्तरिम संविधान विपरित भएकाले त्यसको हामी घोर विरोध र भर्त्सना गर्दछौं। स्थानीय निकायहरु शान्ति–सम्झौता र अन्तरिम संविधान बमोजिम यथाशिघ्र गठन नगरिएमा हामी बैकल्पिक पहल गर्न बाध्य हुने चेतावनी पनि दिन चाहन्छौं।

४. बृहत शान्ति–सम्झौताको प्रावधान, मूल्यमान्यता र स्पिरिट विपरित कार्यहरु गर्दै जाने क्रममा यस कठपुतली सरकारले विगतको सरकारले विधिसम्मत ढंगले नियुक्ति गरेका स्थानीय शान्ति समितिमा कार्यरत सचिव र अन्य कर्मचारीहरुलाई मनपरी ढंगले हटाउने र एकपक्षीय ढंगले नयाँ नियुक्ति गर्ने कार्य अघि बढाएको छ। एकिकृत ने.क.पा.(माओवादी) शान्ति प्रकृयाको आधा हिस्सा भएकोले उसको सहमति र संलग्नता विना विभिन्न स्तरका शान्ति समितिको कुनै अर्थ र औचित्य नरहने स्वतःसिद्ध छ। यस्तो हुँदाहुँदै शान्ति समितिसंग सम्बन्धित व्यक्तिहरुलाई एकपक्षीय ढंगले हटाउने र नियुक्ति गर्ने कार्य गरिनु बृहत शान्ति–सम्झौताको मर्म र भावनामाथि नाङ्गो आक्रमण हो र त्यो हामीलाई किमार्थ स्वीकार्य छैन। त्यसैले यस्तो हर्कत तत्काल रोक्न र शान्ति समितिका सचिव र कर्मचारीहरुलाई निरन्तरता दिन हामी आग्रह गर्दछौं। अन्यथा विभिन्न तहका शान्ति समितिहरुमा हाम्रो संलग्नता र सहभागिता नरहने र त्यस पछिको परिणामको सम्पूर्ण जिम्मेवारी यस कठपुतली सरकारले बहन गर्नुपर्ने गम्भीर चेतावनी पनि दिन चाहन्छौं।"

मिति : २०६६/६/२५

(बाबुराम भट्टराई)
उपाध्यक्ष, एकिकृत ने.क.पा (माओवादी)
तथा अध्यक्ष, संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक